किशोर दहाल /
एउटा बटुवा कतै जाँदै थियो । गन्तव्यमा पुग्न निकै समय बाँकी छँदै साँझ पर्न थाल्यो । उसले अघिल्लो गन्तव्य तय गर्ने वा त्यतै कतै बास बस्ने भन्ने बारेमा सोच्न थाल्यो । ऊ कुनै महिलाको घरमा पुगेर त्यस्तै जिज्ञासा राख्यो । साँझमा आएको पाहुनालाई महिलाले सम्मानपूर्वक भनिछन्, “जाने भए ‘दुधमाडी’ जाउँ, बस्ने भए ‘साँप्रा च्यातिदिउँला’ ।” महिलाको कुराले बटुवा रोमाञ्चित नहुने कुरै थिएन । उसले दुध माडेर मात्रै जानुभन्दा साँप्रा च्यात्नै उपयुक्त सम्झियो । उत्तेजित कल्पनाले गर्दा बटुवाले साँझको यात्रा त्यहीं टुङ्ग्याउने निर्णय ग¥यो । जतिजति रात पर्दै गयो, बटुवा उतिउति उत्तेजित हुँदै थियो । तर, उसको उत्तेजना त्यतिबेला सेलायो, जतिबेला ‘साँप्रा च्यात्ने’ भन्दै महिलाले कर्कलाको डाँठको बोक्रा उप्काउन थालिन् । बटुवालाई आफ्नै पूर्वकल्पनामाथि पछुतो लाग्यो । उनीहरु राती त्यही कर्कलोको तरकारी र भात खाएर सुते ।
बिहान उठेपछि महिलाले खाना खाएर मात्रै जान आग्रह गरिन् । र, खानाको मेन्यु बताईन्– “साँप्रा च्यातिदिउँ कि बर्षेउला खाने ? रातीकै साँप्राले दिक्क भईसकेको बटुवाले ‘बर्षेउला’ खाने बिचार ग¥यो । तर, महिलाले के खुवाउने हुन् भन्ने बारेमा बटुवालाई थाहा थिएन । तर, कर्कलोभन्दा बर्षेउला उपयुक्त हुन सक्ने उसको अनुमान थियो । खाना पकाउने बेलामा महिलाले प्लास्टिकको पोको खोलेर गुन्द्रुकजस्तै केहि बस्तु निकालिन् र त्यसलाई पानीमा ढड्याउन राखिन् । यता बटुवालाई महिलाले के पो पकाउने हुन् भन्ने उत्सुकता उच्च थियो । जब उसले पानीमा ढड्याईएको बर्षेउला हे¥यो, ऊ अचम्ममा प¥यो । त्यो त बर्षायामको गड्यौलालाई सुकाएर पो राखिएको रहेछ । बर्षायामको गड्यौला सुकाईएकोले त्यसको नाम बर्षेउला राखिएको हुन सक्छ । जसोतसो खाना खाएर उसले दुधमाडी जाने बिषयमा जिज्ञासा राख्यो । महिलाले मुसुक्क हाँस्दै भनिन्, “त्यो पल्लो गाउँको नाम दुधमाडी हो । हिजो तपाई ढिलो आईपुग्नु भयो । यहाँबाट हिँडेको भए त्यो गाउँसम्म पुग्न सक्नुहुन्थ्यो भन्न खोजेकी थिएँ ।”
एउटा अर्को उदाहरण । यो चाहीँ गाउँका एकजना हजुरबुवाले सुनाउनुभएको थियो ।
उहाँहरु निकै पहिले पश्चिम नेपालतिर घुम्न जानुभएको रहेछ । उहाँहरु जवान हुँदैको कुरा होला । कुनै ठाउँमा केही महिला र पुरुषले अम्बा (Guava) बेच्न राखेका रहेछन् । उहाँहरुले महिलासँगै अम्बा किन्ने बिचार गर्नुभएछ । सायद बिपरित लिङ्गीप्रतिको आकर्षणले हुनसक्छ । महिलालाई रकम देखाएर आग्रह गर्दै उहाँहरुमध्ये कसैले भन्यो, “यो पैसा लिनुस् र हामीलाई अम्बा दिनुस् । तपाईहरुको अम्बा निकै राम्रो रहेछ । खान मन लाग्यो ।”
महिलाहरुले मुख रातो बनाउँदै लजाएछन् तर कसैले अम्बा दिएनन्, न त जवाफ नै दिए ।
कुनै पनि महिलाले अम्बा नदिए पछि उहाँहरु पुरुष भएको ठाउँमा पुगेर अम्बा किन्न खोज्नुभयो । तर, पुरुषले पनि अम्बा दिनु भन्दा पहिले उहाँहरुको ठेगाना सोधेछ ।
उहाँहरुले घर पूर्वतिर भएको र यतातिर घुम्न आएको बताउनुभएछ । अम्बा राम्रो देखेर खान मन लागेकोले किन्न खोजेको तर कसैले नदिएकोमा अचम्ममा परेको पनि बताउनु भएछ ।
पुरुषले जवाफ दिएछ, “घर पूर्व भएकोले तपाईहरुलाई थाहा नभएको हुन सक्छ । यतातिर अम्बा भन्नाले महिलाको स्तन भन्ने बुझिन्छ । तपाईहरुले अम्बा माग्नुभयो । धन्न ! महिलाहरु चुप लागे । उस्तै भए तपाईहरुलाई कुट्न पनि सक्थे । यतातिर अम्बालाई ‘बेलौती’ भन्छन् ।”
त्यसपछि उहाँहरुको मुहार लाजले रातो भएछ ।
********
विदेश जाँदा भाषा नबुझेर परेका अप्ठ्यारो बेलाबेलामा साथीभाईले सुनाउँछन् । त्यो स्वभाविक नै हो । अर्काको देश, नयाँ भूगोल, नयाँ मानिस, नयाँ भाषा र संस्कृतिले पनि अप्ठ्यारो थप्ने गर्छ ।
तर, हामी एउटै देश, लगभग संस्कृति पनि उस्तै–उस्तै भएको ठाउँमा पनि भाषाकै कारण बेलाबेलामा अप्ठ्यारोमा पछ्र्यौँ । पश्चिमतिरको भाषा पुर्वेलीलाई बुझ्न निकै गाह्रो हुन्छ । मैले फरक जातजातीले बोल्ने भाषाको कुरा गरिरहेको छैन । नेपाली भाषा बोलिरहँदा पनि कतिपय शब्द हामीलाई बुझ्न गाह्रो हुन्छ । कतिपय शब्दले एकातिर स्वभाविक अर्थ दिइरहेको हुन्छ भने अर्कोतिर अश्लिल अर्थ दिइरहेको हुनसक्छ । आफैं पुर्वतिरको भएकोले पुर्वका खास शब्दहरुमाथि पश्चिमतिर लाग्ने अर्थबारे त्यति जानकारी मलाई छैन । तर, पश्चिमतिरका केही साथीभाईले बोल्ने केही शब्द सुनेर मलाई असहज लाग्छ । जस्तै गुल्मीतिरका मानिसले भैंसीको थुन ‘पग्रिनु’लाई ‘ठन्किनु’ भन्दा रहेछन् । त्यस्तै पश्चिम पहाडतिर पुरै ‘ढाड’लाई ‘कन्नो’ भन्दा रहेछन् । पुर्वतिर यस्ता शब्दले अश्लिलता बोक्छन् । पुर्वतिरका केही शब्द पश्चिमकालाई त्यस्तै लाग्न सक्छ । केही शब्द भने रमाइलो पनि सुनिन्छ । जस्तै पुर्वतिर भनिने ‘बिगौती’लाई दाङतिर ‘छ्यौकुती’ भनिदो रहेछ । त्यस्तै पूर्वका केही शब्दले पश्चिमका मानिसलाई हसाउँन सक्छ ।
हामीसँग धेरै भाषाहरु छन्, संस्कृतिहरु छन् । कैयौं हराइसके । कति हराउने क्रममा छन् । जातपिच्छेका भाषामाथि नेपालीभाषाको बर्चश्व छ । नेपाली भाषामा पनि पूर्वेली भाषा मानक भाषाको रुपमा रहेको छ । अङ्ग्रेजी भाषाको बर्चश्व सबैतिर छ । अब केहीबर्ष पछि चोकबजारमा कोरियाली र जापानी भाषामा कुरा गर्दै गरेकाहरु पनि प्रशस्तै देखिन थाल्नेछन् । यसै क्रममा हाम्रा आफ्नो मौलिक भाषा र संस्कृति हराउन सक्छ ।
अब हामीले स्थानीय भाषा र संस्कृतिलाई जगेर्ना गर्ने बेला आएको छ । हरेक ठाउँमा हाम्रै भाषा संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बेला आएको छ । हामीले बेवास्ता गरेको आफ्नै संस्कृतिलाई , भाषालाई अरु कसैले माया गर्दैन । आफ्नो भाषाको जति प्रचार–प्रसार ग¥यो, उती विस्तार हुन्छ नै । अनि, एक क्षेत्रको भाषा सुनेर अर्को क्षेत्रका मानिस हाँस्नु पर्ने स्थिति आउने छैन । र, देशभित्रैका भाषा नबुझ्दा हुने अप्ठ्यारोको सामना गर्नुपर्ने छैन । जय भाषा–संस्कृति ।