Pages

Tuesday, July 2, 2019

त्रिविका तीन स्नातकोत्तर उपाधिमा सुरेन्द्रको चलखेल, कर्मचारीको मिलेमतोमा दर्जन विषयमा नम्बर थप


 किशोर दहाल |  २०७६ असार १७ मंगलबार | Tuesday, July 02, 2019  १६:२०:०० मा प्रकाशित

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको अर्थशास्त्रको एउटा विषयमा ९ नम्बर ल्याए तापनि कर्मचारीको सहायतामा नम्बर थप्न सफल सुरेन्द्र कोइरालाले अन्य विषयमा पनि नम्बर थप्न सफल भएको खुलेको छ।

सोही विषयमा छलफलका लागि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिवि पदाधिकारीको तर्फबाट धारणा राखेका रजिस्टार डिल्लीराम उप्रेतीले उनले त्यसअघि स्नातकोत्तर गरेका समाजशास्त्र र ग्रामीण विकास अन्तर्गत विषयमा पनि चलखेल गरेको बताएका हुन्।


'उनको अर्थशास्त्र, समाजशास्त्र, ग्रामीण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर देखियो। त्यसमध्ये राजनीतिशास्त्र बाहेकका विषयमा मार्कस्लिप र मार्कसिटमा फरक देखियो। कानुन र एजुकेसनको स्नातक रहेछ। त्यसमा भने ठिक देखियो', बैठकमा उप्रेतीले भने।

तीन वटा फ्याकल्टी अन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर 'म्यानिपुलेट' भएको उप्रेती बताए। 'अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन। तर आन्तरिक रिपोर्ट अनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ। सोसोलोजी र रुलर डेभलपमेन्ट अन्तर्गतका पनि २ वा ३ विषयमा फेरबदल गरिएको छ। मैले त्यसका विषयहरुचाहिँ भन्न मिल्दैन', बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।


उप्रेतीले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए। 'तीन वटैमा उस्तै गरी नम्बर थपिएको होइन। एउटामा ५ लाई ५९ बनाइएको छ। अरु दुई विषयमा ५/१०, ५/१० नम्बर थपिएको देखिन्छ', उनले भने।

त्रिविले यस विषयमा आन्तरिक छानबिन गरी नम्बरमा चलखेल गर्ने कार्यमा संलग्न भएको भन्दै मानविकीको गोप्य शाखाको प्रमुख राम कर्मचार्यलाई निलम्बन गरिसकेको छ। कर्मचार्य २०५७ सालदेखि सो शाखाका प्रमुख थिए। 'त्यही मानिस त्यहाँ पहिलेदेखि कार्यरत रहेको र उसले पनि स्वीकार गरिरहेको अवस्था छ', उप्रेतीले भने, 'अहिले तत्काललाई उहाँलाई सस्पेन्ड गरिएको छ। अख्तियारले पनि छानबिन गरिरहेकाले पछि कारबाही पनि त्यही अनुसारको होला।'

कर्मचारी कसरी दोषी?
उप्रेतीले समितिको बैठकमा परीक्षा सञ्चालनदेखि मार्कसिट तयार गर्ने प्रक्रियासम्म ब्रिफिङ गरेका थिए।

उनका अनुसार शिक्षकले दिएको नम्बरको दुई अलग मार्कस्लिपमा रहेको नम्बरलाई दुई अलग व्यक्तिले दुई टेबलमा इन्ट्री गर्छन्। त्यसमा इरर नआए अगाडिको प्रक्रिया (लेजर बनाउने र मार्कसिट बनाउने) अपनाइन्छ। इरर आयो भने उत्तरपुस्तिका पुनः जाँच गरिन्छ।

'उत्तरपुस्तिका जाँच गर्ने, मार्कस्लिपमा अंक भरेर सही गर्ने र कपी फिर्ता लगायतका कामसम्ममा मात्रै शिक्षण कर्मचारी संलग्न हुन्छन्। त्यहाँभन्दा माथिको काममा अरु कर्मचारी संलग्न हुन्छन्। टेबलमा नम्बर इन्ट्री गर्ने काममा पनि शाखाका कर्मचारी संलग्न हुन्छन्। म्याच गर्ने काम त्यहाँको प्रमुखले गर्छन्', उनले भने, 'त्यसपछिका अन्य काममा पनि कर्मचारी नै संलग्न हुन्छन्। अन्तिममा रिजल्ट प्रकाशित गर्ने काममा मात्रै बोर्ड बस्छ।'

दुई वटा टेबलमा दुईथरी नम्बर इन्ट्री भए पनि त्यहाँका प्रमुख भने आफू अनुकूल एउटै बनाउने काममा संलग्न भएको उप्रेतीले बताए। 'सुरेन्द्र प्रसाद कोइरालाको विषयमा यहाँ कुरा उठेको छ। उनको नम्बर मार्कस्लिप (शिक्षकले दिएको नम्बर) सम्म नम्बर ठिक छ। तर मार्कस्लिपलाई बेवास्ता गरेर एउटै नम्बर (आफू अनुकूल) गरिदिएको कारणले कोइरालाले नम्बर बढाएर सर्टिफिकेट लिन सफल भएका रहेछन्', उनले भने।

उनले कोइरालाको गोल्ड मेडल भने हल्ला मात्रै भएको दाबी गरे। 'उहाँको नम्बरभन्दा अर्को ९/१० प्रतिशत बढी अर्को विद्यार्थीको नम्बर छ', उनले भने।


त्रिवि परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति

उप्रेतीका अनुसार अर्थशास्त्र विषयमा मात्रै कोइरालाले ७६ नम्बर बढाएका थिए।

उनले यो संस्थागत त्रुटि नभई व्यक्तिगत त्रुटि भएको बताए। 'ठूलो ठाउँमा यस्ता गल्ती हुँदा रहेछन्', उनले भने।

नम्बर इन्ट्री गर्ने कम्प्युटर प्रविधिमा सुधार गर्ने प्रक्रिया अपनाएको भन्दै उनले मास्टर्स लेभलको अन्य फ्याकल्टीको एक-दुई वर्षको नमुना हेर्न प्रक्रिया अघि बढाएको जानकारी गराए।

नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/104901 

No comments:

Post a Comment