Pages

Tuesday, October 20, 2020

सरकारप्रति बढेको असन्तुष्टि विस्फोट होला?

किशोर दहाल

मंगलबार, कात्तिक ४, २०७७, ०८:०३

काठमाडौं- आइतबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको स्पष्ट पारे।

'आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरु, असहाय एकल महिला, अति अपांगता भएका नागरिकहरु, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिह्न देखिएमा परीक्षण तथा उपचार निशुल्क गरिने छ', गौतमले थपे, 'तर उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट बेहोरिने छ। अन्य सबै किसिमका व्यक्तिहरुको कोरोना परीक्षण र उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ। यो निर्णय आजै २०७७ कात्तिक २ गतेबाट भर्ना तथा परीक्षण हुनेहरुमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल तथा प्रयोगशालाहरुमा लागू हुनेछ।'

सरकारको पछिल्लो निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल तरंगित भयो। त्यहाँ सरकार आफ्नो दायित्वबाट पछि हटेको, सरकारको औचित्य सकिएको, सरकार मृत भएको, देशमा सरकार नभए पनि चल्छ, संविधानको प्रावधान उल्लंघन गरेको, सर्वोच्च अदालतको परमादेशविपरीत गएको लगायतका आरोप लागे। कतिपयले संकटको बेला नागरिकको दायित्वबोध नगर्ने सरकारलाई करचाहिँ किन तिर्ने भन्दै 'कर नतिरौं' भन्ने ह्यासट्याग पनि प्रयोग गरे/ गरिरहेका छन्।

विश्लेषक श्याम श्रेष्ठ सरकारले संविधानमा लेखेको कुराको बोध नगरेको बताउँछन्। ‘अहिले सरकारले जुन ढंगले निर्णय गर्दै गएको छ, उसले लत्तो छाड्दै गएको छ। आफ्नो जिम्मेवारी छाड्दै गएको छ। संविधानमा स्वास्थ्य सरकारको जिम्मेवारी भनिएको छ। त्यसरी लेखेको कुरा त बोध गर्नुपर्‍यो नि’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

सरकारले कोरोनासँग आत्मसमर्पण गर्दै नागरिकले पनि बुझ्ने गरी 'हात उठाएको' थियो, आइतबार। तर कोरोनासँग सरकार हार्दै गएको र नागरिकप्रति पूरा गर्नुपर्ने दायित्वबाट पछि हट्दै गएको भने निकै पहिलादेखि नै हो। सरकारले कोरोना परीक्षण दायरा घटाउँदै, शंका लागे आफैं परीक्षण गर्न भन्दै, घरमै आइसोलेसनमा बस्न भन्दै, बेहोस भएमा वा हुन लागेमा मात्रै अस्पताल जाऊ भन्दै अहिले आफैं उपचार गर भन्ने अवस्थामा आइपुगेको हो। त्यहीमाथि अहिले अस्पतालमा कुनै पनि संक्रमितले 'बेड' पाउन असम्भवप्रायः छ।

सरकारले जसरी हात उठायो, नागरिक आक्रोश पनि उसैगरी उठ्यो। यद्यपि, अहिलेसम्म आक्रोश सामाजिक सञ्जामै सीमित छ।

संघीय प्रणालीप्रति ओलीका अनुदार अभिव्यक्ति निरन्तर, तर सबै मौन

किशोर दहाल

आइतबार, कात्तिक २, २०७७, १६:४०

काठमाडौं- शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा कर्णालीका नेकपा पदाधिकारीका बीच छलफल थियो।

पार्टीका आन्तरिक विवाद, पार्टी र सरकारको सम्बन्ध, मुख्यमन्त्रीको कार्यशैली, विवादको निष्कर्ष लगायतका विवादमा प्रधानमन्त्रीले बोले नै। त्यसका अतिरिक्त संघ र प्रदेशको सम्बन्धका विषयमा पनि पाठ पढाए।

'म साथीहरुलाई स्पष्ट पार्न चाहन्छु। प्रदेश भनेको कुनै स्वतन्त्र निकाय होइन। केन्द्रकै एउटा युनिट हो', प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।

ती नेताका अनुसार, महत्त्वपूर्ण निर्णय गर्दा केन्द्रलाई जानकारी नदिने प्रवृत्ति रहेको भन्दै उनले आलोचना पनि गरे।

ओलीको विरासतनजिक को?

किशोर दहाल

शनिबार, कात्तिक १, २०७७, १३:१७

काठमाडाैं- केही नेताहरु हुन्छन्, जसलाई भविष्यका प्रभावशाली पदले पर्खिरहेका छन् जस्ता लाग्छन्। त्यस्तै मध्येका एक थिए, ईश्वर पोखरेल। तत्कालीन एमालेमा उनलाई भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिन्थ्यो।

राजनीतिक यात्रा, पार्टीभित्रका जिम्मेवारीहरु र भूमिका तथा मुख्य नेताको रुपमा बढ्दो स्वीकार्यता; यी सबैमा पोखरेल उत्तीर्ण नै थिए। केपी ओलीको पार्टीमा बढ्दो प्रभाव र बलियो उपस्थितिका बीच पोखरेल पनि सोही समूहका नेता हुनु थप योग्यता भइहाल्यो।

स्वास्थ्य अवस्थाका कारण ओलीले अब लामो समयसम्म आफ्नो समूहको नेतृत्व गरिराख्न सम्भव छैन। त्यसैले उनको विरासत कसले थाम्ने विषयमा बेलाबखतमा चर्चा हुने गर्छ। पार्टीभित्र ओलीले सिर्जना गरेको समूहको स्विकार्य नेता बन्न सक्ने व्यक्ति स्वतः प्रभावशाली नेता बन्ने छ। साथै, त्यस समूहको निरन्तरता पनि सुनिश्चित हुनेछ।

तर ओलीको विरासत कसले थाम्ने? यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बेलाबखत पहल लिएको खबर सार्वजनिक हुने गरेका छन्। त्यसो त राष्ट्रपति नबनेकी भए भण्डारी स्वयंले ओली समूहको नेतृत्व गर्ने सम्भावना थियो। तर, अब उनी पार्श्व खेलाडी हुनसक्छिन् तर खुला नेतृत्व भने असम्भव छ। तर ओली समूहको भावी नेतृत्व खोज्ने र आधिकारिकता दिने सबालमा भने उनको भूमिका पनि निर्णायक हुनेछ।

सम्भावित केही नामहरुको चर्चा हुने गरे पनि स्पष्ट खाका भने अझै तयार भएको छैन। खासगरी केही नेतामाथि ओलीले गरिरहेको असन्तुलित परीक्षणले विरासत थाम्ने नेताको विषयमा अन्याेल देखिएको हो। भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिएका पोखरेलको नाम यहीँ जोडिन्छ। के उनी विद्यमान ओली समूहको सर्वस्वीकार्य नेतृत्व गर्दै चर्चा गरिएका पदमा पुग्न सक्छन्?

केन्द्रले देखायो, प्रदेशले सिक्यो : यी हुन् संसद नै रणभूमि बनेका ५ घटना

किशोर दहाल

सोमबार, असोज १९, २०७७, २०:४६

२०७१ माघ ५ गते संविधानसभामा भएको तोडफोड (बाँयाँतर्फ इन्साइटका दुई तस्बिर)। २०७७ असोज १९ गते प्रदेश ५ प्रदेश सभामा भएको तोडफोड (दायाँतर्फ)।

काठमाडौं- सोमबार प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरूले तोडफोड गरे। उनीहरूले सभाका कुर्सी टेबलमा पछारेर माइक तोडेका थिए।

सोमबारै बसेको पहिलो बैठक केही बेर बसेर दिउँसो २ बजेका लागि दोस्रो बैठक बोलाइएको थियो। निर्धारित समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको विषयमा सोमबारको दोस्रो बैठकमा छलफल गर्ने योजना थियो। प्रतिपक्षी कांग्रेसले विरोधका बाबजुद सभामुख पूर्ण घर्तीले सभालाई निरन्तरता दिए।

बैठक चलिरहँदा कांग्रेसका सांसदहरू सभामुखमाथि नै आक्रमणमा उत्रिए। उनीहरूले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। रणमैदान बनेको प्रदेशसभा केही बेर अवरुद्ध भयो।

संसदमा तोडफोड र मारपिट नेपाली संसदीय इतिहासमा नयाँ घटना भने होइन। संसदीय इतिहासको कालखण्ड ६० वर्षको भए पनि अभ्यास भने सोहीअनुसार भएको छैन। ३० वर्षे पञ्चायती शासन र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनले संसदीय अभ्यासलाई अविछिन्न रहन दिएन। तर, तोडफोडका अभ्यास भने संसदभित्र पर्याप्तै भइसकेका छन्।

डा केसीका मागमाथि चिरफार-६ : 'भ्रष्टाचारीलाई कारबाही गर' भन्न पनि अनसन बस्नुपर्ने!

किशोर दहाल

आइतबार, असोज ११, २०७७, १८:०५

काठमाडौं- डा गोविन्द केसीले १९औं अनसन सुरु गरेको आइतबार १४ दिन पुगेको छ। उनको स्वस्थ्य अवस्था गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन्। यसैबीच काठमाडौं लगायत देशका विभिन्न भागमा डा केसीको पक्षमा प्रदर्शन भएका छन्। उनले उठाएका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गरिएको छ। तर सरकारले भने अनसनलाई बेवास्ता गरिरहेको छ। डा केसीसँग वार्ताको लागि  कुनै पहल भएको छैन।

डा केसीले आफ्ना विगतका अनसनहरुमा पनि मुख्यगरी चिकित्सा क्षेत्रका मागहरुलाई प्राथमिकता दिने गरेका थिए। त्यसका अतिरिक्त अन्य सान्दर्भिक माग पनि उठाउँदै आएका छन्। त्यस्ता माग यसपटकको अनसनका क्रममा पनि उठाएका छन्।

नेपाल लाइभले डा केसीका ६ वटै मागको चिरफारको शृंखला सुरु गरेको छ। यसअघि सुरुका ५ वटा मागको विश्लेषण भइसकेको छ। यो अंकमा हामी उनको छैटौं मागबारे चर्चा गर्नेछौं।

डा केसीको १९औं अनसनको छैटौं माग छ- राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानबिन र कारबाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारबाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारबाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारबाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।

द्वन्द्वकालको आघात नियाल्ने आँखीझ्याल

किशोर दहाल

शनिबार, असोज १०, २०७७, १३:२०

बाँदरमुढे, दोरम्बा, मुक्तिनाथ अधिकारी, मैना सुनार। यी र यस्ता नामहरु अहिले खास ठाउँ र व्यक्तिका परिचयमा मात्रै सीमित छैनन्। तिनले दश वर्षे माओवादी ‘जनयुद्ध’मा प्रत्यक्ष संलग्न-असंलग्नहरुले व्यहोरेका आघातहरु नियाल्ने आँखीझ्यालको काम गरिरहेका छन्। त्यस्तो युद्ध, जहाँ छन्- हजारौंहजारका मृत्यु, बेपत्ता, पारिवारिक बिछोड, र धनजनको क्षतिको चित्रहरु।

गणतन्त्र र नयाँ संविधानको कार्पेटले मान्छेका आघात छोपिँदो हो त, द्वन्द्वका अवशेषहरु पनि द्वन्द्वसँगै मेटिन्थे होलान्। चर्चा गरिँदैनथे होलान्। अहिले द्वन्द्वपछिको प्रारब्धकालीन समय चलिरहेको छ तर द्वन्द्वकालीन ‘कर्मको फल’को हिसाबकिताब भइसकेको छैन। त्यसैले त अस्वभाविक मृत्युको कथा, बेपत्ता नागरिकको सम्झना, जीवनका लय बिग्रिने घटनाहरुको चर्चाको सान्दर्भिकता पनि सेलाएको छैन।

माओवादी द्वन्द्व अन्त्य भएको १४ वर्ष बित्यो तर द्वन्द्वकालका पीडितहरुलाई न्याय सुनिश्चित गरिएको छैन। कैयौं घटनाहरुको चर्चासम्म हुँदैन। कतिपय घटनाहरुले पनि विशेष दिनमा मात्रै चर्चा पाउँछन्, व्यक्ति तथा पक्ष विशेषका आधारमा।

डा केसीका मागमाथि चिरफार-३ : दुई वर्षअघिको सहमति किन सम्झाइयो?

किशोर दहाल

शुक्रबार, असोज ९, २०७७, १४:४६

काठमाडौं- डा गोविन्द केसीले आफ्नो १९औं अनसन सुरु गरेको शुक्रबार १२ दिन पुगिसकेको छ। जुम्लाबाट अनसन सुरु गरेका उनी गत मंगलबार काठमाडौं फर्किएका छन् र अनसनलाई निरन्तरता दिएका छन्। तर सरकारले उनको अनसनप्रति कुनै प्रतिक्रिया दिएको छैन। वार्ताको लागि पहल गरेको पनि छैन।

१९औं अनसन सुरु गर्दा डा केसीले राखेका मागबारे नेपाल लाइभले चिरफार गर्नका लागि यो शृंखला सुरु गरेको छ। सोही अनुसार आज उनको ६ बुँदे मागमध्ये तेस्रो बुँदामा विमर्श गर्दैछौं। डा केसीका मागका पहिलो र दोस्रो बुँदाबारे हामीले अघिल्ला अंकमा चर्चा गरेका थियौं।

डा केसीको मागमध्ये तेस्रो बुँदामा भनिएको छ- 'हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।' यो बुँदामा गत बुधबार अद्यावधिक गर्दै अर्को विषय पनि थपिएको छ- ‘चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गरियोस्।’

डा गोविन्द केसीले १५औं अनसन २०७५ असार १६ देखि साउन १० सम्म १५औं अनसन बसेका थिए। उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनसन सुरु गरेका भए पनि २०औं दिनमा सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

अनसन अन्त्य गर्न ९ बुँदे सहमति भएको थियो। त्यसमा सरकारी वार्ता टोलीका संयोजक खगराज अधिकारी र डा केसीले हस्ताक्षर गरेका थिए। त्यो सहमति डा केसीले चाहेजस्तै गरी भएको थियो। त्यसैले उनले त्यतिबेलाको सहमति पालना हुनुपर्नेमा जोड दिने गरेका हुन्।

१६औं अनसनका क्रममा पनि उनले पहिलो बुँदामा सोही सहमति पालना हुनुपर्नेमा जोड दिएका थिए। त्यतिबेला राखेको मागको पहिलो बुँदामा भनिएको थियो- १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरसः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस्। त्यस्तै, १७औं अनसनका क्रममा राखेको मागको पहिलो बुँदामा थियो- २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

संविधानका ५ वर्ष : स्वीकार्यता बढ्दै, गरिमा गुम्दै

किशोर दहाल

शनिबार, असोज ३, २०७७, ०७:१९

काठमाडौं-२०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभामा आयोजित एक समारोहका बीच संविधानको घोषणा गरेका थिए। ‘यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ। नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ’, नयाँ संविधान प्रारम्भ भएको अवसरमा व्यक्त आफ्नो संक्षिप्त मन्तव्यमा राष्ट्रपति यादवले भनेका थिए।

संविधानको घोषणा भने सकसपूर्ण परिस्थितिमा भएको थियो। मधेस केन्द्रित राजनीतिबाट उदाएका केही दलहरु महिनौंदेखि संघर्षमा थिए। ती दलको सडक संघर्षका कारण कैयौं नागरिकले ज्यान गुमाइसकेका थिए। तत्काल संविधान जारी नगर्न आन्तरिक र बाह्य दबाब पनि थियो। यस्तो परिस्थितिमा मुख्य दलहरु कांग्रेस, एमाले र एमाओवादीका केही शीर्ष नेताहरुले जोडबलमा संविधान घोषणा भएको थियो।

सडकमा जनता मारिइरहेको र संविधानसभामा हर्षोल्लास भइरहेको विरोधाभाषी अवस्थाका बीच नयाँ संविधानले आफ्नो यात्रा सुरु गरेको थियो।

Monday, October 19, 2020

नेकपा स्थायी कमिटीका ८० दिन : कुर्सी व्यवस्थापनदेखि 'कोरोना जन्तर’ सम्म

किशोर दहाल

शुक्रबार, भदौ २६, २०७७, १९:५१

काठमाडौं- असार १० गतेदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाँचौं स्थायी कमिटी बैठक अढाइ महिनासम्म चल्यो। यो बैठक रोचक र सनसनीपूर्ण रह्यो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको पार्टीले भर्खर दुई वर्ष पूरा गर्दैगर्दा फुटका बहस चर्किए। मूलतः अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको असमझदारीले पार्टी नै मानसिक रुपमा विभाजित भएजस्तो देखियो। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामा माग भयो।

स्थायी कमिटीको औपचारिक बैठकभन्दा आफ्नो गुट र समूहको बैठक बस्ने काम पनि भयो। एक पक्षको नेतृत्व केपी ओलीले गरे भने अर्को पक्षको नेतृत्व प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले गरे। गोप्य भेला भए, हस्ताक्षर संकलन गरिए, कार्यकर्तालाई नाराजुलुस गर्न लगाइए, आरोप प्रत्यारोप गरिए। सबै चिज भइरहँदा शीर्ष नेतृत्वबीच संवाद पनि भइरह्यो। र त्यही संवादले अन्ततः नेकपाभित्रको उग्रतालाई मत्थर गरायो।

पाँचौं स्थायी कमिटी बैठकका केही उल्लेखित पक्षहरु यहाँ प्रस्तुत गरिएको छः

गाई कि हलो : किन अल्झियो राप्रपा एकता?

किशोर दहाल

सोमबार, भदौ २२, २०७७, १०:०४

काठमाडौं- आन्तरिक विवाद सुल्झाउन नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकताले पूर्णता पाउन सकेको छैन। अहिले एकीकृत पार्टी दर्ता गर्नु पर्ने वा नपर्ने र पार्टीको चुनाव चिह्न के हुने भन्ने विवादमा दुवै पूर्व पार्टीका बीचमा तर्क वितर्क भइरहेका छन्।

हुन त राप्रपा फुट्नु र जुट्नु नयाँ होइन। स्थापना नै फुटबाट सुरु भएको राप्रपाको एकता र फुट निरन्तर चलिरहने प्रक्रियाजस्तो देखिन्छ।

दुई पार्टी एक हुने भन्दै २०७६ फागुन २४ गते एकीकरणको आधार पत्रमा हस्ताक्षर भएको थियो। र, फागुन २८ गते औपचारिकरूपमा एकता घोषणा भएको थियो। यो राप्रपाको पाँचौं एकता थियो। तर हतारमा गरिएको एकताले पूर्णता पाउन सकेको छैन।

दुवै पूर्व पार्टीबीच कतिपय विषयमा समान धारणा बन्न नसक्दा पार्टीका शीर्ष नेताहरुबीच नै सामाजिक सञ्जालमा घोचपेचमा उत्रेको देखिन्छ।

गत सोमबार साँझ राप्रपाका एक अध्यक्ष कमल थापाले फेसबुकमा पार्टी एकताको जानकारी निर्वाचन आयोगलाई दिइसकिएको र चुनावचिन्ह सहमतिबाट टुंग्याइने भएकाले पार्टी एकताबारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण नभएको लेखे।

थापाले स्टाटस लेखेको केही बेरपछि नै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले लेखे- राप्रपा (संयुक्त) र राप्रपाबीच एकता आजको आवश्यकता हो। यसलाई मूर्तरुप दिन निर्वाचन आयोगमा विधिपूर्वक दर्ता गर्नुपर्दछ। यो काममा ढिलाई नगरौं।

अढाइ वर्षपछि पूरा हुँदै बामदेव गौतमको सांसद बन्ने धोको

किशोर दहाल

बिहीबार, भदौ १८, २०७७, २१:२१

काठमाडौं- अन्ततः वामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन्। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उनलाई राष्ट्रियसभाको रिक्त एक पदमा मनोनीत गर्ने निर्णय गरेसँगै गौतमको बाटो खुलेको हो। राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये युवराज खतिवडाले दुई वर्षे पदावधि गत फागुनमै पूरा गरेका थिए। त्यसयता सो पद रिक्त थियो।

'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो', बिहीबारको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

गौतमले पार्टीको निर्णयबाट आफूमा जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले भने- थोरै भए पनि जिम्मेवारी थपिएको छ।

गौतम राष्ट्रियसभा सदस्य बन्ने सुनिश्चिता भएसँगै उनको सांसद बन्दै प्रधानमन्त्री बन्ने धोको चाहिँ तत्काललाई धकेलिएको विश्लेषण हुन थालेको छ। संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था छैन। तर, प्रधानमन्त्री बन्ने रहर जागेको अवस्थामा गौतमले राष्ट्रियसभाबाट राजीनामा दिने संकेत गरेका छन्। त्यसका लागि ६ वर्ष (राष्ट्रियसभा सदस्यको पदावधि) कुरेर नबस्ने बताएका छन्। ‘६ वर्ष कहाँ कुरेर बस्ने? राजीनामा दिएर जानुपर्छ,' उनको भनाइ छ।

मन्त्री बन्नेमा पनि गौतम ढुक्क देखिँदैनन्। आफूले प्रधानमन्त्रीलाई भन्ने र मन्त्री बनाउने वा नबनाउने प्रधानमन्त्रीको विषय भएको उनको भनाइ छ।

अवमूल्यन गर्नेहरुलाई व्यवहारले देखाउँछु : वामदेव गौतम [अन्तर्वार्ता]

किशोर दहाल

बिहीबार, भदौ १८, २०७७, १८:५६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। यद्यपि, यस खालको निर्णय फागुन १४ मै पनि गरिएको थियो। तर, यसबीचमा युवराज खतिवडालाई नै दोहोर्‍याउने वा गौतमलाई लैजाने भन्ने विषयमा पार्टीभित्र दुई पक्षबीच संघर्षको स्थिति थियो।

गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित नेता हुन्। तर चुनावमा पराजित भए पनि उनले सांसद बन्ने अनेक प्रयास गरेका थिए। झन्डै दुई वर्षको प्रयास सफलताको नजिक पुगेको छ। उनले नेपाल लाइभसँग संक्षिप्त कुराकानी गरेका छन्।

ओलीको तराजुमा गौतम र खतिवडा

किशोर दहाल

बुधबार, भदौ १७, २०७७, १७:३७

राष्ट्रियसभामा युवराज खतिवडालाई निरन्तरता दिने कि वामदेव गौतमलाई लैजाने? निर्णय लिनलाई प्रधानमन्त्री केपी ओलीसँग अब धेरै समय बाँकी छैन।

राष्ट्रियसभाको आफ्नो दुई वर्षे अवधि पूरा गरेसँगै मन्त्रीबाट राजीनामा दिएका खतिवडाले गत फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ लिएका थिए। संघीय संसदको सदस्य नभए पनि ६ महिना मन्त्री हुन पाइने संवैधानिक प्रावधान अनुसार उनको मन्त्री पदको अवधि आगामी २० गतेसम्मका लागि हो।

मन्त्री पदमा निरन्तरताका लागि खतिवडाले २० गतेअघि नै संघीय संसद सदस्य बन्नुपर्ने छ। उनको दुई वर्षे पदावधि सकिएसँगै सो सभामा राष्ट्रपतिबाट मनोनित हुने एक स्थान रिक्त पनि छ। संघीय संसद सदस्य बन्न उनका लागि सोही स्थानमा मनोनित हुने उपाय अहिले छ। तर, यो विषय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र किचलोको विषय बन्दै आएको छ। जसले गर्दा उनको निरन्तरताका विषयमा प्रशस्तै आशंका उब्जिएका छन्।

खतिवडाको निरन्तरतामा आशंका उब्जिनुको कारण भने वामदेव गौतम हुन्। उनलाई गत फागुन १४ गते बसेको सचिवालय बैठकले केही दिनपछि नै रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गर्न मन्त्रिपरिषद्लाई अनुरोध गर्ने निर्णय गरेको थियो।

गौतम र सचिवालयका बहुमत सदस्यहरुको भनाइअनुसार, सो निर्णय अझै सान्दर्भिक छ। उनलाई नै राष्ट्रियसभा सदस्य बनाउनुपर्छ। अहिलेकै परिस्थितिमा गौतम राष्ट्रिय सभा सदस्य बने भने खतिवडाको सम्भावना सकिन्छ।

निर्णय दुई तीन दिन मात्रै बाँकी रहेकाले प्रधानमन्त्रीले अब लामो मन्थन, छलफल, आश्वासन, दबाब जस्ता उपाय अपाउने अवस्था छैन। उनले आफ्नो तराजुमा राखेर खतिवडा र गौतमको मूल्यांकन गर्नुपर्ने छ। मूल्याकंनको केन्द्रमा पार्टीभित्रको शक्ति संघर्षदेखि सरकार सञ्चालनमा सहजताका विषय हुन्छन् नै।

तीन दशकदेखि सीमित नेताको कब्जामा राजनीति

किशोर दहाल

मंगलबार, भदौ १६, २०७७, १९:४६

२०७७ भदौ ३ गते एपिवान टेलिभिजनबाट प्रशारित ‘द ब्राभो डेल्टा सो’ मा भुषण दाहालसँग कुरा गर्दै प्रचण्डले भने, 'म प्रचण्ड, ०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा अगाडि एउटा सानो समूहको महामन्त्री बनें। त्यहाँदेखि अहिलेसम्म म पार्टीको नेतृत्वमा कुनै न कुनै रूपमा छु।'

प्रचण्डले आफू आबद्ध पार्टीको नेतृत्वमा रहन थालेको तीन दशकभन्दा बढी भइसक्यो। तत्कालीन नेकपा मशालको महामन्त्रीबाट नेतृत्वयात्रा सुरु गरेका उनका पार्टीको नामहरू फेरिएर नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो तर उनको विकल्पको प्रश्न उठेन। अझै पनि उठ्ने सम्भावना देखिँदैन। नेकपाका दुईमध्ये एक अध्यक्षको रुपमा छन्, प्रचण्ड। आगामी महाधिवेशनपछि पनि उनी आफ्नो नेतृत्व निरन्तरताको प्रयासमा छन्। 

नेपाली राजनीति यस्तो जमेको पोखरी भएको छ, जहाँ करिब तीन दशकदेखि सीमित अनुहारले पौडी खेलिरहेका छन्। २०४६ सालमा बहुदलीय व्यवस्था सुरु भएपछि पार्टी र सरकारमा रहेर शक्ति अभ्यास गर्न थालेका नेताहरूको प्रभाव अद्यापि छ।

मुख्य पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस, जसपा, राप्रपा, माले, राजमोमा रहेका झन्डै दुई दर्जन नेताहरुले वर्षौंदेखि पार्टी र समग्र राजनीति कब्जा गर्दै आएका छन्। उनीहरुमध्ये कतिपय पार्टी र आम चुनावमा पराजित भएका थिए/छन्, तर पार्टीभित्रको सत्तामा प्रभाव भएकैले असान्दर्भिक हुने गरेका छैनन्। कतिपय नेता त पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रकालमा समेत सत्ता र शक्तिको वरिपरि छन्।

लगातार विवादास्पद नियुक्ति

किशोर दहाल

बिहीबार, भदौ ११, २०७७, १०:५३

काठमाडौं-सरकारले गर्ने कतिपय नियुक्तिहरुको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट आलोचना हुने गरेको छ। विवादित नियुक्तिहरु भएका बेला नेकपाका नेता कार्यकर्ताले विभिन्न तरिकाले असन्तुष्टि जनाउने गरेका छन्। तर, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले जतिसुकै विवादित भए पनि निकटलाई अवसर दिने गरेको पाइन्छ। 

पछिल्लो पटक वाणिज्य बैंक सञ्चालक समितिमा उपेन्द्र कोइरालालाई नियुक्त गरिएपछि व्यापक विरोध भइरहेको छ। उनलाई अर्थमन्त्री डा युवराज खतिवडाले गत सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत् नियुक्त गरेका थिए। एउटै व्यक्ति पटकपटक नियुक्त भएको मात्रै होइन, नियुक्ति पाएका ठाउँमा विवादित भएको तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी भएको र उनले नै दबाब दिएर नियुक्ति दिलाएको खबर सार्वजनिक भएका छन्।

आफूलाई जोडेर सार्वजनिक भएका समाचारप्रति पोखरेलले भने खण्डन गरेका छन्। विगतको निरंकुश शाही शासनका दुष्ट मतियारहरूले नयाँ ढंगले आफ्नो विरुद्धमा स्वर उरालेको उनको भनाइ छ। ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन’, पोखरेलले बुधबार फेसबुकमा एक अनुरोध लेख्दै भनेका छन्।

तर नेकपाभित्र नियुक्तिको विषय पटकपटक विवादित पर्नुमा भने सरकारको कार्यशैली पनि जिम्मेवार देखिन्छ। यो अन्ततः सरकारको जवाफदेहीता र पार्टीको छविसँग जोडिन्छ। गत साउन २० गते बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड (झलनाथ खनाल र सुबास नेम्वाङसहित) को बैठकमा प्रचण्ड र खनालले सुशील भट्टलाई लगानी बोर्डको सिएओ नियुक्तप्रति आपत्ति जनाएका थिए।

सरकारका नियुक्तिहरुमा समस्या रहेको बुझेरै हुनुपर्छ। केही दिनअघि प्रतिवेदन बुझाएको नेकपा कार्यदलले सरकारको कामको सन्दर्भमा दिएको सुझावमा भनिएको छ- मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने।

२०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएपछि स्वभाविक रुपमा कैयौं नियुक्ति भइसकेका छन्। तीमध्ये कैयौं विवादमा पनि परेका छन्। केही प्रतिनिधि नियुक्तिहरुलाई नेपाल लाइभले केलाउने प्रयास गरेको छः

जसपाको विज्ञप्तिमा किन लेखियो ‘ओली शारीरिक र मानसिक रुपमा कमजोर’?

किशोर दहाल

मंगलबार, साउन २७, २०७७, १८:१९

काठमाडौं- जनता समाजवादी पार्टीको गत २१ देखि २४ सम्म बसेको केन्द्रीय कार्यकारिणी बैठकको निर्णय भोलिपल्ट एक विज्ञप्तिका साथ सार्वजनिक भयो। १० बुँदा रहेको निर्णयको पहिलो बुँदाको सुरुवातमै भनिएको छ- ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड-१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ।'

पहिलो बुँदामा यो सरकार बनेदेखि नै संघीयता गणतन्त्र, धर्म निरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षडयन्त्र सहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बिऊ रोप्ने कार्य गरेको आरोप लगाइएको छ। त्यस्तै, अधिनायकवादी चरित्र देखाएको, कूटनीतिक अपरिपक्वता र असन्तुलन प्रदर्शन गरेको, नश्लवादलाई प्रोत्साहन गरेको, भ्रष्टाचार, कालोबजारी एवं कमिशनखोरहरुलाई बढावा दिने कार्य भएको बताइएको छ। संसदको गरिमा घटाउने र राष्ट्रपति पदको दुरुपयोग गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।