Pages

Monday, September 14, 2015

मिलाप खोज्दै अमलेखगञ्ज

 किशोर दहाल 
          अघिल्लो आइतबार प्रदर्शनी मार्गमा हिँडिरहेको थिएँ । मोबाइल काम्न थाल्यो । उपेन्द्र दाइ (उपेन्द्र लामिछाने, नागरिक दैनिक)को कल रहेछ । सामान्य कुराकानीपछि उहाँले भन्नुभयो, "हेटौंडा जाने हो ?" 
         सोमबार बिहानै हेटौंडातर्फ लाग्यौं । उहाँसँग यात्रा गर्दा बेग्लै किसिमको रमाइलो हुन्छ । कतै रिपोर्टिङको लागि जानू छ भने पनि 'घुम्न जाने' वा 'मुड फ्रेस गर्न जाने' भन्ने उहाँको पुरानो बानी यथावत् छ । सिमरा, बारामा मैले केही समय पत्रकारिता गर्दा उहाँसँगको सम्बन्ध घनिष्ट भएको थियो । सामान्य ठानिएका र वास्ता नगरिएका सामाजिक बिषयहरूमा रोचक फिचर लेख्न सक्ने उहाँको शैलीको म सदाबहार प्रशंसक हुँ । सिमरामा बस्दा हामी बाइकमा निकै घुम्थ्यौं । त्यो काठमाडौंमा पनि जारी छ ।
        जे होस्, रमाइलो गर्दै हामी अमलेखगञ्जसम्म पुग्यौं । हरहिसाबले तराईमा 'गर्मी' छ, आजकाल ।
 * * *
         अमलेखगञ्जमा हाम्रो पहिलो योजना थियो, भरत घलेलाई भेट्ने । उनी घरमै भेटिए । आराम गरिरहेका रहेछन् । पुरानो भेटघाट स्मरण गराईयो । घले राजनीतिक व्यक्ति भएकोले गफगाफको सुरूमै मधेसमा चलिरहेको आन्दोलनले प्राथमिकता पाइहाल्यो । र, सामाजिक सद्भाव गुम्ने हो कि भन्ने सामूहिक चिन्ता पनि व्यक्त गरियो । गफ गरिरहँदा भरतकी श्रीमती गीता छेउमै बसेर सुनिरहेकी थिइन् । उनी साह परिवारकि छोरी हुन्, अर्थात् मधेसी समुदायकी चेली । वास्तवमा, घले र साह बीचको मिलन सुन्न नै हामी यो घरसम्म तानिएका थियौं । 
            गफको बिषय उहाँहरूको विवाहमा केन्द्रित हुन थालेको थियो । चार दशक अघिको प्रेम सम्बन्ध सम्झिदा यो उमेरमा पनि लज्जा महसुस भइरहेथ्यो दुबैलाई । जिन्दगीको टेप रेकर्डर रिवाइण्ड भएर प्ले हुन थाल्यो । यद्यपि त्यो प्रेम र विवाहलाई दुवैले एकसाथ सम्झिए । विवाहपछि भागेर एक बर्ष काठमाडौं बसेको सम्झिए । दश बर्षसम्म गीताको माइतीले अस्वीकार गरेको सम्झिए । ३० को दशक आँखाभरि झलझली नाच्न थाल्यो । त्यो सम्बन्ध एक जोडीको स्वभाविक मिलन मात्रै थिएन, अन्तर्जातिय र अन्तर्समुदाय बीचको मिलनको सुरूवात पनि थियो । 
           पारिवारिक स्वीकारको सम्बन्धमा भरत भाग्यमानी रहेछन् । उनका बाबुले समेत अन्तर्जातीय विवाह गरेका कारण उनलाई अप्ठ्यारो थिएन । ढिलै सही, गीताको परिवारले पनि स्वीकार गरेपछि अब सम्बन्धहरू फरक समुदायसम्म विकसित भयो । उहाँहरूको खुसी झन् बढि प्रशारित भयो ।
          गीता साहलाई प्रश्न गरियो, “एउटा पहाडीयासँग विवाह गर्दा अप्ठ्यारो लागेन ?” उहाँले भन्नुभयो, “मैले पहाडीयासँग विवाह गरेकै होइन, असल मान्छेसँग विवाह गरेको हुँ ।” असल मान्छेहरु खास सम्प्रदायभन्दा माथि हुने उहाँको माथिल्लो बिचार सुनेपछि हामी सबैमा हाँसो प्रशारित भयो ।
     संयोग कस्तो परेछ भने त्यसदिन भरतका आमाको श्राद्ध पनि परेको रहेछ । कुराकानीकै क्रममा गीताले श्राद्धको प्रसाद लिएर आइन् । सांस्कृतिक अन्तर्घुलनको प्रभाव प्रसादमा पनि देखिन्थ्यो । केही पहाडीया समुदायमा प्रचलित प्रसाद र केही मधेसी समुदायमा प्रचलित प्रसाद प्लेटमा थिए । प्रसाद मीठो मात्रै होइन, बिबिधतापूर्ण पनि थियो ।
       घले दम्पतीको कोठाका भित्ताभरी फोटोहरु टाँसिएका छन् । आफ्नो लगायत छोरोछोरीको । छोराछोरीको रङमा, ढाँचामा जैबिक अन्तर्घुलन देखिन्छ । आमालाई हेरेर फोटो हे¥यो भने सन्तान मधेसी जस्तो लाग्थ्यो । बाबुलाई हेरेर फोटो हे¥यो भने पहाडीयाजस्तो लाग्थ्यो । फोटो हेर्दा पनि होलोग्राम हेरेजस्तो लाग्थ्यो ।
      घले परिवारको अन्तर्जातीय विवाहको यो श्रृङ्खला भरतका बाबुदेखि उनका सन्तानसम्म फैलिएको छ । भरतका एउटा छोराबाहेक परिवारका सबैले अन्तर्जातीय विवाह नै गरेका गरेछन् । भरतका छिमेकीहरुमा पनि धेरैजसो अन्तर्जातीय विवाह गरेकाहरु नै रहेछन् ।
       हामी अमलेखगञ्जको गाविस कार्यालय पुग्यौं । गाविसमा कोही पनि सेवाग्राही थिएनन् । सचिब र एकजना कार्यालय सहयोगी बाहेक अफिसमा अरु कोही पनि देखिएनन् । सचिबले अमलेखगञ्ज गाविसमा अन्तर्जातीय विवाहको केही अनुमानित तथ्याङ्कहरु प्रस्तुत गरे । त्यस्ता विवाहका केही रोचक प्रसङ्गहरु पनि सुनाए । सामाजिक सद्भावका केही प्रभावका बिषयमा पनि धारणा राखे ।
      कार्यालय परिसरमै एउटी महिला आइपुगिन् । उनले पनि अन्तर्जातीय विवाह गरेकी रहिछन् । उनलाई देख्ने बित्तिकै सचिबले भने, “यिनको पनि अन्तर्जातीय विवाह भएको त हो नि !”
     कार्यालय परिसरमा हामी पाँचजना कुरा गरिरहेका थियौं । उनीहरु हामीलाई अन्तर्जातीय विवाहका बिभिन्न दम्पतीहरुको बारेमा सुनाउँथे । उनीहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो कि अमलेखगञ्जमा सजातीय भन्दा अन्तर्जातीय विवाह धेरै हुन्छ । यहाँका लागि अन्तर्जातीय विवाहमा कुनै नयाँपन छैन । यो कुनै समाचारको बिषय नै होइन । तर, बाँकी देशलाई यो नयाँ खबर हुन सक्छ । अनौठो खबर हुन सक्छ । अमलेखगञ्जबासीलाई समाचार नै नबन्ने बिषय हामी बाँकी देशका निम्ति समाचार बनाउन गइरहेका थियौं ।
      हामीले धेरै अन्तर्जातीय जोडीका बारेमा जानकारी पाएका थियौं । तर, हामी सबैलाई भेट्न सक्दैन थियौं । त्यो सम्भव र आवश्यकता दुबै थिएन । तर, हामी अजिज शेखलाई भेट्न गयौं । जो अजिजउल्लाहबाट प्रेमसाथ अजिज बनेका थिए ।
      मुल सडकबाट थोरै भित्रपट्टि उनको टेलर्स रहेछ । बाहिरपट्टि भित्तामा चकले ‘अजिज टेलर्स’ लेखेको देखेपछि हामी भित्र छि¥यौं । एउटा युवा मेसिनको अगाडि बसेर कपडा सिलाउँदै थिए । अजिज सुतेका रहेछन् । तिनै युवाले ब्युझाइँदिए ।
      झण्डै एक दशक भन्दा अगाडि गरेको बिहे आजको समाजमा उदाहरणीय कदम बन्ला भनेर अजिजले सायद कहिल्यै सोचेका थिएनन् होला । हामीले आफ्नो उद्देश्य बताउने बित्तिकै उनी अकमक्क परे । केही बेरको कुराकानीपश्चात उनी सहज बन्न थाले ।
       अजिजले बिस्तारै पुरानो टेलर्स सम्झिए । टेलर्सका मेसिनका चक्काजस्तै उनको दिमाग घुम्न थाल्यो । त्यो पुरानो टेलर्स तिनै ताराको घरमा थियो, जोसँग उनले विवाह गरेका थिए । ताराको घरमा बसेर उनले कपडामात्रै सिएनन्, प्रेम पनि सिए । प्रेम झाँगियो । मागी विवाह सम्भव थिएन । अजिजले तारालाई भगाएर आफ्नो घर पु¥याए । केही समयपश्चात उनी एक्लै ताराको घरमा आए । अलिकति डर र अलिकति लाज बोकेर । असन्तुष्ट र आक्रोशित त सबै थिए, सासुआमा अलि बढि नै रिसाएकी रहिछिन् । उनले अजिजको टेलर्स मेसिन नै फ्याँकिदिइन्छिन् ।
        प्रेमको अगाडि आक्रोश कति समय टिक्थ्यो र ? अन्ततः सबै शान्त भए । प्रेम विस्तारित भयो ।
       अजिजले अन्तर्जातीय मात्रै नभइ अन्तर्धार्मिक विवाह पनि गरेका थिए ।
       टेलर्समा बसेर एकसरो प्रेमकहानी सुने पछि अजिजकै साथ लागेर हामी उनको घरसम्म पुग्यौं । एउटा सामान्य गेटबाट भित्र पस्ने बित्तिकै थाहा भयो, अजिजको ‘परिवार’ ठूलो रहेछ । ती सबै बाहिर बसेर केही खाइरहेका थिए । थरिथरिका अनुहार देखिन्थे । कोही सेता, कोही काला । गहुँ र फापर मिसाइएझैं लाग्थ्यो । अजिजले श्रीमती तारासँग हाम्रो परिचय गराए र हामी आउनुको कारण बताए । हामीले उनीसँग पनि केही जिज्ञासा राख्यौं । फरक भाषा र धर्मका मानिससँग विवाह गर्दा ब्यहोर्नुपरेका सजिला अप्ठ्याराबारे सोध्यौं । उनले ‘नमस्ते’ र ‘सलाम वाकेलुम’ दुबै संस्कृतिप्रति अपनत्व देखाइन् । घर र माइती दुबै तिरका चाडपर्वका बखान गरिन् । दुबैतिरका चाडपर्वमा समान सहभागिताका साथ मनाउन पाउनु आफ्नो भाग्य सम्झिइन् ।
             हामी अजिजको घरबाट फर्कियौं र मालती साहको घरतिर लाग्यौं । मालती तिनै सासुआमा हुन्, जसले एउटी पहाडीया बुहारीलाई छोराको मृत्युपश्चात पनि दिएको मायाको कारण छिमेकभर चर्चित छिन् । मधेसी समुदायमा दाइजोको कारण सासु र बुहारीको झगडा परेको समाचारमा बाक्लै सुनिन्छ । पहाडीया समुदायमा त तिज पर्व नै मनाइन्छ, जसमा सासुले दिएका दुःख माइती पुगेर गाइन्छ । तर, मालतीको व्यवहार फरक थियो । त्यसैकारण हुनसक्छ, उनको बारेमा सुन्ने बित्तिकै हामी उनलाई भेट्न उत्साहित भएका थियौं ।
            गीताको साथ लागेर हामी मालतीको घरमा पुग्दा बच्चाहरु बाहिर पढिरहेका थिए । हामी आएको थाहा पाउनासाथ उनी बाहिर निस्किए । परिवारका अन्य सदस्य पनि निस्किए । केही काला अनुहारको साथ लागेर एउटी गोरी महिला पनि निस्किइन् । उनी तिनै बुहारी थिइन्, जसले पाएको माया छिमेकमा उदाहरणीय बनिरहेको छ । गीताले मालतीसँग कुरा गगरेपछि उनीहरु हामीसँग गफ गर्न थाले । मालती सबैलाई छोरी भन्थिन् । गीतालाई पनि छोरी नै भन्थिन् । मायाप्रेम त्यत्तिकै महसुस भइरहेको थियो । लक्ष्मीको पतीको मृत्यु भएपछि पनि परिवारले उनलाई सक्दो माया दिइरहेको छ । देवर देउरानी सबैको माया प्राप्त भइरहेको छ । देवर त भन्दैथे, “हामी सानै छँदा आमाले जत्तिकै माया गर्नुहुन्थ्यो । अहिले पनि आमाजस्तै लाग्छ ।”
* * *
           समुदायको विकासको लागि जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक अन्तर्घुलन निकै आवश्यक छ । यसले एक अर्काको संस्कृति र भाषाको बारेमा जानकारी दिन्छ । प्रशारित गर्छ । र, अपनत्वको महसुस गराउँछ । अर्कोतिर यसले समाजमा फरक समुदायको सहअस्तित्व स्वीकार गर्न र सम्मान गर्न मद्दत पु¥याउँछ । फरक भाषा, जात र समुदायको मानिसमा पनि नातेदारीको विकास गर्छ । यसले समाजमा मिलाप बढाउँछ । यो अन्तर्घुलनको एउटा माध्यम अन्तर्जातीय विवाह हो । जुन अमलेखगञ्जमा देख्न पाइन्छ । 


*उपेन्द्र लामिछानेले यस बिषयमा नागरिक दैनिकमा लेख्नुभएको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् । 

No comments:

Post a Comment