किशोर दहाल
भदौ २२, २०७५| प्रकाशित १८:५५
पत्रकार बसन्त बस्नेतको पहिलो पुस्तक '७२ को विस्मय' शनिबार सार्वजनिक हुँदैछ। पुस्तकको 'कभर'मै संविधान, मधेस र नाकाबन्दीलाई 'ह्यासट्याग'सहित जोड दिइएकाे छ। तर, बस्नेत भन्छन्, 'पुस्तक मधेसबारे मात्रै छैन। मधेस यसको मुख्य भाग हो।'
खासमा पुस्तकमा के छ? उनले भनेजस्तै मुख्य भागका रुपमा रहेको मधेस, मधेसका मुद्दा, बदलिएका मधेसकेन्द्रित दलहरुलाई उनले कसरी हेरेका छन्? मधेस राजनीतिप्रति उनको प्रक्षेपण कस्तो छ? लगायतका विषयमा नेपाल लाइभका किशोर दहालले बस्नेतसँग कुराकानी गरेका छन्।
पुस्तकमा के छ?
समग्र नेपालको उत्तर संक्रमणकाल यो पुस्तकको केन्द्रमा छ। मधेस यसको अभिन्न हिस्सा हुँदै हो। मैले नेपालमा प्रजातन्त्रको सूत्रपात हुँदायताको पहिचान, आत्मसम्मानको राजनीतिबारे चियाउने प्रयास गरेको छु।
किताब कसका लागि लेखिएको हो?
पक्कै, पाठककै लागि। अझ इतिहास, राजनीति, समाजका मुद्दाहरुबारे रुचि राख्ने पाठकहरुले बढी रुचाउनुहुन्छ होला। यो संक्रमणकालीन नेपालको समकालीन राजनीतिक इतिहास हो।
पत्रकारले साधारणतया आफूले रिपोर्टिङ गरेको क्षेत्रमा किताब लेख्ने गर्छन्। तर त्यसरी किताब नै लेख्न वर्षौं समय लगाएका हुन्छन्। तपाईंले कति समय काम गरेपछि यस्तो किताब लेख्ने अठोट गर्नुभयो?
यसको कुनै बनिबनाउ नियम छैन। मैले औपचारिक बिट सम्हाल्नुअघि पनि यो विषयमा लेख्ने, खोज्ने गर्थें। संविधान निर्माण प्रक्रियाको फास्टट्र्याक र योसँग जोडिएका असहमतिहरु नै तत्कालीन समयको 'फल्टलाइन' स्पष्ट गर्न पर्याप्त थिए। पुस्तक त्यही बुझाइले लेखायो।
त्यस्तो कुनै घटना छ, जसले तपाईंलाई अब मधेसबारे पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो?
कान्तिपुर दैनिकमा मधेस बिट सम्हाल्दै अलिअलि सोच बन्न थालिसकेको थियो। तर संविधान निर्माण प्रक्रिया विवादित बन्दै गएपछि, अनि मधेसकै असन्तुष्टिलाई कारण देखाएर भारतले नाकाबन्दी थोपरेपछि पुस्तकको आवश्यकता पूरा गर्नुपर्छ भन्ने लाग्यो। यद्यपि यसमा मधेसको कोणमात्रै आएको छैन। यो समग्रतालाई विश्लेषण गरेर लेखिएको पुस्तक हो।
लेख्नुअघि नै यस्तै स्वरुपको पुस्तक लेख्ने भन्ने सोच्नुभएको थियो कि लेख्दै गएपछि अहिलेको स्वरुपमा अाउन पुग्यो?
लेख्नुअघि अलि ठूलो 'क्यानभास' सोचिएको थियो। त्यसै अनुसार अघि बढेँ पनि। पहिलो ड्राफ्ट सकेर केही समय आराम लिएपछि उल्लेख्य परिमार्जन गरेँ। लेख्ने क्रममा यस्तो हुँदो रहेछ।
पुस्तकले समकालीन नेपाली राजनीतिलाई मिहिन विश्लेषण गरेको छ वा यो वर्णनात्मक पुस्तक मात्र हो?
यो दुवै हो। समकालीन राजनीति विश्लेषण नगरी गरिएका वर्णनहरुको अर्थ हुँदैन। अनि वर्णनबिनाका विश्लेषणहरु पाठकलाई सम्प्रेषण गर्न कठिन होलान्।
मधेस आन्दोलन उत्कर्षमा पुगेको केही वर्ष नबित्दै त्यसैसँग जोडिएको पुस्तक आएको छ। तर, मुद्दा र घटनाक्रमले निष्कर्ष पाइसकेको छैन। जोखिम मोलेको जस्तो लाग्दैन?
लाग्छ। राजनीतिक मुद्दाहरु लामो समय चलिरहने प्रक्रियाहरु हुन्। त्यसको कुनै एउटा निश्चित बिन्दुबाट टुंगो लाग्न कठिन हुन्छ। पोहोर साल भएका तीन चरणका चुनावले तेस्रो मधेस आन्दोलनलाई घटनाक्रमको दृष्टिले टुंग्याइदिएकै हुन्। मेरो यो तर्कसँग सायद क्षेत्रीय पार्टीहरुले पनि असहमति नराख्लान्।
मधेस आन्दोलनलाई 'रियल पोलिटिक्स'का रस्साकस्सीबाट मात्र हेर्नु कति उपयुक्त हो?
जुनसुकै विषयलाई पनि 'रियल पोलिटिक्स'बाट मात्रै बुझ्नु गलत हो। बरु 'टोटल पोलिटिक्स'बाट बुझ्नु मनासिव हो भन्ने लाग्छ।
तपाईंले संकेत गरेजस्तै पुस्तक 'रियल पोलिटिक्स'मा मात्रै आधारित होइन भने, मधेसी जनताले केन्द्रीय सत्ताबाट भोगेका अनुभव कत्तिको आएका छन्?
यो चाहिँ पुस्तक पढेपछि थाहा होला।
तपाईंले मधेसलाई जुन परिस्थितिमा देखेर पुस्तक लेख्न थाल्नुभएको थियो, अहिले त्यसमा कस्ता परिवर्तन आएका छन्?
नयाँ संविधानले सीमान्तकरणमा परेका क्षेत्र, वर्ग, समुदायलाई धेरै हदसम्म सम्बोधन गर्न सफल भएको छ। संघीय सीमांकन लगायत केही विषयमा उनीहरुले राखेका मागहरु जस्ताको तस्तै सम्बोधन नहुनु स्वाभाविक जस्तै थियो। यो कुरा वास्तवमा दोस्रो संविधानसभा चुनावको परिणाम आउने बेलै स्पष्ट भइसकेको थियो। त्यसैले राज्य संरचनाप्रति छिटफुट असन्तुष्टि बाँकी रहे पनि तुरुन्तै त्यसले राजनीतिक वजन पाउने सम्भावना देखिएको छैन। बरु संघीयता अभ्याससँगै यो असन्तुष्टि बिस्तार भएर प्रदेश सरकार, स्थानीय सरकारतिर खिचिने सम्भावना पनि देखिन थालेको छ।
शक्ति संरचनाको हिसाबले उनीहरुको सीमांकन लगायतका केही विषयका मागहरु सम्बोधन नहुनु स्वभाविक हो। त्यसमा दुई मत नहोला। तर मधेसले भोगेको भनिएको लामो समयको विभेदलाई सम्बोधन गर्न उनीहरुले त्यतिबेला चर्को रुपमा र अहिले सुषुप्त रुपमा उठाइरहेकाे मागले कति अर्थ राख्छन्?
पहिलो त, मधेस आन्दोलनको नेतृत्वकर्ता रहेको मधेसी मोर्चा संविधान कार्यान्वयन, चुनावसँगै स्वयम् सत्तामा गइसकेको, सत्तालाई समर्थन जनाइसकेको अवस्थामा अब उनीहरुका बाँकी मागहरु के हुन् भन्ने स्पष्ट गर्नुपर्छ। दोस्रो, त्यहाँका सामाजिक तनाबहरु भोलि नयाँ अवस्थामा सतहमा आउने देखिएमा सायद नयाँ नेतृत्वको खोजी हुन सक्छ। त्यो नेतृत्व हालका पार्टीहरु भित्रैबाट या बाहिरबाट पनि जन्मन सक्छ।
मधेस त्यतिबेला सही मुद्दामा आन्दोलित भएको थियो भने त्यो मुद्दा जीवितै छ। मुद्दा सही भएपछि राजनीतिमा अन्य कुरा गौण मानिन्छ। मधेस फेरि पनि उसैगरी आन्दोलित हुने सम्भावनाबारे पुस्तकले केही संकेत गर्छ?
मधेस आन्दोलनका राजनीतिक पक्षहरु एक ठाउँमा छन्, भावनात्मक प्रश्नहरु दोस्रो ठाउँमा। राजनीतिक पक्ष भन्नाले हामी समानुपातिक प्रतिनिधित्वको प्रश्न, स्थानीय भाषाको मान्यता, निर्वाचन क्षेत्र वितरण, सीमांकन आदिमा पुग्छौं। भावनात्मक प्रश्न भन्नाले लामो समयदेखिको रङ, वर्ण, भाषा, स्रोत साधनमाथिको बराबरी पहुँचको कमी आदिका कारण उत्पन्न संवेगहरु बुझ्नु उचित हुन्छ। त्यहाँभित्रैको वर्गीय, सामाजिक अन्तर्द्वन्द्व पनि कारक छ। मूल कारण राजनीतिक नै हो। यी छिद्रहरु भोलि नयाँ ढंगले नखुल्लान् भन्न सकिन्न। यही सम्भावना कर्णाली, सुदूरपश्चिम, महिला या अरु पक्षबारे पनि देखाउन सकिन्छ। केही न केही असन्तुष्टि सबैतिर छ। शक्तिशाली बन्दै गएको राज्य अब 'डेलिभरी'मा कसरी खरो उत्रन्छ, यसको परीक्षा हुन बाँकी छ। वा भनौं, सुरु भइसकेको छ।
मधेसी जनताको अनुभूति उतार्न आन्दोलनको मौसम मात्र उपयुक्त हुन्छ? वा, सामान्य बेलामा गरिएका गहन अन्तर्क्रिया बढी उपयोगी हुन्छन्? तपाईको धारणा के हो? पुस्तक लेख्दा यस्तो कुरा महसुस भयो?
पुस्तक भनेको एउटा लेख वा स्तम्भ होइन। मौसमको कुरै भएन।
नाकाबन्दी भारतले लगाएकोमा सन्देह रहेन। तर त्यो नाका अवरोधचाहिँ राज्यका गोलीबाट मधेसीका ज्यान जोगाउन जरुरी थियो भन्ने मधेसकेन्द्रित राजनीति गर्नेहरुले अहिले पनि तर्क गर्छन्। यो तर्कमा कतिको सत्यता छ? पुस्तकले यस्ता तर्कलाई कसरी केलाएको छ?
यो विषयमा लामो बहस गर्न सकिन्छ। जवाफका अनेक आयाम छन्। सायद हामी पुस्तकमै यसको जवाफ खोज्ने प्रयासमा लाग्नु उचित होला।
मधेसलाई हेर्ने तीन वटा कोण चल्तीमा छन्। स्वयम् मधेस, काठमाडौं र दिल्ली। पुस्तकमा कुन कोण प्रभावी छन्? त्यो कोणबाट तपाईंले कस्तो चित्र देख्नुभयो?
मधेसलाई हेर्ने चौथो कोण पनि हुन सक्छ नि। सक्दैन र? तर याद गर्नुपर्ने कुरा के छ भने, यो पुस्तक मधेसबारे मात्रै छैन। मधेस यसको मुख्य भाग हो।
पुस्तक तयार गर्दाका केही रोचक अनुभव छन् भने बताइदिनुस् न?
खासै याद भएन। सायद मेरो जीवनशैलीलाई अलि व्यवस्थित बनाएँ हुँला। पुस्तक लेख्ने भनेपछि एउटा अनुशासनमा बस्नुपर्ने रहेछ। मैले आफूलाई त्यसमा बानी पार्ने प्रयास गरेँ।
अन्तिममा, यो किताब नपढ्ने पाठकहरुलाई के घाटा हुन्छ?
पुस्तक नाफा-घाटाका लागि होइन।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/31569

No comments:
Post a Comment