Pages

Tuesday, May 10, 2022

ओली अभिव्यक्ति : 'भौतिकवादी' स्कुलिङको 'अलच्छिन' अवतार

किशोर दहाल

सोमबार, वैशाख २६, २०७९, २०:३२

काठमाडौं- 'नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन। तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।'

यो अभिव्यक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हो। उनले आइतबार बुटवलामा आयोजित एमालेको चुनावी सभामा सत्ता गठबन्धनलाई आलोचना गर्नका लागि 'अलच्छिन' जस्ता शब्द प्रयोग गरेका हुन्। तर सरकारको आलोचना गर्न उनले यस किसिमको शब्द प्रयोग गरेको यो पहिलो पटक होइन। केही समययता उनले गरेका हरेकजसो सम्बोधनमा सरकारलाई उनले सिधै अलच्छिन वा सोही भाव जनाउने अन्य शब्द प्रयोग गर्ने गरेका छन्।

कतिसम्म भने, सरकार अलच्छिन भएकाले गाडी दुर्घटना भएको भन्न समेत भ्याएका छन्। एमालेको तत्कालीन मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा २०७३ फागुन २९ गते भैरहवा पुगेका उनले भनेका थिए- 'यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन।'

उनले सरकार र सत्ता गठबन्धनका दलहरुलाई 'अलच्छिन' करार गर्न हाप्सिलो र गिद्धसँग दाँज्ने गरेका छन्।

अध्यक्ष ओली, जसले कम्युनिस्ट शिक्षा दीक्षाबाट हुर्किएको वा त्यसको मूलभूत मान्यताप्रति आस्था राख्ने कार्यकर्ताहरुको नेतृत्व गर्छन्। भन्नु पर्दैन, कम्युनिस्ट आदर्शप्रति आस्थावान्‌को सोचाइ पद्धति भौतिकवादमा आधारित हुने गर्छ। जसले हरेक घटनाको कारण खोज्छ, प्रमाणविहीन तर्क र अन्धविश्वासलाई मान्यता दिँदैन।

त्यतिमात्रै होइन, एमालेकै कैयौँ दस्तावेजमा सामाजिक कुरीति र अविश्वास हटाउने प्रतिबद्धता व्यक्तसमेत भएका छन्। एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा पनि यो विषयलाई जोडेको छ। भनेको छ- युवाहरूलाई छुवाछुत, छाउपडी, दाइजो, तिलक, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, कुसंस्कारजस्ता सामाजिक कुरीति हटाउँदै सामाजिक–आर्थिक र सांस्कृतिक रुपान्तरणको अभियानमा अग्रणी भमिूकामा स्थापित गर्ने।' त्यही निर्वाचनका लागि भोट माग्ने क्रममा ओली भने आफ्नै पार्टीले अंगीकार गर्ने सोचाइ पद्धति र पार्टीको सार्वजनिक प्रतिबद्धतालाई उल्लंघन गर्दै आफ्ना भाषणमा बारम्बार 'अलच्छिन' लगाइरहेको पाइन्छ।

भौतिकवादसँग लच्छिन/अलच्छिन, मंगल/अमंगल, शकुन/अपशकुन, पवित्र/अपवित्र, शुद्ध/अशुद्धको गोरू बेचेको साइनो पनि नभएको राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको भनाइ छ। 'नेपाल र दक्षिण एसियाको मामिलामा यी सबै धर्मतन्त्र, जात व्यवस्था र त्यसको ब्राह्मणवादी वैचारिकीसँग सम्बन्धित छन्, जुन मनमाथि वर्चस्व (हेजिमोनी) र शरीरसँगै स्रोत-शक्तिमाथि प्रभुत्व (डोमिनेसन) का लागि उपयोगी अस्त्र हुन्', नेपाल लाइभसँग उनले भने।

धर्मभीरू जनगणको मनमाथि वर्चस्वका लागि धर्म, मिथक, अन्धविश्वासको प्रचारबाजी साह्रो प्रभावशाली हुन्छ भन्ने ओलीलाई थाहा भएकैले यस्तो तर्कको सहारा लिने गरेको महर्जनले बताए। ओली साँच्चै कम्युनिस्ट, साँच्चै ऐतिहासिक भौतिकवादी र द्वन्द्ववादी भएका भए त अन्धविश्वासविरुद्ध पो प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।

लच्छिन/अलच्छिन मात्रै होइन, केही दिनयता उनी ज्योतिषशास्त्रको पनि वकालत गर्दै हिँडेका छन्। असार १७ गतेको मिति नै तोकेर उनले सत्ता गठबन्धनमा संकट आउने बताउन थालेका छन्। त्यसका लागि कुनै राजनीतिक आधार होइन, बरु ज्योतिषशास्त्रको सहारा लिएका छन्। ज्योतिषीले नै त्यस्तो भनिरहेको उनको भनाइ छ। तर ज्योतिषीहरुबाट त्यस्तो सार्वजनिक अभिव्यक्ति आएको र चर्चा भएको पाइँदैन। उनी भने ज्योतिषीलाई सोधेर संकटबारे स्पष्ट हुने पत्रकारलाई आग्रह गरिरहेका छन्। 'ज्योतिषीलाई सोध्नुस् न स्पष्ट पार्छन्। ज्योतिषीहरु भनिरहेका छन्,' आइतबार आयोजित एमालेको पत्रकार सम्मेलनमा उनको अभिव्यक्तिबारे जिज्ञासा राखेका पत्रकारलाई पन्छाउँदै उनले जवाफ दिएका थिए।

अझ रोचकचाहिँ के छ भने, चर्चामै नरहेको विषयलाई आफूले चर्चामा ल्याएर, ज्योतिषीलाई सोधेर थप प्रष्ट हुन आग्रह गरेका उनले ज्योतिषीप्रति शेरबहादुर देउवाले विश्वास गर्ने गरेको भनिरहेका छन्। शनिबार विराटनगरमा आयोजित एमाले सभामा उनले भनेका थिए- 'शेरबहादुरजी असाध्यै ज्योतिषमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस् भनेर मैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ, सोध्नुस्। मैले दिन तोकिएको छु एउटा, असार १७ गते कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ छन्, एकपल्ट ज्योतिषिलाई बोलाएर हेर्न लगाउनुस् त।'

'ओलीले चर्चा गरिरहेको ज्योतिषशास्त्र हैन, फलित ज्योतिषशास्त्रसँग सम्बन्धित देखिन्छ, जसमा वैज्ञानिकता पाउन कठिन छ', महर्जनको भनाइ छ, 'यस्तो अवैज्ञानिक र अराजनीतिक कामबाट 'सेकुलर' लोकतन्त्रको विखण्डनमात्रै गर्छ। यस्ता काम पटक–पटक गर्दै आएको नेतृत्वका लागि राजनीतिक–धार्मिक लाभहानी मात्रै सत्य हो, अरु सब मिथ्या हुन्।'

त्यसो त ओलीलाई वामपन्थी नभई रामपन्थी भएको भनेर आलोचना हुने गरेको छ। उनी प्रधानमन्त्री हुँदा चितवनमा रामको जन्म भएको दाबी गरेका थिए। त्यसलाई प्रतिष्ठाको विषय बनाउँदै उनले त्यहाँ राम मन्दिर स्थापना गर्नका लागि अग्रसरता मात्रै लिएका थिएनन्, प्रधानमन्त्री निवास बालुवाटारबाट धुमधामसँग राम-सीताको मूर्तिकाे बिदाइ गर्दै रथयात्रा चलाएका थिए। आफूलाई रामपन्थी भन्नेहरुलाई उनले अरु विषयमा जस्तो कठोर कटाक्ष गर्ने गरेका छैनन्, बरु घुमाउरो ढंगले अपनत्व लिने गरेका छन्। आफ्नो बचाउका लागि उनले सांस्कृतिक ऐतिहासिकताको जलप लगाउने गरेका छन्।

२०७८ पुस १९ गते राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए, 'एकजनाले अस्ति केपी ओली वामपन्थी होइन, रामपन्थी हो भनेछन्। हाम्रो सभ्यता र संस्कृतिको पृष्ठभूमिबाट नआइकनको वामपन्थी हो भने हावा वामपन्थी हो। त्यो वामपन्थी नै हुनसक्दैन। हाम्रो सांस्कृतिक पृष्ठभूमि, इतिहास, पूर्वीय दर्शन, पूर्वीय सभ्यता, पूर्वीय संस्कृति, यसको जगमा नपुगीकन हामी हाम्रो समाज आज यहाँ आइपुगेको छ, यसलाई अगाडि बढाउँछौँ भन्ने हो भने म सम्भव देख्दिनँ।'

उनी प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्नलाई उनले दिएका तर्क र गरेको गर्भानुभूति पनि अनौठो नै थियो। खासगरी, उनको पार्टीले बोक्ने सैद्धान्तिक र विचार पद्धतिले यस्तो विषयलाई प्राथमिकता दिने अपेक्षा गरिँदैन। महर्जन भन्छन्, 'ओली र एमालेको धार्मिकीकरण अर्थात् हिन्दूकरण तथा जनगणको मनलाई आस्था–विश्वास–श्रद्धा–भक्तिमा लिप्त बनाउने तिनको अभियानले खतरनाक संकेत गरेको छ, जुन भाजपाले प्रयोग गरिरहेको ‘सांस्कृतिक राष्ट्रवाद’ नामक भारतीय फासीवादको नेपाली संस्करणको रुपमा देखिन सक्छ।'

ओलीले 'अलच्छिन'लाई सन्दर्भमा ल्याएका प्रसंगहरुः 

२०७९ वैशाख २६। एमालेको चुनावी सभा। ललितपुर।

हामीले कहिल्यै विकासका लागि पैसा छैन भनेको तपाईंहरुले सुन्नुभयो कहिल्यै? तर नेकपा एमाले सरकारमा आउने, लच्छिन नै लच्छिन। गठबन्धन सत्तामा आएपछि अलच्छिन नै अलच्छिन। पैसा छैन। योजनाहरु कटे। ... निर्माण गरिसकेको कामहरुको भुक्तानी लिन आउँदा भुक्तानी प्राप्त गर्न सक्दैनन् ठेकेदारले। नयाँ आयोजना र कामहरु सुरु गरौँ भन्ने हो भने व्यवसायीले बैंकबाट ऋण पाउन सक्दैनन्। बैंकसँग पैसा छैन। कस्तो अलच्छिन लागेको? देशमा?

०००

२०७९ वैशाख २५। एमालेको चुनावी सभा। बुटवल।

नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन।   तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरै समेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।

०००

२०७९ वैशाख २४। एमालेको चुनावी सभा। विराटनगर।

...अहिले लोडसेडिङ चरम छ। महंगी वृद्धि छ। व्यापार घाटा छ। वैदेशिक मुद्रा छैन। सरकारसँग लगानी गर्ने पैसा छैन। हामीले तयार गरेका आयोजनाहरु कटौती गरेको छ। ती तयार आयोजनाहरु, ३९६ वटा अस्पताल, हरेक पालिका अस्पताल हामीले शिलान्यास गरेर अगाडि बढाएका थियौँ। योजना र बजेट सहित। अहिले आएर आयोजना पनि कट्यो, बजेट पनि छैन। के हुन्छ यस्तो? अलच्छिन किन लाग्छ यिनीहरु आएपछि देशमा? त्यस्तो कोभिडको महामारी हुँदा पनि अर्थतन्त्र डामाडोल भएको थिएन। मजबुत थियो। ... 

०००

२०७९ वैशाख २३। एमालेको चुनावी सभा। धनगढी।

... बाटोको बजेट कटेको छ। अस्पतालको बजेट कटेको छ। विद्यालय र क्याम्पसको बजेट कटेको छ। अरु बजेट कटेका छन्। कृषिको आधुनिकीकरणको बजेट कटेको छ। उद्योग स्थापनाको बजेट कटेको छ। अथवा, यो सरकार आएपछि देशमा यस्तो अलच्छिन लाग्यो कि पैसा चुहिए जसरी समाप्त भएको छ। देशमा पैसा छैन। ...

०००

२०७९ वैशाख ८। नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठक। काठमाडौं।

नेपाली कांग्रेस चुनौतीको एउटा शक्ति हुन्थ्यो। तर राम्रो गर्‍यो। नेपाली कांग्रेस अब नीतिको हिसाबले, विचारको हिसाबले, संगठनको हिसाबले, व्यवहारको हिसाबले, आचरणको हिसाबले, अरु हिसाबले, ग्रहको हिसाबले, नक्षेत्रको हिसाबले, दशाको हिसाबले, वास्तुको हिसाबले, कुनै हिसाबले पनि अलछिन जति बोकेर हिँडेको छ। कोही हाप्सिलाहरु जस्ता छन्। हाप्सिलो भन्ने थाहा छ नि तपाईंहरुलाई। कतै जान लागेका बेला हाप्सिलो हाफ् हाफ् गरेर कराउँछ, त्यसरी करायो भने अलच्छिन भन्छन्। यहाँ हाप्सिलैहाप्सिला काँधमा बोकेर, खोकिलामा बोकेर कांग्रेस हिँडेको छ। योभन्दा अलच्छिन के हुन्छ? त्यसकारण यिनीहरुको ग्रह, दशा, नक्षेत्र, जन्मकुण्डली सबैसबैसबै कुराले नेपाली कांग्रेस पनि एकमुष्ट यो गठबन्धनसँगै जाने भयो।

०००

२०७८ फागुन ७। सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोह। भक्तपुर।

अहिले कस्तो भएको छ? धुरीमा गिद्ध बस्यो भने अशुभ मानिन्छ। एउटै गिद्ध बस्दा पनि अशुभ मानिन्छ। पाँच-पाँच वटा गिद्ध धुरीमा बसे भने के होला? देशको हालत त्यस्तै भएको छ।  

०००

२०७८ पुस १९। राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रम। काठमाडौं।

... ६ महिनामा बैंकमा पैसा छैन। ऋण माग्न जानु भयो भने पैसा पाइँदैन, धरौटीसरौटी जेसुकै राख्नुस्। यत्रोविघ्न आयोजना किन काट्नुपर्‍याे? बजेट छुट्याएको छ। सबै निर्दिष्ट बजेट छ। तर पनि चल्न नसक्ने, गर्न नसकिने, खर्च गर्न नसकिने भनेर किन ढाँट्नुपर्‍याे? मान्छेहरुले कहिलेकहिले अलच्छिन पस्यो भन्छन् नि। अलच्छिन पसेर यस्तो भएको हो। पाँच वटा अलच्छिन एकैपटक पसेपछि ढिकुटीको हालत के भयो होला?

०००

२०७८ पुस २३। एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशन। काभ्रे।

हामीले कार्यक्रममा राखेका, योजनामा राखेका, बजेट पारेका र टेन्डर जान थालेका, ठेक्का लाग्न थालेका बाटाहरु, १४ सय त बाटामात्रै कटायो, रणनीतिक बाटाहरु, सदरमुकाम पुग्ने बाटाहरु, महत्त्वपूर्ण बाटाहरु, यो सरकारले। यो सरकार आउनेबित्तिकै अलच्छिन कसरी लाग्छ भनेको यस्तो? बैंकमा पैसा छैन, आयोजनामा पैसा छैन। कतै पैसा छैन। हुन त यस्तो किन नहोस्? एउटा अलच्छिन पस्यो भने पनि खराब गर्छ भने ५/५ वटा अलच्छिन पसेपछि के होला देशको हालत? कुलंघार, देशै बर्बाद पार्ने भइसके। ...

०००

२०७३ फागुन २९। एमालेको मेची महाकाली राष्ट्रिय अभियान। भैरहवा।

अहिलेको सरकार देशभक्तहरुको सरकारलाई हटाएर, विकासप्रेमी सरकारलाई हटाएर, विकासको कामलाई अगाडि बढाउने सरकारलाई हटाएर, नेपाली जनताले मन पराएको र माया गरेको सरकारलाई हटाएर अरुकै इशारामा, अरुकै कोसिममा, अरुकै प्रयासमा, एउटा यस्तो सरकार बनेको छ, तपाईंहरुलाई थाहा छ। यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन। त्यसले एउटा सिंको भाँचेको छैन देशका लागि। देशका लागि कुनै काम गर्न सक्दैन। देशका जनतासँग उसलाई मतलब छैन।

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/280126 

अपडेट

२०७९ वैशाख २७ । एमालेको चुनावी सभा । काठमाडौं ।

हामी सरकारमा छउञ्जुल लोडसेडिङ नहुने। हामी सरकारबाट हट्ने बित्तिकै लोडसेडिङ हुने। हामी सरकारमा छउञ्जेल जुनसुकै काम गर्न पनि पैसैपैसा हुने। हामी सरकारबाट हिँडेपछि कुनै काम गर्न पैसा नहुने। कहाँ गयो पैसा? राज्यको ढुकुटी कहाँ गयो? देशमा अलच्छिन कहाँबाट पस्यो? यही पाँच दलीय गठबन्धन।   

No comments:

Post a Comment