Pages

Sunday, August 13, 2017

राज्यको ठेकेदारी नलिनुस्

किशोर दहाल

होला, तपाईंले राज्यको नुन चाट्नुभएको छैन। एकबारको जिन्दगीमा सानो परिवारको सानै खुसी किन्न परदेशीनुभएको होला। वा, दु:ख गरेर, पसिना बगाएर दैनिकी गुजारिरहनुभएको होला। अथवा, जति हाड घोटे पनि चित्तबुझ्दो प्रतिफल नपाएर चुत्थो जिन्दगीलाई दिनदिनै सराप्दै बस्नुभएको पनि हुनसक्छ।

तपाईं स्वयं राज्यबाटै पीडित भएको पनि हुनसक्छ।

तर, तपाईं राज्यको जस्तै भाषा बोलेर अधिकार माग्दै गरेकाहरू प्रति असहिष्णुता व्यक्त नगर्नुहोला। उनीहरू राज्यप्रति अपनत्व खोजिरहेका छन्; तपाईं बिझाउने शब्द ओकलेर राज्यको 'चम्चे' बन्नेतिर नलाग्नुस्। सीमान्तीकृतहरूले राज्यसँग अन्य नागरिक बराबरको हैसियत माग्दा तपाईं टाउको नदुखाउनुस्।

बहिष्करणमा परेकाहरूले आज अधिकार नपाए भोलि पाउँछ। छलफलले नपाए दबाबले पाउँछ। बोलीले नपाए गोलीले पाउँछ। उसले आफ्नो अधिकार खोसेर लिन्छ, लिन्छ। राज्यको ठेकेदारी तपाईं नलिनुस्। अधिकार तपाईंसँग मागिएको होइन; राज्यको नेतृत्वकर्तासँग मागिएको हो।

सीमान्तीकृतहरूले आफ्नो बोली र उपस्थिति राज्यलाई सुनाइरहेको छ। आफ्नोे अनुहारको ढाँचा र बान्की देखाइरहेको छ। वर्षौंदेखिको दलन राज्यलाई बताइरहेछ। तपाईं बित्थामा बीचमा हस्तक्षेप गर्दै 'म पनि बाहुन हुँ, गरिब छु' भन्दै विषयान्तर नगराइदिनुस्। तपाईंसँग पनि उस्तै समस्या भए राज्यलाई सुनाउनुस्। आवश्यक लाग्दैन भने चुप लाग्नुस्। अरूका समस्यालाई भ्रष्टिकरण नगर्नुस्।
...
(कोठामा पुराना कापी, कागजपत्र यताउता गर्दा, मिलाउँदा धेरैले यस्ता किसिमका आफ्नै अक्षरहरू भेट्छन् होला। जस्तो कि आज मैले भेटें। यो आग्रह खास व्यक्तिप्रति भन्दा पनि सामाजिक सञ्जालमा अनेकथरी भाष्य खडा गर्नेहरू प्रति लक्षित थियो। त्यतिबेला मधेस आन्दोलन चलिरहेको थियो तर पहाडी मुलका केही साथीहरू मधेसका मागलाई भ्रष्टिकरण गर्न तल्लीन थिए। उनीहरूकै प्रतिक्रियामा लेखिएको थियो सायद। )

Friday, August 11, 2017

भरतपुर अर्काइभ

किशोर दहाल

आशंकाहरुका बीच २०७३ फागुन ९ गते स्थानीय चुनावको मिति घोषणा भयो। आशंक कतिसम्म थियो भने २०७४ बैशाख ३१ गतेका लागि चुनाव घोषणा गरिएको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपछि धेरैले सामाजिक सञ्जालमा लेखेका थिए– २०७४ साल बैशाखमाल ३१ गते पो छ कि छ्रैन भनेर क्यालेन्डर हेरियो।
सरकारले देशैभरि एकै चरणमा चुनाव गर्ने बताए पनि चुनाव चरणबद्ध रुपमा हुने भयो। खासगरी आन्दोलनरत मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउने प्रयत्नले यस्तो अवस्था सिर्जना भएको थियो। सोही अनुसार भरतपुर महानगरपालिकामा भने पहिलो चरण (बैशाख ३१) मा चुनाव भएको थियो। त्यसपछि असार १४ मा दोस्रो चरणको चुनाव भएर नतिजा पनि आइसकेको छ। प्रदेश नम्बरमा असोज २ गते तेस्रो चरणको चुनाव हुने भएको छ।

भरतपुर महानगरपालिकामा प्रमुख पार्टीहरुको तर्फबाट दिनेश कोइराला, माओवादीको तर्फबाट रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली उम्मेदवार बनेका थिए। एक त महानगरपालिका र दोस्रो माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणुको उम्मेदवारीको कारण यहाँको चुनावी नतिजालाई लिएर सुरुदेखि नै चासो व्यक्त गरिएको थियो। मिडियाहरुमा पनि व्यापक कभरेज भइरहेको थियो।

मुख्य रुपमा कोइराला र ज्ञवालीलाई केन्द्रमा राखेर प्रक्षेपणहरु भइरहेका थिए। तर, २०७४ बैशाख २१ मा कांग्रेस र माओवादीले देशका तीन ठूला महानगरमा चुनावी तालमेल गर्ने सहमति गरेपछि भरतपुरमा कांग्रेसले मेयरको उम्मेदवारीबाट नाम फिर्ता लियो। र, दुई पार्टीको साझा उम्मेदवार बनिन्– रेणु दाहाल।

भरतपुरलाई नेताहरूले प्रतिष्ठाको रूपमा लिए । चुनाव प्रचारको अन्तिम दिन अर्थात् वैैशाख २८ चुनावी आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट भरतपुर पुगेबाट पनि यस महानगरको चुनावी सरगर्मी र प्रतिष्ठाको लडाइँलाई स्पष्ट पार्छ। कांग्रेस र माओवादीले आयोजना गरेको संयुक्त सभामा सम्बोधन गर्न दाहाल र देउवा एउटै जहाजमा सँगै बसेर भरतपुर पुगेका थिए। त्यस्तै, एमालेले आयोजना गरेको सभामा सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली छुट्टै जहाज चढेर भरतपुर पुगेका थिए।

शक्ति प्रदर्शन ठानिएको चुनावी सभामा दुबै पक्षका नेताले एक अर्काको कटु आलोचना गरे।

यद्यपि, कांग्रेस-माओवादी सहमतिपश्चात् नै कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो। बलियो जनाधार भएको ठाउँमा कमजोर जनाधार भएको पार्टीलाई मेयर पद छाडेकोमा असन्तुष्टि बढेको थियो। कांग्रेसभित्रको असन्तुष्टिले एमालेका उम्मेदवार ज्ञवालीलाई पुग्ने निश्चित थियो। उता, कमजोर जनाधार भएको ठानिएको माओवादीका उम्मेदवार दाहाललाई पनि कांग्रेसकै भर हुनु पनि स्वभाविक थियो। त्यसैकारण पनि विश्लेषण हुन थाल्यो– कांग्रेसको भोट जसलाई खस्छ, उसैले जित्छ।

मेयरमा आफ्नो उम्मेदवार नै नभएको कांग्रेस निर्णायक हुने परिस्थिति पुनः निर्वाचनसम्म रहिरह्यो।

Tuesday, August 8, 2017

स्त्रीप्रेमीको एउटा बयान

मंगलबार (साउन २४ गते) सेतोपाटीमा प्रकाशित सावित्री गौतमको चर्चित लेख किन भएनन् स्त्रीहरू 'बौद्धिक'? मा ९ वर्ष अघि एउटा दैनिक पत्रिकामा प्रकाशित अन्तर्वार्ताको प्रसंगबाट सुरू गरिएको छ। गौतमको लेखको पहिलो अनुच्छेदमा लेखिएको छ- नौ वर्षअघि एउटा ‘अल्ट्रा’ वामपन्थी/समानतावादी भनेर चिनिएको दैनिक पत्रिकामा आएको एक ‘वरिष्ठ’ पत्रकार/लेखकको अन्तरवार्तामा भनिएको रहेछ– ‘स्त्रीहरु बौद्धिक हुँदैनन्।’

त्यो 'अल्ट्रा' वामपन्थी पत्रिका थियो- नयाँ पत्रिका दैनिक। र, 'वरिष्ठ' पत्रकार/लेखक हुन्- किशोर नेपाल। गौतमको आर्टिकलमा कसैको नाम त उल्लेख छैन। तर, संकेतहरू धेरै छन्। उनले धेरै पुरूष पात्र र प्रवृत्तिमाथि प्रहार गरेकी छिन् भन्ने बुझ्न सकिन्छ। अहिलेलाई उनको पहिलो अनुच्छेदले लक्षित गरेको फिचर/अन्तर्वार्ता पढौं:
.....
एउटा यहुदी उखान छ- “सबैभन्दा राम्रोसँग झूट बोल्नु भनेकै सत्य बोल्नु हो।” यसलाई उल्टो पारेर पनि बुझ्न सकिन्छ “सत्य बोल्नु भनेको मिलाएर झूटो बोल्नु हो।” किशोर नेपाल यसलाई कसरी बुझ्दा हुन्? यसपल्ट हामी उनलाई सुनपानी ख्वाएर सत्य ओकल्ने मुडमा छैनौं।

सिगारको चर्को धुवाँ र चार-पाँच सुन्दरीका वरिपरी मडारिइरहने कुनै ‘टाउके भमरो’ देखियो भने त्यस्तालाई ‘डन’ भन्छन्। अखबारी दुनियाँका विनाग्यांगका यी ‘डन’ चाहि कति फूल र कोपिलावरिपरी घुमे। वा केही फूलहरू नै डाली छोडेर भमरा खोज्दै आइपुगे की? कपासको भुवा टासेजस्तो यिनका सेता जुँगाको जालोमा अहिलेसम्म कति पुतलीका पखेटा अल्झिए होलान्? मलाई यसपटक यीसँग स्त्री-संवाद गर्नुछ। माथिका सबै प्रश्न सोध्नु छ। के यिनले दिने सबै उत्तर सही होलान्? कि मिलाएर झुट बोल्लान्?

Wednesday, August 2, 2017

महिलालाई किन 'मोडल' नै बनाउन खोजिन्छ?

किशोर दहाल

केही दिनअघि एउटा समाचार प्रकाशित भयो- नेपाली सेनाभित्र एउटा गुल्मको नेतृत्व महिला अधिकृतले गर्ने। सेनाभित्र छुट्टै महिला गुल्मको तयारी भइरहेको र त्यसको नेतृत्व मेजर सृष्टि खड्काले गर्ने समाचारमा उल्लेख छ।
राज्यको नेतृत्वमा महिलाको उपस्थिति बढ्दै गएको छ। विद्यादेवी भण्डारी राष्ट्रपति छिन्, ओनसरी घर्ती सभामुख छिन्। केहीअघिसम्म प्रधानन्यायाधीशको पदमा सुशीला कार्की थिइन्। तर, केही पदहरूमा महिलाको उपस्थिति देखिए पनि समाजमा महिलासँग जोडिएका विभेद कम भएका छैनन्। मुख्यतः महिलाको हकमा स्वभाविक अवसर विकास हुन सकेका छैनन्। महिला भएकै कारण प्राप्त हुने अवसरले होइन, स्वभाविक रूपमा महिलाको दाबी हुनसक्ने स्थितिले मात्रै परिवर्तनको आभाष दिलाउन सक्छ। जे होस्, खड्काको खबरले खुसी थपेकै हो। केही समयअघिसम्म सेनामा महिलाको उपस्थिति नै असम्भव प्राय: थियो, अहिले गुल्म कै सही; नेतृत्व गर्ने क्षमता विकास भएको छ। कालान्तरमा समग्र सैनिक सेवाको नेतृत्व गर्ने दिन पनि आउला।

Tuesday, August 1, 2017

इतिहासको विनिर्माण

किशोर दहाल

दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा पहिचानको मुद्दा जोडतोडका साथ उठ्यो । विशेषगरी पृथ्वीनारायण शाहको 'एकीकरण' अभियानसँगै रणनीतिक रूपमा दबाइएका थुप्रै समुदायले आफ्ना विशिष्ट पहिचानको खोजी गर्न थाले । आन्दोलनहरू भए । कतिपयले यसलाई अराजकतासँग जोडे र पृथ्वीनारायणले एकीकरण गरेको मुलुकलाई पुनः टुक्राउन खोजेको अर्थमा व्याख्या गरे । धेरै कमले मात्रै शाह राजाहरूले राष्ट्रियताको प्रबद्र्धनका नाममा ‘होमोजेनियस’ नेपाली जातिको उत्पादन गर्न खोज्दा विविध समुदायले सहेको लामो दलनविरुद्ध विद्रोह भनेर बुझे । एकै किसिमको नेपाली जाति उत्पादन गर्न खोज्दा यहाँका धेरै समुदायको आत्मसम्मान, स्वाभिमान, सिर्जनशीलता, रचनात्मकतामा कसरी अवरोध पुग्यो, उनीहरूलाई कसरी शिर झुकाएर जिउन बाध्य पारियो भन्नेमा धेरै कमले चासो दिए । तिनै कममध्येका एक जना लेखक हुन्, युग पाठक । जसले आफ्नो पछिल्लो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा सम्पूर्ण जनता र राष्ट्रको शिर उठाउन जरुरी भइसकेको आवश्यकता प्रस्तुत गरेका छन् ।

लिम्बू शब्द माङ्गेनाको दार्शनिक अर्थ हो– मान्छेको शिर झुक्नु हुँदैन । इतिहासदेखि शिर झुकाएर, आफ्नै देशमा अपमान सहेर बाँच्न बाध्य नागरिकको शिर नउठाइकन, उनीहरूमा आत्मविश्वास र स्वाभिमानको प्राण नभरिकन मुलुकले अगाडि बढ्ने नैतिक बल पाउँदैन भन्ने मूल आशय पुस्तकको छ । माङ्गेना शब्दले शिर उठेको व्यक्तिमाथि गरेको कल्पनालाई लेखकले यहाँका अनेक समुदाय र सिंगो राष्ट्रसँग जोडेका छन् ।

पुस्तकमा केही अनुसन्धानमूलक आलेख र केही खुला निबन्ध छन् ।जसमा नेपालको अवधारणा र पुनःपरिकल्पना, विकास, बौद्धिकता, मिडिया, भाषा र रेमिटेन्सलगायत १२ विषय समेटिएका छन् । केही खुला निबन्ध यसअघि नै राष्ट्रिय पत्रिका र जर्नलमा प्रकाशित भइसकेका छन् । प्रकाशित सम्पूर्ण आलेखमा लेखकले आफ्नो ज्ञानको फराकिलो दायरा र लेखनको विशिष्ट क्षमतालाई प्रस्तुत गरेका छन् । पूजापाठले रंगिएको नेपाली इतिहासको पत्र–पत्र छुट्याएर देखाइदिएका छन् । इतिहासको भाष्य राजाको स्तुतीगानमा होइन, जनताको पसिना र सपनाले सिञ्चित हुनुपर्ने उनको तर्क छ । मुख्यतः नेपालीकरण, नेपाली भाषा, राष्ट्रियताको जुन भाष्य प्रचलनमा छ, त्यसलाई उधिन्ने प्रयास गरेका छन् । त्यस्तो भाष्यलाई स्वभाविक सत्य बनाउन, आदत र सम्मति स्थापित गर्न गरिएको प्रयत्नहरूको लामो व्याख्या गरिएको छ ।

तनाव प्रवाह गराउने कथा

किशोर दहाल
राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’मा २० वटा कथाहरु छन्। अधिकांश कथाहरु राजनीति केन्द्रित छन्। तर, प्रेम, पत्रकारिताजस्ता फरकफरक क्षेत्रका विषयहरु पनि संग्रहमा अटाएका छन्। एउटै कथामा फरकफरक क्षेत्रका विषयलाई सफलतापूर्वक ‘ककटेल’ बनाएर लेख्नसक्ने र पाठकमा रुची कायम गराउनसक्ने आफ्नो विशिष्ट शैलीको परिचय दिएका छन्, पराजुलीले आफ्ना कथाहरुमा।
उनका कथामा फरकफरक पेशामा आबद्ध निम्न वर्गका मानिसदेखि उच्च वर्गका मानिससम्म पात्रका रुपमा उभिएका छन्। ती पात्रहरुले आफ्ना दैनिकी, अनुभव, विचार वा जिजिविषाका माध्यमबाट स्वयं आबद्ध क्षेत्रका कैयौं संगति/विसंगतिलाई उदाङ्गो पारेका छन्। कथा पढिरहँदा त्यसका पात्रहरुले हाम्रा जीवनका थरिथरिका भोगाइका फराकिलो सत्यको उजागर गरिरहेका प्रतीत हुन्छ। उनका कथाहरुले मनोरञ्जन कम, तनाव ज्यादा दिन्छन्। कारण, उनी जुन विषयमाथि कथा लेख्छन्, त्यसमा रहेका बेथितिको पर्दा उर्घाछन्। प्रेम जोडिएका कथा हुन् वा पत्रकारिता जोडिएका। उनी फुस्रा सौन्दर्य राग र पेशागत मर्यादा जोगाउनु पर्ने भ्रमबाट बाहिर निस्केका छन् । त्यस्तो कष्ट पनि गरेका छैनन्। देखेको र भोगेको विषयलाई निर्धक्कसित कथाको ढाँचा प्रदान गर्ने आँट गरेका छन्। हामीले भोगिरहेको समाज, राज्य व्यवस्था र अनेक किसिमका अप्ठ्यारा समयका तथ्यलाई आख्यानिकरण गरेर पाठकका दिमागमा ‘स्वीट पेन’ प्रवाह गर्नसक्नु पराजुलीको बिशेष खुबी र आँट हो।