Pages

Thursday, July 23, 2015

त्यो भर्भराउँदो झिल्को

मेरा एक योग गुरु आफ्ना सबै शिष्यलाई कक्षामा हँसाइराख्नुहुन्थ्यो । कुनै एक साथीले सोध्यो, ‘गुरु योगाभ्यासमा यो हाँसोको केही सम्बन्ध छ ?’ गुरुले भने, ‘गम्भीर नहोऊ, इमान्दार होऊ ।’ 

चेतन भगत

सबैलाई नमस्कार

र, मलाई बोल्न अवसर दिनुभएकोमा धन्यवाद पनि ।

आजका दिन तपाईंहरुको हो । तपाईंहरु पक्कै उत्साहित हुनुहोला । जिन्दगीमा खुसीले सिमलको भुवाझैं उड्न पाइने दिनहरु एकदमै थोरै हुन्छन् । कलेजको पहिलो दिन तिनै थोरै दिनमध्ये एक हो । आज बिहान कलेज आउने तयारी गर्दा तपाईंहरु सबैलाई एकप्रकारको खुल्दुली भएको हुनुपर्छ । सभा कक्ष कस्तो होला ? शिक्षकहरु कस्ता होलान् ? र, नयाँ साथीहरु चाहीँ ? यस्ता थुप्रै जिज्ञासा एकै पटक मनमा आए होलान् । यो उत्साहलाई म ‘झिल्को’ भन्छु । यस्तो झिल्को तपाईंमा सधैं उत्पन्न हुन्छ । र, त्यसले तपाईंलाई जिउँदोजाग्दो बनाइराख्छ । म आज यो झिल्कोलाई सधैं भर्भराउँदो बनाइराख्ने कुरा गर्दैछु । वा भनौं, सधैं नसके धेरैजसो दिन कसरी खुसी हुने भन्नेबारे बोल्दैछु ।

यो झिल्को आउँछ कहाँबाट ? मलाई लाग्छ, हामी सबै यो झिल्कोलाई लिएर जन्मिन्छौं । मेरो तीन बर्षको छोरोभित्र म लाखौं झिल्काहरु देख्छु । एउटा सानो ‘स्पाइडरम्यान’ देख्दा ऊ बुरुक्क उफ्रिन्छ । पार्कमा पिङमा मच्ँिचदा खुसीले चिच्याउँछ । मैले सुनाउने एउटा कथाले उसलाई उत्साहित बनाउँछ । ‘केक’ काट्न पाइने लोभले महिनौंसम्म औंला भाँचेर जन्मदिन प्रतिक्षा गर्छ ।

म तपाईं सबैमा केही झिल्काहरु देख्छु । उमेर ढल्ँिकदै गएका मानिसमा झिल्का निकै कम हुन्छन् । झिल्को हराएका मानिस बोधा, निराश, निरुउद्देश्य हुन्छन् । त यो झिल्कोलाई जोगाइराख्ने कसरी ? कल्पना गर्नुस्, कुनै दियोको सुन्दर शिखा हो । यो शिखालाई जोगाइराख्न दियोमा निरन्तर तेल हाल्नुपर्छ । र, हावाको झोकालाई हरतरहले छेक्नुपर्छ ।

दियोमा सधैं तेल हालिराख्नुको अर्थ जिन्दगीमा एकपछि अर्को नयाँ गन्तव्य तय गर्नु हो । बाँच्नको लागि हरेक मान्छे निरन्तर संघर्ष गर्छ । वास्तवमा यो मानवीय स्वभाव नै सफलताको कडी हो, न कि उसलाई उसको कम्पनीले उपहार दिने कुनै कार वा घर ।

तपाईं–हामीमध्ये धेरैजसो मध्यम वर्गका हौं । भौतिक सुबिधा हाम्रा लागि सफलता हुनसक्छ । किनकि, तपाईं–हामीलाई हाम्रो आर्थिक अवस्थाले हरेक पटक केही किन्न खोज्दा एकचोटी सोच्न बाध्य बनाउने गरेको छ । यसैले, आर्थिक स्वतन्त्रता जिन्दगीको एउटा ठूलो उपलब्धी हो । तर, यो जिन्दगीको अन्तिम लक्ष्य हुँदै होइन । आखिर पैसा नै गन्तव्य हुँदो हो त धिरुभाइ अम्बानी काम नगरी बस्ने थिए । शाहरुख खानले नाच्न छाड्ने थिए । स्टेभ जब्सले अझ राम्रो ‘आइ–फोन’ बनाउने ध्याउन्न छाड्दा हुन् । उनीहरु अनवरत मेहनत गर्छन् । किनकि, यसले उनीहरुलाई सधैं उर्जावान् बनाइराख्छ । मेहनतका साथ पढे तपाईंहरु अर्को खुड्किलो उक्लिन सक्नुहुन्छ । धेरै मान्छेसँग अन्तत्र्रिmया गरे राम्रो अन्तर्वार्ता लिन वा दिन सक्नुहुन्छ । अभ्यास गरे तपाईंको क्रिकेट–कौशल राम्रो हुनसक्छ । तपाईंहरु सबै तेन्दुलकर बन्न सक्नुहुन्न । तर, पक्कै अर्को स्तर उक्लिनुहुन्छ । हो, यो स्तरोन्नतिका निम्ति हरदम संघर्ष गर्नु महत्वपूर्ण छ ।

हामी जुन प्रकृतिमा जन्मिएका छौं, त्यो थुप्रै अशृंखल ‘जिन’ र परिस्थितिको मिश्रण हो । खुसी रहन प्रकृतिको यो संरचनालाई स्विकार्नैपर्छ । तयार हुनुहुन्छ हैन त यसलाई स्विकार्न ? यसनिम्ति जिन्दगीको नयाँ लक्ष्य सहयोगी हुन सक्छन् । तर, प्राज्ञिक वा व्यावसायिक जीवनजन्य लक्ष्यमात्रै नलिनुस् । यस्ता लक्ष्यहरु लिनुहोस्, जसले तपाईंलाई सन्तुलित र सफल जीवन जिन्दगी दिन्छ । म ‘सफल’ अघि ‘सन्तुलित’ शब्द प्रयोग गर्दैछु । ‘सन्तुलित’को अर्थ स्वास्थ्य, सम्बन्ध र मानसिक शान्तिलाई मिलाइराख्नु हो । प्रेमी वा प्रेमिकासँग ‘ब्रेकअप’ भएको दिन ‘प्रमोसन’ पाउनुको कुनै अर्थ छैन । ढाड दुख्ने गरी काम गरेर कार हाँक्नुको के मज्जा ? बोझिलो मस्तिष्क बोकेर ‘सपिङ मल’मा टहलिनुले के आनन्द देला र ?

‘जिन्दगी एउटा दौड हो’, तपाईंहरु सबैले यो उक्ति सुन्नुभएको हुनुपर्छ । तर, मलाई लाग्छ, जिन्दगी हामीले ‘नर्सरी कक्षा’ पढ्दा खेल्ने त्यो दौड हो, जहाँ हरेक प्रतिपर्धीको मुखमा एउटा गुच्चा अडिएको चम्चा चेपेर दौडिनुपर्छ । चम्चाको गुच्चा भुइँमा झरे प्रथम हुनुको अर्थ हुँदैन । जिन्दगीको दौडमा पनि स्वास्थ्य र सम्बन्ध भनेको चम्चामा अडिएका तिनै गुच्चा हुन् । जिन्दगीमा प्रेम हुन्छ भनेमात्रै संघर्षको अर्थ रहन्छ । अन्यथा, तपाई सफल बन्नुहुन्छ, तर तपाईंलाई उत्साहले भर्भराउँदो र खुसीले गद्गद् बनाइराख्ने झिल्को मर्छ ।

झिल्को बचाइराख्नेबारे अन्तिम कुरो, जिन्दगीलाई कहिल्यै गम्भिरताका साथ नलिनुस् । मेरा एक योग गुरु आफ्ना सबै शिष्यलाई कक्षामा हँसाइराख्नुहुन्थ्यो । कुनै एक साथीले सोध्यो, ‘गुरु योगाभ्यासमा यो हाँसोको केही सम्बन्ध छ ?’ गुरुले भने, ‘गम्भीर नहोऊ, इमान्दार होऊ ।’ त्यसयता गुरुको दर्शनले मेरो कार्यशैलीलाई सधैं परिभाषित गरेको छ । चाहे मेरो लेखनीमा होस् वा सम्बन्धमा, म कहिल्यै गम्भिर भइनँ । हो, इमान्दारचाहीँ पक्कै भएँ ।

मैले हरेक दिन आफ्नो लेखनबारे प्रतिक्रियाहरु पाउँछु । प्रशंसा र आलोचना दुवै भेट्छु । गम्भीर भए फेरी कसरी लेख्ने ? वा भनौ, कसरी ज्युने ? जिन्दगीलाई गम्भीरताका साथ लिनुहुन्न । किनकि हामी सबै अस्थायी पात्र हौं । हामी फगत एउटा ‘प्रि–पेड कार्ड’ हौं, जुन निश्चित अबधिपछि प्रयोजनहीन हुन्छ । हामी भाग्यशाली छौं भने आउँदो ५० बर्षसम्म बाँचौंला । त्यो भनेको केबल २५ सयवटा शनिबार हुन् । ढाड खुइल्याएर काम गर्नुको के अर्थ ? केही कक्षा बंक गर्दा भो । केही अन्तर्वार्ता हाउडे भएर दिँदा भो । तर, मायाको तालमा चाहीँ डुब्नुहोस् है । आखिर हामी मान्छे हौं, मेसिन होइनौं ।

जिन्दगीले चार प्रकारका हावाका झोका झेल्नुपर्छ, जसले तपाईंभित्रको झिल्को निभाउन सक्छ । ती हुन्– हताशा, निराशा, विभेद र निराला ।

आशा गरेको उपलब्धि हात नलाग्दा हताश भइन्छ । यो असफलता सम्हाल्न ज्यादै गाह्रो हुन्छ । तर, यो असफलताले आफुलाई के सिकायो ? यो प्रश्न गर्नु आवश्यक छ । असफल हुँदा तपाईंले आफुलाई निकै नाजुक पाउनुहुन्छ । जिन्दगीसँग हार मान्न सक्नुहुन्छ । लगातार नौवटा प्रकाशन गृहले मेरो पहिलो पुस्तकको पाण्डुलीपि अस्वीकार गर्दा मैले पनि झण्डै हार खाएको थिएँ । तर, यो जिन्दगी हो । चुनौतीलाई सधैं पार लगाउन सकिने भए त ती आखिर चुनौती नै नहुने थिए !

निराशा अर्थाता हावाको अर्को झोका, हताशाकै दौंतरी हो । मानिस अक्सर आफ्नो काममा सफल नहुँदा निराश हुन्छन् । घण्टौं ट्राफिक जाममा फस्दा वा आफुले पाउनुपर्ने जागिर अर्कैको पोल्टामा पर्दा निराशाको बादल मडारिन्छ । कहिलेकाहीँ कुनै काम पूरा गर्न यति लामो समय लाग्छ, तपाईं त्यो काम सुरु गरेकैमा पछुताउन थाल्नुहुन्छ । केही किताब लेखेपछि मैले हिन्दी चलचित्रका कथा लेख्ने निधो गरेँ । चलचित्र लेखकको रुपमा मलाई सबैले भाग्यमानी ठान्छन् । तर, मेरो कथामा बनेको चलचित्र पर्दामा आउन पाँच बर्ष लाग्यो । निराशाले उत्साहको बिरुवा लतार्छ । तपाईंको ऊर्जालाई कुनै नकारात्मक पदार्थमा परिणत गर्छ । र, तपाईंलाई एउटा टर्रो मान्छे बनाइदिन्छ । आफुले कथा लेखेको चलचित्र दर्शकसामु आउन त्यत्रो समय लाग्दा पनि म कसरी निराश भइनँ ? त्यसका लागि चलचित्र बनाउन लाग्ने समयको सही मूल्यांकन जरुरी भयो । चलचित्र पुरा हुन लामै समय लाग्छ, जबकि यसलाई एकाध घण्टामा हेर्न भ्याइन्छ ।

पक्षपात सबैभन्दा कठिन चुनौती हो । दुर्भाग्य, हाम्रो समाजमा जताततै पक्षपात हुन्छ । जसका बाबुआमा धनी छन्, उसलाई अबसरको खाँचो हुँदैन । पहुँचशाली पुरुष वा सुन्दर महिलालाई पनि समस्या हुँदैन । क्षमता र मेहनतलाई सधैं उपलब्धीसँग जोड्न सकिँदैन । तर, समग्रमा जहिल्यै क्षमता, मेहनत र उपलब्धीको अन्तर्सम्बन्ध हुन्छ । आफ्नो वरिपरि आफूभन्दा अभागी मानिस भएको कहिल्यै नबिर्सनुस् । हामीसँग जे छ, त्यसप्रति कृतज्ञ हुन सिकौं । र, जे छैन, त्यसलाई स्विकार्ने सामथ्र्यको विकास गरौं । मलाई पाठक धेरै माया गर्छन् । यस्तो माया अन्य लेखकले कल्पनामात्र गर्नसक्छन् । तर, म समिक्षकहरुको प्रशंसा पाउँदिन । मलाई कुनै दुःखमनाउ छैन । ठिकै छ, म ऐश्वर्या रायजस्तो देखिन्न । तर, मसँग दुई छोरा छन् छोरा छन्, जो मेरा आँखामा ऐश्वर्याभन्दा सुन्दर छन् । पक्षपात हुन्छ भन्ने भावनाले तपाईंलाई उर्जाहीन नबनाइदिउन् ।

र, अन्त्यमा एक्लोपना । यो तपाईंको लागि खतरनाक छ । उमेर जति माथि चढ्छ, त्यति नै तपाईंलाई आफू भिन्नै भएको भान हुन्छ । सानो छँदा सबैलाई आइसक्रिम र स्पाइडरम्यान भए पुग्छ । कलेज जाने उमेर छुँदासमेत तपाईं धेरै हदसम्म साथीहरुजस्तै रहनुहुन्छ । तर, दश बर्षपछि तपाईं आफूलाई भिन्नै पाउनुहुन्छ । तपाईं के चाहनुहुन्छ ? केमा विश्वास गर्नुहुन्छ ? र, के अनुभूत गर्नुहुन्छ ? तपाईं र तपाईंकै जीवनसाथीमा समानता भेटिँदैन । आफ्नो र अरुको रुचि नमिल्दा द्वन्द्व पैदा हुनसक्छ । र, तपाईं आफ्ना केही रुचिलाई बलिको वेदीमा चढाउन तयार बन्नुहुन्छ । जस्तो कि, कलेज पढ्दा बास्केटबल टिमको क्याप्टेन हुने दोस्रो बच्चा जन्माएपछि बास्केटबल खेल्नै छाड्छन् । हुँदाहुँदा त्यो चिजसमेत त्याग्न तयार हुन्छन्, जुन कुनै बेला उनीहरुको जिन्दगीको सार थियो । उनीहरु यो सब परिवारको खुसीको लागि गर्छन् । तर, यसले उनीहरुभित्रको झिल्कोलाई मारिदिन्छ । तपाईं कहिल्यै यस्तो सम्झौता नगर्नुस् । पहिले आफैलाई प्रेम गर्नुस्, त्यसपछि मात्रै अरुलाई ।

तपाईं हताशा, निराशा, पक्षपात र एक्लोपनाबाट कहिल्यै टाढा रहन सक्नुहुन्न । यी आँधीहुरी तपाईंको जिन्दगीका प्रत्येक अनुच्छेदमा दोहोरिन्छन् । यसैले, हरदम यस्तो रेनकोट बोक्नुस्, जसले यी आँधीहुरीबाट तपाईंभित्रको जम्जमाउँदो झिल्कोलाई जोगाईराख्छ ।

म तपाईंलाई जिन्दगीको सबैभन्दा सुनौलो कालखण्डमा स्वागत गर्न चाहन्छु । कसैले मलाई बितेको कुनै कालखण्डमा फर्कने अबसर दिन्छ भने म कलेजमा बिताएका बर्षहरु रोज्छु । म आशा गर्छु, दश बर्षपछि पनि तपाईंका आँखा आजको जस्तै चम्किनेछन् । म आशा गर्छु, कलेज जीवनभरिमात्र नभई आउने पूरै २५ सय साताभरि तपाईंले आफूभित्रको भर्भराउँदो झिल्को जोगाइरहनुहुनेछ । तर, तपाईंमात्रै हैन, हरेक व्यक्तिले आफ्नो उमंगको झिल्कोलाई जोगाइराख्नेछन् । किनकि अहिले यो झिल्को जोगाउनुपर्ने आवश्यकता इतिहासको कुनै कालखण्डमा भन्दा बढी नै छ ।

आखिर, हामी करोडौं झिल्को भएको धर्तीका बासिन्दा हौं ।

(भगतले भारतको एउटा स्कुलमा दिएको प्रवचन ।)

अनुवादः ओमआस्था राई

साभारः नागरिक दैनिक(अक्षर), शनिबार, २८ चैत्र, २०६६


No comments:

Post a Comment