Pages

Saturday, June 2, 2018

'निर्भयी भएकैले लंकेश हिन्दुत्ववादको सिकार भइन्' : उज्ज्वल प्रसाईं

नेपाल लाइभ

भदौ २१, २०७४| प्रकाशित १९:५४

भारतको बेङ्लुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानेर हत्या गरिएको छ। केही अपरिचितले घरमा प्रवेश गरी उनको गोली हानी हत्या गरेका हुन्। उनको छवि निर्भीक र स्पष्ट लेख्ने पत्रकारको थियो। उनी वामपन्थी विचारधाराबाट प्रभावित र हिन्दु अतिवादी विचारको कट्टर आलोचक पनि थिइन्।

उनको हत्याको विरोधका काठमाडौंमा पनि आज दिउँसो लेखक, साहित्यकार, पत्रकारहरुले विरोध प्रदर्शन गर्दैछन्। यही सन्दर्भमा विश्लेषक उज्ज्वल प्रसाईंसँग नेपाल लाइभका किशोर दहालले छोटो कुरा गरेका छन्:

सम्पादक गौरी लंकेश को हुन्? उनी किन निसानामा परिन् होला?
गौरी लंकेश हिन्दुत्ववादी र दक्षिणपन्थी भारतीय सत्ताको असहिष्णु राजनीतिको पछिल्लो सिकार हुन्। फरक मतप्रति असहिष्णु शक्ति र तिनलाई सघाउने उन्मादी समूहद्वारा दबाउन खोजिएको आवाज हुन् उनी। नरेन्द्र दभोल्कर, गोविन्द पन्सारे, एमएम कल्बुर्गी जस्तै भारतीय हिन्दुत्ववादको आँखामा कसिंगर बनेकी निहत्था लेखक हुन्। अबको उनको परिचय नै त्यही हो।

यसअघि मैले उनको खास केही पढेको थिइनँ। उनको हत्यापश्चात् उनीबारे गरिएका रिपोर्टिङबाट थाहा लाग्यो- उनी पछिल्लो समय कन्नड भाषामा पत्रकारिता गर्थिन्। आफैले सम्पादन गर्ने ‘गौरी लंकेश पत्रिके’ नामको ट्याब्लोइड मार्फत भुइँतहका जनताको आवाज बनेकी थिइन्। उनी मारिनुको एउटै कारण छ, उनी हिन्दुवादी राजनीति र राष्ट्रवादी संकीर्णताको विरोधी थिइन्। उनी निडर थिइन्, उनलाई चुप लगाउने सबभन्दा सजिलो उपाय उनको ज्यान लिनु थियो। उनी मारिइन्।


उनको हत्या मार्फत व्यक्त भएको भारतीय शासनको चरित्र के हो?
आजको भारत नवउदारवादी अर्थतन्त्र र मुस्लिमविरोधी राष्ट्रवादको मिश्रण भएको व्यवस्था हो। यस्तो व्यवस्था अमानवीय हुन्छ। यो व्यवस्थामा गरिबीको सबभन्दा ठूलो कारण स्वयं गरिबलाई तोकिन्छ। सिमान्तमा धकेलिएका निहत्था मानिसहरुको समूहलाई व्यवस्थाको कलंक मानिन्छ। त्यस्तो व्यवस्थाको अगुवाइ गरेकाहरुले ठहर गरेको यो सत्यलाई प्रश्न गर्ने जोकोही पनि व्यवस्थाको सिकार बन्न सक्छ। खासगरी तिनीहरु नै तारो बन्छन् जो निर्भयी छन् र जो अन्यायका विरुद्ध खुलेर बोल्ने हिम्मत गर्छन्। त्यस्ताहरु नै सबभन्दा पहिले व्यवस्थाका ठूला दुस्मन तोकिन्छन्, जो बद्नामी वा मृत्युको डरले पुच्छर लुकाएर भाग्दैनन्। र, त्यस्ताहरु मारिन्छन् जसले स्वतन्त्र ढंगले सोच्ने छुट लिन खोज्छन्।

हत्याको शृंखला नै चलेको छ। यसको सम्भावित असर के हुन सक्छ?
यसको सबभन्दा गहिरो असर भारतीय लोकतन्त्र कति कच्चा छ भनेर उजागर हुनेछ। ठूलो लोकतन्त्र भनेर गरिएको व्याख्यामा खोट छ भन्ने प्रमाणित हुनेछ। स्वतन्त्रतापूर्वक सोच्ने र निर्धक्क बोल्ने मानिसहरुको संख्यामा केही समयलाई ह्रास आउनेछ। यसरी दिनहुँ मारिएका स्वतन्त्र लेखक र पत्रकारहरु, दलित र आदिवासीहरुका लास गनेर निरीह बसेका मार्क्सवादी र वामपन्थी भनौंदा पार्टीहरुलाई आफ्नो अकर्मण्यता र अक्षमतामाथि सरम लाग्नेछ। आफ्ना साना स्वार्थ र जडसूत्रवादी संकीर्णताले अनुहार छोपेर ती एकपटक फेरि दुला पस्नेछन्। त्यसो नगरेर संगठित हुने प्रयत्न गरे र अहिलेका ज्वलन्त समस्याहरु माथि सान्दर्भिक चिन्तन गर्ने र त्यसै अनुसार आफ्नो राजनीति सोझ्याउने काम गरे भने त्यो उचित हुनेछ। स्वर दबेको उदारवादी कांग्रेस आई जस्तो शक्तिले विरोधमा उत्रेका लंकेशका सहयात्रीहरुका अघिल्तिर अर्थहीन दुई थोपा आँसु चुहाउनेछ।

नेपालमा यो घटनाको केही असर हुन्छ? वा हाम्रा लागि यो कति चिन्तित हुनुपर्ने विषय हो?
छिमेकी भएका नाताले र हाम्राबीच केही सांस्कृतिक समानता पनि भएका नाताले, त्यहाँका घटनाले हामी अप्रभावित रहन सक्दैनौं। जिन्गोइज्मको हदमा बढेको राष्ट्रवादी उन्माद अन्ततः यसरी नै हिंस्रक बन्छ भन्ने शिक्षा हामीले बेलैमा पाए, यताका राष्ट्रवादीलाई श्रेयस्कर हुनेछ। उनीहरुले त्यति क्रुर र हिंस्रक बन्नबाट आफूलाई जोगाउनेछन्। आफ्नो सामाजिक संरचनामा दोष खोज्न छोडेर फरक विचार राख्ने, फरक धर्म मान्ने, र फरक रङ भएका मानिसहरुप्रति गरिने विष वमनको चरित्र भारतीय होस् वा नेपाली, त्यहाँ समानताहरु छन् भनेर बुझ्न सकिन्छ। संसारको जुनसुकै कुनामा बस्ने न्यायको पक्षधरलाई यो चिन्ताको विषय हो। 

अब हामीले के गर्ने?
हामीले सचेततापूर्वक जातिवादी र राष्ट्रवादी उन्मादका असरहरुबारे बुझ्ने, अध्ययन गर्ने, र बेलैमा खुला बहस गर्ने। न्यायका लागि आवाज बुलन्द गर्ने। जहाँसुकै भएका किन नहुन्, अन्यायविरुद्ध बोल्ने र लेख्ने। यताका जिहादी चरित्रका राष्ट्रवादीलाई आफ्नो वर्चस्व कायम राख्न प्रदर्शन गरिने घातक अहंकारको परिणति बुझाउन कोसिस गर्ने। लोकतन्त्रका लागि त्यस्तो चरित्र कति अफापसिद्ध हुन्छ भनेर बताउने। आफ्नो बुद्धि खियाएर लेख्ने र बोल्ने मानिसहरुप्रति शासकहरुलाई संवेदनशील बनाउने प्रयत्न गर्ने।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/577

No comments:

Post a Comment