Pages

Friday, February 15, 2019

प्रधानमन्त्रीको सम्बोधन : आलोचककै आलोचना गर्ने अवसर

किशोर दहाल

२o७५ फागुन २ बिहीबार| प्रकाशित १८:२o:oo

काठमाडौं– विभिन्न माध्यमबाट भइरहेका आफ्नो आलोचनाप्रति प्रधानमन्त्री केपी शर्मा ओली 'अपडेट' रहन्छन्। त्यसको पुष्टिचाहिँ उनले आफ्नो सम्बोधनका क्रममा दिने गरेको जवाफ हो।

आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले आफ्नो आलोचकहरूलाई आलोचना गर्न छाडेनन्। धेरै ठाउँमा उनले संकेतद्वारा आफ्नो आलोचकहरुलाई प्रश्न गरे, केही ठाउँमा जवाफ दिए।

पछिल्लो समय सरकारले ल्याउन खोजेका केही विधेयक, उसले गरेका केही निर्णयको उदाहरण दिँदै कतिपयले लोकतान्त्रिक अधिकार खुम्चिन थालेको बताइरहेको बेलामा प्रधानमन्त्रीले जवाफ दिने प्रयत्न गरे। लोकतन्त्रलाई खुम्चिएको देख्नु दृष्टिदोष मात्रै भएको उनले बताए।

'जनतालाई सबै हिसाबमा सार्वभौम तुल्याउने र उनीहरूलाई सबल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न 'लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो' भन्ने अफवाह फैलाइँदै छ फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्य लाग्दो दृष्टि दोष मात्रै हो', प्रधानमन्त्रीले भने, 'म दोहोर्‍याउन चाहन्छु– लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो– जिविका चलाउने व्यवसाय होइन।'


सरकारको कामप्रति निराशा जनाइरहेको समूहलाई पनि प्रधानमन्त्रीले आलोचना गरे। भने– जग खन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ। तर, कसैले जगलाई नै हेरेर 'खै त चोटा/कोठा, खै छाना' भन्यो भने कसको के लाग्छ! मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरुले नै 'खै घर बनाएको' भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौँ। यस्ता प्रश्नहरूको जवाफ किन दिऊँ भन्ने म ठान्दछु।'

गत पुस २२ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै पेस गरेको तथ्यांकप्रति धेरैले आलोचना गरे। कतिपयले तथ्यांकलाई बंग्याएर आफू अनुकूल बनाइएको आरोप पनि लाग्यो। बिहीबारको सम्बोधनमा प्रधानमन्त्रीले यो विषयलाई पनि जोडे।

'मेरो भनाइलाई अंकमा होइन, भावमा सुन्न रुचाउनेहरूले 'प्रधानमन्त्रीले तथ्यांक' बोल्ने भन्दै प्रश्न गर्नुभयो। जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरूले त्यसलाई 'मिथ्यांक'को रुपमा होहल्ला गरे', उनले भने, 'यस्तो सुनिथ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो। यस मुलुकमा पनि प्रगतिको अंक बोल्ने? निकै घोचपेच सुन्नु पर्‍यो।'

सम्बोधनको बीचमा प्रधानमन्त्रीले एकजना 'हितैषी'को प्रतिक्रिया सम्झिए– 'ल्हासामा सुन छ कान मेरो बुच्चै', भाषणले मात्रै हुन्छ?

अनि प्रधानमन्त्रीले उही हितैषीलाई जवाफ फर्काए– हो भाषणले मात्रै हुँदैन। गर्नुपर्छ। गर्न तयार हुनुपर्छ। नगर्नेका लागि केही पनि हुँदैन, गर्नेका लागि आँखाले नदेख्ने हावा पनि आम्दानीको रुपमा उपस्थित हुन्छ।

त्यसपछि, प्रधानमन्त्रीले बुधबार आफैंले उद्घाटन गरेको एउटा कार्यक्रमको सम्झना गरे। 'मैले हिजो १ गते विश्व स्तरको एउटा वायोसाइन्स कम्पनीको उद्घाटन गरेँ। त्यसले हावाबाट 'भाइरस' उत्पादन गर्छ र त्यसलाई भ्याक्सिनको रुपमा पोको पारेर विदेशमा निर्यात गर्छ। त्यसले वायोसाइन्स अध्ययन गरेका स्नातकहरूलाई रोजगार दिन्छ', उनले भने।

प्रधानमन्त्रीको कुरा नपत्याउनेहरुलाई पनि उनले घुमाउरो पाराले आलोचना गरे। सुरुमा उनले एक शुभचिन्तकको प्रश्न सम्झिए। भने– एकजना शुभचिन्तकले गर्नुभएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ। तर तपाईंले जे भनिरहनुभएको भएको छ नि, हो त्यसलाई अरुहरूले किन पत्याइरहेका छैनन् त?
त्यसपछि उनले आफ्नो बखान र आलोचकको आलोचना सुरु गरे।

'प्रश्न गहिरो हो। अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ', उनले थपे, 'एउटा प्रतिप्रश्न गरेँ– खालि भाँडो थियो, त्यसलाई मैले आधा भरेँ। म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरू त्यसैलाई आधा खालि भनिरहेका छन् त कसरी स्पष्ट पारौँ?'

उनले आलोचकहरूलाई ९/९ महिनामा सरकार हेर्ने बानी लागेकाले बानी नै फेर्ने सुझाब दिए। 'आज जे जे प्रश्नहरू म सुनिरहेको छु, ती 'नौ महिने' अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, बानी फेरौँ। नयाँ बानी पारौँ', उनल भने।

पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्नेहरूलाई पनि उनले जवाफ दिन भ्याए। 'आज बिहान मात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ। त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो। भोलिबाट फेरि कसैलाई गिज्जिन मन लाग्ला र भनिएला– 'अड्डा खुलेछ, टिकट काट्न जाऔं कि?' म पनि ठट्टा गरौँ? 'त्यो टिकट काट्ने अड्डा हैन। नजानुस्। टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ। खबर मैं गरौँला', प्रधानमन्त्रीले भने।

आफूले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई गरेको सम्बोधनको विषयमा पनि आलोचना भएको भन्दै उनले आलोचना गर्नेहरूलाई मनोरोग लागेको बताए।

'यसै विषयलाई लिएर उट्पट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न/लेख्न जान्ने, आफूलाई 'ओपनियन मेकर' भन्न रुचाउनेहरुबाट। अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधिन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने कस्तो मनोरोग लागिरहेको छ हामीमध्ये केहीलाई?'

देशमा सुशासन भएन भन्नेहरूलाई पनि प्रधानमन्त्रीले जवाफ दिन भ्याए। 'अहिले सुशासनका संयन्त्रहरू क्रियाशील भएका छन्। हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध भएका छन्। भ्रष्टाचार गर्न तम्सिनेहरू तर्सिएका छन्। कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चहार्नेहरु मुर्मुरिएका छन्', प्रधानमन्त्रीले भने, 'अनौठो लाग्छ, तिनै व्यक्तिहरू देशमा सुशासन भएन भन्दै मिडियामा झुल्किन्छन्।'

कर्मचारी सरुवा बढुवामा समेत लाभ लिन खोज्नेहरु अहिले सुशासन सिकाउँदै हिँडेको प्रधानमन्त्रीले आरोप लगाए।

सरकार प्रतिलोकतन्त्रको बाटोमा हिँड्यो भन्नेहरूलाई पनि उनले छाडेनन्। भने– महत्त्वाकांक्षा उच्च, डेलिभरी सुस्त भयो, विकासको हल्ला भयो- अविकास हात लाग्यो, प्रतिलोकतान्त्रिकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमिबिनाको आरोप र टिप्पणी पनि नसुनिएको होइन।'

यो पनि पढ्नुहोस्– सरकारको एक वर्ष : के छ प्रधानमन्त्रीको विशेष सम्बोधनमा? [पूर्णपाठ]

नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/42786

No comments:

Post a Comment