किशोर दहाल ।
मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेस तथा जनजाति केन्द्रित दलहरूले गरेको दुई दिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो ।
बन्द नभएको भए आइतबार काठमाडौं फर्किने योजनामा थियौं । बन्द नै भएपछि त्यसको सदुपयोग गर्न पैदलै पुग्न सकिने कुनै ठाउँमा घुम्न जाने योजना बन्यो ।
गाउँशहर दरबार जाने भइयो ।
दिउँसो करिब दुई बजेको आसपास घाम लागेको थिएन । मौसम धुम्म थियो । हिँड्नलाई उपयुक्त मौसम थियो ।
बेसीशहरबाट पारिपट्टी डाँडामा पर्थ्यो- गाउँशहर दरबार । यसको ऐतिहासिकता मलाई थाहा थिएन । यसअघि नाम पनि सुनेको थिइनँ ।
बेसीमा गाउँ रहेछ । त्यसपछि जङ्गल । अनि फेरि गाउँ । उकालो बाटो । बेसीको गाउँ कटिनसक्दै थकाइ लागिसकेको थियो ।
गाउँ कट्नेबित्तिकै एक बृद्धा र केही युवती घाँसको भारी बोकेर ओरालो झरिरहेका थिए । उनीहरूलाई सोध्यौं, “दरबार पुग्न अब कति समय लाग्छ ?”
“लाग्छ अझै निकैबेर । आधा पनि भएको छैन”, बृद्धाले उत्तर दिइन् । युवतीहरू बोलेनन् ।
उनीहरू ओरालो झरे । हामी उकालो चढ्यौं ।
गर्मी निकै थियो । पसिनाले नुहाएजस्तो भइसकिएको थियो । तर, बाटोचाहीँ आधा पनि भएको रहेनछ ।
जङ्गल सुरू भयो । यहाँको वन उपभोक्ता समिति बलियो रहेछ, सायद । जङ्गल बाक्लो थियो । मनोजले भन्यो, “बाघ पाइन्छ कि क्या हो ?”
“के पाइन्थ्यो र ? यसरी जताततै बाघ पाइने भए बाघ संरक्षणमा विश्वब्यापी पहल किन गर्नुपर्थ्यो र ?” , मैले भनें ।
अलि माथि पुगेपछि एउटा युवक र दुइटी युवती ओरालो झर्दैरहेछन् । समूहमा नै प्रश्न सोधियो, “दरबार पुग्न कति समय लाग्छ ?”
बाटामा हिँडिरहेका अपरिचितसँग बोल्ने यो एउटा गज्जबको तरिका हो ।
“आधा त भा’को छैन” , युवकचाहिँ बोल्यो ।
“तपाईंहरूको घुँडाबाट आँसु आउँछ”, अन्तिमकी युवती बोलिन् । हतारमा बोल्दा यिनले कुरा बिगारेकी थिईन् ।
मैले जवाफ फर्काएँ, “घुँडाबाट कसरी आँसु आउँछ ? कि, तिमीहरूकोतिर त्यस्तो चलन छ ?”
हामी तीनजना थियौं । ड्राइभर साथी मनोज र मसँगै हुर्किएका हौं । नजिकको छिमेकी । ऊसँगै म बेसीशहर घुम्न आएको थिएँ। र बन्दले अल्झेको थिएँ ।
अर्को साथी, जोसँग म पहिलोपटक हिँडिरहेको थिए । मनोजले उसलाई ‘बन्दिपुरे’ भनेर सम्बोधन गर्थ्यो । उसको थेगो रहेछ- ‘सम्झिने हो’ । यसो केही नयाँ योजना सुनाउने बित्तिकै ‘सम्झिने हो’ भनिहाल्थ्यो ।
क्याम्पस पढ्दा साथीहरूले भन्थे, “चट्ट, लोकल कुखुराको मासुको झोल हालेको सम्झिने अनि गुन्द्रुकसँग मुछेर भात खाने ।” ‘बन्दिपुरे’को पारा त्यस्तै थियो । कुनै पनि कुरा पूरा हुँदैन, त्यसलाई सम्झिने मात्रै हो भन्ने उसको थेगोले आशय दिन्थ्यो ।
भूइँचालो गएको चार महिना हुन थालिसक्यो । तर, गफको बिषय त्यही भूइँचालोको वरिपरि घुमिरहेको छ । कसरी बाँचियो, कहाँ थिइस्, के गरिस् भन्ने जस्ता जिज्ञासा पूर्तिमा अझै नयाँपन छ । रोचकता छ ।
उकालो उक्लिदैं गर्दा हामी पनि भूकम्पको त्रासदी सम्झिन्छौं, बेलाबेलामा ।
बाँच्नुको कथा कहिले पुरानो होला खै !
हामी तराईमा जन्मे हुर्केकालाई यो पहाडको उकालोले दिक्क लगाउँछ । पहाडका मान्छेहरू भारी बोकेर मज्जाले उकालो-ओरालो गरिरहेका हुन्छन् । हुन त के मज्जाले हिड्दा हुन् र ? परबाट हेर्दा भारी बोकेको मान्छे राम्रो देखिन्छ । कति गाह्रो भइरहेको हुन्छ, उसैलाई थाहा हुन्छ ।
जङ्गलमा बाटो झन् ठाडो थियो । गाडी उक्लने रोड पनि थियो तर निकै घुमाउरो । त्यो बाटोबाट हिँड्ने हो भने निकै समय लाग्ने भएकोले हामी छोटो र ठाडो बाटो प्रयोग गरिरहेका थियौं ।
बेस्सरी गलेकोले मनोज त फर्किनुपर्छ कि भन्न थाल्यो । यसपटक बीचबाटै फर्किंदा फेरि कहिल्यै पनि यो ठाउँमा नआइने भएकोले जसरी पनि यो उक्लिनुपर्ने विचार मैले राखें । उसले पछिसम्म पनि गुनासो गर्दैथियो, मैले गर्दा नै उक्लिनुपर्यो भनेर ।
उकालो जति उक्लियो, हिँडाईको गति उति नै सुस्त भएको थियो । शंखेकिरा स्टाइलमा हिडाई भइरहेको थियो । अझ चल्तीको भाषामा भन्दा ‘स्लोऽऽऽ मोसन’ ।
हामी बेसीशहरबाट हिँड्दा घाम लागेको थिएन । तर उकालो उक्लिदैं गर्दा भने घाम पनि देखिन थाल्यो । दिउँसो घाम त्यति धेरै चर्कै त होइन तर पीरोमा तातोजस्तो भएको थियो । उकालोको गर्मीमा घाम । सासै जालाजस्तो ।
आफूले लगाएको जिन्स पाइन्ट र जुत्ताले झन् गाह्रो थपिरहेको थियो ।
म भन्थें, “उकालो उक्लिन तनाव होलाजस्तो छ ।” मनोज जवाफ फर्काउँथ्यो, “होलाजस्तो होइन, भई नै सक्यो ।”
उकालो बाटोमा उसलाई बढी गाह्रो भइरहेको थियो । मचाहिँ शिक्षणको सिलसिलामा दुई वर्ष नुवाकोटको डाँडाकाँडा चहारेकाले केही बानी थियो ।
निकै बेर हिँडपछि एउटी महिला भेटिइन् । उनलाई पनि दरबार पुग्न लाग्ने समयबारे सोध्यौं । उनले ५-१० मिनेट लाग्छ भनिन् । मन निकै खुसी भयो ।
ती महिलाले अर्को घुम्तिबाट त दरबार नै देखिने पनि बताएकी थिइन् । नभन्दै दरबार देखियो । हामीलाई दरबारै पुगेजस्तो भयो । तैपनि, उडेर जाने कुरा थिएन । हिँड्नै पर्थ्यो । तर, अरू आधाघण्टा हिँड्दा पनि दरबारमा पुगिएन । हाम्रो हिँडाई ती महिलाले कल्पना गरेभन्दा सुस्त थियो ।
जे होस्, उनले हामीमा उत्साह थपिदिएकी थिइन् ।
गाउँ भेटिएपछि एउटा धारो देखियो । प्यास निकै लागेको थियो । बेसीमा पानी नखाई उकालो चढेका थियौं । बाटोमा पानी भेटिएन । प्यास लागेर पूरै मर्स्याङ्दी नदि सुकाइदिन्छु झैं भएको थियो । तर, चार अञ्जुलीभन्दा बढी खान सके पो ।
पानी खाएर हिड्नेबित्तिकै एउटी ११-१२ बर्षजतिकी बहिनी भेट भइन् । उनलाई पनि दरबार पुग्न लाग्ने समय सोध्यौं । उनले ‘ऊ त्यहीँ हो’ भनिन् । अब दरबारको निकै नजिक पुगिसकेको जस्तो लाग्न थाल्यो । घुमाउरो बाटोमा दरबार ओझेल परेकाले हामीले उनलाई सोधेका थियौं ।
उकालो उक्लिदै गर्दा बेसीको बेसीशहर गज्जब देखिँदोरहेछ । निकै आकर्षक । वरिपरि हरिया डाँडाहरू र बीचमा किरिङमिरिङ सेता घरहरू । कुनै अब्स्ट्रयाक चित्रजस्तो । म बेलाबेलामा मोबाइलबाट बेसीशहरको फोटो खिचिरहन्छु । तर, मौसम उत्ती सफा छैन, त्यसकारण हिमालहरू देखिँदैन । बेसीशहरबाटै देखिने हिमाल पनि देखिदैन ।
बादलसँगको लुकामारीमा कहिलेकाहीँ घामले मुख देखाउँछ । तर, मौसम सफा गर्न सक्दैन ।
हामीलाई हेर्दै दुइटा बच्चा भागे । तिनीहरू खेल्दाखेल्दैको वस्तु छाडेर भागेका थिए ! सायद सँगैकी युवतीले ‘पराई मान्छे आए’ भनिन् कि ! हाम्रोतिर कोही बच्चाले भनेको मानेनन् भने यसै भनेर डर देखाइन्छ ।
पराई मान्छे खराब हुन्छन् भनेर हामीले सानैदेखि सिकाउने रहेछौं । त्यसैले हुनसक्छ, हामी अरूप्रति कम विश्वास गर्छौं । विश्वास गर्दैनौं भने पनि हुन्छ ।
एउटा विद्यालय भेटियो- हेवेन हिल एकेडेमी । विद्यालयको संरचना गज्जब छ । ढुङ्गा-माटोको घर । देख्दा राम्रो लागे पनि यस्ता घरसँग डरलाग्छ अचेल । वैशाखको भूइँचालोमा म यस्तै घरको तेश्रो तलामा थिएँ । यस्ता घर भूइँचालोमा लथालिङ्गै भएर भत्किँदो रहेछ ।
वृताकार आकारको एउटा छुट्टै भवनमा विद्यालयको नाम ठेगाना लेखिएको थियो । र, अन्तिम दोश्रो लाइनमा विद्यालय क्षेत्र भएकाले गति सीमित गर्न सचेत गराएको थियो । ड्राइभर मनोजले प्रतिक्रिया दिइहाल्यो, “यो उकालोमा गति त्यत्तिकै सीमित हुन्छ । दौडे पो दौडाउनु ।”
विद्यालयले आफ्नो दायित्व पूरा गरेको होला सायद ! मनोजले पनि आफ्नो पेशागत अप्ठ्यारो सुनायो । त्यसो त एकातिरबाट उकालो बाटो अर्कोतिरबाट ओरालो पनि हुन्थ्यो । तर दरबार नजिकै पुगिसकेकाले यस्तो तर्क वितर्कको झमेलामा किन फस्नु ?
दरबारमा वरिपरिबाट तारको बार लगाइएको रहेछ । गेट अलि माथितिर रहेछ । हामी तार उचालेर छिर्यौं । गेटसम्म पुग्ने झण्झट गरेनौं ।
दरबार शान्त थियो । निर्जन ठाउँ । केही परेवा चरिरहेका थिए । केही फूल फूलिरहेका थिए । वरिपरि घाँस बाक्लो थियो । कसैले काट्दैन कि जस्तो लाग्ने । कतैकतै काटिएको जस्तो पनि देखिन्छ । जेसुकै होस्, हामी आफ्नो बारीको घाँस रूङ्न आएका होइनौं । हामीलाई के मतलब ?
सुनसान दरबारको फोटो खिच्दै गर्दा एउटा परेवा घुर्न थाल्यो । सायद आफ्नो अस्तित्व देखायो । अस्तित्वको खोजी चर्को छ अहिले । आज बन्द गर्नेहरूले पनि आफ्नो अस्तित्व देखाउन खोजेका त होलान् नि ! राजनीतिमा हामी पनि छौं है भनेर देखाउन । नभए बन्दको बेलामा बाहेक अरू बेला कतिपय दलको नाम पनि सुनिन्न ।
केही पोज फोटो खिचेर हामी गेटबाट बाहिरियौं । दरबार र सँगै जोडिएको मन्दिरमा खास घुम्नलायक केही थिएन ।
गेटछेउमा एउटा किराना पसल रहेछ । पसलमै होटल पनि । गाउँतिर जहाँ पनि त्यस्तै हो । कतिपय यस्ता पसलमा सियोदेखि कात्रोसम्म राखिन्छ । उस्तै परे सिटामोल र पेनकिलर पनि राखिन्छ । त्यहीँ खाजा खाने कुरा भयो । साहुनीले चाउचाउ अण्डा पकाउन सकिने बताइन् । गर्मीमा के चाउचाउ पकाउनु ? छ्याङ खाने कुरा भो ।
पसलमा चाउचाउ, चकलेट, बिस्कुट, कुरकुरे, लेज आदि इत्यादि थिए । अन्य सामानमा चाइनाको प्रभाव बढी देखिन्थ्यो । चाइनाले व्यापारमा नछोएको ठाउँ कुन होला र ? हाम्रो जस्तो देशमा एक किसिमले राम्रै पनि भा’को छ । नत्र एकजोर कपडा किन्न मध्यम वर्गीयले ‘एक दर्जन पटक’ सोच्नुपर्थ्यो ।
त्यसो त यो देशमा राजनीतिमा भारत , व्यापारमा चीनको हालिमुहाली छ । हुन त चीन पनि राजनीति गर्छ अचेल । हामी आफू कमजोर भएपछि अरूको हात समाएर हिँड्नैपर्ने रहेछ ।
हामीले नेपालीकै व्यापार बढाउने सुर कस्यौं । कुरकुरे र चाउचाउ मगायौं । अनि स्थानीय श्रोत र सीपलाई सघाउ पुर्याउन- छ्याङ । देश विकासका निम्ति यो पनि ठूलै योगदान हो नि !!!
पसलमा ब्राण्डेड रक्सी पनि देखिन्थ्यो ।
यो देशमा दुई कुराको व्यापकता देखेर मलाई अचम्म लाग्छ । पहिलो, चर्च । दोश्रो, रक्सी । स्कुल नबनेको ठाउँमा, विद्यार्थीले पढ्ने पुस्तक नपुगेको ठाउँमा, सज्जनले पढ्ने पत्रिका नपुग्ने ठाउँमा चर्च र बाइबल पुग्छ । अनि, रक्सी पनि । दुर्गमका पसले विद्यार्थीका निम्ति कापी, किताब, कलम र मसी पुर्याउँदैनन् तर रक्सी पुर्याउँछन् ।
होटलमा खाजा खाँदै गर्दा मलाई एउटा कुराले उत्साहित बनाइरहेछ । यो गाउँमा ठाउँठाउँमा डोको झुण्ड्याइएको छ । अघि तल पानी पिउने बेलामा पनि देखेको थिएँ । प्राय: डोको रूखमा झुण्ड्याइँदो रहेछ । करिब डेढदुई हात माथि । डोको पुराना छन् । र, त्यसमा छन्, प्लास्टिक, चुरोटको बट्टा लगायतका केही फोहोर ।
ठाउँठाउँमा राखिएको यस्तो फोहोर हाल्ने डोकोले निकै खुसी तुल्याउँछ । जथाभावी हुने फोहोर एकीकृत र नष्ट गर्न सघाउ त हुन्छ नै, यसले स्थानीय सामानको सदुपयोग गर्ने तरिका पनि सिकाउँछ । पुनः प्रयोगको यस किसिमको सानदार उदाहरण सलाम गर्न लायक थियो । जसले यस्तो चलन चलायो, उसलाई पनि सलाम !
पसलकी साहुनी बडो गज्जब कि रहिछिन् । छेउमै बसेर गफ मिसाउने । हाँस्ने र जवाफ दिने । मैले दरबार र मन्दिरबारे सोध्न चाहँदा उनले भनेकी थिइन्, “सोध्नुस् न ! थाहा भएजति भन्दिउँला क्यारे !”
….
१५५० असार १५ गते तत्कालिन राजा कालु शाहले राज्यरोहण गरी शासन सञ्चालन गरेको दरबार रहेछ यो । दरबारसँगै लमजुङ कालिकाको मन्दिर पनि रहेछ । लमजुङ कालिकालाई शाह वंशको कुलदेवतासमेत मानिँदो रहेछ । ती देवीलाई निकै शक्तिशाली र मनोकांक्षा पूरा गर्ने देवीका रूपमा पुजिने प्रचलन पनि रहेछ । चैते दशैको दिनमा पञ्चवली दिने गरिँदो रहेछ । चैत दशैँको मौकामा यहाँ विशेष मेला समेत लाग्दो रहेछ ।
नेपालको एकीकरणका क्रममा गोर्खाबाट लमजुङमा आक्रमण हुँदा यस दरबारमा रहेका पुरातत्वका दृष्टिले महत्वपूर्ण सामग्रीसहित कुलदेवताका रूपमा पुजिएकी कालिका देवीलाई समेत आक्रमणकारीले गोरखामा लगेका रहेछन् । त्यही कारणले गोरखा कालिकाको चर्चा उच्च छ, लमजुङको नाम सुनिँदैन ।
….
“भाका पूरा हुन्छ ?”, साहुनीलाई सोध्छु ।
“हुन्छ नि ।”
“तपाईंको केही भा’को छ ?”
“छ ।”
“के भा’को छ ? ”, यतिबेला मैले मोबाइलको रेकर्डर अन गर्न चाहेको थिएँ । तर, उनी बाठी रहिछिन् । भन्न थालिन्, “मोबाइलमा भर्ने हो भने भन्दिनँ ।”
मैले रेकर्ड गर्न खोजेको होइन भनेपछि उनी बोल्न थालिन्: “मेरो छोराको काम केही सफल भएको थिएन । इण्डियन आर्मीमा भर्ना हुन जाँदा अन्तिममा फाल्दियो । नेपालमा नि भएन । विदेश जान पनि मिलेन । गत दशैमा बोको काटेपछि चैतमा दुबईको भिसा लागेर गयो । देवीको शक्तिले भएको त हो नि ! ”
उनले अरू एउटा प्रसङ्ग पनि सुनाइन् । कसले हो खोटी बोको पूजा गर्न ल्याएको रै’छ । बोको त गेटमै लम्पसार परेर हिँड्दै हिडेन रे ! अनि गाउँमै अर्को बोको किनेर पूजा गरेछन् ।
आस्था र विश्वासमा कुनै ‘क्रस चेक’ गरिन्न । विश्वास लागेपछि सकियो ।
बन्द भएकोले घुम्न पाइएको थियो । आउन त अरूबेला गाडी आउने रहेछ यहाँ तर हामीलाई जुरेन । उनी भन्दैथिइन, “ड्राईभरहरू त्यत्तिकै बस्छन् । यसो घुम्न आए हाम्रो पनि व्यापार हुन्थ्यो ।”
गाडी खुलेको बेलामा ड्राइभरको फुर्सद नै हुँदैन । बन्द भएको बेलामा त्यति माथि हिँडेर के जालान् र खै !
“कति भयो व्यापार गर्न थालेको ?”, म सोध्छु ।
“२० बर्ष ।”
“ए बुढी भइसक्नुभएछ”, मैले भनिदिएँ । प्राय महिलालाई ‘बुढी भइछ’ भनेको मन पर्दैन भन्छन् तर यिनी भने हाँस्न थालिन् ।
“अँ बुढी भइयो”, उनले थपिन्, “नातिनी त कत्री भइसकी ।”
नातिनी कत्री भइन भनेर हेर्नलाई उनी त्यहाँ थिइनन् । ठूली नै भइन् होली भनेर अनुमान गरियो ।
“कति, ५० पुग्नु भो ? ” , मैले सोध्न छाडिनँ । सोधेपछि याद भो, महिलाको उमेर नसोध्नू । तर, उनी खुल्दै गएकीले सहज भइरहेको थियो । होटलवालीसँग कुरा गर्न बढी सहज हुन्छ । विभिन्न गीतहरूमा पनि त्यस्तो झल्को पाइन्छ ।
“५० त होइन, ३८ देखि ४२ को बीचमा हो ल”, मनोजले मार्जिन राखेरै दाबी गर्यो ।
“४१ भएँ”,साहुनीले हाँस्दै भनिन् ।
पारिजातको ‘शिरिषको फूल’ उपन्यासमा एउटा पात्र छ- सुयोग । उसले महिलाको उमेर ठ्याक्कै मिलाउँछ । उसकै सम्झना गराइदियो मनोजले । उसले पनि लगभग मिलायो । केटो निकै फरवार्ड भइसकेछ । ड्राइभर न पर्यो ।
हामी पसलमा खाजा खाँदै गर्दा एक झर पानी पर्यो । बाटो चिप्लो बनाउन त्यति पानी पर्याप्त थियो ।
खाजाको बिल तिरेर हामी त्यहाँबाट हिड्यौं । पेटमा छ्याङ बोकेर ओरालो अनि चिप्लो बाटो । ‘सक्किगो नि’ लेख्दा नै पर्याप्त होला ।
जङ्गलको बाटोमा हिँड्दै गर्दा थप पानी परेमा बिजोग हुन्थ्यो । त्यही डर मनमा राख्दै हामी ओरालो झर्यौं । वरिपरि बादल कालो भइरहेको थियो । पानी त पर्ने नै भयो । तर, ओत लाग्ने ठाउँमा पुग्न सके त ठीकै थियो ।
गाउँको बाटो हल्ला गर्दै झरियो । बाटोमा केही महिला पनि भेटिए । उनीहरू डोको बोकेर तलतिरै झरिरहेका थिए । मनोजले गरेको ‘खड्का जी’को क्यारिकेचर रमाइलो लागेछ उनीहरूलाई । दोहोर्याउन लगाए । मनोज पनि के कम । दुईचार डाइलग सुनाइदियो । त्यो ग्रुप त्यतै रोकियो । हामी ओरालो झर्यो ।
अलि तल चौतारामा आएपछि तीन जना महिलाको अर्को ग्रुप भेटियो । रमाइलो खालको ग्रुप रहेछ । मज्जाले बोल्ने । तर उनीहरू माथितिर उक्लिँदै गरेका, हामी तलतिर झर्दै गरेका ।
चौतारोमा ढुङ्गाको थान बनाएर त्यहाँमाथि दुईवटा लामा ढुङ्गा ठड्याइएको थियो । एउटा अलि लामो, अर्को छोटो । अघि माथितिर उक्लिँदै गर्दा यो ठाउँबारे कुरा गरेको थिएँ । मनोजले त्यहाँमाथि चढेर फोटो खिच्ने मन गर्यो । मैले ‘देउता’को थाम हुनसक्ने भएकोले नचढ्न आग्रह गरें ।
महिलालाई सोधेपछि थाहा भयो- चण्डीको थाम रहेछ त्यो । मनोज चढ्न मिल्ने रहेछ भन्न थाल्यो । चण्डीलाई चढ्नी भनेको सुनेछ क्यारे । हालत ठीक भएको भए पो !
ती महिलाले बताए अनुसार, माथि कालिका मन्दिरबाट देवीको फूलप्रसाद ल्याएर यहाँ परिक्रमा गराएर पुन: माथि लगिने रहेछ ।
एकछिन रमाइलै भयो । हिँडे पनि तलतिरै, लडे पनि तलतिरै । लड्दैपड्दै ओरालो झरियो । मौसम पूरै अँध्यारो जस्तो थियो । आँखाभरि भएको आँसुजस्तो आकासको पानी कुन बेला दर्कने हो, ठेगान थिएन । वारिपारि डाँडामा पानी परेको देखिन्थ्यो ।
जङ्गलको बाटो थोरै हिँड्ने बित्तिकै पानी दर्कियो । पानी पनि सानोतिनो हो र ? बमबर्षक बिमानले बम बर्षाए जस्तो । रूखको ओत लाग्यौं एकछिन । तर खासै काम भएर । पानीको थोपाले रूखको पात नै च्यातिदिएको छ कि जस्तो लाग्ने । पानीको त्यत्रो जोड यसअघि महसुस गरेको थिइनँ ।
हिड्नेबेलामा पसलकी साहुनीसँग प्लास्टिक मागेका थियौं । मोबाइल र पर्स जोगाउन प्लास्टिकभित्र राखें । पसलमा वास्ता गरिएन, तर प्लास्टिकको तल्लो भाग च्यातिएको रहेछ । विकल्प थिएन ।
हामी भिज्दै हिँड्न थाल्यौं । एकजना दाजु भेट भए छाता ओडेर बसेका । चिनजान नभए पनि म त्यहीँ घुस्रिएँ । अप्ठ्यारो परेको बेला सबैलाई आफन्त ठानिन्छ ! एकछिन गफ गरेपछि त्यो दाजु र म सँगसँगै ओरालो झर्यौं ।
म त पहिले नै भिजिसकेको थिएँ । छाता त बहाना मात्रै थियो । ठूलो पानी परेकाले ती दाजु पनि भिजे । पानी बग्ने र मान्छे हिँड्ने बाटो एउटै थियो । धेरैजसो ठाउँमा ढुङ्गाको खुड्किला भएकोले हिँड्न निकै अप्ठ्यारो भइरहेको थियो । जिन्स पाइन्ट भिजेको थियो । जुत्तामा पानी पसेको थियो । बाटोमा पानीको बहाबले हिँड्न उस्तै गाह्रो भइरहेको थियो । खुड्किलामा पानी छचल्किएको आधारमा पाइला राख्नुपर्थ्यो !
साथीहरू छुट्टिएका थिए । मसँग मनोजको मोबाइल र पर्स पनि थियो । पछि अर्को साथीको मोबाइल पनि राखियो । च्यात्तिएको प्लास्टिक एउटा बहाना भएको थियो ।
गाउँमा आइपुगियो । एउटा पसलमा बस्ने योजना भयो । साथीहरू आइपुगे । मनोजलाई देखाउँदै अर्को साथी भन्न थाल्यो, “यसले पाप गरेको थियो । त्यही पाप पखाल्न पानी परेको हो ।”
पानीले पखाल्ने के पाप गरेको थियो भनेरचाहीँ उसले भनेन ।
पसलमा चारपाँच जना केटीहरू थिए । बुढामान्छेहरू पनि थिए । तर, ध्यान केटीतिर मात्रै थियो । म अहिले पनि ती केटीहरूको अनुहार सम्झिन सक्छु तर बुढाहरू खासमा कतिजना थिए भन्नेसम्म याद छैन ।
हामी पसलमा हल्लाखल्ला गरिरहेका थियौँ । हाम्रो कुरा सुनेर केटीहरू बेलाबेलामा मुस्कुराउँथे । कपडाको लम्बाइ हेर्दा अलि आधुनिक लाग्ने केटीले मनोजलाई सोधी, “तपाईंको घर कता ?”
“बर्दिबास । पूर्व”, मनोजले जवाफ दियो ।
“त्यही भएर बढी बोल्नुहुँदो रहेछ”, केटीले जवाफ दिई ।
केटीको जवाफले एक क्षण हाँसो ल्यायो र शान्ति पनि । अब हल्लाखल्ला बन्द भयो ।
पूर्वका मान्छे बढि बोल्छन् र ? मलाई थाहा थिएन । कि, मनोजले जुन ठाउँ भनेर जवाफ दे’को भए नि उही जवाफ आउँथ्यो ?
हामी ओरालो झर्ने सुरसार गर्न थाल्यौं । त्यही दाईसँग छाता ‘सेयर’ गरेर म हिँडे । साथीहरू बिस्तारै आउने भन्न थाले ।
अलि तल आएपछि अर्की केटी भेटिई । यो गाउँमा केटीको सङ्ख्या नै बढी हो या हामीलाई संयोग परेको, म अहिले पनि अचम्म मानिरहेछु । प्रसङ्गमा नआएका अरू एकदुई ग्रुप केटी पनि भेटिएका थिए ।
यिनीचाहीँ दुईवटा छाता हातमा बोकेर अघिअघि हिड्दैथिई । तीनवटै छाता बोकेकी भनौं न । तेस्रोचाहिँ ओडेकी थिई । उनलाई भेट्टाएपछि सोधे, “बेसीशहर जाने हो ?” छाता बोक्नुको साटो मैले ओडेर हिँड्दा उपयुक्त हुने अनुमान थियो । उनी चुपचाप बसिन् र हामीलाई बाटो छोडिदिइन् । दोहोर्याएर बोल्नु उपयुक्त थिएन । फेरि जिस्कायो भन्लिन् !!!
(२०७२ साउन ३१ गते आइतबार)
twitter: @kishu_gb123
No comments:
Post a Comment