Pages

Saturday, June 2, 2018

राजनीतिमा रहेका महिलालाई त पितृसत्तात्मक प्रवृत्तिले सताउँछ, आममहिलाको अवस्था के होला? : दुर्गा पौडेल

नेपाल लाइभ

मंसिर २७, २०७४| प्रकाशित ००:४४

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले प्युठान १ मा नेपाली कांग्रेस उम्मेदवार तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १३ मत पाइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मतमा चित्त बुझाए।

०४१ सालदेखि राजनीति सुरु गरेकी पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुन्। उनी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट पराजित भएकी थिइन्। तर, २०७० सालको चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद बनिन्।

पछिल्लो निर्वाचन परिणामका विविध सन्दर्भलाई लिएर नेपाल लाइभका लागि किशोर दहालले पौडेलसँग कुराकानी गरेका छन्।

तपाईंले चुनाव जित्नुका कारणहरु के-के मान्नुहुन्छ?

जित्नुका कारण धेरै छन्। जनतामा पहिल्यैदेखि वाम शक्तिहरु एक भएर आउन् भन्ने अपेक्षा थियो। चुनावमा त्यो वातावरण निर्माण भएपछि उनीहरुमा उत्साह थपियो। त्यस्तै, महिला उम्मेदवार भएका कारण आममहिलामा बढी सहानुभूति देखियो। अर्कातिर जनताले हरेक उम्मेदवारको पृष्ठभूमि खोज्दारहेछन्। जनताले उम्मेदवारको पृष्ठभूमि केलाएपछि लगातार राजनीतिमै बिताएको उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। मैले महिला मुक्तिको आन्दोलनको एक दशकसम्म नेतृत्व गरें। विकास र समृद्धिका लागि पनि लगातार आवाज उठाइरहेको व्यक्ति हुँ। जनताले उम्मेदवारको त्यागलाई पनि ख्याल गर्दारहेछन्। यी कुराहरु ममा पाएपछि उनीहरुले मलाई मत दिए। र मैले जितेँ।

महिला उम्मेदवार भएर चुनावमा प्रतिस्पर्धा गरिरहँदा आइपर्ने अतिरिक्त कठिनाइ के-के हुँदा रहेछन्?

चुनाव निकै भड्किलो देखिन्छ। मत किन्ने प्रवृत्ति पनि देखिन्छ। यसबीचमा महिलालाई जित निकाल्न धेरै अप्ठ्यारो छ। चुनावमा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ। 'पैसा फ्याँको, तमासा देखो' भन्ने शैली प्रत्यक्ष चुनावमा देखिन्छ। यो शैली विरुद्ध उभिएर मत पाउन महिला उम्मेदवारलाई झन् बढी गाह्रो देखिन्छ।

प्रतिद्वन्द्वीले भनिदिँदारहेछन्– उहाँ महिला हो, महिलाले के नै गर्न सक्छे र? म पुरुष हुँ, मलाईं दिनुहोस्। म विकासदेखि निकाससम्म दिन सक्छु।

महिलाको लडाइँ त्यहीँबाट सुरु हुने रहेछ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारलाई चिर्न महिलाको पनि त्यही स्तरको प्रचार संयन्त्र चाहिनेरहेछ। जुन महिलाको हकमा असम्भवप्रायः छ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारवाजीबारे मलाई मतदाताले पनि सोध्नुहुन्थ्यो– तपाईं महिला सांसदले विकास गर्न सक्नुहुन्न भन्छन्? मैले धेरै महिलालाई व्यक्तिगत रुपमै महिलाले पनि नेतृत्व गर्न सक्छन् भनेर बुझाएँ उदाहरण दिएँ। त्यसपछि उहाँहरुले पुरुष उम्मेदवारको प्रचारवाजी विरुद्ध नै प्रतिवाद गर्न थाल्नुभयो।

त्यसैले महिलालाई राजनीतिक क्षेत्रमा काम गर्नु भनेको फलामको चिउरा चपाउनुसरह कठिन छ।

राजनीतिक रुपमा यतिका संघर्ष गरेका हामीलाई त महिला भएकै कारण पितृसत्तात्मक प्रवृत्तिले सताउँछ भने आममहिलाको अवस्था कस्तो होला, अनुमान गर्न सकिन्छ। क्षमता र योग्यता हुँदा पनि महिला भएकै कारण पछाडि पार्न खोजिन्छ। अनेक जालो फिजाइन्छ। राजनीतिक क्षेत्रमा भूमिका निर्वाह गरिरहेका धेरै क्षमतावान महिलालाई पनि बिर्सेर फलानाको श्रीमती र फलानाकी बुहारी भनेर परिचय दिइन्छ। यो महिलाको योगदानको बहुत ठूलो अपमान हो। मिडियामै पनि यस्तो भइरहेको छ। जुन हामीले अपेक्षा गरेका थिएनौं।


चुनाव खर्चिलो भएको बताउनुभयो। तपाईंले चाहिँ चुनाव लड्नका लागि आर्थिक स्रोतको खोजी र परिचालन कसरी गर्नुभयो?

प्युठानमा के भयो भने, यहाँ तीनवटा पार्टीबीच गठबन्धन भएकाले खर्च पनि तीन भाग लाग्यो। त्यसैले मैले एक भाग मात्रै बेहोर्नुपर्योव। त्यसले हामीलाई निकै राहत दियो। एक्लाएक्लै लडेको भए खर्च बेहोर्नै नसकिने रहेछ। हामीलाई के पनि अनुमान भयो भने, चुनाव जितिने स्थिति छ त्यसैले अनावश्यक खर्चमा जोड दिन जरुरी छैन। तीनवटा मुख्य वाम दलबीच प्रतिस्पर्धा हुने ठाउँमा ती तीनवटै दलको गठबन्धनको उम्मेदवार भएकाले पनि त्यो आत्मविश्वास थियो। हामीले बाजागाजा, पर्चा पम्प्लेट वा ठूल्ठूला सभाहरुमा खर्च नगर्ने सोच्यौं र पालना पनि गर्यौंच। अत्यावश्यक बाहेक खर्च गरेनौं।

राजनीतिक दल र तिनका नेता लोकतान्त्रिक गणतन्त्र, समावेशिता र महिला सशक्तीकरणका लागि पनि लडेका हुन् तर महिलालाई सहज जित र प्रतिनिधित्व बढाउने कुरामा किन उदासिन भएका?

पुरुषवादी मानसिकताले सबै पार्टी प्रवृति र नेतामा घर गरेको छ। धेरै र थोरैको कुरा हो तर सबै पार्टीमा यो अवस्था छ। वामपन्थी पार्टीहरुमा अलि कम छ। तर, छँदै छैन भन्ने होइन। महिलालाई उम्मेदवार बनाउने कुरामै कञ्जुस्याइँ देखिएको हो। त्यसैले पनि महिलाको जित कम भएको हो।

सैद्धान्तिक लडाइँ निकै लडियो र लडिराखिएकै छ। तर, व्यावहारिक परिवर्तन अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन। व्यावहारिक रुपमै महिलामैत्री परिस्थिति सिर्जना गर्नका लागि अब बाँकी लडाइँ केके हुन्?

सैद्धान्तिक र संवैधानिक व्यवस्थालाई महिलामैत्री बनाउनका लागि पनि हामीले धेरै लडाइँ लड्न बाँकी छ। त्यसैले महिलाको नेतृत्व क्षमता स्थापित गराउने र मानसिक रुपमै तयार गराउनका निम्ति विधि र संवैधानिक वाध्यताको अवस्था बनाइदिनुपर्छ। कानुन भनेको हाम्रो हतियार हो, हतियारबिना लडाइँ सम्भव हुँदैन। त्यसपछि व्यावहारिक कार्यान्वयनका लागि सरकार जिम्मेवार र महिला सचेत हुनुपर्छ।

तपाईंले अब गर्ने कामबारे केही खेस्रा बनाउनुभएको छ?

साझा उम्मेदवारका रुपमा म विजयी भएको छु। त्यसैले हामी सबै बसेर प्युठान जिल्लाका लागि के-कस्ता व्यावहारिक योजना बनाउन सकिन्छ भनेर छलफल गर्ने रणनीति बनाएका छौं।

अब प्रदेशसभामा पनि वाम गठबन्धनकै वर्चस्व देखिन्छ। कम्तिमा ६ वटामा उनीहरुकै प्रदेशसभाका सांसद मुख्य मन्त्री बन्ने अनुमान लगाउन सकिन्छ। यस्तो अवस्थामा महिलालाई मुख्यमन्त्री बनाउन केही पहल गर्नुपर्ने वा दबाब दिनुपर्नेबारे सोच्नुभएको छ कि छैन?

अहिलेसम्म मुख्यमन्त्रीको कुराले बहस लिइसकेको छैन। तर, जब यो बहसमा आउँछ वा कार्यान्वयनतिर पुगिन्छ, महिलालाई मुख्यमन्त्रीको जिम्मेवारी दिने कुरामा दलहरुले पनि सोच्नेछन् भन्ने लाग्छ। जब नामहरु नै चर्चामा आउँछन्, त्यतिबेला संघर्ष गर्नुपर्ने हुनसक्छ। त्यसका लागि हामी तयार छौं।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/8794

No comments:

Post a Comment