नेकपामा विवाद बढ्दै गएको थियो। पार्टी सचिवालयको बैठक बस्नुपर्ने माग पनि बढ्दै थियो। केपी ओलीले बेवास्ता गरिरहेका थिए। बैठकका लागि उनले रुची देखाएका थिएनन्। दबाबका लागि सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २१, २०७७ मा पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक राखे। बहुमत सदस्यको सो बैठकले सचिवालयको बैठकका लागि ओलीलाई भेटेरै आग्रह गर्ने निर्णय गर्यो।
भोलिपल्ट (कात्तिक २२ गते) सचिवालयका ती सदस्यहरुले बिहानै धुम्बाराहीमा भेटे। छलफल गरे। र, ओलीलाई बुझाउने पत्र तयार पारेर बालुवाटार पुगे। पत्र बुझाएपछि दुई पक्षले मनमुटाव पनि गरे।
आफू अल्पमतमा परेपछि ओलीले बहुमतको गठबन्धन भत्काउने प्रयास गर्नु अनौठो होइन। सोही रणनीतिका साथ उनले कात्तिक २३ गते माधव नेपाललाई बालुवाटार बोलाए। नेपाल भने आफू पक्षका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्तलाई लिएर पालुवाटार पुगे। त्यहाँ ओलीले नेपाललाई पार्टी एकता बचाउनुपर्ने, पूर्व एमाले मिल्नुपर्ने जस्ता कुरा गरे। महाधिवेशनपछि अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री जस्ता लोभ पनि देखाए।
यी त भए सामान्य कुरा।
छलफलमा ओलीले एउटा रोचक कुरा पनि सुनाए। उनले भने- दोस्रोपटक किड्नी फेरेपछि त सेता जुँगा पनि काला भएका छन्, जोस बढिरहेको छ, काम गरिरहेको छु, कपाल पनि कालै भइरहेको छ। हाच्छ्युँ त के ज्वरो पनि आएको छैन, एकदम स्वस्थ छु। (नयाँ पत्रिका, कात्तिक २४, २०७७)
जुँगा त कालो छ कि सेतो छ, सेतो फेरिएर कालो भएको हो कि कालै उम्रिएको हो भन्ने कुरा सधैंजसो भेट्ने मान्छेलाई थाहा भइहाल्छ। तैपनि प्रधानमन्त्रीले नै आफ्नो जुँगा कालो छ भनेपछि अरुलाई केको टाउको दुखाइ!
तर कालो जुँगा सेतो हुन तीन दिन पनि लागेन।
ओली कात्तिक २६ गते संखुवासभा गए। संखुवासभाको किमाथांका नाका, बोर्डर आउट पोस्ट (बीओपी), जोगबनी–खाँदबारी–किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमन गरे। सभामा सम्बोधन पनि गरे। त्यहाँ पनि जुँगाको प्रसंग निकाल्न भुलेनन्।
ओलीले भाषणका क्रममा भने- ... पार्टीभित्रका समस्याहरु, म अध्यक्ष छु, तपाईंहरु किन चिन्ता गर्नुहुन्छ? यो पार्टी यत्तिकै बनेको होइन। ५० वर्षअगाडि, जुँगामा भर्खर रेखी बस्दै थियो। अहिले टन्न फुलेको देख्नुहुन्छ। त्यसबेलादेखि टुटे फुटेको पार्टी, मिलाउँदै मिलाउँदै मिलाउँदै यहाँ पुर्याएको हो। ...
शक्तिशाली प्रधानमन्त्रीको नियन्त्रणमा उनको जुँगाचाहिँ रहेनछ। केही दिनअघि कालै, केहीदिनपछि सेतो। अब प्रधानमन्त्रीलाई जोडेर अरु विषयको चर्चा गर्नु खासै उचित पनि छैन। रेल र पानी जहाज त्यस्तैउस्तै भइहाल्यो। सरकार बनेको पनि तीन वर्ष पुग्न थालिहाल्यो। बाँकी समय जुँगा दाह्रीकै गफमा बित्ने त होला।
No comments:
Post a Comment