Pages

Friday, August 20, 2021

संसद भवनको अव्यवस्था : सदनमा बारम्बार उठिरहन्छ शौचालय, पानी र सिट कभरको प्रसंग

किशोर दहाल

शनिबार, साउन १६, २०७८, २०:३०

काठमाडौं- भव्य देखिन्छ, संघीय संसद्‍ भवन। ठूलो क्षेत्रफलमा बगैँचा फैलिएको छ। बेखाबखतमा पानीको फोहोरा देख्न पाइन्छ। साँझपख बल्ने ल्याम्पपोस्टहरुले त्यो भवनलाई झनै आकर्षक देखाउँछन्। फैलावट, ढाँचा र स्थान विशेषका कारणले हुनुपर्छ, यो भवनलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने र टिकटक बनाउनेहरु यदाकदा देखिन्छन्। धेरैलाई लाग्दो हो- त्यो भवनभित्र सब कुरा ठीकठाक चलिरहेको हुन्छ। यहाँ कुनै सुविधाको अभाव छैन।

तर, जनताको प्रतिनिधित्व गर्ने सांसदले त्यही भवनभित्र भोग्नुपर्ने हैरानी भने कम्ती छैन। कहिलेकाहीँ उनीहरुको हैरानी सदनको महत्त्वपूर्ण समयमा प्रस्फुटित हुने गरेको छ। शून्य समय र विशेष समयमा उठाइने कतिपय सन्दर्भहरुले संसद्‍ भवनभित्रको अव्यवस्था उजागर गर्छ। त्यस्तै भयो, गत साउन १३ गते। राष्ट्रिय सभाको बैठकमा बोल्दै विना पोखरेलले भनिन्- 'खानेपानी हुने, ग्लास नहुने; कहिले ग्लास हुने, पानी नहुने कुराको सुनुवाइ होस्।'

शून्य समयमा बोलेकी पोखरेललाई एक मिनेटको समय उपलब्ध थियो। तर, उनले देखेका र महसुस गरेका समस्याको सूची लामै थियो। निर्धारित समय सकिएर माइक अफ भइसक्दा पनि बोलिरहेकी उनले ट्वाइलेटमा पानीको अभावदेखि महिला कर्मचारीलाई प्याडको आवश्यकतासम्मका विषय राखिन्। आफ्नो कुरा त्यसभन्दा अघि अध्यक्षलाई भनेको भए पनि सुनुवाइ नभएकाले शून्य समयमै भन्नुपरेको उनको भनाइ थियो।

संसद्‍को ट्वाइलेटमा पानी नहुने प्रसंग पोखरेलले पहिलोपटक उठाएकी होइनन्, २०७३ वैशाखमा बजेटको प्राथमिकतामाथि बोल्न व्यवस्थापिका संसद्‍को रोस्ट्रम पुगेका कांग्रेस सांसद सञ्जय गौतमले भनेका थिए- 'सरकार देशमा रेल गुडाउने प्लान लिएर आएको छ, त्यो प्लान आफैंमा सराहनीय पनि छ। यदि सरकार राम्रोसँग काम गर्न इमान्दार छ भने पहिला संसद्‍को ट्वाइलेटमा पानीको व्यवस्था गरोस्।' त्यतिबेला सांसद हरिचरण साहले ‘यो संसद्‍को ट्वाइलेट जाने अवस्थासमेत छैन, ट्वाइलेटमा पानीसमेत नभएपछि यस्तो संसद्‍मा बस्नु उचित हुँदैन' भन्दै संसद्‍ बैठक नै बहिष्कार गरेका थिए।

ट्वाइलेटको मात्रै कुरा होइन, एक सांसदले आफू बस्ने कुर्सीकै कारण ज्यान जोगाइ पाऊँ भन्नुपर्ने अवस्था आएकोसमेत भनेका छन्। प्रतिनिधि सभाको २०७६ जेठ १९ गतेको बैठकमा सांसद खगराज अधिकारीले सभामुखसँग समय लिएर बोलेका थिए। भाँचिएको कुर्सीको आधा भाग उचालेर देखाउँदै उनले भनेका थिए- 'चारपटक भयो सभामुख महोदय म यहाँबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। तर, यो कतिपटक भन्नुपर्ने हो संसद्‍ सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्। यो त धराप भयो। त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाइ पाऊँ भन्नुपर्ने अवस्था आयो।'

उनको ध्यानाकर्षणसँगै संसद्‍ बैठक कक्षमा हाँसो छाएको थियो भने सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे ध्यानाकर्षण भएको जनाएका थिए।

२०७६ साउन २३ मा कांग्रेस सांसद सुजाता परियारले संसद्‍ हलमा एसी नभएर समस्या परेको प्रसंग निकालेकी थिइन्। शून्य समयमा बोलेकी उनले तीन दिनसम्म एसी बनाउन नसक्नु सरासर लापरवाही भएको भन्दै असन्तुष्टि पोखेकी थिइन्। 'यस सभाहलमा केही दिनदेखि एसी छैन। यति धेरै गर्मी बढेको महिनामा पनि गुम्सिएर सभाहलमा बस्नुपरेको छ', उनले भनेकी थिइन्, 'सुनिन्छ, एसीमा पानी छैन। पानी नभएर एसी चलेको छैन। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो? पानी पेट्रोलभन्दा महँगो भएको हो?'

उनले तत्काल सम्बन्धित निकायलाई निर्देशन गर्न सभामुखलाई अनुरोध गरिन्।

२०७६ को अन्तिमतिर कोरोना भाइरसको त्रास उच्च थियो। विद्यालय बन्द गर्नेदेखि संसद्‍ बैठक स्थगित गर्नुपर्ने बहस चलिरहेका थिए। यस्तै मनोविज्ञानका बीच २०७६ फागुन २९ गते प्रतिनिधि सभाको बैठक बसेको थियो

उक्त बैठकको शून्य समयमा बोलेकी सांसद रेणुकुमारी यादवले आफू बस्ने सिटको कभर नै उचालेर देखाएकी थिइन्। 'यो सदनभित्र हामी सुरक्षित छौं कि छैनौं? पटकपटक विज्ञापन हुन्छ- १०-१० मिनेटमा साबुन पानीले हात धोऔँ। तर, म सोध्न चाहन्छु- यो सदनभित्र यो फोहोर सिट कभर (निकालेर देखाउँदै) लाई पटक-पटक छोएपछि कहाँ साबुन पानीले हात धुनु?,' उनको भनाइ थियो।

यसका अतिरिक्त बैठक चलिरहँदा बेलाबखत लाइन जाने गरेको छ। सांसदले समाएको माइक 'बिग्रिएर' अर्को समात्नुपर्ने बाध्यता पनि आइलाग्छ।

संसद्‍ भवन भाडामा लिएर चलाइएको हो। त्यसमा पानीको व्यवस्थापन बीआईसीसीको व्यवस्थापनले गर्ने र हलभित्रको अरु कामचाहिँ संसद्‍ सचिवालयले गर्ने सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन्।

भाँच्चिएका कुर्सीहरुको सचिवालयले मर्मत गर्नुपर्ने र गर्ने गरेको उनको भनाइ छ। '२५ वर्षभन्दा बढी भइसकेको बीआईसीसीको भवनको सामानहरु बेलामौकामा बिग्रिने, टुट्ने भइरहन्छ। त्यसलाई नियमितरुपमा मर्मत गरेर चलाइएको स्थिति हो,' उनले भने, 'सांसदहरुले कुरा उठाउनुहुन्छ। हामीले पनि नियमितरुपमा चेक गरेर मर्मत गरिरहेका हुन्छौँ। कहिलेकाहीँ पुरानो सामान बिग्रिने र भत्किने भइहाल्छ।' 

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/254447 

०००

थप सन्दर्भः

२०७९ जेठ २६ गतेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद् तेजुलाल चौधरीलाई समय दिए। चौधरी उठेर बोल्न थाले- 'सम्माननीय...सम्माननीय... सम्माननीय... ।'

चौधरीले पटकपटक सम्माननीय सभामुख महोदय भन्न खोजिरहेका थिए। तर उनले समातेको माइकले राम्रोसँग काम गरिरहेको थिएन। उनी थप बोल्न खोज्दै थिए तर माइकबाट आवाज मसिनो आइरहेको थियो। उनले त्यही माइकबाट बोल्ने थप प्रयत्न गरे, तर त्यसले कामै गरेन। त्यसपछि उनलाई सँगै रहेकी अर्की सांसद्ले अर्को माइक दिइन्। त्यसपछि मात्रै उनले सहज रुपमा आफ्नो भनाइ राख्न सके।

उनले निर्धारित एक मिनेटको समय भने अर्को माइक समातेर बोल्न थालेपछिकै पाएका थिए।

०००

२०७९ साल जेठ २७ गतेको प्रतिनिधि सभाको शून्य समयमा बोल्ने समय पाएकी थिइन्, रेनुका गुरुङले। उनले पनि माइकमा हातले 'ट्याक् ट्याक्' गरेर सभामुख... भन्दै थिइन्, माइकले काम नगरेको थाहा पाइहालिन्। त्यसपछि उनले अर्को माइक तानेर बोल्न थालिन्।

आफ्नो सम्बोधनमा पनि उनले संसद् सचिवालयका केही अव्यवस्थापनलाई उठाइन्। शून्य समयमा उनको सम्बोधन यस्तो थियो-

सम्माननीय समामुखज्यू, सरकारको प्रमुख तीन अंगमध्ये सबैभन्दा उच्च अंग व्यवस्थापिका सदनमा हामी अहिले छौँ। व्यवस्थापिकामा कानुन निर्माण हुन्छ। राज्य सञ्चालनको लागि, सुशासन कायम गर्नका लागि हामी सांसद् कानुन निर्माता हौँ। सांसदलाई कानुन बनाउने वातावरण चाहिन्छ। सांसद पनि सजिव प्राणी हो। भोक, तिर्खा, थकाइ लाग्छ। खानलाई क्यान्टिन गयो, ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ। शौचालय गयो, भूइँभरी पानी पोखेको हुन्छ। २४ घण्टे (...) को  व्यवस्था हुनुपर्छ सभामुखज्यू। पिउने पानीको ठाउँमा गयो, कतै गिलास हुँदैन, कतै पानी हुँदैन, कतै तातोपानी हुँदैन। मन्त्रालय मन्त्रीको कार्यालय भएजस्तै संसद् भवन सांसदहरुको कार्यालय हो। यो परिसरभित्र कुनै पनि स्थानमा घुमफिर गर्न सांसद्लाई बन्देज हुनुहुँदैन। माननीयज्यू भनेको सबैले मान्नैपर्ने व्यक्ति भनेर बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिनन्दन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ। माननीय कानुनमन्त्रीन्ज्यूलाई सभामुखमार्फत पूर्वकानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेको पालामा जसरी सुशासन कायम गर्न अनुरोध गर्दछु।

No comments:

Post a Comment