किशोर दहाल
मिडियाको डिजिटलाइज हुँदै गर्दा अनलाइन पत्रकारिताले पनि मूलधारको स्वरूप ग्रहण गर्न थालेको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै अनलाइन पत्रिकाका ग्राहक वृद्धि भइरहेका छन् । कतिपयले त अब प्रिन्ट मिडियाको सान्दर्भिकता सकिने र अनलाइन पत्रकारिता निर्विकल्प हुने पनि बताउने गरेका छन् । समय र विषयवस्तुको नियन्त्रण नरहने भएकाले अनलाइन पत्रकारिताको आफ्नै अवसर र चुनौती छन् । बढ्दो प्रतिस्पर्धीका कारण यसको मुख्य ध्यान नै समाचारको पहिलो प्रस्तुतकर्ता बन्नमा केन्द्रित रहन्छ, यसले नै अनलाइन पत्रकारिताको सम्पूर्ण जटिलता सिर्जना गर्छ । अर्थात्, ‘हतारको काम लतार’ भनेजस्तो छिटो समाचार प्रकाशित गर्ने बाध्यताले बाँकी धेरै गडबडीलाई निम्त्याउँछ ।
कतिपय अवस्थामा त प्रकाशित समाचार अपूर्ण र अप्रमाणित तथ्यको शिकार हुने गर्छन् । सकेसम्म छिटो समाचार सामग्री प्रकाशित गर्नुपर्ने बाध्यता छँदैछ । सँगसँगै, पाठकको ध्यान आकृष्ट गराउनुपर्ने अर्को चुनौती पनि छ । जब पाठकले समाचारको शीर्षकमा क्लिक गर्छ, तब मात्र प्रकाशित समाचारको सान्दर्भिकता पूरा हुन्छ । त्यसैले पनि, प्रकाशित सामग्री पाठकको रुचिअनुसारको बनाउनु वा समाचार शीर्षकमा क्लिक गराउनु नितान्त आवश्यक छ । यही क्लिककारिताको बाध्यताले कैयौं अनलाइनको नाम र बदनाम दुवै भइरहेको छ ।
‘प्रिन्ट’मा जस्तो कति प्रति पत्रिका बिक्री भयो भन्ने संख्याले सफलता मापन गर्ने अवस्था अनलाइन पत्रकारितामा हुँदैन । यसको एउटै विकल्प कतिले प्रकाशित समाचार वा अन्य सामग्री पढे वा सामाजिक सञ्जालमा सेयर गरे भन्ने हो । जति बढीले प्रकाशित सामग्री पढ्छन्, सेयर गर्छन्, उति नै उक्त सामग्रीको सफलताको आधार तयार गर्छ । अनलाइनमा प्रत्येक सामग्री सफलताको तराजुमा परीक्षण भइरहेको हुन्छ भन्न सकिन्छ । सफलताको यही सूचकले नै अनलाइन पत्रकारितालाई चिप्ल्याउने र बदनाम गराउन भूमिका पनि निर्वाह गरिरहेको हुन्छ ।
पाठकलाई समाचारसम्म पु¥याउनका लागि त्यसको शीर्षकलाई बढी संवेदनशील बनाउने नयाँ–नयाँ प्रयोग पनि भइरहेको पाइन्छ । विशेषतः सामाजिक सञ्जालमा सेयर गर्दा प्रयोगकर्तालाई समाचारसम्म डो¥याउन सकेसम्मको उद्देश्यमूलक रणनीति तय गरिन्छ । सामान्य कुरा के छ भने पाठकले तब मात्र समाचारको शीर्षक क्लिक गर्छ, जब उसलाई त्यसले कौतूहलता जगाउँछ । त्यसकारण, समाचारको शीर्षक तयार गर्दा यस कुरालाई बढी ख्याल गरिएको पाइन्छ । समाचार प्रकाशनबारे तत्काल जानकारी लिन सकियोस् भनेरै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले हरेकजसो पत्रिकालाई लाइक र फलो गर्ने गरेका छन् ।
त्यसैकारण पनि अनलाइनहरूबीच सामाजिक सञ्जालमा समाचार सामग्री सेयर गराएर त्यहाँका प्रयोगकर्ताको आँखामा पर्ने अघोषित प्रतिस्पर्धा पनि चलिरहेको छ । यसैकारण, पाठकमा कौतूहलता जगाउने, उत्तेजित तुल्याउने सनसनीपूर्ण समाचार शीर्षकहरूको प्रयोग बढ्दो छ । यो रणनीति कतिसम्म फस्टाएको छ भने प्रिन्ट मिडियामा प्रकाशित कैयौं समाचारको भद्र समाचार शीर्षकहरू अनलाइन भर्सनमा पुग्दा सनसनीपूर्ण भइसकेका हुन्छन् । यसको एउटै उद्देश्य अनलाइनमा पनि उक्त सामग्रीको खपत बढोस् भन्ने हो । र, त्यसैका लागि अनलाइनको ट्रेन्डअनुकूल बनाउन जरुरी ठानिएको हो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या, भ्रष्टाचारको आरोप, पक्राउ, बलात्कार आदिजस्ता संवेदनशील कुरामा मानवीय संवेदनाको ख्याल नराखी समाचार प्रकाशित हुनु सामान्य हुन थालेको छ । विशेषगरी, जथाभावी मृत्युको संख्या तोकिदिने, आरोपलाई पुष्टि भइनसकेको जसरी समाचार प्रकाशित गरिन्छ । साथै, समाचारमा प्रयोग गरिने कतिपय तस्बिरमा पनि सामान्य पत्रकारिताको मूल्य, मान्यताको पालना गरेको पाइँदैन । यसले सम्बन्धित व्यक्ति र समाजमा कस्तो प्रभाव पार्ला भन्ने हेक्का राखिन्न । बरु कसरी सकिन्छ, प्रकाशित सामग्रीले पाठकलाई उद्वेलित बनाओस् भन्ने एक मात्र उद्देश्य राख्ने गरिएको अनुमान गर्न सकिन्छ ।
चर्चित महिलाहरूसँगको अन्तर्वार्ता वा लेखमा यौनको भाव पाइने द्विअर्थी समाचार शीर्षक राखिदिने ‘खराब’ प्रवृत्ति पनि पछिल्लो समय फस्टाएको छ । यसले ती महिलालाई पर्ने प्रभाव कस्तो होला, ऊप्रति कस्ता धारणा विकसित होलान् भनेर सामान्य ख्याल राखिँदैन । जबकि, उस्तै अवस्थामा पुरुष पात्रलाई भद्र पाराको शीर्षकमा प्रस्तुत गरिन्छ । मूलतः समाचार शीर्षकमा क्लिक होस् भन्ने उद्देश्य हाबी हुनाले यस्तो भइरहेको अनुमान गर्न सकिन्छ । कतिपय अनलाइनमा समाचारको यथार्थता एकातिर, शीर्षकको ‘तीर’ अर्कैतिर हुने गरेको छ । अझै रोचक त के भने सामाजिक सञ्जालमा त्यही समाचार सेयर गरिँदा अझै यथार्थविपरीत हुने गरेको पनि पाइन्छ ।
कोही सेलिब्रेटीसँग नाम जुधेको पात्रसँग सम्बन्धित कुनै समाचार आएमा सोही सेलिब्रेटीलाई समेत अप्ठेरो पुग्न सक्ने हिसाबले समाचार शीर्षक राखिन्छ । विदेशतिर भएका कुनै घटनालाई नेपालमै भएको भान पर्ने गरी पनि समाचार शीर्षक राख्ने गरिन्छ । भ्रममा अल्झाएर क्लिक गराउन यस्तो बाटो सजिलो भएको छ । क्लिककारिताको रणनीतिले अनलाइनकारिताको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भइरहेको छ । कुनै एक मात्र अनलाइनमा ब्रेक भएका वा एक्सक्लुसिभ भनिएका समाचारहरू अन्यमा पनि नदोहोरिउन्जेल समाचारमाथि विश्वास गर्न नसकिने अवस्था बन्दै गएको छ । त्यसैले, विश्वसनीय समाचार प्रकाशित होस् भन्नेमा सम्बन्धितको ध्यान पुग्न जरुरी छ ।
No comments:
Post a Comment