Pages

Thursday, December 6, 2018

भाँडियो पूर्व पञ्चहरुको एकता, सिद्धान्त मिलाउनभन्दा नेता व्यवस्थापन गर्न कठिन

किशोर दहाल

२o७५ कार्तिक २५ आइतबार| प्रकाशित १३:५१:३३

काठमाडौं– पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रक्रिया तत्काललाई रोकिएको नेताहरुले बताएका छन्।

यी तीन पार्टी, एकताको अन्तिम चरणमा रहेको बताइए पनि त्यसमा लामो समयसम्मका लागि शंशय पैदा भएको उनीहरुको तर्क छ।

आइतबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई भेटेका थिए। त्यसपछि उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यलाई भेटबारे ब्रिफिङ गरेका थिए। ‘अध्यक्ष कमल थापाले मिलिसकेको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो’, बैठकमा सहभागी एक नेताले भने, ‘बैठककै बीचमा पनि थापा पशुपति शमशेरसँग टेलिफोनमा कुराकानी गरिरहनुभएको थियो।’

थापाले बैठकमा ब्रिफिङ गरेअनुसार राप्रपा प्रजातान्त्रिकको अनावश्यक अस्पष्टताले एकता प्रक्रिया तत्काललाई रोकिएको छ। ‘सैद्धान्तिक विषय मिलिसकेको थियो। महाधिवेशनको डकुमेन्टलाई आधार मानेर एकता गर्ने सहमति भइसकेको थियो’, एकता भाँडिनुअघिसम्मको अवस्थाबारे ती नेताले बताए।


राप्रपा राष्ट्रवादी नआए पनि एकता गर्ने बाँकी दुई राप्रपाले तयारी गरिरहेका थिए। ‘भोलि एकता घोषणा गर्ने भनेर राष्ट्रिय सभागृहको हल नै बुकिङ भइसकेको थियो’, ती नेताले भने।
तर, अन्तिम दिन राप्रपा प्रजातान्त्रिकको तर्फबाट मिलिसकेका विषयमा पनि फरक तर्क उठाउने काम भएको थापाले ब्रिफिङ गरेका थिए।

दुई पार्टीबीच महाधिवेशनमा सबै सैद्धान्तिक विषय टुंग्याउने मोटामोटी सहमति भइसकेको थियो। छलफल लम्बिँदै जाँदा राजतन्त्र, चुनाव चिह्न, हिन्दू राष्ट्रका विषयमा करिब–करिब मिलन बिन्दु पहिल्यार्इ सकिएको थियो। तर, पछि तिनै विषयहरुमा फरक बुझाइ आउन थालेको थियो। अन्तिममा त राजसंस्था तथा चुनाव चिह्न लगायतका विषय नै प्रतिष्ठाको विषय बन्न थालेको बताइएको छ।

‘उहाँहरुकै व्यवहारले मिलिसकेको विषयलाई पनि नयाँ समस्याको रुपमा उठाइयो। जसले गर्दा पार्टी एकता प्रक्रियामा शंशय पैदा भयो’, राप्रपा नेता मोहन श्रेष्ठले नेपाल लाइभलाई भने।

तर, मुद्दा र सिद्धान्तमा सहमति भए वा नभएको भन्ने चर्चाप्रति नै असन्तुष्टि जनाउँछन्, राप्रपा प्रजातान्त्रिकका नेता, विक्रम पाण्डे। भन्छन्, ‘अहिले बहस र छलफल त्यतातिर गएकै छैन। यो सबै हल्ला मात्रै हो। नाटक गरेको मात्रै हो। अहिलेसम्मको बहस फाइदा लिइराखेकाहरुमध्ये एकदुई जनालाई के फाइदा हुन्छ भन्नेमै कुरा घुमिरहेको छ।’

राप्रपा प्रजातान्त्रिकका तर्फबाट दुई हप्ता समय मागिएको थापाले ब्रिफिङ गरेका थिए। यसमा सो पार्टीको आन्तरिक कारण रहेको राप्रपा नेताहरुको अनुमान छ।

‘सहमति भएको महाधिवेशनले पारित गरेको प्रतिवेदनमा १ सय ६३ सदस्यीय केन्द्रीय समिति हुने भन्ने छ। अहिले त्यसलाई बढाएर १ सय ८२ पुर्‍याउने भन्ने छ। त्यसमा ८६ जना राप्रपाको तर्फबाट, ७६ जना राप्रपा प्रजातान्त्रिकको तर्फबाट  र २० जना एकीकृत राप्रपा राष्ट्रवादीबाट। त्यस्तै, केन्द्रीय कार्यसम्पादन समिति २७ जनाको हुने र त्यसमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका तर्फबाट १२÷१२ जना हुने र राष्ट्रवादीबाट ३ जना रहने सहमति भएको थियो। तर उहाँहरुले आफ्ना नेताहरुको व्यवस्थापन गर्न सक्नुभएन। दुई हप्ता समय थपिए आन्तरिक व्यवस्थापन मिलाउन सकिन्छ की भनेर होला।’, राप्रपाका एक नेताले अनुमान गरे।

राप्रपा प्रजातान्त्रिकका पाण्डेको संकेत पनि त्यही आरोपलाई पुष्टि गर्ने खालकै छ। ‘प्रशस्तै समय लिएर छलफल गरौं। हतार नगरौं’, उनले भने, ‘सबै कुरा मिलाएर मात्रै पार्टी एकता हुन्छ। कसैले जबर्जस्ती गरेर पार्टी मिल्दैन। एकदुई जनालाई जे मन लाग्यो त्यही गरेर हुँदैन।’

पार्टी फुट्दा विभिन्न ठाउँमा फुट्यो। ती साथीहरुलाई के हुने?, उनीहरुको व्यवस्थापन कसरी हुने? भन्ने जस्ता विषय स्पष्ट पारेर मात्रै एकता गर्नुपर्ने पाण्डे बताउँछन्। ‘कमल थापाले पहिले जितेको के आधारमा हो? लोहनीको कुरा आफ्नै छ। हाम्रो आफ्नै कुरा छ। ती सबै नमिलाई चारपाँच जना नेताहरुलाई फाइदा हुनेगरी पार्टी मिलायो भने भोलि फेरि फुट्छ। राम्रोसँग मिलाएर एकता गर्नुपर्छ’, पाण्डे भन्छन्, ‘अहिले केको हतार छ? चुनाव भइरहेको त छैन नि।’

हतार नगर्ने प्रस्तावलाई नै राप्रपा नेताहरुले एकता प्रक्रिया अलमल्याउने खेलका रुपमा बुझेका छन्। आफूहरु हदैसम्म लचक भए पनि एकतामा शंशय पैदा भएको राप्रपाका नेता श्रेष्ठले बताए।

नेपाल लाइभमा प्रकाशित / https://www.nepallive.com/story/36166

No comments:

Post a Comment