Pages

Tuesday, June 28, 2016

माछा बेच्ने युवतीसित

किशोर दहाल

     गाडी कोशी ब्यारेजको पश्चिमतिर रोकियो । हामी हिड्दै पूर्वतिर जानुपर्ने भयो । फोटो खिच्दै र कोशीको बहाब हेर्दै ब्यारेजको पूर्वी किनारामा पुग्यौं ।

     यस क्षेत्रमा म पहिलो पटक आएको थिएँ । त्यसकारण यहाँको दृश्य रमाइलो लागिरहेको थियो । शिब सर र म अघिदेखि सँगै थियौं । माछा खाने रहरले हामीले एउटा होटलमा भाउ सोध्यौं । तर, उसको भाउ हामीलाई महंगो लाग्यो । हामी सडक किनारातिर लाग्यौं । हाम्रै टोलीका केही सरहरु माछा खाइरहनु भएकै ठाउँमा गएर हामीले पनि माछा खान थाल्यौं । एकै छिनमा अन्य सरहरु त्यहाँबाट हिड्नुभयो । हामीहरु थप माछा खान थाल्यौं ।

 माछावाला साहुनी हामीलाई केहि माछाका बायोडाटा र गुणस्तर वताउछे । कुनै कुनै माछा चाख्नुस् पनि भन्छे । हामी सुरुमा १ प्लेट ‘पुइयाँ’ माछा खान्छौ । तातोतातो माछा निकै मिठो लाग्यो । मलाई यो माछा भन्दा पनि त्यसको नाम गज्जव लागिरहेछ । पुइयाँ शब्दको अर्थ के होला ? कसरी पत्ता लगाउने ? कुनै अङ्ग्रेजी शब्द भए मोबाइल डिक्नरीबाट तुरुन्तै पत्ता लाग्थ्यो । तर, हाम्रै स्थानिय भाषा झन् बढि बिरानो छ हामीसंग । हामी आफू स्वयमलाई नचिनीकन संसारलाई चिनेको ध्वाँस दिन्छौँ ।

Tuesday, June 21, 2016

युग पाठकको ‘त्यो’ चिठी

युग पाठकले कुनैबेला कान्तिपुर दैनिकमा निकै सशक्त चिठी लेखेका थिए भन्ने कुरा एउटा ब्लगमा पढेको थिएँ । त्यसमा लेखिएको थियोः

युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो ।

पछि नयाँ पत्रिका दैनिकले ‘एउटा चिठीले चिनायो’ भन्दै युग पाठकको सोही चिठीबारे सामाग्री छापिएपछि मलाई त्यस चिठीबारे हुटहुटी झनै बढेर गयो । नयाँ पत्रिकामा छापिएको सो चिठीबारे सामाग्रीः

म ०५३र५४ सालतिरै हेटौँडा, चितवनतिर कविता लेखेर सुनाउँथेँ । ०५८ सालतिर काठमाडौंमा त्रिवुभन विश्वविद्यालय र ‘साहित्य सन्ध्या’मा मेरा कविता चर्चित नै थिए । ०६० सालदेखि ‘हेटौँडा सन्देश दैनिक’को सम्पादक भएँ, पछि ‘प्रयास’को पनि । त्यतिखेरै लेखहरू लेख्थेँ, त्यसबखत मेरो नाम दीपक पाठक नै थियो । मेरा लेखको चर्चा हुन्थ्यो, तर हेटौँडातिर मात्रै ।

०६५ सालको जेठतिर १५ दिने छुट्टी लिएर हेटौँडाबाट दामनतिर उक्लिएँ । दामन उक्लिनुको उद्देश्य थियो, ‘उर्गेनको घोडा’ लेख्ने । त्यतिखेर माओवादी युद्ध बिसाएर शान्तिप्रक्रियामा सामेल हुँदै चुनावमार्फत एक नम्बरको दल बनिसकेको थियो । म इतिहास र जनजीवनमा रुचि राख्ने मान्छे । नेपालको इतिहासको चोटिलो र विशिष्ट एपिसोडमा आधार गरेर उपन्यास लेख्ने रहर थियो । विश्व साहित्यमा नेपाली साहित्यको विशिष्टता बनाउने एउटै उपाय यहाँको जनजीवन र जनताको दृष्टिबाट देखिने इतिहास हो भन्ने कुरामा अहिले पनि म विश्वास गर्छु । एक्काइसौँ शताब्दीमा एउटा सशस्त्र कम्युनिस्ट आन्दोलन खडा गरेर माओवादीले इतिहास रचिसकेको थियो । म यो विषयलाई उपन्यासमा चित्रण गर्न चाहन्थेँ ।


तामाङ इतिहासको रहस्यमय र संघर्षमय पाटोबारे मैले दामनमै बस्दा अध्ययन गरेको थिएँ । बादलबाट उड्दै आएको उर्गेनको घोडालाई दामनमा आफूलाई बेर्न आइपुग्ने बादलमा नै मैले भेटेको थिएँ । त्यति नै वेला सारा मिडिया माओवादीको विरुद्ध लागेका थिए । शान्तिप्रक्रिया र गणतन्त्रको यात्रामा यो मिडियाको बिल्कुल गलत रणनीति थियो भन्ने मेरो बुझाइ थियो । त्यसैले उपन्यास लेख्न थाँती राखेर म एउटा चिठी लेख्नतिर लागेँ । त्यो थियो कान्तिपुर सम्पादकलाई चिठी । त्यसवेला नारायण वाग्ले सम्पादक थिए । सोह्र सय शब्दको चिठी तयार भयो । ‘मलाई थाहा छ, तपाईंले यो चिठी छाप्नुहुन्न‘’ भन्ने वाक्यबाट चिठी सुरु हुन्छ । चिठीमा पत्रिकाको ‘एडिटोरियल पोलिसी’माथि आलोचना थियो ।


अनुमानविपरीत भोलिपल्ट मेरो चिठी कान्तिपुरले जस्ताको तस्तै छापेछ । पर्सिपल्टदेखि त्यो चिठीमाथि धेरै प्रतिक्रिया आउन थाले । देशैभरि त्यो चिठीको चर्चा चल्यो । त्यो चिठी युग पाठकको नाममा छापिएको थियो । कतिलाई त्यो नाम नक्कली हो भन्ने पर्योो । तर, म त्यही नामबाट बिस्तारै नियमित लेख लेख्न थालेँ ।
अहिले सम्झन्छु, त्यो मलाई देशभरि लेखकका रूपमा स्थापित गर्ने चिठी एक साँझ आवेगमा लेखिएको थियो । म उपन्यास लेख्न बसेको थिएँ । सिमसिम पानी परिरहेको साँझ थियो । दामनमा त्यस्तो साँझ चिसो र रहस्यमय हुन्छ । भोलिपल्ट न्यानो घाम मुखमा परेर ब्युँझिँदा मेरो मोबाइल बजिरहेको थियो । मलाई थाहै थिएन, मेरोबारे पूरा सहरमा चर्चा भइरहेको रहेछ । दामनको रहस्यबाट उर्गेनको घोडाको हल्का छायाछवि बोकेर म हेटौँडा झरेँ । उपन्यासको काम तत्काललाई रोकियो ।

.................

केही प्रयास पश्चात सो चिठी हात लागेको छ । चिठी उपलब्ध गराइदिनुहुने युग पाठक ज्युलाई धन्यवाद । यद्यपि यहाँ प्रकाशित चिठी कान्तिपुरमा सम्पादन गरिनुअघिको हो ।
..................

कान्तिपुरलाई एउटा पाठकको खुला पत्र

सम्पादक ज्यू,
    मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नुहुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरु लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ । सत्य तितेपाती झैं तितो हुन्छ । मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन । कार्ल माक्र्सको शब्दमा सायद वर्गिय चेतना भनेको पनि यही हो । सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ । सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो । त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन । यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ ।

Saturday, May 7, 2016

सांसदको रिटायर्ड चिन्ता

-किशोर दहाल
     आजको संसद बैठकमा सांसद प्रेमकिशोरप्रसाद साहले भाषण ठोके- ‘हामी राजनीति गर्नेहरुले सम्पूर्ण करिअर पोलिटिक्समा लगाएको हुन्छ । सांसदहरु रिटायर्ड भएपछि हामीले चाहीँ के नुन चिनीको दोकान थाप्ने?, हामीलाई रिटायर पछिको प्लान सरकारले दिनु पर्यो।’
...
      यो देशमा डिग्री पास गर्नेहरू कतार एयरवेजको टिकट हातमा लिएर एयरपोर्ट पुग्ने हतारोमा छन् । नेपाली भाषामा सुन्दर कविता लेख्नेहरू जापानी र कोरियन भाषाका ब्याकरण रट्न विवश छन् । कलेज पढ्दै गरेका नौजवानहरू डिभीका फारमतिर हात र रिजल्टतिर आँखा तेर्स्याइरहेछन् । उनीहरूलाई कुनै सरकारी प्लानले आजसम्म छुन सकेन । बरू, 'युवा बिक्रि'को अघोषित प्लान अन्तर्गत उनीहरू दैनिक झण्डै दुई हजारका दरले यो देश छोडिररहेछन् ।
       तिनकै रगतसँग साटिएको रेमिट्यान्सको डकारले यता ढुङ्गा हानेर सांसद हुनेहरू आफ्नो मपाईंत्व जोगाउन सरकारी प्लानको चिन्ता गर्छ । यो दुर्भाग्यको कुरा हो । कुरा, साहको चिन्ताको मात्रै होइन, लगभग सबै सांसदहरूको हो । ढुङ्गा हानेर र जेल परेर नेता र सांसद भएकाहरूलाई सरकारले प्लान गरिदिनुपर्ने ? यो लाज पचाउनुको चरम सीमा होइन ? सामान्य मानिसले नाङ्ले पसल थापेर जीवन गुजारा गर्न हुने, सांसदले नहुने ? किन ? के सांसद आकाशबाट खसेका हुन् ?
       केही गर्ने आँट नभएका सांसदले यस्तो कुरा गर्छ । फेरि, केही गर्नको लागि सीप पनि त चाहिन्छ । सांसदसँग सीप के छ ? कमिसनको लागि कराउने वा चुप रहने, झुटा कुरा गर्ने, गुण्डागर्दी गर्ने,  पैसाकै निम्ति खुला चाकडी गर्ने र गराउने, सेतोलाई कालो र कालोलाई सेतो बनाउने, जनतालाई अनावश्यक दु:ख दिने वाहेक हाम्रा नेता र सांसदसँग सीप के छ ? यस्तै सीप प्रयोग गरेर नेता र सांसदले सम्पत्ति कमाएको कुरा आरोपभन्दा बढि यथार्थ होइन र ? अनि, यिनीहरूकै लागि विशेष प्लान ? के लुटपाट सेन्टर खोल्ने देशमा ?
       सांसदहरूले अथक मेहनत गरेर, आफ्नो भिजन प्रयोग गरेर यो देशलाई विकासको बाटोतिर लम्काएको भए सुबिधा नदिए पनि सदासयता राख्न सकिन्थ्यो । तर, देश साह र साहजस्तै नेता र सांसदका कारण झन पछि झन् ओरालो लागिरहेको छ । राजनीति सबैभन्दा भ्रष्ट क्षेत्र भनेर आलोचित छ । देशलाई रसातलमा पुर्याएर अझै विशेष सुविधाको आश गर्ने ? सरकारले प्लान गरिदेओस् भन्ने ?
      सांसदको जागिर गुमेपछि के गर्ने भन्ने प्लान नहुने सँग देशको बारेमा के प्लान होला खै ?

Wednesday, April 13, 2016

र, एउटा डर समाप्त भयो !!

किशोर दहाल

मलाई हाम्रो देशमा विदेशी पर्यटकहरु ठगिएको, लुटिएको, दुःख पाएको, उनीहरुको सामान चोरिएको तथा उनीहरुमाथि यौन तथा अन्य दुव्र्यवहार भएको घटनाले सा¥है पीडा दिन्छ । कहिलेकाहिँ सुनिने यस्ता समाचारले मलाई मर्माहत तुल्याउँछ । ठाउँठाउँमा उनीहरुलाई जबर्जस्ती सामान बिकाउन खोजेको, सामान नकिने फोहोरी गाली गरेको, पैसा मागेको देख्दा मन कटक्क खान्छ । उनीहरुको इच्छा र विश्वास विपरीत उनीहरुमाथि हुने जुनसुकै हर्कतले पनि हामीप्रतिको उनीहरुको धारणा नकारात्मक बन्न सक्छ । यसले अन्ततः देशकै बेइज्जत हुन्छ । उनीहरुले यहाँबाट फर्केर आफ्ना साथीहरुसँग भन्न सकुन्– नेपालीहरुको सहयोगी र सौम्य व्यवहारले प्रभावित भएँ ।
....
उपेन्द्र दाई (उपेन्द्र लामिछाने, नागरिक दैनिक)को योजना अनुसार म उहाँसँगै दिउँसो भक्तपुर दरबार स्क्वायर पुगें । बिस्केट जात्रा अन्तर्गत आज लिंगो ढाल्ने दिन । जात्रा त खासै हेरिएन । अन्य रमाइलो बढि भयो ।
मलाई काठमाण्डौं फर्कनुपर्ने बाध्यता र उपेन्द्र दाईलाई लिंगा जुधाएको फोटो खिच्ने रहर भएकोले हामी छुट्टियौं । म हिँड्दै सूर्यविनायकसम्म आएँ । बेलुका गाडी नपाइने र पाए पनि जात्रा हेरेर फर्किनेको भीड हुनसक्ने डरले म हतारिएको थिएँ ।
अत्याधिक भीडका बीच म एउटा बसमा चढें । अरु पनि चढें । गाडी हिँड्यो । त्यसपछिको स्टेसनमा पनि बस रोकियो । गाडीमा चढ्नेको भीड यहाँ पनि उस्तै थियो । र, भीडको बीचमा थिइन्– एउटी गोरी युवती । जुनसुकै देशको होस्, कुइरिनी वा अम्रिकाने भनौं, कुरा स्पष्ट हुन्छ । भीडका बीच उनी जसोतसो भित्र कोचिइन् । उनी अप्ठ्यारो–अप्ठ्यारो अङ्ग्रेजी बोलेर केही भन्थिन् । छेउका केही युवा साथीहरु ‘ओके–ओके’ भन्थे । कहिलेकाहिँ मुस्कुराउँथे, उनी पनि मुस्कुराउँथिन् । सायद उनले यस्तो अनुभव पहिलो पटक गर्दैथिइन् कि ! उनीहरुको देशतिर यस्तो नहोला जस्तो लाग्छ । जेसुकै होस्, गाडीको भीड, कोचामकोच उनीहरुलाई असहज मात्रै होइन, अचम्म पनि लाग्ला । उता, गाडीमा भीड झन्झन् बढ्दै थियो ।
केही समयपछि पछाडितिरका केही यात्रु ओर्लने भए । उनीहरु अगाडि बढे, त्यसको सट्टामा म, त्यही युवती र अन्य केही पछाडि धकेलियौं । सेकेण्ड लास्ट सिटको अगाडि पुग्यौं । यहाँ अलि सहज थियो । उनी र म थोरै छोइएर उभियौं । भीडमा कोही न कोही बोलिरहन्थ्यो । हामी हाँस्थ्यौं, उनी मुस्कुराउँथिन् । गाडी एकछिन् कुद्थ्यो, फेरि रोकिन्थ्यो, फेरि कुद्थ्यो । हामी पछाडि भएकोले अगाडि गेटबाट चढेका यात्रुको भीड र घुस्साले हामीलाई प्रभाव पार्न छाड्यो । मैले मोबाइल झिकें र फेसबुक रिफ्रेस गरें ।
मसँगै तिनै गोरीले पनि म्यासेन्जर खोलिन् । आफ्नो आइफोन सेटमा उनी निकै छिटो टाइप गर्न थालिन् । मेरै आँखै अगाडिको दृश्य भएकोले मैले चाहे पनि, नचाहे पनि उनको म्यासेज हेर्न पुगें । उनले आफू बसमा भएको, भीड रहेको, लेडिजहरु पनि उभिएको जस्ता जानकारी लेखिएको हुनसक्ने केही अङ्ग्रेजी शब्दको आधारमा अनुमान लगाएँ । उनको मूल भाषा अङ्ग्रेजी इतर रहेको पनि बुझें । त्यसपछि बसको प्यासेजको अघिल्तिर उभिएका मानिसको फोटो लिइन् । त्यहाँको भीड उनको मोबाइलमा कैद भयो । र, उनले मोबाइलमै नोट लेख्न थालिन् । तर, अङग्रेजीमा बस लेखिएको भन्दा बाहेक बाँकी शब्द बुझिदैन । सायद, उनी आफ्नै खास भाषामा अभिव्यक्त भइरहेकी थिइन् ।
उनले आफूले बोकेको ब्याग बसको सिट माथिको ‘क्यारियर’मा राखिन् । त्यसपछि पानीको बोतल र मोबाइल । मोबाइल राखेपछि मलाई चाहिँ अप्ठ्यारो लाग्यो । कसैले चोरिदिने पो हो कि भन्ने डर । गाडीमा मोबाइल हराएको घटनाको भुक्तभोगी आफू स्वयम् पनि भएकोले मेरो शंका सघन थियो । मोबाइल हराउँदा गाडीमा जम्मा छ जना यात्रु थियौं, अहिले त निकै भीड थियो ।
उनलाई मोबाइल त्यसरी राख्दा हराउन सक्ने बारे सचेत गराउँ कि जस्तो लाग्यो । तर, उनको प्रतिक्रिया कस्तो आउला ? दोधारका बीच म चुप लागिरहेँ । तर, उनलाई भन्न सकिनँ ।
सायद उनले सुनेकी हुनसक्छिन्– नेपालीहरु इमानदार हुन्छन् । त्यसैले त त्यो ‘आँट’ गरिन् । तर, लोभ इमानदारीभन्दा माथि हुन्छ । कसको विवेकलाई कतिबेला लोभले जित्छ, के ठेगान ?
हाम्रो ठीक अगाडिको सिटमा तीनजना बसेका थिए । दुईजना युवाले एउटी युवतीलाई केही छिन अघिमात्रै बस्न दिएका थिए । त्यो गोरी युवती पनि त्यही सिटमा कोचिइन् । उपलब्ध थोरै ठाउँको सदुपयोग गरेकी थिइन्, उनले । बस्नुअघि कसैलाई सोधिनन् । बसिसकेपछि ‘सरी मलाई गा¥हो भयो’ भनिन् र लामो सास तानिन् । हाम्रो निम्ति पो कोच्चिएर, उभिएर, झुण्डिएर यात्रा गर्नु साधारण हो । हामी त उस्तै परे घण्टौंको यात्रा पनि उभिएरै पूरा गरिदिन्छौं । उनलाई गा¥हो भएको हुनसक्छ । केही बर्ष नेपाल बसिन् भने बानी पर्लिन् । एकैछिनमा दुइमध्ये एउटा युवा ओर्लियो । उनले झन् बढि ठाउँ पाइन् । अब, उनी आँखा चिम्लेर आराम गर्न थालिन् । संसारबाट बेखबर रहेको जस्तो गरिन् ।  यसबीच उनको मोबाइल क्यारियरमै थियो ।
अन्तिमको सिटको एकजना मानिस पनि उत्रिएपछि म त्यहाँ बसें । मेरो डर बल्ल सुरु भयो । त्यो मोबाइल कसैले खुसुक्क चोरिदियो भने उनी के गर्लिन् ? यसबीच मैले आफू भाषा नबुझ्ने कुनै देश पुगेको, मोबाइल चोरी भएको, पुलिस प्रशासनमा खबर गरेको, खासै सहयोग नपाएको, भाषाको कारण हैरानी बेहोरेको, त्यो देशमा चोरी हुन्छ भनेर साथीहरुलाई सुनाएको, साथीहरुले त्यो देशलाई गाली गरेको जस्ता लामो शृङ्खला कल्पना गरें । उनको पनि मोबाइल चोरी भयो भने उनले कति हैरानी बेहोर्नुपर्ला ? नेपालीप्रति उनको धारणा कस्तो रहला ? उनको अनुभव सुनेर उनको साथीहरुले के भन्लान् ? ‘मोबाइल चोरी हुने देशमा’ उनीहरु घुम्न आउलान् ? उनले नेपालमा घुम्न जानुस् भनेर अरु कसैलाई सिफरिस् गर्लिन् ?
गाडीमा यात्रु चढ्ने र ओर्लने क्रम जारी थियो । अगाडिका केही युवाहरु पछाडि आइपुगे ।
अनुहारले मान्छेको खास परिचय बोल्दैन भन्ने कुरा मलाई पनि लाग्छ । तर, केही अनुहार यस्ता हुन्छन्, जसले उसप्रति अकारण शंका बढाउँछ । यी नयाँ यात्रुमध्ये एउटाको अनुहारमाथि मलाई शंका लाग्न थाल्यो । त्यसमाथि उसले आफ्नो एउटा हात त्यही मोबाइल भएकै ठाउँमा पु¥याएपछि मलाई झनै औडाह भयो । त्यो केटोमाथि मेरो दृष्टि चनाखो भयो । मेरो दृष्टि पूर्णरुपले उसकै हातमा केन्द्रित हुनथाल्यो । त्यस केटाले चाल पायो– त्यहाँ मोबाइल छ । उसले अलिकति तन्किएर मोबाइल पनि हे¥यो । अनि, वरिपरिका यात्रुमाथि नजर दौडायो । ऊ घरिघरि मोबाइल समात्थ्यो र अन्य यात्रुमाथि नजर जगाउँथ्यो । ऊ उपयुक्त मौकाको खोजीमा रहेको मैले अनुमान लगाएँ । मेरो अनुमानको रङ झन् बढि गाढा भएझैं लाग्दै थियो । उता, मोबाइलवाला युवती सिटमा आनन्द लिइराखेकी थिइ । उसलाई उसको कारण ममा बेचैनी बढेको थाहा थिएन ।
त्यो केटा अस्थीर भएजस्तो गर्न थाल्यो । उसले मोबाइल समातेको थियो । तर, छटपटि ममा बढिरहेको थियो । केटोले मोबाइल झिकेर गोजीमै राख्यो भने मैले के गर्नुपर्ला ? के त्यसको घाँटी समाउनु पर्ला ? मलाई भाउन्न भइरहेको थियो । उता केटोले मोबाइल समातिरहेको छ, यता मलाई भने कसैले आफ्नो घाँटी समातेजस्तो भइरहेको छ ।
भद्रकाली छेउमा आएर गाडी रोकियो । मलाई जुरुक्क उठेर युवतीलाई भन्न मन लाग्यो– तिम्रो मोबाइल सु्रक्षीत राख, नत्र चोरी हुन सक्छ । म कुन आँट र आवेगले उठें, थाहा छैन । सिटबाट जुरुक्क उठें । मभन्दा ठीक अघि उभिएको केटो त्यहीं ओर्लने रहेछ । ऊ अघि बढ्दा त्यस युवतीलाई धक्का दियो । युवती ब्युझिँएजस्तो गरिन् र जुरुक्क उठिन् । मोबाइल समातेको केटो थोरै हच्कियो र मोबाइल छाड्यो । युवतीले आफ्नो मोबाइल समाइन् । मलाई बर्षौ पू्रानो काँडा झिकेजस्तो भयो । र, पूनः सिटमा गएर बसें । अनि, फेसबुक र ट्विटर दुवैतिर लेखें– ‘र, एउटा डर समाप्त भयो !!’