Pages

Sunday, January 21, 2018

प्रदेश सांसदले लिए सपथ

०७४ माघ ७- काठमाडौं– प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रत्येक प्रदेशका प्रमुखहरुले प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सपथ खुवाएका थिए। लगत्तै ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाएका थिए।

तर, सात प्रदेशका गरी कुल ५ सय ५० प्रदेशसभा सदस्यमध्ये ५ जना भने सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन्। प्रदेश ४ र ५ मा दुई/दुई तथा ७ का एक जना सांसद अनुपस्थित भएका हुन्।

हेरौं, सातै प्रदेशमा कस्तो रह्यो सपथको स्थितिः

प्रदेश १ मा सबै ९३ जनाले नै सपथ लिएका छन्। उनीहरुले विराटनगरस्थित वीरेन्द्र सभागृहमा सपथ लिएका हुन्।

प्रदेश १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले प्रदेशसभाका जेष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई सपथ खुवाएका थिए। त्यसपछि सरावगीले अन्य ९२ जनालाई सपथ खुवाए। प्रदेश १ मा प्रत्यक्षतर्फका ६५ र समानुपातिक ३७ तर्फका ९३ प्रदेश सदस्य छन्।


प्रदेश २ मा पनि सबै १ सय ७ जनाले सपथ लिएका छन्। उनीहरुले जनकपुरस्थित उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा सपथ लिएका हुन्।

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए। चौधरीले बाँकी १ सय ६ जनालाई सपथ खुवाएका हुन्।

प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ जना प्रदेश सदस्य छन्।

प्रदेश ३ मा पनि सबै १ सय १० जना सदस्यले नै सपथ लिएका छन्। उनीहरुले हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा सपथ लिएका हुन्।

प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले डोरमणि पौडेललाई सपथ खुवाएकी थिइन्। पौडेलले बाँकी १ सय ९ जनालाई सपथ खुवाएका हुन्।

प्रदेश ३ मा प्रत्यक्षतर्फका ६६ र समानुपातिक तर्फका ४४ गरी कुल १ सय १० प्रदेशसभा सदस्य छन्।

प्रदेश ४ मा ५८ जनाले मात्रै सपथ लिएका छन्। यहाँ प्रत्यक्ष तर्फका ३६ र समानुपातिक तर्फका २४ गरी कुल ६० जना प्रदेश सदस्य छन्।

प्रदेश ४ मा मनाङ 'ख' बाट विजयी भएका स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) र तनहुँ १ 'क' बाट विजयी रामबहादुर गुरुङ उपस्थित भएनन्। प्रदेश ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए। श्रेष्ठले अन्य ५७ जनालाई सपथ खुवाएका थिए।

सपथ कार्यक्रम पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा सम्पन्न भएको थियो।

प्रदेश ५ मा ८५ जनाले मात्रै सपथ लिएका छन्। यस प्रदेशमा प्रत्यक्षतर्फका ५२ र समानुपातिक तर्फका ३५ जना गरी कुल ८७ जना प्रदेशसभा सदस्य छन्।

एमालेकी समानुपातिक सांसद जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिना पन्त सपथ कार्यक्रममा उपस्थित भएनन्।

प्रदेश ५  मा बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा सपथ कार्यक्रम सम्पन्न भएको थियो। प्रदेश प्रमुख उमाकान्त झाले बलदेव पोखरेललाई सपथ खुवाएका थिए। पोखरेलले अन्य ८४ जनालाई सपथ खुवाएका थिए।

प्रदेश ६ मा कुल ४० जनाले नै सपथ लिएका छन्। उनीहरुले सुर्खेत जिल्ला समन्वय समितिको कार्यालयमा सपथ खाएका थिए।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाएका थिए। शाहीले बाँकी ३९ सांसदलाई सपथ गराएका थिए। प्रदेश ६ मा प्रत्यक्ष २४ र समानुपातिक १६ गरी कुल ४० जना सांसद छन्।

प्रदेश ७ मा ५२ जना प्रदेशसभा सदस्यले सपथ खाएका छन्। यो प्रदेशमा प्रत्यक्षतर्फका ३२ र समानुपातिकतर्फका २१ गरी कुल ५३ सांसद छन्। सपथ समारोहमा एक सांसद अनुपस्थित थिए।

धनगढीको जिल्ला समन्वय समितिको सभाहलमा भएको समथ कार्यक्रममा डोटी १ क्षेत्र १ 'क' बाट विजयी नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का सहभागी भएनन्।

प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई सपथ खुवाएका थिए। शाहले बाँकी ५१ जनालाई सपथ खुवाएका थिए।

नेपाल लाइभमा प्रकाशित

No comments:

Post a Comment