Pages

Friday, November 24, 2017

प्रदेश राजधानी बन्नेमा ढुक्क छन् जनकपुरवासी

किशोर दहाल


जनकपुर– अटोरिक्सामा केहीबेर सँगै यात्रा गरेका जनकपुरका राजेश झाले चुनावी प्रसंगमा प्रदेशको राजधानीबारे जोड्दै भने, ‘चुनावपछि जनकपुर नै प्रदेशको राजधानी हुन्छ। अस्थायी राजधानी त भइसकेकै छ। अब स्थायी हुन बाँकी छ।’

झा मात्रै होइन, यहाँका साधारण मानिसदेखि राजनीतिक नेतासम्म जनकपुर नै प्रदेशको राजधानी हुनेमा ढुक्क छन्। सरकारले अस्थायी राजधानी पनि तोकेका कारण त्यो विश्वास झनै बलियो बनिदिएको छ। धनुषा ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका राजेन्द्र महतो त दाबी नै गर्छन्, ‘जनकपुरको हकै बन्छ त्यो त। स्वत: बन्छ।’

के छ आधार?
प्रदेश २ को राजधानीको रुपमा जनकपुरले रहर देखाउनु र विश्वास बढ्नुको मुख्य कारण यो प्रदेशमा रहेका ८ जिल्लाको मध्यक्षेत्र हुनु नै हो। अर्को चर्चित सहर वीरगञ्ज अन्य हिसाबले उपयुक्त भए पनि सबै क्षेत्रका मानिसका लागि सुगम छैन। पूर्व सप्तरीका मानिसका निम्ति त्यो निकै टाढाको दुरी बन्छ।


जनकपुर ऐतिहासिक क्षेत्र पनि हो। आधुनिकताको भन्दा पनि ऐतिहासिक र धार्मिक परिचय बोकेको छ, यसले। धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहेकाले राजधानी पनि भइदियो भने त्यसले थप चिनारी पाउने विश्वास यहाँका मानिसहरुको छ। त्यसैले थप विकास पनि आउन सक्ने झाको विश्वास छ। ‘वीरगञ्ज त विकास भइसक्यो नि,' उनी भन्छन्, ‘राजधानी भयो भने जनकपुर धेरै समृद्ध बन्छ।’

जनकपुरको फैलावट पनि यसको अर्को बलियो पक्ष हो। समथर भूभाग भएको र मुख्य सहरभन्दा बाहिरका जमिन अझै पनि खाली रहेकाले जनकपुरको केन्द्रबाट वरिपरिको ठूलो क्षेत्रलाई एकीकृत सहरकै रुपमा अघि बढाउन सकिन्छ। ‘ठूलो जमिन खालि छ,’ नवनिर्वाचित मेयर लालकिशोर साह भन्छन्, ‘आवश्यक परे जति भूभाग पनि तन्काउन सकिन्छ।’

यहाँबाट भारतसँगको सीमा १५-२० किलोमिटरको दुरीमा छ। जनकपुरमै दुई ठाउँ घर भएका योगेन्द्र महासेठ भन्छन्, ‘त्यो सुगमता र सुरक्षाको दृष्टिले पनि उपयुक्त दुरी हो।'

अटोरिक्सा चलाउँदै आएका झगरु दासले राजधानी बनाएपछि यहाँको कारखानामा नेताहरु नै बस्न सक्ने बताए। उनी जनकपुर चुरोट कारखानालाई 'कारखाना' मात्र भनिरहेका थिए। ‘नेताजीहरु त्यहीँ बस्छन्,’ दासले सुनाए, ‘नयाँ भवन बनाउने पैसाले बाटो बनाउन हुन्छ।’

मेयर साह पनि त्यहाँको केही भवन प्रयोग गर्न सकिने बताउँछन्। ‘अन्यत्र पनि भवन छन्, खालि जग्गामा पनि आवश्यक संरचना बनाउन सकिन्छ,’ उनले भने।

मुख्य नेताको प्रतिस्पर्धा
मधेसकेन्द्रित राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका मुख्य नेताहरु सबै पूर्वी क्षेत्र वा जनकपुर वरिपरिका क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभाका लागि उम्मेदवार भएका राजपाका ६ मध्ये ५ नेताको लागि जनकपुर नजिकको क्षेत्र हो। जसमध्ये राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३, अध्यक्षहरु शरतसिंह भण्डारी महोत्तरी २, महेन्द्र यादव सर्लाही २, राजेन्द्र महतो धनुषा ३, राजकिशोर यादव सिरहा ४ बाट प्रतिस्पर्धामा छन्। त्यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सप्तरी २ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।

प्रदेशको राजधानी तोक्न उनीहरुको प्रत्यक्ष भूमिका नभए पनि अप्रत्यक्ष प्रभाव आफू आफ्नो क्षेत्रकै सुगमताको लागि प्रयोग गर्ने सम्भावना हुन्छ नै। अन्य पार्टीका केही मुख्य नेताहरु पनि यही क्षेत्रका छन्। प्रदेशसभामा राष्ट्रिय तथा क्षेत्रीय पार्टीका केही चर्चित नामहरु यस क्षेत्रका छन्।
अटोरिक्सा चालक दासले भनेका थिए, ‘यो नेताले हार्यो भने जनकपुरलाई राजधानी बनाउन दिँदैन, त्यो नेताले हार्यो भने राजधानी वीरगञ्ज बनाउँछ भनेर भन्छन्,’ रमाइलो शैलीमा दासले भनेका थिए, ‘सबै नेतालाई त कसरी जिताउन सकिन्छ, होइन?’

उम्मेदवार महतोका एक सहयोगीले पनि सोही आशयको प्रचार भइरहेको बताएका थिए।

यहाँका उम्मेदवारहरुले आफ्नो निजी प्रतिबद्धतामा जनकपुरलाई राजधानी बनाउने भनेर प्रतिबद्धता जनाउने गरेका छन्। र, त्यसका निम्ति पनि मत मागिरहेका छन्।

धनुषा २ बाट प्रतिनिधिसभा र प्रदेशसभाका एमाले र माओवादीका साझा उम्मेदवारहरुले यहाँको एउटा पत्रिकामा ‘हमरा सभहक उम्मेदवारी किएक?’ भनेर मत दिन आह्वान गरेको विज्ञापनमा जनकपुरधामलाई प्रदेश २ को राजधानी बनाउने मुख्य एजेन्डा बनाइएको छ।

पार्टीहरुले निर्णय नै गरेर यसबारे धारणा राखेका त छैनन्। तर, चुनावमा विजय प्राप्त गर्नको लागि यो पनि एउटा महत्त्वपूर्ण बुँदाको रुपमा प्रयोग भइरहेको छ। यसबारे पार्टीकै आधिकारिक धारणा राख्दा विशेषगरी वीरगञ्ज वरपरको मतमा असर पर्ने भएकाले पार्टीकै तहमा निर्णय गर्न भने उनीहरुले सकेका छैनन्।

राजधानी बन्न मापदण्ड
जनकपुरको मुख्य चुनौती भनेको यो महानगरपालिका हुन नसकेको सहर हो। प्रदेश २ कै अर्को सहर वीरगञ्ज महानगरपालिका हुँदा यो हुन सकेन। किनकि, यो महानगरपालिका नै बन्ने खालको पूर्वाधारयुक्त सहर होइन। महानगर हुन नसक्ने सहर राजधानी हुन सक्ने आधार पूर्वाधारको हिसाबले कम मान्छन् जाननकारहरु। कारण, प्रदेशको राजधानीले एक उचाइको मापदण्ड मेन्टेन गर्नुपर्ने आम अपेक्षा हुने गर्छ।

यहाँको अस्वस्थ वातावरण अर्को चुनौती हो। केही धार्मिक क्षेत्रबाहेक अन्यत्र सरसफाइ छैन। महानगरपालिकाले सहरको मुख्य क्षेत्रबाट फोहोर उठाए पनि त्यसको व्यवस्थापनको अभाव छ। घरायसी फोहोरको पनि उचित व्यवस्थापन हुन सकेको छैन। जताततै नाली फुटेको, दुर्गन्ध, छाडा पशु देख्न सकिन्छ।

नवनिर्वाचित मेयर साह पनि यसबारेमा गुनासो आउने गरेको बताउँछन्। उनका अनुसार कार्यकाल सम्हालेको करिब डेढ महिना बितिसक्दा जनताहरु सबैभन्दा बढी नै फोहोरमैलाको विषय लिएर आउने गरेका छन्।

अर्कोतर्फ जनकपुर चिनिएको भनेको यसको धार्मिक र ऐतिहासिक विशेषताले गर्दा हो। राजधानी नै भइसके पछि त्यससँगै जबर्जस्त भित्रिने आधुनिकताले त्यो ऐतिहासिक परिचयलाई सँगसँगै बोकेर हिँड्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि छ। जनकपुरको पहिचान रहने वा नरहने विषयसँग राजधानीको पगरी साटिनु कति जायज र आवश्यक हो, त्यो बारे सम्भवत: कमै छलफल भएका छन्।

पूर्वाधारको विकास हुन सकेको छैन। अहिले पनि जनकपुरमा बस्न लायक होटल एउटा हातको औंलामा नै गनेर सकिन्छ। मेयर साहले स्टार लेभलको होटलको लगानीको लागि पहल भइरहेको र उपमहानगरपालिका आवश्यक सहयोग गर्न तयार पनि रहेको जानकारी गराए। तर, लगानीको प्रतिफल सुनिश्चित हुने आधारबारे प्रश्नको जवाफ उनीसँग पनि छैन। केही धार्मिक गतिविधि र उत्सवमा जम्मा हुने पर्यटकले त्यस किसिमको सुनिश्चितता गराउन सम्भव छैन। फेरि, धार्मिक पर्यटक भनेका कम खर्चालु हुने गर्छन्।

नेपाल लाइभमा प्रकाशितः २o७४ मङ्सिर ४ सोमबार| प्रकाशित o७:३५:oo
http://www.nepallive.com/news-details/6376/2017-11-20

No comments:

Post a Comment