Pages

Tuesday, July 25, 2023

संशयमा शेखरको मौनता

किशोर दहाल

शुक्रबार, पुस १, २०७९  ०७:१३

काठमाडौं– मोरङ- ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको केही दिनपछि विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले। त्यसैक्रममा पत्रकारहरुले संसदीय दलको निर्वाचन लड्ने महामन्त्री गगन थापाको घोषणा र प्रधानमन्त्रीमा कोइरालाको चाहनाबारे सोधेका थिए। तर अमूर्त जवाफ फर्काए।

‘चाहना भएर मात्रै हुने होइन। संसदीय प्रणालीमा नम्बरको गेम पनि हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ मानिसहरुले। सबैले बुझ्न जरुरी छ,’ उनको भनाइ थियो, ‘नम्बर गेम जसले पुर्‍याउन सक्छ। संसदीय दलको नेता हुनुपर्‍यो नि त पहिले।’

कांग्रेस संसदीय दलको समीकरण कोइरालामैत्री देखिएको छैन। तर, संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् उनी। विराटनगरमा पत्रकारहरुलाई काठमाडौं गएर सभापति, वरिष्ठ नेता र अन्य नेताहरुसँग छलफल गर्ने बताएका उनले केही समययता आन्तरिक छलफल गरिरहेका छन्। त्यसमार्फत् कांग्रेसभित्रको मनस्थिति बुझ्ने प्रयत्न गरिरहेका छन्।

संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने प्रयत्न गरिरहेका उनले सार्वजनिक रुपमा भने आफ्ना निम्ति अपिल गर्ने आँट गर्न सकेका छैनन्। अर्को कुनै उम्मेदवारका निम्ति खुला हुने विकल्प पनि गुमाउँदै गएका छन्। विस्तारै उनी त्यस्तो ठाउँमा पुग्दैछन्, जहाँ उभिएर बोल्नु र नबोल्नुको अर्थ हुनेछैन।

गुमेको विकल्प

कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनले ‘एक पटक, यसै पटक’ र ‘सभापति बनेँ भने प्रधानमन्त्री बन्दिनँ, अरुलाई नै अवसर दिन्छु’ भन्ने नारा/अभिव्यक्ति सार्वजनिक गरेका थिए। जसका कारण दोस्रो र तेस्रो तहका नेताहरु आकर्षित भएका थिए। उनको छवि पनि पदको लोभ नगर्ने, तर कांग्रेसको पुनर्जागरणका लागि प्रतिबद्ध नेताको रुपमा प्रस्तुत भएको थियो।

महाधिवेशनमा पराजयपछि कोइराला संस्थापनइतर समूहको मूल नेतृत्व भए। देउवाको ‘सहयोगी’ बनेका कारण रामचन्द्र पौडेलले गुमाएको ‘स्पेस’ कोइरालाले लिए। कांग्रेसमा देउवाको विकल्प खोज्न सक्रिय समूहको नेता बने। तर त्यसपछि उनले आफ्नो आगामी लक्ष्यका बारेमा मौनता साँधिरहे। त्यो मौनता निर्वाचनअघिसम्म पनि कायमै रह्यो।

गगन थापाले भन्दा अगाडि उनले आफू संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका भए परिस्थिति अलग बन्न सक्थ्यो। तर उनी मौन बसे। निर्वाचन जित्नासाथ पनि प्रष्टसँग घोषणा गरेको भए पनि परिस्थिति फरक हुनसक्थ्यो। उनी भने चाहना राख्ने, तर खुलेर घोषणा गर्न नसक्ने अप्ठ्यारो मनस्थितिबाट व्यतित भइरहे। अब त उनले न आफ्ना निम्ति माहोल बनाउने परिस्थिति देखिन्छ, न आम अपेक्षा अनुसार गगन थापाको पक्षमा उभिँदा प्राप्त हुने सम्मान पाउने परिस्थिति छ। बरु राजनीतिक इज्जत गुम्दै गइरहेको छ।

‘हाम्रो अपेक्षा उहाँ (कोइराला) ले महाधिवेशनमा बसेको आफ्नो छविलाई नै निरन्तरता दिनुपर्छ भन्ने हो। त्यसमै उहाँ र उहाँले नेतृत्व गरेको समूहको हित छ। तर उहाँ भने आफैं संसदीय दलको नेता बन्न प्रयत्न गरिरहनुभएको छ। यो प्रयत्नले उहाँको त्यो छविलाई धुमिल बनाउँछ,’ कोइराला संसदीय दलको नेतामा उठ्न नहुने धारणा राख्ने उनी पक्षका एक नेता भन्छन्।

लड्न र नलड्नुको अन्तर

अहिलेकै परिस्थितिमा संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धी बन्दा कोइरालाले पराजय भोग्नेमा उनी पक्षकै नेताहरु पनि ढुक्क छन्। उनले उम्मेदवारी दिनु भनेको देउवालाई सहयोग गर्नु बराबर हुनेमा पनि उनीहरु जानकार छन्। विपक्षी मोर्चामा बढीभन्दा बढी उम्मेदवार उभिँदा देउवालाई सहयोग पुग्ने त महाधिवेशनमै पुष्टि भइसकेको सन्दर्भ हो।

मूलतः महाधिवेशनयता कोइरालाले नेतृत्व गर्दै आएको संस्थापनइतर समूहमा पनि विभाजन हुनेछ। त्यसको नेतृत्वकर्ताबाट उनी बाहिरिनेछन्। पछिल्लो पुस्ताको बाटो छेक्ने र देउवालाई संसदीय दलको नेता बन्न सघाएको आरोप उनीमाथि लाग्नेछ। ‘त्यसपछि उहाँ कृष्ण सिटौलाजस्ता दुई चार जना नेता साथमा राख्ने र एक जनालाई मन्त्री बनाउन संघर्ष गरिरहने सानो गुटको नेतामा सीमित हुनुहुनेछ,’ ती नेता भन्छन्।

संसदीय दलको नेतामा नलड्दा उनको थप सम्भावना जीवितै रहन्छन्। संस्थापन इतर समूहलाई संस्थापन बनाउने र त्ससको अभिभावक बन्ने अवसर कायमै रहन्छ। तत्काललाई उनी गगन थापा र विश्वप्रकाश शर्मा जस्ता महामन्त्री रहेको समूहको नेता बन्न सक्छन्। १५औं महाधिवेशनमा सभापतिको पुनः उम्मेदवार बन्न सक्छन्।

‘कोइरालाले आफू पछि हटेको र गगनलाई संसदीय दलको नेताका लागि समर्थन गरेको भन्नासाथ कांग्रेस संसदीय दलको निर्वाचनको माहोल नै फरक हुन्छ,’ उनी भन्छन्, ‘त्यसले हाम्रो समूह एकताबद्ध रहेको सन्देश मात्रै दिँदैन, मझधारका नेताहरुलाई पनि हामीतिरै आकर्षित गर्छ। महाधिवेशनपछि त यो समूह नै कांग्रेसको संस्थापन पक्ष बन्न सक्छ। कोइराला त्यसको नेता बन्न सक्छन्।’

गगन र विश्वप्रकाशलाई नेता मान्न अप्ठ्यारो मानिरहेको उनी पक्षकै नेताहरुकै उक्साहटमा कोइराला परिरहेको सो समूहकै नेताहरुको आकलन छ। तर उनीहरु ढुक्कसँग भने भन्न सक्दैनन्, कोइराला किन संसदीय दलको निर्वाचन लड्ने प्रयत्न गरिरहेका छन्!

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०७:१३

https://nepallive.com/story/297423 

No comments:

Post a Comment