Pages

Tuesday, August 8, 2017

स्त्रीप्रेमीको एउटा बयान

मंगलबार (साउन २४ गते) सेतोपाटीमा प्रकाशित सावित्री गौतमको चर्चित लेख किन भएनन् स्त्रीहरू 'बौद्धिक'? मा ९ वर्ष अघि एउटा दैनिक पत्रिकामा प्रकाशित अन्तर्वार्ताको प्रसंगबाट सुरू गरिएको छ। गौतमको लेखको पहिलो अनुच्छेदमा लेखिएको छ- नौ वर्षअघि एउटा ‘अल्ट्रा’ वामपन्थी/समानतावादी भनेर चिनिएको दैनिक पत्रिकामा आएको एक ‘वरिष्ठ’ पत्रकार/लेखकको अन्तरवार्तामा भनिएको रहेछ– ‘स्त्रीहरु बौद्धिक हुँदैनन्।’

त्यो 'अल्ट्रा' वामपन्थी पत्रिका थियो- नयाँ पत्रिका दैनिक। र, 'वरिष्ठ' पत्रकार/लेखक हुन्- किशोर नेपाल। गौतमको आर्टिकलमा कसैको नाम त उल्लेख छैन। तर, संकेतहरू धेरै छन्। उनले धेरै पुरूष पात्र र प्रवृत्तिमाथि प्रहार गरेकी छिन् भन्ने बुझ्न सकिन्छ। अहिलेलाई उनको पहिलो अनुच्छेदले लक्षित गरेको फिचर/अन्तर्वार्ता पढौं:
.....
एउटा यहुदी उखान छ- “सबैभन्दा राम्रोसँग झूट बोल्नु भनेकै सत्य बोल्नु हो।” यसलाई उल्टो पारेर पनि बुझ्न सकिन्छ “सत्य बोल्नु भनेको मिलाएर झूटो बोल्नु हो।” किशोर नेपाल यसलाई कसरी बुझ्दा हुन्? यसपल्ट हामी उनलाई सुनपानी ख्वाएर सत्य ओकल्ने मुडमा छैनौं।

सिगारको चर्को धुवाँ र चार-पाँच सुन्दरीका वरिपरी मडारिइरहने कुनै ‘टाउके भमरो’ देखियो भने त्यस्तालाई ‘डन’ भन्छन्। अखबारी दुनियाँका विनाग्यांगका यी ‘डन’ चाहि कति फूल र कोपिलावरिपरी घुमे। वा केही फूलहरू नै डाली छोडेर भमरा खोज्दै आइपुगे की? कपासको भुवा टासेजस्तो यिनका सेता जुँगाको जालोमा अहिलेसम्म कति पुतलीका पखेटा अल्झिए होलान्? मलाई यसपटक यीसँग स्त्री-संवाद गर्नुछ। माथिका सबै प्रश्न सोध्नु छ। के यिनले दिने सबै उत्तर सही होलान्? कि मिलाएर झुट बोल्लान्?


राजधानीको सडकमा यसपटक पनि हिउँको वर्षा हुने सम्भावना बताइएको छ। तर, किशोर नेपालको शिरमा अघिल्लो सालकै बाँकी भएजस्तो लाग्छ। ‘पहिले कम कालो थियो मेरो कपाल ?’ आफ्नो इतिहासमा उनी गर्व गर्छन्। तर, कपाल रंग्याउने कुनै मेहेन्दीका लागि किशोर नेपालको टाउको उपलब्ध छैन। सायद मिजाज रंगीन भएपछि कपालको रङ्गले केहि फरक पर्दैन होला।


किशोर नेपाल सहरमा नारीवादी होइन, नारीप्रेमीका रुपमा चिनिन्छन्। ‘पोखिएर घामका झुल्का भई संघारमा, तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है’ काठमाडौंले घाइते बनाएका कवि हरिभक्त कटुवालको यो गीत उनलाई मनपर्छ। इतिहासदेखि साहित्यसम्मको एउटा सबैभन्दा ठूलो मेहनत ‘स्त्री–रहस्य’को पहेँली सुल्झाउनमा खेर गएको छ। हजारभन्दा बढी वैज्ञानिक आविष्कार आफ्नो नाममा दर्ता गरेका थोमस अल्वा एडिसनको ल्याबले समेत खोल्न नसकेको रहस्यको प्रश्न मैले किशोर नेपालसामु तेर्स्याएँ, ‘स्त्रीमा के रहस्य छ ?’ ‘कुनै रहस्य छैन, रहस्य छ भन्ने भनाइमा चाहिँ रहस्य छ।’ उनले भनिदिए। त्यसो भए के सारा संसार वेवकुफ नै हो त? ‘स्त्री भनेको भरिलो जुनारजस्तो हो। छोडाउँदै गएपछि त्यसमा कुनै रहस्य भेटिँदैन, केवल रस भेटिन्छ’, यिनले अहिलेसम्म फुस्रो जुनार भेटेका छैनन् जस्तो छ।

५५ वर्षको उमेरमा किशोर नेपाल अहिले 'लभ' गरिरहेका छन्, त्यो पनि एउटी २४ वर्षे कन्यासँग। प्रमाणका लागि तपाईं यिनको मोबाइलमा सेभ भएका तीन सय ९८ वटा म्यासेज चेक गर्न सक्नुहुन्छ। यो अफेयर सुरु भएको एक वर्ष पनि भएको छैन। तर यो अवधिमा ती कन्याले पनि किशोर दाइका एक सय १३ वटा म्यासेज पाइसकेकी छिन्। उनी तिनको नाम र हुलिया बताउन मान्दैनन्। तिनलाई एउटा ‘पेट” नाम दिएका छन्, जसको यहाँ उल्लेख भयो भने सधैका लागि सम्बन्ध खराब हुने धम्की मेरो शिरमाथि घुमिरहेको छ। यो मोबाइल लभको कुरा भयो, यिनकी अर्की एउटा 'फिमेल'सँग ‘ई-मेल लभ’ पनि चलिरहेको छ। यी एउटी फिलिपिनी युवती हुन्, जो स्पेनमा बस्छिन्। बैंकक, हंगकंग र जर्मनीमा यिनीसँग किशोर नेपालको जम्काभेट भएको थियो। एकदिन अचानक उनलाई भड्काउने प्रश्न बोकेर तिनको मेल आयो- ‘तिमी मसँग बिनासेक्सको प्रेम गर्न सक्छौ?’ ‘अहिले उनी मलाई हरेक महिनाको अन्तिम तारिखमा एउटा गुलाबको फूल पठाउछिन्,’ उनले भने। यो फूल महिनाको पहिलो दिन नआएर किन अन्तिम दिन आएको होला? पुछारको प्रेम भएर हो की?

सहरमा ‘चिज के हो भने’ भन्ने ‘फ्रेज’ हिट छ। मैले यिनलाई गरेको एउटा प्रश्न यस्तो थियो- ‘आखिर स्त्री चीज के हो?’ ‘स्त्री पनि पुरुषजत्तिकै बृहत्तर आकार र सम्भावना भएको अष्टधातु-पञ्चतत्वले बनेको एउटा प्राणी हो,’ उनी एकैपटक धर्मशास्त्रदेखि दर्शनशास्त्रसम्मको यात्रामा निस्किए, ‘स्त्री एउटा भावना पनि हो, तर यो अत्यन्त आन्तरिक र सारै निजात्मक हुन्छ।’ त्यसो भए प्रेम के हो त? अंग्रेजीमा ‘मिलियन डलर क्वोइस्चन’ भन्ने प्रश्नलाई किशोर दाइले सजिलै हावामा उडाइदिए, ‘प्रेम भनेको भावना अभिव्यक्त गर्ने बाहाना हो, विधि हो। कहिलेकाहीँ त यो कर्मकाण्डको स्तरसम्म आइपुग्न सक्छ।’

स्त्रीको केले आकर्षित गर्छ? 'स्त्री-पुरुषको आकर्षणको बीचमा एक किसिमको युटोपिया हुन्छ, आशा हुन्छ। त्यही युटोपियाले सम्बन्ध गाँसिरहेको हुन्छ। युटोपियाको कुनै भाषा र आदर्श हुँदैन, केवल सुखको अनुभूति हुन्छ’, उनले भने। ५५ वर्षको उमेरमा आइपुग्दा उनी कतिपटक यो आकर्षणमा परे त? उनले भने, ‘म एउटी स्त्रीको आकर्षणमा मात्र रहन सक्ने मानिस होइन। ढाई तीन सय स्त्री-नेत्रबाट आकर्षित भए होला कि म यो कुरो मिहिन तरिकाले बुझ्न चाहन्थे तर उनले बीचैमा भने, ‘त्यो आकर्षण के-केले गर्दा भयो भनेर खोजियो भने आकर्षण नै गायब नै हुन्छ।’

कुनै स्त्रीमा उनको आँखा सबैभन्दा पहिला के मा ठोकिन्छ? एकछिन सोचेर उनले भने, 'एकैपटक दुइ ठाउमा गयो भने नि’ ठिकै छ। ती दुई अंगचाहि कुन-कुन हुन् त? ‘वक्ष र नितम्ब |’ धेरैले भन्ने गरेको आँखालाई उनले भाउ दिएनन्। ‘आँखा भनेको दृष्टि हो, केटा। आँखा त कुनै दृष्टिविहीन महिलाका पनि राम्रा हुन सक्छन्। तर, के अहिलेसम्म ती आँखाको तारिफमा कुनै गीत लेखिएको छ?’ आँखालाई चलिआएको बिम्ब मान्दै उनले थपे 'कुनै स्त्रीका ओठ यति रसिला हुन्छन् कि संसार भुलेर चुम्बन गरौंजस्तो लाग्न सक्छ।' के कुनै आँखासँग यो कुरामा ‘नियमापत्ति’ गर्ने साहस छ?

१४ वर्षको उमेरमा चाबहिल स्कुल पढ्दा यी निकै खिरिला थिए, सहपाठीहरु भने ज्याङ्गो। कक्षामा दुई भोला थिए। एउटा भोलामानसिंह बस्नेत, उनी केटीको आकर्षणको केन्द्र थिए। अर्का थिए, भोला चालिसे, जो पछि सचिव बने। यी भोलाको प्रेम होला कि नहोलाजस्तो थियो। किशोर नेपाल बीचमा थिए। यसैले यिनको प्रेम पनि बीचैमा पर्यो। आफ्नै कक्षाकी एउटीले यिनको मन तानेकी थिइन्। ‘प्रेम त मैले मात्र गरें, तिनले गरिनन्’ उनले भने। लभलेटरको तिर्सना थुप्रै प्रेमातुर साथीहरुको लागि रचेको बिम्ब र प्रतीकमै खिइँदै गयो र एक दिन थाहै नपाई सकियो। समग्रमा, आफ्नो भावनाको बलमा उनले प्रेम गर्न सकेनन् तर, दर्जनजति साथीले त्यहि भावानामा लभ गरे | “कसैले थ्यान्क्युसम्म पनि भनेनन ,’ प्राय: साथीहरु निठुरी हुन्छन |

किशोर नेपाललाई कस्ता स्त्री मनपर्छन ? यिनका आँखा जुधेका तीन सयमा कस्ता महिला थिए ? ‘सभ्य, सुसंस्कृत, सामाजिक चेत भएका तर सामाजिक कार्यकर्ता चाहि होइन है ‘ उनले सीमारेखा छुट्याएरै भने | समाज परिवर्तनका लागि लड्ने सामाजिक कार्यकर्ता एउटा पत्रकारको नजरमा किन सुन्दर भइनन् ? ‘यिनमा कुनै भावना हुदैन, यीनीहरु कृत्रिम जीवन र भावनामा अभ्यस्त हुन्छन, मौका परे पलायन हुने खालका हुन्छन | ’एक किसिमको हिप्पोक्रेसी हुन्छ,‘ यो उनको विश्लेषण हो | जसमा उनी विस्वस्त छन् बाँकीको मतसँग उनलाई वास्ता छैन | उनी राजनीति गर्ने महिलाको तुलनामा कविता लेख्ने महिलालाई बढी दुखि देख्छन | कारण, ‘यी राम्रो कविता लेख्न सक्दैनन्, त्यसैले दुखि हुन्छन |’ जीवनमा कविता लेखेका किशोर नेपालको यो महिला कविप्रतिको सहानुभूति हो की

‘डुबीइन्छ कि उत्रीइन्छ भन्ने चिन्ता बोकेर स्त्रीको साथ लाग्नुहुदैन | स्त्री भनेको एउटा नीलो र डरलाग्दो ताल हो | भुमरी खेल्न जानेन भने गडिन्छ,’ मैले उनलाई कस्ता स्त्रीको साथले डुबाउछ भनेर सोधेको थिए, उनले सबै स्त्रीलाइ एकैपटक तानिदिए | उनकै भाषामा अहिले कति नारीको ‘भोग’ गरे होलान ? त्यो गनेर साध्य लाग्ने भए, किशोर नेपाल किशोर नेपाल हुन्थ्यो, कुनै सामान्य प्राणी हुन्थें ?’ यसमा मेरा लागि भन्ने र सोध्ने ठाउ बाकी रहेन |

सुन्दरी र बौद्धिक  स्त्रीमा कुन बढी खतरनाक हुन्छन्? यो प्रश्न गर्दा मेरो मनमा कुनै स्त्रीको छवि थिएन। अन्यथा म तिनको नाम लिएर यी दुईमा कुन बढी खतरनाक भनेर सोध्ने थिएँ। उनले यसको जवाफ दिएनन्। बरु प्रश्नको समीक्षातिर लागे, ‘यो प्रश्न नै बढी खतरनाक भयो।’ किन होला? मेरो जिज्ञासाको मूल राम्ररी फुट्न नपाउँदै उनले भने, 'स्त्री कहिल्यै बौद्धिक हुदैनन्।’ देशमा महिलावादी छन् र तिनले कहिलेकाहीँ जुलुस पनि निकाल्छन् भन्ने किशोर नेपाललाई थाह छैन? ‘जुलुस निकाले मैले के गर्ने त? मलाई लागेको बोल्ने हो,’ उनको बिन्दास शैली यथावत् छ। यो विषयमा लामै छलफलपछि उनले भने, ‘सुन्दरी बढी खतरनाक हुन्छन्।' ‘पढे-लेखेको हाइफाइ केटी भनेका चाइनिज जुत्ताजस्ता हुन्। नपढेका तर व्यावहारिक बुद्धि भएका केटी क्लार्क जुत्ताजस्ता, दसौं वर्षसम्म टिक्ने हुन्छन्।’ के उनले यति बोल्दा सहरमा टायर बल्ला? टायर बाल्न कोही तयार भयो भने सडक खालि होला? कि कसैले पहिले नै 'बुक' गरिसकेको पो छ कि?

कहिलेकाही मुडमा भएका बेला यिनी फोटोग्राफरलाइ ‘मेरो फोटो तू चीज बडी है मस्त-मस्तमा रबिना टन्डनजस्तै मस्तको खिच’ भन्न बेर मान्दैनन | अब बिचरा फोटोग्राफरले यिनलाई कसरी रबिना बनाउलान ? तर, तिनै रबिनाका लागि पनि यिनी संसार त्याग्न तयार छैनन् | ‘संसार त्याग्छु भन्नेखालको अतिमा कहिल्यै पुगिन’ भन्छन | यस्तो ‘गिलो भावुकता‘ उनमा कहिल्यै भएन | यति हुदाहुदाई पनि यिनको मनको भित्री खोपीमा रहेको स्त्री ‘फेन्टासी’ तिनै रबिनासंग जोडिएको छ | ‘कुनै रात ती मस्त अदासहित मसँग आउन भन्ने एउटा फेन्टासी छ’, फेन्टासीमा कुनै तर्कको स्थान हुदैन | यसको बत्ति बाल्न कतै तार जोड्नु पनि पर्दैन |तर, योसँग उनको एउटा भित्री दु:ख टासिएको छ | जुन यस्तो छ ‘मेरो शरीर यति बिग्रीसकेको छ कुनैदिन ती साच्चिकै आइन भने मैले के नै पो गर्न सकुला र |’ फेन्टासीको फ्युज उड्न कुनै आइतबार पर्खिनुपर्दैन, बेलुनजस्तो जतिखेर पनि प्याट्ट जान सक्छ |

संवादको बीचमा उनलाई एउटा मिसकल आयो, उनले कल-ब्याक गरे। र, भने, ‘हेर, सहरका स्त्रीहरु मिसकल गर्छन अनि नेटवर्क बिजी राख्छन।’ यसमा मलाई केही भन्नु थिएन, यसैले मैले सही थपिनँ। बरु, अर्को पुरानै प्रश्न गरेँ। कुनै धर्तीबाट स्त्री गायब भए के होला ? यो प्रश्नमा उनी एकछिन कतै हराए | जब फर्किएर आइपुगे अनि भने, ‘साँच्चै सबै गायब भए भने के होला, है ?’ यो त्यो उत्तर थिएन, जसको मलाइ प्रतिक्षा थियो | बरण्डाबाट उनले एकसरो सहरको भित्री भागतिर मुन्टो डुलाए | अनुहारमा एउटा उत्साहको लहर देखापर्यो | स्त्री रहेनन् भने यो श्रीष्टीको विनाश हुनेछ | पृथ्वी हामीले सोचेभन्दा चाँडो नस्ट हुनेछ | यो पृथ्वीमा जता-ततै पानी भरिनेछ | हामी फेरी डाइनासोरमा परिणत हुनेछौ |’ यो कुनै समुन्द्रमा डुबेको ’टाइटनिक’ जहाजको सम्झना थिएन | नारी गायब भएको घडीमा यी नारीप्रेमी के गर्दा हुन् ? ‘म पाउलो कोहेलोको ‘इलेभेन मिनेटस’ पढेर बस्नेछु |’ यो नै किन ? के कुनै नेपाली उपन्यासमा यिनलाई भुलाउने क्षमता छैन ? ‘यो उपन्यासमा सारा स्त्री संवादको सार र सुत्र छ’, उनले मलाई यो उपन्यास नपढी स्त्री-संवाद गर्ने ध्रिस्टता गरेकोमा सानोतिनो धम्की दिए |

स्त्री र भोगको कुरापछि केहि ‘अलग माटोले बनेका प्राणी’का बारेमा सोध्न बाकी नै थियो | यी आर्का प्राणी ‘एलियन’ होइनन् र यिनले ‘धुप’ खादैनन् | परापूर्वकालदेखि यिनको महिमा व्यापक छ | यिनको गौरवगाथा हरेक ग्रन्थमा वर्णित छन् | स्त्रीको संगत नरुचाउने यस्ता ‘महापुरुष’लाइ समाजमा ब्रम्ह्चर्य भनिन्छ | एउटा भोगवादीको नजरमा ब्रम्ह्चर्य कस्तो देखिएला ? ‘मिथ्या उनले सजिलै भन्छन ‘कृष्ण पहाडी किन ब्रम्ह्चर्य भएका होलान ?’ प्रश्न पुरा नहुदै उनले फैसला गराइदिए, ‘उनि ब्रम्ह्चर्य होइनन्, यो मानव श्रीष्टीमा कोहिपनि ब्रम्ह्चर्य हुनसक्दैन, आँखा, वाणीर सपनामा पनि ब्रम्ह्चर्य टुट्न सक्छ कसैले यसको ठेक्का लिन सक्दैन |’ के त्यसो भए उनको ब्रम्ह्चर्य पाखण्ड हो त ? यसमा भने उनले अलि कुरो घुमाए, ‘त्यो ढोंग हो, पाखण्ड हो वा आदर्श के हो म जान्दिन | तर, मिथ्या चाहि हो |’

ब्रम्हचारीपछि आयो पालो अविवाहित बृद्धहरूको। हुन त कांग्रेसी वृत्तमा सुशील कोइरालालाई अझै पनि युवा नेता नै भनिन्छ, क्यारे, युवा भनेको सुन्दा उनको मनले त रमाइलै मान्दो हो। बृद्ध कायाको चाहिँ के हाल होला? युवा भनेको सुन्दा यिनको शरीरले सरम मान्ला  यिनले किन विवाह नगरेका होलान् भन्ने प्रश्न किशोर नेपालका लागि चटपटे खाएजस्तो भयो- ‘मुड फ्रेस’ बनाउने। उनले भनिहाले, ‘सुशील कोइरालाले पार्टी र देशका लागि यति ठूलो भार वहन गरेका छन् कि त्यसमाथि यिनले विवाहको भार उठाउन सक्दैनन्। विवाहको बोझ पनि थपियो भने सुशील कोइराला पाताल पुग्नेछन्।' अनि यिनले लामै संगत (वा सेवा) गरेका कृष्णप्रसाद भट्टराईले किन नगरेका होलान्? ‘उहाँलाई विवाह गर्न आवश्यक छैन।' कुनैबेला भट्टराईले ‘म अविवाहित हुँ, कुमार होइन’ भन्दा राष्ट्रलाई एक सय चार डिग्रीको ज्वरो आएको थियो। अहिले यो भनाइ चोक-चोकमा छाती फुलाएर गफ चुट्ने हरेक अविवाहितको नारा बनेको छ।

भट्टराई प्रधानमन्त्री हुँदा किशोर नेपाल उनका प्रेस सल्लाहकार थिए, जुन बेला अमिता कपाली नाम गरेकी एक स्त्री एकाएक घर-घरमा सन्तोषी माताभन्दा चर्चित भइन्। के साइभक्त के शाहीभक्त, त्यति बेला कपालभातीको 'फेसन' चलिसकेको थिएन, नत्र भए ‘कपालीभाती’ नि हुन सक्थ्यो। यिनलाई सोधियो- कृष्ण-कपाली जोडीमा यहाँको टिप्पणी? उनी सुरिइहाले ‘त्यो स्वाभाविक हो।मानिसका शारीरिक, मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय र अहिलेको भाषामा समावेशी सम्बन्धहरु हुन्छन्। के अमिता कपाली नामक एउटी स्त्रीले कृष्णप्रसाद भट्टराई नामक पुरुषको सेवा गर्छु भन्न नपाउने? यसमा कसैले किन रिस गर्ने? भट्टराई हुन नसकेका आत्माहरुले यसमा ईर्ष्या गरेर यो विवादित कुरो बनेको हो।'बुढा त मज्जाले बसेका छन् नि त!’ यो अध्याय अझै लम्ब्याउन मलाई उचित लागेन।

अब फेरी संवादले अर्को मोड लियो। र, यो मोडमा देखा परे सडकलाई नै मादक बनाउने गरि लच्किने, युवती र किशोरीहरु।यिनलाई देख्दा किशोर नेपाललाई ‘कुछ-कुछ’ होला कि नहोला ? ‘मेरो मन हरियो हुन्छ’ उनले भने। र, साथमा हरियोको अर्थ प्रकृति र जीवन हो रे! कसैले अन्यथा नलिनु होला। एकाबिहानै क्याम्पसको गेटमा जम्मा हुने पिकेका केटी र माओवादी छापामार युवतीमा के फरक होला? ‘केहि फरक छैन।' यति लामो प्रश्नको अन्त्य यस्तो छोटो उत्तरमा हुन गएकोमा क्षमाप्रार्थी छु। रोज्नपरे यी कतापट्टीका रोज्दा हुन्  ‘जता राम्रा छन् त्यतैका।’ राम्राको परिभाषा जसलाई जे मनपर्छ त्यही हुन सक्छ।

यस्ता सोडसीहरुले यिनको सपनामा कतिपटक खैलाबैला मच्चाए होलान? ‘म कहिल्यै पनि रातको सपना बिहान सम्झिन्नँ।’ उनले ‘मुक्तिमार्ग’ रोजे। किशोर नेपालसँग रिस उठेकाहरुले यिनलाई ‘सपनाविहीन मान्छे’ भन्न पाउलान्? अलि बढी केरकार गरेपछि के खुल्यो भने, यिनले पुरै जिन्दगीमा एउटा मात्र सपना सम्झिएका रहेछन्। र, त्यो सपनामा यिनकी आमा देखिएकी थिइन। आमा एकदमै जवान, सुन्दर लुगामा सजिएकी थिइन् र हल्का ‘डान्सिङ मुड’मा थिइन्। यो सपना आमाले धर्ती छाड्नुभन्दा तीन महीनाजति अघि उनलाई सूचना दिने हिसाबले आएको थियो।

स्त्री र मदिरा कसको नसा तगडा, हिलारी र मोनिकामा को बढी सुन्दर, द्रौपदी र सीतामा कुन अब्बल, नाक-कान काटिएपछी सुर्पणखाको के हाल भयो होला? स्त्रीको रुद्रघन्टी हुँदैन भनेर किन भनिएको होला? जस्ता प्रश्नहरु अझै बाँकी थिए। उनले फटाफट उत्तर दिन थाले, ‘मदिरा भन्दा स्त्रीको नसा तगडा, स्त्रीको नसाको प्यास नबुझेको मानिस त्यहि तिर्सना मेट्न मदिरातिर लाग्छ’ उनले भने। ‘हिलारी भन्दा मोनिका बढी सुन्दरी। किनभने हिलारीको श्रीमान्ले समेत मनपरायो, ‘सीता भन्दा द्रौपदी अब्बल नायिका, किनभने महाभारतको सुरु र अन्त्य द्रौपदीको स्वाभिमानमा छ', ‘रामका सेनाले नाककान काटेपछि सुर्पणखालाई लंकाले हेला गरेन,’ यी एकै लहरमा आएका उत्तर थिए। यी उत्तरमा कहाँनेर दर्शन लुकेको छ, कता साहित्य घुसेको छ, सत्य-झुटको तुलोमा कुन बढी लच्केको छ, त्यो छुट्टयाउने जिम्मा मैले लिइनँ।

यिनलाई अहिलेसम्म कतिले घृणा गरे होलान्, कतिले सरापे होलान्? त्यो पनि मलाई जान्नुथियो। आखिर स्त्रीको संगत केवल 'भोग'मा मात्रै सीमित कुरा त होइन। ‘कतिले गरे कतिले। मेरो सबैसँग भावनात्मक सम्बन्ध भएन। जोसँग भएन त्यस्ताले पछि तँलाई घृणा गर्छु भनिरहे,’ यसमा उनी दुखी छैनन्।

उनको जीवनमा कुनै महिला आदर्श छैन। उनलाई सबैभन्दा मनपरेकी चाहिँ हिन्दी फिल्म अभिनेत्री वाहिदा रहमान हुन्। ‘गाइडका दुई गीत ‘काँटोसे खिचके ए आँचल...’ र ‘पिया तो से नैना लागे रे..’ले मलाई प्रभावित पारे।’ वाहिदालाई भेट्न उनि मुम्बई पनि पुगे। ‘अप्वाइन्टमेन्ट लिएसकेपछि अन्तिम समयमा म भेट्न गइनँ।’ उनलाई वाहिदासँग नभई उनका चरित्रहरुसँग पो प्रेम भएको थियो कि? ‘होइन, उनलाई भेटपछिको भारी रिक्तताको कल्पनाले नै म आत्तिएँ, नभेटिन्जेल भेट्ने तृष्णाले रोमाञ्चक बनाउँथ्यो। तर भेटिसकेपछि के भन्ने प्रश्नले मलाई रन्थन्यायो।’ कुरा अलि गहिरो रहेछ।

देशभरी डुलेका यी पत्रकारलाई कहाँका महिला मनपरे होलान्- ‘मुगुका।’ ओहो ! किशोर नेपालमा अचानक यो भावुकता कताबाट आयो? ‘तिनको रङ्ग गोरो छ। तर, मयलले त्यसलाई ढाकेको छ। एक लोटा पानीले पखाल्ने हो भने ती फेरि गोरा हुन्छन्। त्यहि गर्न पनि दिइएको छैन। र, पनि ती महिला आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन्, जीवनका तमाम विकटतासँग जुधिरहेका छन्।’ यसकारण उनलाई यी महिला मनपरे।

उनलाई ‘इन्नोसेन्ट’ महिला पनि मन पर्दैनन्। किन ? ‘मेरी श्रीमती यति इन्नोसेन्ट छिन् कि मलाई अरु इन्नोसेन्टहरु मनपर्दैनन्।’ यो स्त्री-संवादपछि पनि यिनकी श्रीमतीको ‘इन्नोसेन्स’ उस्तै रहला कि भड्किएला? जीवनको यो मोडमा फेरि विवाह गर्नुपरे कोसँग विवाह गर्ने मन छ? ‘आफ्नै श्रीमतीसित।’ किन ? ‘अरुले त पत्याए पो गर्ने ,’ उनले भने। तर, के यिनकी श्रीमती फेरि यीसँग विवाह गर्न तयार होलिन्? यो प्रश्न सोध्न भुलिएछ।

-यज्ञश
...

(यो फिचर बुधबार, २३ माघ २०६४ मा नयाँ पत्रिकामा प्रकाशित भएको हो। यसलाई  दिनेश पन्तले पुन टाइप गर्नुभएको हो।)


No comments:

Post a Comment