Pages

Saturday, October 3, 2015

घुँडा होइन खुट्टा टेकौं

किशोर दहाल

          यतिखेर देश अप्ठ्यारोमा छ । नाकाबन्दीको असर नाकाबाट आँगनसम्म आइपुगेको छ । अन्योलता बढ्दै छ । देश भुमरीमा फस्दै गएको हो कि भनेर अनुमान गर्नेहरु पनि छन् । अनुमानलाई बल पु¥याउने मानकहरु समाचारका केन्द्र बनिरहेका छन् । सर्पले टोक्छ कि भनेर भाग्दाभाग्दै कतै हामी अजिङ्गरको मुख छेउ त पुगेनौं ? मानिसहरु आफैंलाई प्रश्न सोध्न थालिरहेका छन् । अप्ठ्यारोको बेलामा सरकारलाई सहयोग गर्नुपर्ने विचार पनि मुखरित भइरहेका छन् ।
           देशमा अप्ठ्यारो परिरहेको बेलामा नागरिकबीच एकता देखिनुपर्छ । सँगसँगै अर्को कुरा के पनि छ भने सरकारले पनि अभिभावकत्व ग्रहण गर्न सक्नुपर्छ । उसले जनतालाई हौसल्ला र आशा देखाउन सक्नुपर्छ । नाकाबन्दीको यो अवस्थामा जनतालाई विकल्पको खोजी गरिँदै गरेको अनुभूति दिलाउन सक्नुपर्छ । आशाले मान्छेलाई लामो कालसम्म जीबित राख्नसक्छ । त्यो आशा जनतासमक्ष प्रवाह हुन सक्नुपर्छ । तर, हाम्रो सरकारले केही गर्दै छ त ? विकल्पहरुको खोजी गरेको छ त ? यो प्रश्न पनि सँगसँगै उठिरहेको छ । उसको मौनता जनतालाई बिझिरहेको छ । सरकारले त यस्तो बेलामा जनतालाई वैकल्पिक पहलकदमीबारे यथार्थरुपमा भन्न सक्नुपर्छ र जनताको नैतिक समर्थनका साथ अघि बढ्नुपर्छ । जसले सरकार–जनता एकसाथ छन् भन्ने एकताको सन्देश जानसक्छ ।
           सामाजिक सञ्जालभरि एकथरि समुदायको राष्ट्रवाद जागेको छ । यो राष्ट्रबाद कति लामो समय टिक्ला त्यो भने हेर्न बाँकी नै छ । अब हामीले समात्ने बाटोले त्यसको आयु निर्धारण गर्ने छ । अप्ठ्यारो झन् बढ्दै गयो भने त्यो राष्ट्रवाद लामो समय जिउँदो भने रहँदैन । भनाई नै छ, भोको पेटले राष्ट्रवाद भन्दैन । आज कोठामा ग्याँस बलुञ्जेल र बाइकमा पेट्रोल छउँञ्जेल महसुस हुने राष्ट्रवाद र ती चिज सकिएपछि महसुस हुने राष्ट्रवाद बिल्कुलै फरक हुन्छ । अहिले अमुक देशप्रति नारा लागेको छ, जुलुस तन्किएको छ । किनकि, अभाव चर्को भइसकेको छैन । तर, भोलि कोठामा ग्याँस सकिएर खाना पाक्न छाडेको दिन, बाइकमा पेट्रोल सकिएर महत्वपूर्ण काम छुटेको दिन हाम्रो आक्रोश अबश्य पनि आफ्नै सरकारतिर सोझिन्छ । त्यतिबेला कुनै ट्वीटर ट्रेण्डले जनतालाई एकिकृत गराएर राख्न सक्दैन । जनताले प्रश्न त सरकारलाई नै सोध्ने हो । उत्तर दिन सरकारले तयारी गरिरहेको छ त ? त्यतिबेला सरकाले फलानो देशको अबरोध, फलानो देशको असहयोग भनेर उम्किन पाउँदैन । संकटको बेला जनताले सरकारले साथ दिने हो तर निदाउन छाडिदिने भन्ने अर्थमा होइन । अहिले महसुस भइरहेको कुरुपता के हो भने सरकार सरकार उँघिरहेको छ । अब, ऊ निदाउँछ कि जाग्छ केही दिनमै देखिएला ।
            उच्च तहबाट जनताप्रति ढाडस सञ्चारित होओस् भनेर आशा गरिराखेको बेला कस्ता समाचार प्रवाह हुँदैछन् ? सञ्चारमन्त्री विदेशी भूमिबाट भन्छन्– भारतले नाकाबन्दी गरेको छैन । अनि स्वदेशी आक्रोशको तारो बनेको हिन्दी टिभी च्यानलको प्रशारण बन्द गर्ने कदममाथि आक्रोशको भाषामा नै प्रष्टिकरण सोध्छन् । च्यानल बन्द गर्ने काम सही त होइन । तर, प्रतिरोधको लागि एउटा विकल्प भने हो । यसमा सञ्चारमन्त्रीले नागरिकको चित्त दुखाइदिए । अघोषित नाकाबन्दीबारे अर्थमन्त्रीले बिश्वसमुदायलाई ब्रिफिङ गरिरहँदा रिजालको अभिव्यक्तिले जनतालाई ढाडस दिन्छ ? उता भारतको लागि नेपाली राजदुतले भनिदिए– नाकाबन्दी भएको छैन । अब उनले भारत गएर पनि त्यही नै भन्नेछन् । अनि, भारतका जनता र मिडियाले कसरी बुझ्लान् ? राजदुतको केबल कोही उपाध्याय व्यक्तिको होइन, नेपालको हो । उनले त्यसरी बोल्न मिल्थ्यो र ? सीमामा भइरहेको भारतीय अर्घेल्याईंमा उनको नजरअन्दाजले ग्याँस नपाएर छट्पटिरहेको कुनै नेपालीलाई चयन दिन्छ ? यस्तो अवस्थामा प्रधानमन्त्री मौन छन् । बरु, उद्योगमन्त्री महेश बस्नेतले ‘नेपाल छिट्टै पेट्रोलियम पदार्थ बेच्ने मुलुक बन्ने’ हावादारी तर्क दिएर गाइजात्रा जगाईदिए । सत्ता साझेदार दल एमालेका सुप्रिमो ओलीज्युका राष्ट्रवादी टुक्का जारी छ । प्रचण्डको साइकल राष्ट्रवाद कता गुडिरहेको छ, सडकमा देखिदैन । यसबाट के पुष्टि हुन्छ भने जनतामा आशा र उत्साह बढाउनुपर्ने नेताहरु कोही निराशा र कोही रिस बढाउन उद्यत छन् । नाकाबन्दी निरन्तर कायम रहिरह्यो भने यस्ता दल र नेताको नेतृत्वमा जनताले अप्ठ्यारोबाट छुट्कारा पाउलान् ? अनि अमुक देशप्रति मात्रै आक्रोश उकेलिरहलान् ?
           नाकाबन्दीले हामीलाई दुइवटा विकल्प दिन्छ । कि घुँडा टेक्ने, कि खुट्टा टेक्ने ।
           दुःखको कुरा, खुट्टा टेकेर स्वाभलम्बी बन्नुभन्दा घुँडा टेक्नमै हामी पारङ्गत भइसकेका छौं । हामीले अघोषित रुपमा र जनताको आँखा छल्दै धेरै पटक घुँडा टेकिसकेका छौं । कुनै समाचार बने, कुनै बनेनन्, बेग्लै कुरा । शासकको निम्ति यो सजिलो र एकडेढ दशकको संकटमोचक पनि हुँदै आएको छ । यसैबीच भारतीय स्वार्थले भने बढोत्तरी पाउँदै आएको छ । हाम्रो घुँडा टेकाइ पनि स्वभाविक बन्दै गएको छ । यसपटक पनि सम्भावना यसकै बढि छ । किनकि, अहिलेको नेतृत्वमा कुनै भिजन नै छैन । सुशील कोइराला कुनै राजनीतिक चिन्तन, दृष्टिकोण, राष्ट्रिय सपना बिना नै प्रधानमन्त्री भए । त्यसको असर अहिले देखिदैछ । र, कोइरालासँगसँगै बाँकीको राजनीति पनि उस्तै हो । उनीहरुले स्वावलम्बनको गन्तव्य देखेकै छैनन् । उत्तेजित राष्ट्रवादले देश गुड्दैन भन्ने नेताहरुलाई पनि थाहा छ । तर, देशलाई त्यसैगरि अगाडि धकेल्न खोजिरहेछन् । उत्तेजित राष्ट्रवादले घुँडा टेकाइलाई नै मलजल पु¥याउँछ । डर कतिमात्रै हो भने यो अप्ठ्यारोको अन्त्य घुँडा टेकेरै हुने त होइन ? भारतले नेपाललाई घुँडा टेकाउन हरेक अस्त्र प्रयोग गरिरहेको छ । फेरि यस्तो अबस्थामा हाम्रा नेतृत्व भने कमजोर देखिदै गएका छन् । त्यसो त राजनीति भनेको पर्दा भित्रको खेल हो । पर्दाभित्र के–के लेनदेन हुन्छ भन्न सकिन्न । यो स्थितिमा ‘लेन’ भन्दा पनि ‘देन’ नै बढि होला । घुँडा टेकिएछ भने पनि देशलाई नदुखोस् । यत्ति कामना गरौं ।
              अर्कोतिर, स्वावलम्बी बनेर खुट्टा टेक्ने विकल्प पनि छ । देशहरुले कहिलेकाहीँ नसोचेको गति लिन्छन् । त्यसमा भित्री  आधार र बाहिरी मेहनत भने अबश्य हुन्छन् । दोश्रो बिश्वयुद्ध जापानको प्रगति, नाकाबन्दीबीच क्युवाको स्वाभिमान हामीले पनि पछ्याउन सक्ने सम्भावना पनि रहन्छ । तत्काल पो अन्योल देखिएको छ । हिजोसम्म फालाफल भइरहेको नुन, तेल आज बिशेष भइरहेको छ । विस्तारै विकल्पहरु खुल्दै जान्छन् । आखिर मान्छेको दिमाग पो हो त । कोठामा थुनिएको मुसाले त कैयौं उपाय लगाएर बाटो पहिल्याउँछ । हामी त मान्छे पो त । त्यो पनि करिब ३ करोड । आखिर यो सीप नै नभएको, श्रम नगर्नेहरुको भूमि त होइन नि । यति सानो, बिबिधतायुक्त र स्रोतसाधनले भरिपूर्ण देशलाई त इखले नै विकसित गर्न सकिएला । कसैले भिख दिनै पर्दैन । यहुदीहरुले मरुभूमिमा देश फलाए, हाम्रो त फुलिसकेको देश छ, फल्न कति नै बेर लाग्ला र ? तर, संसारबाट अलग्गिएर एक्लै हिड्न भने सकिन्न ।
          कनै देश अरु देशबाट छुट्टिएर एक्लै अघि बढ्न असम्भव छ । तर, पूर्ण परनिर्भर नभएरै बाँच्न भने सकिन्छ । हाम्रो अबको बाटो त्यही हुनुपर्छ । भारतको पनि व्यापारको सबाल छ, सुरक्षाको सबाल छ, सिँचाइ र पानीको सबाल छ । उसले पनि नेपाललाई निधेष गरेर अगाडि बढ्न गाह्रो छ । जसरी भारत हाम्रो यथार्थ हो, त्यसगरी नेपाल पनि भारतको यथार्थ हो । हामीले जति शीर उठाउन थाल्नेछौं, उती नै उसले निहु¥याउन थाल्नेछ । किनकि उसले हामीलाई पटक–पटक रुवाएको छ, हामीले छैनौं । हाम्रो मनोबल उच्च छ । त्यो उच्चता दुईपक्षीय भेटघाटका व्यवहारमा देखाउँ । जब मनोबल र व्यवहार उच्च हुन्छ, कसैले हेप्न सक्दैन ।  खुट्टा बलिया हुँदै जानेछ ।
             यो नाकाबन्दीले हामीलाई केही सबक सिकाएको छ । त्यसबाट किन नसिक्ने ? उसमाथिको निर्भरता कम गर्नको लागि किन आजैदेखि प्रयास नगर्ने ? यही मौकामा र यही इखमा हामीले बिस्तारै भए पनि खुट्टा टेक्न थाल्नै पर्छ । नाकाबन्दी त फेरी २० वा ४० बर्षपछि पनि हुन सक्छ । त्यतिबेलासम्म हामीले आधारभूत आवश्यकताका वस्तुमा आत्मनिर्भर बन्न सक्यौं र पेट्रोलियम पदार्थ लगायतका वस्तुमा विकल्प तयार गरिराख्यौं भने नाकाबन्दी हुने नै छैनन् । नाकाबन्दी भनेको दुःख दिन वा झुकाउन हो, त्यो सम्भावना नै नरहेपछि नाकाबन्दी गरिने पनि छैन । भइहाले पनि हामीलाई दुःख हुने छैन । तर, अहिले घुँडा टेकियो भने पछि फेरि घुँडा टेक्नेमात्रै विकल्प रहन्छन् । जति–जति परनिर्भरता बढ्दै जान्छन्, खुट्टा लुलो हुन्छ र घुँडा अघि सर्छ ।
            राष्ट्रहित र स्वावलम्बनका निम्ति अब जे गरिन्छ निरन्तर गर्नु जरुरी छ । कुनै स्वदेशी उत्पादनको सुरुवात गरिन्छ भने निरन्तरता दिऔं । बिजुली वा पेट्रोलको मितव्ययी प्रयोगलाई पनि निरन्तरता दिऔं । स्वदेशी उत्पादनमा जोड गरौ, सम्भव नभएका कुरामा विकल्पहरु खडा गरिराखौं । अब, भारतलाई मित्र–मित्र भनेर जप गरिराख्नुपर्ने जरुरी छैन । ऊ धुर्त छ भन्ने पटक–पटक देखिसकियो, अब चेतौं । सचेततापूर्वक सम्बन्ध बनाऔं । उसबाट जुनसुकै बेला पाउन सकिने धोकाबारे सचेर रहौं । भारतसँग हाम्रो व्यापारिक सम्बन्ध मात्रै हो भनेर बिश्लेषण गरौं । रोटी–बेटी सबै घाममा सुकाइदिए हुन्छ । त्यस्ता नारा दिएर उसले हामीलाई सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरिरहेको छ । भारतसँग मागेर खानु नपरेपछि शीर उच्च राखेर कुरा गर्न सकिन्छ, सक्नुपर्छ । निरन्तर–निरन्तर ।
            यहींनेर ख्याल गर्नुपर्ने कुरा के छ भने भारतको सम्पूर्ण विकल्प चीन भन्ने भूल गरिएको छ । सामाजिक सञ्जालमा यस्ता बोक्रे तर्कहरु धेरै पढ्न पाइन्छ । ‘भारतले निहुँ खोज्यो भने चीनसँग मिलेर लड्ने’, ‘चीनले हरेक कुरामा खुला दिलले सहयोग गर्छ’ आदिजस्ता रुमानी तर्क त्यहाँ पाइन्छ । सत्य के हो भने चीन पनि हाम्रो असली मित्र भने होइन । असल मित्र भइदिएको भए लिपुलेकमा भारतसँग हात मिलाउने थिएन । त्यसैले भारतसँग उठेको रिसमा चीनसँग लहसिदा हाम्रो खास भलो हुँदैन । हामीले भारतलाई ‘देखाइदिने’ मानसिकतामा चीनसँग सम्बन्ध बढाउन भने सक्छौं । यसले भारतलाई चिड्याउन वा सोच्न बाध्य तुल्याउन भने सक्छ । कुटनीतिमा कहिलेकाहीँ यस्ता कार्डहरु फ्याँक्नुपर्छ । चीनसँगको व्यापार भारतसँग जत्तिको सजिलो भने हुने छैन । फेरि अर्को कुरा, आजसम्म पो चीन विकल्प छ, भोलि चीन पनि बटारियो भने विकल्प के छ त ?
             दिल्लीसँगको अहिलेको लडाईं घुँडा टेक्ने कि खुट्टा टेक्ने भन्ने नै हो । अहिले खुट्टा टेक्नको निम्ति हामीबीच आन्तरिक एकता देखिनै पर्छ । मधेसको समस्या पेचीलो बन्दै गइरहेको छ । यसको समाधान नगरिकन राष्ट्रिय एकता सम्भव नै छैन । साढें तीन दर्जनको मृत्युशोक मनाइरहेको मधेसले बाह्य लडाईंमा खुलेर साथ दिन नसक्नु स्वभाविक छ । काठमाण्डौ र दिल्लीको लडाईंमा मधेसले काठमाण्डौलाई साथ दिनु नैतिकता पनि हो । तर, त्यो नैतिकता त्यतिबेला बलियो हुन्छ, जब काठमाण्डौप्रति मधेसले अपनत्व महसुस गर्न सक्छ । अहिले त्यही अपनत्व क्षीण भइरहेको बेला छ । मधेस खुलेर काठमाण्डौंलाई साथ दिन सक्ने स्थितिमा छैन । अनि मधेसको साथबिना काठमाण्डौले दिल्लीलाई जित्न पनि सक्दैन । त्यसकारण काठमाण्डौले मधेसको मन जित्नु र आन्तरिक एकता बलियो देखाउनु अहिलेको आवश्यकता हो । मधेसलाई सहमतिमा ल्याईयो र संविधान र काठमाण्डौ दुवैप्रति अपनत्व जगाउन सकियो भने नाकाबन्दी पनि खुल्नेछ । भारतसँग कुनै तर्क रहने छैन । यदि नाकाबन्दी खुलेन भने पनि भारतबिरुद्ध लड्न हाम्रो आन्तरिक एकताले बल पु¥याउने छ । शंका उपशंकाको भरमा लड्नुपर्ने छैन ।
पहिलो पोस्टमा प्रकाशित । तर, यो लेख पहिलो पोस्टले सम्पादन गर्नुअघिको हो ।
twitter: @kishu_gb123

No comments:

Post a Comment