Pages

Friday, March 18, 2022

कांग्रेस महाधिवेशन : आरक्षण सिट सीमित नेताको कब्जामा

किशोर दहाल

आइतबार, मंसिर २६, २०७८, ११:१४

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल २०६७ असोजमा सम्पन्न बाह्रौं महाधिवेशनमा महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। २०७२ सालमा सम्पन्न तेह्रौं महाधिवेशनमा उनी फेरि सोही आरक्षणतर्फ उम्मेदवार बनिन् र केन्द्रीय सदस्यमा निर्वाचित भइन्। जारी चौधौं महाधिवेशनमा पनि उनले सोही आरक्षणतर्फ आफ्नो उम्मेदवारी दिएकी छन्।

पार्टीका नयाँ वा क्षमतावान् नेताहरुलाई नेतृत्वसम्म पुग्नको लागि सिढीको रुपमा राखिएको आरक्षण सिटहरु कसरी पुरानै वा औसत नेताहरुको कब्जामा छ भन्ने बुझ्न कांग्रेसका पछिल्ला तीनवटा महाधिवेशन (जहाँ केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरिएको छ) राम्रो उदाहरण हो। जसलाई भुसाल वा भुसाल जस्तै सीमित नेताहरुले उपभोग गरिरहेका छन् र पार्टीको केन्द्रीय सदस्यमा दोहोरिरहेका छन्।

बाह्रौं र तेह्रौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ६ सिट छुट्याइएको थियो। बाह्रौं महाधिवेशनमा निर्वाचित भएका पुष्पा भुसाल, कमला पन्त, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने तेह्रौं महाधिवेशनमा सोही अधिकारबाट निर्वाचित भए। भुसाल, बस्नेत र न्यौपाने चौधौं महाधिवेशनमा पनि अधिकार उपभोग गर्न खोजिरहेका छन्। उनीहरुसँगै थपिएका छन्, महिला आरक्षण (खुला) तर्फबाट तेह्रौं महाधिवेशनमा जितेका डिला संग्रौला र सरिता प्रसाईं। चौधौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ९ सिट छुट्याइएको छ।

यसपटक केन्द्रीय सदस्यका लागि दलित (खुला) आरक्षणतर्फ उम्मेदवारी दिएका मीन विश्वकर्मा बाह्रौं र तेह्रौं महाधिवेशन सोही अधिकार प्रयोग गरी निर्वाचित भएका थिए।(उनले उम्मेदवारी फिर्ता लिएका छन्।) यसपटक दलित (महिला) तर्फ सुजाता परियार, कविता सरदार वातर र लक्ष्मी परियारको पनि उम्मेदवारी परेको छ। सुजाताले बाह्रौं र तेह्रौं महाधिवेशन, सरदारले बाह्रौं र लक्ष्मीले तेह्रौं महाधिवेशनमा यही आरक्षण अन्तर्गत जितेर केन्द्रीय सदस्य भएका थिए। दलिततर्फबाट केन्द्रीय सदस्यको लागि बाह्रौं र तेह्रौं महाधिवेशनमा ३ महिलासहित ५ सिट र चौधौंमा ४ महिलासहित ९ जना छुट्याइएको छ।

त्यस्तै, आदिवासी जनजाति (खुला र महिला) तर्फबाट चीनकाजी श्रेष्ठ, बहादुर सिंह लामा, सीता गुरुङ, रत्ना श्रेष्ठ पनि दोहोर्याएर, तेहेर्याएर आक्षरण अधिकार लिन खोजिरहेका छन्। भीष्मराज आङ्दम्बे त बाह्रौं महाधिवेशनमा आदिवासी जनजातितर्फबाट निर्वाचित भएका थिए, तेह्रौं महाधिवेशनमा प्रदेशतर्फबाट निर्वाचित भए।

मधेसी (खुला) अन्तर्गत अजय चौरसियाले बाह्रौं र तेह्रौं महाधिवेशनमा विजय हासिल गरेका थिए। चौधौं महाधिवेशनमा पनि उनी सोही अधिकार प्रयोग गर्दै छन्। बाह्रौं मधेसी (महिला)बाट विजयी भएकी मिनाक्षी झा र तेह्रौंमा विजयी भएकी किरण यादवले चौधौं महाधिवेशनमा पनि सोही अधिकार प्रयोग गर्दैनन्।

बाह्रौं महाधिवेशनमा १४ अञ्चलबाट एकएक जना तथा तेह्रौं र चौधौं महाधिवेशनमा प्रत्येक प्रदेशबाट दुईदुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसमा छ। यो अधिकारलाई पटकपटक उपयोग गर्नेमा केही नेताहरु छन्। आनन्द ढुंगाना र रमेश रिजाल बाह्रौं र तेह्रौं महाधिवेशनमा यसैअन्तर्गत निर्वाचित भएका थिए। चौधौंमा उनीहरु दुवै प्रदेश २ तर्फबाट उम्मेदवार बनेका छन्। त्यस्तै, कृष्णचन्द्र नेपाली, देवेन्द्रराज कँडेल तथा हृदयराम थानीले पनि यही अधिकारको प्रयोग गर्दै केन्द्रीय कमिटी पुग्ने बाटो हेरेका छन्।

तर सबैले आरक्षणको अधिकार कब्जा गरेर बसेका छन् भन्नेचाहिँ होइन। कतिपय खुलातर्फबाट केन्द्रीय सदस्य र कतिपय पदाधिकारीका प्रतिस्पर्धी पनि भएका छन्।

तेह्रौं महाधिवेशनमा आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य जितेका कल्याण गुरुङ यसपटक सभापतिका उम्मेदवार भएका छन्। बाह्रौं र तेह्रौं महाधिवेशनमा महिला (खुला)बाट केन्द्रीय सदस्य निर्वाचित कमला पन्त र बाह्रौं महाधिवेशनमा महिला (खुला) मा निर्वाचित र तेह्रौं महाधिवेशनमा खुलातर्फ पराजित महालक्ष्मी उपाध्यक्ष डिना यसपटक सहमहामन्त्री (महिलातर्फ) को उम्मेदवार भएका छन्।

त्यस्तै, बाह्रौं र तेह्रौं महाधिवेशनमा दलित (खुला)तर्फबाट निर्वाचित मानबहादुर विश्वकर्मा र जीवन परियार यसपटक सहमहामन्त्री (दलिततर्फ) उम्मेदवार भएका छन्। बाह्रौं महाधिवेशनमा आदिवासी जनजाति (खुला) तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भीष्मराज आङदम्बे यसपटक सहमहामन्त्री (आदिवासी जनजाति)को उम्मेदवार भएका छन्।

बाह्रौं र तेह्रौं महाधिवेशनमा मधेसी (खुला) तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित महेन्द्र यादव र तेह्रौं महाधिवेशनमा मधेसी (खुला) तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित रामकृष्ण यादव अहिले सहमहामन्त्री (मधेसीतर्फ) को उम्मेदवार भएका छन्। सहमहामन्त्री (मुस्लिमतर्फ)का उम्मेदवार फरमुल्लाह मन्सुर तेह्रौं महाधिवेशनमा मुस्लिमतर्फबाट केन्द्रीय सदस्य भएका थिए।

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/267226 

No comments:

Post a Comment