Pages

Tuesday, April 21, 2015

चुँडिएको चङ्गा


धेरै पहिले सोधेकी थिई उसले
पाईलटको अर्थ
नर्सको जिन्दगी
कसरी लेखिन्छ कबिता ?
जतिबेला कोपिला नै थिई
बेलाबेला सोधिरहन्थी
पजल गेमजस्ता प्रश्नहरु
अन्तिम पटक सोधेकी थिई उसले
चुडिएको चङ्गाको गन्तब्य !

जाजरकोटः सत्ता उदासिनताको बिम्ब

किशोर दहाल

केही दिनदेखि जाजरकोट मरिरहेछ । सञ्चार माध्यममा लासको ग्राफ दैनिक रूपमा उकालो लागिरहेछ । सरकार उँघिरहेछ । उसको दिव्यदृष्टिले जाजरकोटमा केही गडबडी देखिरहेकै छैन । उसलाई यी लासहरूका समाचार सामान्य लागिरहेछ । नत्र भने स्वास्थ्यमन्त्री खगराज अधिकारीले भन्दैनथे होलान्, "मिडियाको बढाईचढाई हल्लाले त्रास फैलियो ।" त्रास त फैलिएकै छ, जाजरकोटमा र बाँकी देशमा पनि । जाजरकोटमा मौसमी रूघाखोकी र बाँकी देशमा सरकारी उदासिनको ।

सत्ता अन्धो हुन्छ, बहिरो हुन्छ । त्यसकारण उसले जाजरकोटबासीको लास देख्दैन, चीत्कार सुन्दैन । नत्रभने जाजरकोटको बेवास्ता गर्दै प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशिया घुम्न निस्किदैनथे होला । त्यसो त कोइराला इण्डोनेशिया जानू अचम्मको कुराचाहीँ होइन। लोभ, क्रोध, माया, चिन्ता केही नभएका बैरागीलाई जाजरकोटको के चिन्ता?

यो देशमा प्रजातन्त्रको रट लगाएर नथाक्ने प्रधानमन्त्री सांसदहरूको बलियो समर्थनसाथ क्रियाशील छन् । गरिब जनताको वकालत गर्ने पार्टीका नेता स्वास्थ्यमन्त्री छन् । गरिबहरूकै गीत गाउने पार्टी प्रमुख प्रतिपक्ष छ । केही दिन अघि 'आई एम विथ डा. केसी' भन्ने डाक्टर साहेबहरूको जोस पनि मेटिएकै छैन । तर, पनि खै कहाँ के मिलिरहेको छैन कुन्नी ! जाजरकोटबासीको हृदयमा क्यारेमबोर्ड खेल्ने काम भईरहेको छ । जाजरकोटबासी त मर्लान् वा मरेरै सकिएलान् तर सरकार, प्रतिपक्ष र अन्य जिम्मेवार निकायहरू कहिलेसम्म जिउँदो रहलान् ? जाजरकोटको आँसुमा तिनीहरूको पौडी कतिञ्जेल जारी रहला ? प्रजातन्त्रको भाषण कुन दिनसम्म बिकिरहला ?

यसैबीच डा. गोबिन्द केसी जाजरकोट गएका छन् । केही दिन देखि यो अपेक्षा सामाजिक सञ्जालमा छाईरहेको थियो । उनको कमजोर स्वास्थ्यले केही ढिला भईदियो । डा. केसी एउटा आशा हुन् । जाजरकोटजस्ता घटनामा राज्यसंयन्त्रले काम गर्नुपर्छ । खास व्यक्तिले सहयोग गर्न त सक्छन् । तर, राज्य निदाउने सर्तमा होइन ।

सरकारले केही डाक्टरहरूको टोली जाजरकोट पठाएको त छ तर 'महिना दिन पछि आगो निभाउने' आदेश दिने अमूक शासकको शैलीमा । सरकारको कदम कुनै जिम्मेवारीबोधको साथ चालिएको थिएन । झारा टार्नु बाहेक त्यसको कुनै औचित्य छैन । जब सुशील कोइरालाको उपचार खर्च करोड नाघेको हिसाबकिताब छापामा छरपस्ट हुन थाले अनि नाटक मञ्चन सुरू भएको हो । नत्र त्यत्रा मान्छेले ज्यान गुमाउनु अघि तिनका दृष्टि कुन कमिसनमा लिप्त थियो ?  कि बालुवाटारमा पत्रिका पुग्दैन ? 

जे भए पनि अहिले जाजरकोटमा डाक्टरको सङ्ख्या सम्भवत कमी छैन । यो राम्रो हो तर निकै ढिला भयो भन्ने चिन्ता मात्रै हो । करिब दुई दर्जनले ज्यान गुमाईसकेपछि त्यहाँ डाक्टर पुग्न थाले । जब बिरामी हुँदा पनि डाक्टरको मुख नदेखिने रहेछ भन्ने सत्य जाजरकोटबासीलाई बोध हुन थाल्यो कैयौ स्थानियबासी धामीझाँक्रीतिर धाउन बाध्य भए । सरकारी संयन्त्र पङ्गु भएको प्रमाण पनि हो यो । नत्र भने महामारीबाट जोगिन कैयौं स्थानीयबासी अग्रिम रुपमा धामीको शरणमा पर्दैनथे होलान् । देवतालाई भाकल गर्दैनथे होलान् ।

सरकारको आम चरित्र त यही हो । तर, डाक्टरहरूको गैरजिम्मेवार शैली पनि चर्चामा आयो यो पटक । केही समयअघि गोबिन्द केसी मार्फत छताछुल्ल भएको स्वास्थ्य क्षेत्रको भद्रगोल र त्यसको उत्पादनको व्यापारिक छबि यति चाँडै पुष्टि होला भन्ने धेरै कमलाई बिश्वास थियो होला । डाक्टरको नाममा मानवता मरेका व्यापारीको उत्पादन भइरहेछ भन्ने बुझ्न लामो समय कुर्नै परेन । प्रभावित क्षेत्रमा डाक्टर पुग्न आनाकानी गर्ने, सुगमता खोजेर बस्ने, बिरामीको उपचारै गर्नु नपरे हुन्थ्यो झै गर्ने जस्तो जुन गैरजिम्मेवारी प्रकाशमा आयो, त्यसले चिन्ता बढाउनु स्वभाविक हो । यस्तो लाग्छ, फरक फरक नाममा हामीले केबल व्यापारी उत्पादन गरेका रहेछौं । डाक्टरको नाममा व्यापारी । शिक्षकको नाममा व्यापारी । नेता र मन्त्रिको नाममा व्यापारी । जब व्यापारको कुरा आउँछ । त्यहाँ नाफानोक्सानका कुरा आउँछ, जोखिमका कुरा आउँछ । अनि प्रत्येक बर्ष जाजरकोटहरू रोइरहन्छन् ।

जाजरकोट त केबल बिम्ब हो सरकारी उदासीनताको । यस्ता जिल्ला र क्षेत्र कैयौं छन्, यो देशमा । जसको नाममा सरकार व्यापार गरिरहन्छ, हर साल । बुझ्नुपर्ने कुरा के छ भने जाजरकोटहरू सधैंभरी सरकार र यसका संयन्त्रलाई मुन्टो निहुर्याउन अभिशप्त हुनेछैन । तिनका दाम्रा पेट र रोगले थलिएको शरीरले प्रश्न गर्न थाले भने यो सत्ता संयन्त्रको निद्रा कहाँ पुग्ला ?

Sunday, April 19, 2015

कविता मोह

–रोशन खड्का

कवितालाई कसैले लय हालिदिनु नपर्ने रहेछ । यसमा आफैँ एउटा मधुर लयको सिर्जना हुदोरहेछ । यो कसैले घोकाउने गुरुकुलिय वेदका मन्त्र पनि होईन रहेछ । सुन्दर कविताका पंक्तिहरु त मुटुलाई छोएर आफै हृदयमा बस्दारहेछन् । 
..........................................

      कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु ।

       त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्रा.वि.मा पढ्थें । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ ।

Sunday, April 12, 2015

ममीको मोडार्निटी

किशोर दहाल
      काठमाण्डौँको बसन्तपुरमा एक हुल मोडर्न युवतीहरु आफ्नै पारामा हल्ला गर्दै हिँडिरहेका थिए । उनीहरुको कुराहरु खासै बुझिदैनथ्यो । तर, उन्मुक्त हाँसो र हल्लाखल्लाले उनीहरुको मनोदशा आँकलन गर्न सकिन्थ्यो । त्यही हुलमध्येकी एउटी युवतीले अर्कीलाई देखाउँदै अली ठुलै स्वरमा भनिन्, “यसको ममी त क्या मोडर्न छ ।”
     बच्चाहरु बाबुबाट भन्दा पनि आमाबाट बढि प्रभावित हुन्छन् । सन्तानहरु आमासँगै बढि निकट पनि हुन्छन् । सहजता पनि महसुस गर्छन । केही कुराहरु अभिभावकबाट प्राप्त गर्नुछ, कुनै समस्या समाधान गराउनु छ भने पहिलो प्र्रस्ताब वा छलफल आमासँगै हुने गर्छ । कतिपय सन्तान बाबुसँग पैसा माग्नुप¥यो वा नयाँ कपडा किन्नुप¥यो भने पनि आमा मार्फत बाबुकोमा कुरा पु¥याउँछन् ।
     कतिपय युवतीहरु आमाको ‘ब्याक अप’ पाएर आफुले रुचाएको कपडा लगाउने, साथीसँग घुम्न जाने र रमाइलो गर्छन् । आमा अली पुरानो बिचार राख्ने छिन् भने पनि युवतीहरुले पहिले आमालाई नै मनाउँछन् । बरु, बाबुको बिरोध होस्, त्यो मतलब गर्दैनन् । तर, आमाको साथ अनिबार्यजस्तै भइदिन्छ ।
     तिनै आमा अर्थात ममी नै मोडर्न भइदिइन् भने युवतीहरुलाई अझ बढि सहज हुन्छ । उनीहरु आफुले चाहेजस्तो छुट पाउँछन् । परिणमतः यसले युवतीहरुमा सही होस् या गलत, कन्फिडेन्स बढाउन मद्दत गर्छ । र, साथीभाईको माझमा पनि सहज र बिशेष बनाउँछ ।
     यसबाट पुग्न सक्ने फाइदा बेफाइदा आफ्नो ठाउँमा छँदैछ ।

Friday, April 3, 2015

अन्तिम दिन

 –किरण दहाल

यती बेला नै हो
चियाएर हेरिरहेको घाम
खै के पो खोज्दै थियो
त्यहिँ उपस्थित भएर
अदालतमा उभिएको कुनै दोषीजस्तो
तिमीसँगै जिउने सपना देखेर
मैले भनिदिएको थिएँ–
‘म तिमीलाई प्रेम गर्छु’
स्पष्ट सम्झेकी हौली

यसरी लजाएकी थियौ तिमी
रातो भएको थियो मुहार
मन परेछ त्यो क्षितिजलाई पनि
तिम्रै नक्कल गरिरहन्छ आजभोली
बेलुकीपख