किशोर दहाल
मंगलबार, असार ५, २०८० १९:१५
काठमाडौं- ‘यो समाजवादी मोर्चा पहिलो पाइला हो। यो अन्तिम पाइला होइन। यहाँबाट एउटा नयाँ अभियान, एउटा नयाँ युगतिर देशलाई लैजाने, सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लैजाने, सबै सकारात्मक शक्तिहरुलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात भएको छ’, सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए। मोर्चामा माओवादी केन्द्रका अतिरिक्त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।
प्रचण्डले पाँच वर्षअघिको नेकपा एकता घोषणा समारोहलाई पनि सम्झिएका थिए। एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गर्ने प्रस्तावक नै आफू रहेको बताउने गरेका प्रचण्डले त्यतिबेला हतारो गरिएको ठम्याइ प्रस्तुत गरेका थिए। उनको भनाइ थियो, ‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गरेर विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौँ कि!’
त्यतिबेला समाजवादी मोर्चा भनेर सुरु गरेको भए एकता टिक्थ्यो कि भन्ने बुझाइमा रहेका उनले समाजवादी मोर्चा पनि एउटै पार्टी हुनसक्ने सम्भावनालाई प्रस्तुत गरे। तर उनले व्यक्त गरे जस्तो आशय सहमति पत्रमा भने उल्लेख छैन। केवल वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरुको एकताबद्ध पहलकदमी आवश्यकता रहेकाले समाजवादी मोर्चा गठन गर्न सहमत भएको भन्ने जस्तो अमूर्त दलिलका आधारमा यसको औचित्य पुष्टि गर्न खोजिएको छ।
घोषणा सभामा नेताहरुले गरेको भाषण पत्याउने हो भने नेपालमा समाजवाद आएपछि मात्रै मोर्चाले विश्राम लिनेछ। तर, गठन गर्नुका अप्रष्ट आधारहरुले नै यसको दीर्घकालीन अस्तित्वको विषयमा शंका उब्जाउँछ। किनकि, यसअघि एक्लाएक्लै रहँदा त्यस्तो कुन समाजवादी कार्यक्रम लागू गर्न सकिएन, जसका कारण समाजवादी मोर्चा नै बनाएर लागू गर्नुपर्ने बाध्यता आइपर्यो? त्यसबारे केही भनिएको छैन।
अर्कोतिर, मोर्चामा सहभागी चारमध्ये तीन दल त सरकारमै सहभागी छन्। प्रचण्ड स्वयं प्रधानमन्त्री छन्। त्यहीँबाट जनपक्षीय काम गर्नु नै उनीहरुको दायित्व हो। त्यहीँबाट आफू हुनुको औचित्य पुष्टि गर्नुपर्ने हो। समाजवादी कार्यक्रम लागू गर्न त्यहीँबाट पहल गर्नुपर्ने हो। तर, सरकारबाट त्यस किसिमको काम गर्न रुचि नदेखाइएको प्रशस्तै सन्दर्भहरु छन्। फेरि यही समयमा समाजवादी सपना पूरा गर्ने भन्दै मोर्चा गठन गरिएको छ। यसले उनीहरुको इमानदारितामा प्रश्न गर्ने आधार दिन्छ।
पुराना अनुहारको मिलन
स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा नयाँ पात्रप्रतिको आकर्षण उल्लेखनीय थियो। साथै, पुराना पार्टी र पुराना नेताहरुप्रति विकर्षण पनि उत्तिकै थियो। त्यसैले पनि पुराना पार्टी र नेताहरुले नयाँ उम्मेदवारहरुबाट चुनौती बेहोर्नुपरेको थियो। समाजवादी मोर्चाका एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ उम्मेदवार सीके राउतसँग पराजय नै बेहोर्नुपर्यो। संसद् पुगिछाड्ने उनको हठका कारण बारामा उपनिर्वाचन गर्ने परिस्थिति सिर्जना गरिएको थियो। र सत्ताधारी दलहरुले गठबन्धन गरेर उनलाई जिताउन भूमिका खेलेका थिए।
आमचर्चालाई नै ध्यान दिने हो भने पनि समाजवादी मोर्चामा जोडिएका चार दल र तिनका नेताप्रति आकर्षण घट्दो छ। मौलिक रुपमा उनीहरुको पार्टीगत र व्यक्तिगत संकट छँदैछ, सामूहिक रुपमा भने दलीय औचित्य स्थापित गर्न नै कठिन पर्दै गएको देखिन्छ। त्यसैले अस्तित्व निरन्तरताको भयबाट जोगिने उपायस्वरुप समाजवादी मोर्चाको गठन गरिएको देखिन्छ। यो मोर्चामा न त ऊर्जाशील नेतत्व छ, न त ऊर्जाशील नेतृत्वको आगमनको आधार तयार गर्न खोजिएको छ। बरु उमेर, विचार र समयचेतका हिसाबले वृद्ध क्लब सिर्जना भएको भनेर कटाक्ष भइरहेको छ।
अस्तित्व रक्षाका लागि उल्लेखित दलहरुले आफूभित्रै निर्मम समीक्षा र सुधार खोज्नु अपेक्षित थियो। पार्टीलाई समय सन्दर्भ अनुसारको बनाउने, पार्टीलाई उद्देश्यप्रति उत्प्रेरित र कठोर बनाउने, कार्यकर्तालाई पार्टीको भविष्यप्रति विश्वस्त बनाउनेतर्फ मन्थन र गृहकार्य अपेक्षित थियो। तर, उनीहरुले आफू पनि भ्रममा रहने र अरुलाई पनि भ्रममै राख्नका लागि मोर्चा गठनको उपाय रचेको देखिन्छ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘कार्यकर्ताले छोड्दै हिँड्न थाले। त्यसैले मोर्चा गठन गरेर उनीहरुलाई हामी ‘शक्तिशाली नै छौँ, पख न’ भनेर भ्रम सिर्जना गरिएको हो जस्तो लाग्छ।’ प्रचण्डको भाषणले पनि त्यही भ्रमको संकेत दिन्छ।
‘राष्ट्रिय सभागृहमा कार्यक्रम राख्ने भनियो। मलाई अलिअलि मनमा के थियो भने, साथीहरु अलिअलि अन्योल र निराशामा छन् कि! यो हल पनि नभरिने हो कि! बडो चिन्तामा थिएँ’, सोमबार प्रचण्डको भनाइ थियो, ‘यो गेटभित्र पस्दा त बाहिरै कार्यकर्ता र समर्थकहरुको भीड देखेपछि मैले के ठानेँ भने, समाजवादी मोर्चा, नेपालको घोषणा सभा मात्रै होइन। यो मोर्चाको औचित्य इतिहासमा स्थापित भइसक्यो। हामी सबैमा एउटा नयाँ उत्साह स्थापित भइसक्यो।’
बेकारको हल्ला!
नेपाली राजनीतिक इतिहासमा दलहरु मिलेर मोर्चा तथा गठबन्धन बनाउने प्रचलन नयाँ होइन। २०४६ र २०६२/६३ सालको जनआन्दोलन सञ्चालन गर्दा दलहरुले मोर्चा/गठबन्धन नै बनाएका थिए। त्यो निश्चित र ठोस उद्देश्यका लागि थियो। सफल पनि भएका थिए। तर, अहिलेको मोर्चाको भने उद्देश्य निश्चित र ठोस छैन। त्यसैले यो मोर्चा परिणाममुखी हुनेमा आशंका गर्न सकिन्छ। राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘यो मोर्चाले कसकोविरुद्ध लड्ने हो भन्ने नै प्रष्ट छैन। चुनाव लड्नका लागि बनाइएको हो भने अहिले चुनाव नै छैन, चार वर्षपछि छ। त्यतिबेलासम्म टिक्छ कि टिक्दैन पनि थाहा छैन। यसको काम के छ र?’
खतिवडा यो कुन खालको समाजवादी मोर्चा हो भन्ने पनि नै प्रष्ट नभएको बताउँछन्। ‘तीन वटा कम्युनिस्ट पार्टी र एउटा गैरकम्युनिस्ट पार्टी छ। गैरकम्युनिस्ट पार्टीले पहिचानको मुद्दा उठाउँछ। अरुले मान्दैनन्’, उनी भन्छन्, ‘यसले उत्साह होइन, निराशा बढाउँछ र देशको राजनीतिलाई झन् गञ्जागोल बनाउँछ जस्तो लाग्छ।’
समाजवादी मोर्चामार्फत् कम्युनिस्टहरुले कम्युनिस्ट छोडेर समाजवादी हुन लागेका हुन् कि, समाजवादी कम्युनिस्टतिर फर्किएका हुन् भन्ने अन्योल रहेको उनको भनाइ छ।
समाजवादी मोर्चामा जोडिएका चार दलमध्ये तीन वटा कम्युनिस्ट दलहरु नै छन्। त्यसैले यो मोर्चा कम्युनिस्ट पार्टीहरुकै ‘मिनी गठबन्धन’ जस्तो देखिन्छ। तर, कम्युनिस्ट पार्टीहरुको मोर्चाबन्दी, गठबन्धन तथा पार्टी एकताबाट आउने नतिजाका सम्बन्धमा नेपाली समाज भलिभाँती जानकार छ। २०७४ कै निर्वाचनमा तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्र वामगठबन्धन गरेर होमिएका थिए। संसद्मा झन्डै दुई तिहाइ शक्ति आर्जन गरेका उनीहरुले पार्टी एकता पनि गरे। त्यसपछि उनीहरु झै–झगडामै व्यस्त भएको र वाचा गरिए अनुसारको काम गर्न नसकेको भन्ने भाष्य नै स्थापित छ।
अहिले समाजवादी मोर्चाका तर्फबाट प्रस्तुत गरिएका उद्देश्यहरु पनि पूरा नहुने खतिवडा बताउँछन्। ‘उनीहरुले भनेका १५ वटा बुँदा त अहिले हाम्रो संविधानमा नै छ। अनि कांग्रेसले त्यो मान्दिनँ भन्छ र? एमालेले त्यो मान्दिनँ भन्छ र? समाजवादी जति सबैको एकता भनेको हो भने कांग्रेस, एमाले र रास्वपालाई पनि त्यहीँ लगे भइहाल्यो’, उनको व्यंग्यमिश्रित सुझाव छ।
समाजवादी मोर्चा लामो समयसम्म टिक्ने र सहभागी दलहरुले मोर्चाको भावना अनुरुप काम गर्नेमै शंका व्यक्त भएका छन्। किनकि, समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रकै छवि धोकेवाजको रुपमा स्थापित छ। एकीकृत समाजवादीभित्र मोर्चालाई लिएर फरक–फरक बुझाइ छ। विप्लव नेतृत्वको नेकपा संसदीय अभ्यासलाई अस्वीकार गरिरहेको दल हो। ‘उनीहरुले लामो समयसम्म साझा धारणा बनाएर जाने सम्भावना म देख्दिनँ’, खतिवडाको भनाइ छ, ‘यो केही होइन। बेकारको हल्ला जस्तो मात्रै हो।’
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० १९:१५
https://nepallive.com/story/309920
No comments:
Post a Comment