किरण दाहाल
कथाकारले कुनै
जटिल बिषयमा कलम
चलाएका छैनन् ।
तर, कथाको प्रस्तुती जटिल
छ । एउटा
सडकमा धेरै गाडीहरु एकैपटक
कुदेजस्तो कथाभित्रका कथाहरु सँगसँगै कुद्छन् ।
पाठकलाई यस्तो अप्ठ्यारो आईपर्ला कि
ऊ ‘होलोग्राम’ भित्रका अनेक
दृश्यहरु हेरिरहेछ ।
..............................................................
..............................................................
पछिल्लो समय
नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण
गर्न थालेका छन्
। त्यसै पङ्क्तिमा नयाँ
पुस्तक थपिएको छ–
राजमाया । दुर्गाबिनयको यस
कथा सङ्ग्रहमा पाठकले
परम्परागत भन्दा केहि भिन्न
शैलीका कथाहरु पाउनेछन् ।
सङ्ग्रहका एकपछि अर्को कथा
पढ्दै जाँदा पात्रहरु उहि
भेटिनु, घटनाका रहस्यहरु पछिल्ला कथामा
खुल्दै जानु यस
सङ्ग्रहका मुलभुत बिशेषता हुन्
। कथाका संरचना
पनि नितान्त बेग्लै
किसिमको छ । यसकारण
केहि कथाहरु पढ्ने
बित्तिकै पाठकलाई कथा सङ्ग्रह होईन
की उपन्यास पढ्दै
छु भन्ने भान
पर्न सक्छ ।
कथा सङ्ग्रहको पहिलो
कथा हो, ‘दोभानेको कछुवा’ ।
मुख्य पात्र छिन्– राजमाया ।
उनैको मृत्युपछिको घटना
कथामा छ ।
अत्याधिक मातृप्रेम प्रस्तुत गरिएको यस कथामा
राजमायाको छोरो बिगत र
बर्तमानमा ओहोरदोहोर गरिरहन्छ । ऊ मरेकी
आमाको सामुन्ने बसेर
कहिले सम्झनामा आमासँगै लुटपुटिन्छ भने
कहिले यथार्थमा आँशु
तप्काउँछ । ‘मेरी आमा
बुटन’मा
राजमाया कमजोर पात्रको रुपमा
छे । उसको
पढाई प्रतिको मोह
अचाक्ली छ । ऊ
आफ्नी आमालाई ‘पढ्न
जान्छु’ भन्ने हैसियत
समेत राख्दिन ।
बिरामीबाट भर्खरै तङ्ग्रीदा ‘आराम
चाहिन्छ’ भन्न सक्दिन
। तर, शसक्त
पक्ष कहाँ छ
भने त्यहि राजमाया अन्तिममा बिद्रोही बनेर
प्रस्तुत हुन्छे । राजमायाको बिद्रोह देखिने
अर्को कथा ‘राजमाया मरेकी
छैनन्’ हो ।
सङ्ग्रहकै सबैभन्दा लामो र शसक्त
कथा हो, यो
। पितृसत्ताले एक
छत्र राज गरिरहेको समाजमा
महिलाहरुले आफ्नो अस्तित्व देखाउन
पुरुषहरुमा निर्भर रहनुपर्ने बाध्यता यद्यपी
चलिरहेको छ । नारीको
समग्रता नै पुरुषको परिचयमा झुण्डिने गर्छ
। तर, यस
कथामा चिन्तामणिलाई चिनाउन
‘राजमायाको श्रीमान्’ शब्द प्रयोग
गरिएको छ, बारम्बार ।
यस किसिमको ‘विद्रोही शब्द’ले राजमायालाई केन्द्रमा राखेको
मात्र नभई नायक
समेत बनाएको छ
। तर, कथाभरी
राजमायाको जीवन नायकको जस्तो
छैन । चिन्तामणिबाट राजमायाले कहिल्यै सुखद
अनुभुती गर्न पाईन ।
त्यसो त पश्चतापमा रुमल्लिंदा चिन्तामणिले एकपटक
भन्छ, ‘मेरै कारणले
यसले(राजमायाले) कहिल्यै आनन्दले निदाउन
पाइन, एक झप्को
सपना देख्न पाइन
।’ यहि पश्चतापबाट थाहा
हुन्छ, राजमायाले जीबनमा
के–के
पाउन सकिनन् र
त्यसको अन्तर्य कारणमा
कुन पात्रको प्रबल
भूमिका थियो ।
तीनै राजमाया, जो
बर्षौदेखि श्रीमान्को यातना खपेर दिनहरु
काटिरहेकी हुन्छे, उसैले श्रीमानलाई आँगनमा
पुग्नेगरी घचेटिदिन्छे र दुईचार झापट
बजाइदिन्छे । ‘सहनेहरुको दुःख
माटोमा मिल्छ, नसहनेहरुको जुर्मुराउँछ’ भन्ने
भनाई यहाँ सार्थक
हुन्छ । ‘राजमायाले चुर
चोरिन््’ कथामा वैवाहिक छनौटको
बिषयले स्थान पाएको
छ । केहि
अघिसम्म(यदाकदा अहिले पनि)
स्थिति यस्तो थियो
की महिलाले वैवाहिक निर्णयमा कुनै
अधिकार राख्दैनथे ।
आमाबाबुले जुन घरको बाटो देखाईदिए, त्यहि
बाटो हिड्नुपर्ने बाध्यता थियो
। यस प्रकृयामा आफुले
‘मन पराएको’ वा
‘मन नपर्ने’ शब्दको
कुनै व्यबहारिक राजमाया पनि
यिनै मान्यताहरुको शिकार
भएकी छिन् ।
वास्तवमा यहींबाट उनको जीबनले जीबनजस्तै फुल्ने
अधिकार गुमाउँछ ।
किनकी चिन्तामणिले बाध्यतामा परेर
उनीसँग विवाह गरेको
हुन्छ । जुन
अनेकौ दुःखको कारण
बन्छ ।
सङ्ग्रहका अन्य
कथाहरु कुनै भूतप्रेतसँग सम्बन्धित छन्,
कुनै जातिय विभेदसँग सम्बन्धित छन्
। तर, केन्द्रमा छिन्,
राजमाया । ‘हरिकृष्णको सपना’ उनै
राजमायाले आफ्नो परिचय र
अस्तित्व खोज्न गरेको प्रयास
हो । केहि
कथामा नारीमा रहेको
यौन उकुसमुकुसलाई छताछुल्ल पारिएको छ
। महिला पात्रले बोलेका
वाक्यले उनीहरुमा रहेको यौन प्रतिको त्यहि
उकुसमुकुसलाई ब्यक्त गर्छन् ।
राजमायाको मृत्युको वरिपरि घुम्दाघुम्दै फरक–फरक समयमा बिगत
र वर्तमानको वास्तविकतालाई अनुभुति गर्दागर्दै कथाहरु
सकिन्छ ।
कथाकारले कुनै
जटिल बिषयमा कलम
चलाएका छैनन् र
त्यो नयाँ बिषय
पनि होईन ।
तर, कथाको प्रस्तुती जटिल
छ । एउटा
सडकमा धेरै गाडीहरु एकैपटक
कुदेजस्तो कथाभित्रका कथाहरु सँगसँगै कुद्छन् ।
पाठकलाई यस्तो अप्ठ्यारो आईपर्ला कि
ऊ ‘होलोग्राम’ भित्रका अनेक
दृश्यहरु हेरिरहेछ । सम्पूर्ण कथामा
राजमायालाई फरक–फरक
अक्षहरु(डाइमेन्सन)बाट हेरिएको छ
।
महिलाको परिचय
पुरुषसँग गएर जोडिने उपक्रम
लामो समयदेखिको नेपाली
समाजको चरित्र हो
। महिलामाथि हुने
सामाजिक बिभेद र शिक्षाबाट बञ्चित
गराईने प्रवृति केहि
समय अघिसम्म ब्याप्त थियो
। अहिले कम
भएको छ ।
कथासङ्ग्रहका हाँगा जराले यिनै
बिषयलाई सम्बोधन गर्छ तर मुल
काण्ड भने राजमायाको मृत्युको वरिपरि
घुमिरहन्छ । कथासङ्ग्रह भएको
हुनाले प्रत्येक कथाको
छुट्टाछुट्टै अस्तित्व हुने र त्यसलाई सोही
रुपमा ग्रहण गरिनुपर्ने हो
। तर, यस
सङ्ग्रहभित्रका
कथाहरुलाई छुट्याएर हेर्नै सकिन्न ।
प्रायः कथामा राजमाया छिन्
। उनी कतै
कारण, कतै घटना
र कतै प्रभाव
बनेर उपस्थिति भईरहन्छिन् ।
प्रत्येक पछिल्ला कथाहरु राजमायालाई थप
बुझ्न मद्दम पु¥याउने ‘क्लु प्वाईन्ट्स’ जस्ता
छन्, जसले राजमायालाई फरक–फरक कोण र
रङबाट प्रस्तुत गर्छन्
। १२ वटा
कथाहरु रहेको यस
कथासङ्ग्रहका प्रायः सबै पात्रहरु दुःखी
छन्, राजमायाको मृत्युले ।
कथा सङ्ग्रह उत्कृष्ट बनेको
छ ।
सामान्य किसिमको असाबधानी जताततै
भेट्न सकिन्छ ।
‘राजमायाले चुर चोरिन्’ कथामा
एउटा वाक्य लेखिएको छ,
‘आफ्नो इच्छा विपरित
हुन लागेको विवाहमा अबस्य
पनि उनी खुशी
थिइन् ।’(पेज
नं.८३) त्यहाँ
‘थिइनन्’ हुनुपर्ने ।
यस्ता असाबधानी धेरै
छन् कथामा ।
कतै समान्य असर
पार्ने, कतै फरक
अर्थ दिने ।
‘तापौं एकछिन घाम
सियाँलमै बसेर’ कथामा एक
ठाउँमा ‘उनको पसलमा
उधारो कारोबार हुँदैन’(पेज
नं. ३८) लेखिएको छ
। फेरी एकै
छिनमा उदारो दिईएको
प्रसङ्ग छ । कमजोरी
अरु पनि छन्
तर, कथाको फरक
किसिमको प्रभावले गर्दा ती छोपिन्छन् यद्यपी
मेटिदैनन् । यस्ता सामान्य कमजोरी
आगामी संस्करणमा सच्याउन जरुरी
छ ।
(नागरिक दैनिक (अक्षर), शनिबार, २२ चैत्र २०७० मा प्रकाशित । तर, यो समिक्षा नागरिक दैनिकले सम्पादन गरेर प्रकाशित गर्नु अघिको हो ।)