Pages

Wednesday, January 18, 2017

चाचाः निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी

किशोर दहाल

माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको उपलब्धताको प्रक्रिया र स्रोतको यथार्थ कथा भने आमजानकारीमा छैन । तिनै सामाग्रीको आपूर्तिको मुख्य जिम्वेवारी लिएर कुशलतापूर्वक भूमिका निर्वाह गरेका भक्तिप्रसाद पाण्डे ‘चाचा’को आत्मकथा ‘चाचा’ प्रकाशित भएको छ । पत्रकार सीताराम बरालको सहयोगमा पुस्तक तयार भएको हो र पाण्डेको निधनपश्चात पुस्तक प्रकाशित भएको हो । पाण्डेको केही साता अघि क्यानसरबाट निधन भएको थियो । पाण्डेलाई पार्टीभित्र चिनिने नाम ‘चाचा’बाट पुस्तकको नामाकरण गरिएको छ ।

प्रकाशित पुस्तक चाचामा सँगसँगै कुदिरहने दुईवटा जीवन छ । पहिलो, पाण्डेको सरल जीवनशैली, आस्थाप्रति निरन्तर सचेतता र स्वेच्छिक बाध्यताको जीवन । दोस्रो, जनयुद्धकालमा उनले निर्वाह गरेको ‘सप्लाइ विभाग’को भूमिकाको कठीन जिम्बेबारीबोध, रोचक तथा चातुर्य कार्यकुशलतको बयान । पुस्तक पढिसक्दा किशोरवयमा पाण्डेले जुन खालको जीवनप्रति मोह देखाएका थिए, अविचलित भएर त्यसैलाई व्यतित गरेका थिए भन्न सकिन्छ ।

‘कम्युनिस्ट व्यवस्थामा सबैले समान हैसियतले काम गर्नुपर्ने रहेछ, सबैमा समानता हुने रहेछ’ भन्ने बालबुझाईमा दृढ भएर पाण्डेले कम्युनिस्ट राजनीति सुरु गरेका थिए । र, त्यही मान्यताका लागि स्वेच्छिक बाध्यताको जीवन बाँचिरहे । उनी शब्द पाखण्डमा नभई, व्यवहारीक रुपमा नै कम्युनिष्ट क्रान्तिकारी थिए । पुष्पलालको पार्टीबाट पुष्पकमलको पार्टीमा पुग्दासम्म पनि उनले आफ्नो लक्ष्य भुलेनन् । रगतले ल्याप्चे लगाएर पार्टी सदस्यता लिएदेखि जारी संविधानको एउटा हस्ताक्षरकर्तासम्मको यात्रालाई नियाल्दा उनको निरन्तर क्रान्तिकारी चेतलाई प्रष्ट पार्छ । पार्टी सदस्यतालाई उनले कहिल्यै अवसरमा बदलेनन्, बरु जिम्मेबारी थपिएको ठाने । ढुक्क भएर सजिलो बाटो खोज्दै हिँडेनन्, क्रान्तिको निम्ति यथाशक्य प्रयत्न गरिरहे । कैयौं दिन भोको बस्दा पनि, पैसा नभएर भारतीय रेलमा लुकिछिपी हिँड्दा पनि उनको आस्था कहिल्यै डगमगाएन । बाँचेको जिन्दगीप्रति कहिल्यै पछुतो मानेनन् बरु बहुजन नेपालीको, काम गरिखाने वर्गको हितको लागि आफूलाई सधैं सतिसालझैँ उभ्याइरहे । स्वार्थी समूहमा परिणत भइरहेका अहिलेका कम्युनिस्ट कार्यकर्तालाई पाण्डेको जीवन भोगाइ फिल्मीजस्तो लाग्न सक्छ । तर, आस्थाले मानिसलाई कसरी एकोहो¥याउँछ, डोहो¥याउँछ र लगनशील बनाउँछ भन्ने यथार्थ दस्तावेज हो, ‘चाचा’ ।

पण्डेको आत्मकथाले कम्युनिस्ट आन्दोलनका धेरै पक्षमाथि स्पष्टता थप्छ र प्रश्न पनि उठाउँछ । उनको सादगी, लक्ष्यप्रति दृढ र सचेत दृष्टिले अहिलेका कम्युनिस्ट नामका पार्टी र नेताको विचलनको कथालाई पनि उदाङ्गो पार्छ । सिधै भनेर वा नभनेर धेरै प्रश्नहरुको उत्तर दिनसक्नु वा धेरै सवालहरुमाथि प्रश्न उठाउन सक्नु पुस्तकको बलियो पक्ष हो ।

आफ्नो सरलता, कर्तव्यनिष्ठतालाई जीवनभर मूल मन्त्र बनाएर हिँडेका पाण्डे तत्कालिन युद्धरत माओवादीमा प्रवेश गरेपछि हतियार सप्लाइको जिम्मेवारीमा पुग्छन् । असफल हर्रेबर्रे मनी एक्सनमा नै हतियार सप्लाइको जिम्मेवारी पूरा गरिसकेका पाण्डेको निम्ति उनकै शब्दमा ‘सुहाउँदो’ क्षेत्र थियो । उनले आफ्नो जिम्मेबारी कुशलतापूर्वक पूरा गरेका छन्, कैयौं तीतामीठा अनुभूतिसहित । आत्मकथाको यो पक्ष रोचक र जानकारीमूलक छ । हतियार र गोलीगठ्ठा खोज्दै उनी असम, मणिपुर, नागाल्याण्ड तथा बर्माको सीमासम्म पुगे । कहिले केरा बोक्ने गाडीमा, कहिले कोइला बोक्ने ट्रकमा हतियार नेपाल ल्याइरहे । कसलाई कसरी ढाँट्ने, कसलाई फकाउने, कसलाई थर्काउने, अप्ठेरो पर्दा, प्रहरी जाँचमा पर्दा कसरी आफू र हतियारलाई जोगाउने जस्ता कलामा निपूर्ण भएका थिए पाण्डे । पक्कै पनि पाण्डेले बाँचेका ती दिनहरु कठीन थिए । तर, कठीन समयमा पनि आफ्नो कला र क्षमताको प्रयोगको रोचकरोचक वर्णन गरिएको छ पुस्तकमा । पुस्तकका प्रत्येक शब्दशब्दमा उनको धीरता, चलाखी, कार्यकुशलता र लक्ष्यप्राप्तीको लगावलाई पुस्टि गर्छ । जसले जनयुद्धमा प्राण भरिरहेको थियो भन्न सकिन्छ ।

हातहतियार र गोलीगठ्ठाका सम्बन्धमा पाण्डेको दुईवटा निश्कर्ष निकै रोचक छन् । पहिलो– हतियार र गोलाबारुद भन्ने चीज पशुपतिमा पाइने गाँजा जस्तै रहेछ । सामान्य मान्छेले एक चिलिम पाउँदैन, गँजडीहरुले एक डोको गाँजा फेला पार्न सक्छन् । दोस्रो, भारतमा जस्तो शासनप्रणाली छ, त्यो रहुञ्जेल जति बेला चाह्यो त्यतिबेला आफूलाई चाहिने हतियार ल्याउन सक्छौं; तिनै हतियारको बलमा सशस्त्र आन्दोलन अघि बढाउन सक्छौं ।

हातहतियारको स्रोत, मूल्य, कठिनाईसँगै थाहा पाइने अर्को पक्ष हो– सञ्चार उपकरणको मूल्य, उपलब्धता र प्रयोग । जनयुद्धमा माओवादी नेताहरुले स्याटेलाइट फोन प्रयोग गरेका थिए भन्ने धेरैलाई थाहा छ । तर, ती कसरी उपलब्ध हुन्थे र प्रयोग गरिन्थे भन्नेचाहिँ धेरैलाई थाहा छैन । पुस्तकमा यसबारेमा पनि चर्चा गरिएको छ । घटना वर्णनहरु पढिरहँदा यस्तो लाग्छ, माओवादीले युद्ध आँट र साहस भन्दा बढी रणनीतिक कार्यकुशलताले लडेको थियो ।

बाबुराम भट्टराईको १३ बुँदे असहमतिपत्र नेपाल साप्ताहिकमार्फत सार्वजनिक हुनुमा स्याटेलाइट फोनको भूमिका रहेको थियो । पार्टी कारबाहीमा परेका बखत भट्टराईलाई पाण्डेले नै सुटुक्क स्याटेलाइट फोन उपलब्ध गराएका थिए । त्यही फोनबाटै भट्टराइले उनको १३ बुँदे असहमतिपत्र लखनउमा रहेका पाण्डे, पाण्डेले राम कार्की हुँदै नेपाल साप्ताहिकमा पु¥याएका थिए । पार्टीमा भट्टराई निकट रहेका पाण्डेको प्रचण्ड–बाबुराम संघर्ष र कारबाहीबारे अलि फरक मत राखेका छन् । उनी भन्छन्– बाबुरामजीप्रति अध्यक्ष प्रचण्डमा जस्तो स्नेह थियो, कारबाहीपछि पनि त्यो घटेको थिएन । यसमा पाण्डेको आफ्नै तर्क र बुझाइ छन् ।

पुस्तकमा केही कमजोरी छन् । त्यसो त जीवनको अन्तिम सासहरु लिइरहेका बखत पुस्तक तयार भएकाले ती अञ्जानबश छुटेका हुनसक्छन् । कतिपय ठाउँमा हतियार तथा विस्फोटक पदार्थको सप्लाइ वर्णन अधुरा लाग्छन् । सामान्यतया हतियार किनेपछि नेपाल ल्याउन गरिएका कठीनाई छन्, हतियारको स्रोतसम्म पुग्दा कठिनाइबारे लेखिएका छैनन् । पाठकका मनमा जिज्ञासा उब्जिन्छन्, तर उत्तर छैन । त्यस्तै, कम्युनिस्ट आदर्शमा निरन्तर रहनाका लागि यसका दार्शनिक पक्षको ज्ञानको आवश्यकता सहजै अनुमान गर्न सकिन्छ । तर, करिब चार दशक निरन्तर कम्युनिस्ट दर्शन पछ्याएका पाण्डेको दार्शनिक स्कूलिङबारे लेखिएकै छैन ।

पुस्तकभरी फरकफरक शीर्षकमा पाण्डेले आफ्नो जीवन भोगाइ लेखेका छन् । त्यसैमध्ये एउटा हो– प्रचण्ड बाबुरामः मेरो मूल्याङ्कन । तर, प्रचण्ड र बाबुराम दुवैको निकट र विश्वासपात्र भएर महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेका पाण्डेको मूल्याङ्कन भने अधुरो लाग्छ । शीर्षकले जुन ओझ बोकेको छ र मूल्याङ्कनको अपेक्षा राखेको छ, प्रस्तुती भने निकै हलुका छ । सतही मात्रै छ । केवल सामान्य कार्यकर्ताकै शैलीमा पुरक भूमिकालाई जोड दिइएको छ । जबकि, गहिरो मूल्याङ्कन अहिलेको सन्दर्भमा महत्त्वपूर्ण हुनसक्थ्यो ।

समग्रमा पुस्तक रोचक र पठनीय छ । सरल मान्छेको ऐच्छिक बाध्यताको जीवन भोगाइ छन् । राजनीति र विगतको जनयुद्धप्रति चासो राख्नेहरुका लागि संग्रहनीय पनि छ ।

पहिलोपोस्टमा प्रकाशित

twitter: @kishu_gb123

No comments:

Post a Comment