Pages

Monday, September 21, 2015

सडकमा असोज ३

किशोर दहाल / २०७२ असोज ३

        संविधान जारी हुने असोज ३ गते दिउँसोतिर नयाँ बानेश्वर पुग्दा त्यहाँको रौनक बेग्लै थियो । यो ठाउँमा आज केही हुँदैछ भन्ने कुरा जोसुकैले पनि थाहा पाउन सक्थ्यो । त्यसो त, यो कुरा थाहा नपाउने नेपाली नै को थियो होला र ?
        नयाँ बानेश्वर सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । संविधान जारी हुने दिनको लागि भनेर देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । झन्, नयाँ बानेश्वरमा स्वभाविक रुपमा सुरक्षा व्यवस्था कडा हुने नै भयो । ठाउँठाउँमा कुकुरहरुबाट निरिक्षण गराईएको थियो ।
संविधानसभा भवनमा झण्डैझण्डा टाँगिएको थियो । सडकका वरिपरि पनि झण्डा देख्न सकिन्थ्यो । कतिपय मानिस सडकमा पनि झण्डा बोकेर हिँडिरहेका देखिन्थे । झण्डैझण्डाको यो रौनकताले मानिसमा एकप्रकारको मित्रता बढाइरहेको स्पष्ट देखिन्थ्यो । सडकमा जात थिएन, भाषा थिएन, सम्प्रदाय थिएन, पार्टी थिएन, केबल नेपालीपन थियो । राष्ट्रप्रेम थियो । नजानिदो ढंगले एकता र ‘हामी एक हौं’ भन्ने भावना प्रवाहित भईरहेजस्तो लाग्थ्यो ।
       सडकमा मानिसको घुइँचो थियो । यद्यपि मानिसहरु हिँडिरहेका कम, झुण्डझुण्ड भएर गफ गरिरहेका धेरै थिए । पत्रकारहरुको पनि बाक्लै उपस्थिति देखिन्थ्यो । सडक किनारामा पहेँला आउटर लगाएकाहरुको चहलपहलले त्यो बाक्लोपन अनुमान गर्न सकिन्थ्यो । साधारण मानिसहरु संविधानसभा भवनलाई पृष्ठभूमि बनाएर सेल्फी खिचिरहेका देखिन्थें । त्यो भवनप्रति मानिसमा ह्वात्तै मोह बढेको थियो । कतिले गर्ब महसुस पनि गरे होलान् । यो त्यही भवन हो, जसलाई मैले नै कैयौं पटक सपनाको हत्यारा भनेर बुझेको थिएँ । ममात्रै होइन । यो भवनको दायाँबायाँ हिड्ने धेरैले यस भवनप्रति रोष उकेलेका छन् । धेरैले मुख बिगारेका छन् । खर्चको बोझ र देश बर्बादीको कारण भनेर भवनमा बस्नेहरुलाई धारे हात लगाएका छन् । कैयौंले त दिक्क मान्दै घृणाबश पिच्च धुके पनि होलान् । असन्तुष्टि त त्यस भवनमा पहुँच राख्ने हाम्रै मत जितेका सभासद्प्रति मात्रै होइन, प्रतीकात्मक रुपमा त्यो सेतो भवनप्रति मान्छेले आ–आफ्नै शब्दमा गाली गरिरहे । तर, संविधान जारी हुने निश्चित भएसँगै केही दिनयता मानिसमा त्यो भवनप्रति भरोसा बढ्दै गएको थियो । संविधान घोषणा गर्ने दिन भने त्यस भवन लगभग आस्थापुञ्ज बन्दै गएको थियो । मानिसमा त्यस भवनप्रति अपार श्रद्धा महसुस भइरहेको थियो । त्यही भरोसा र श्रद्धा नै सेल्फी बनेर प्रकट हुँदै गएको बुझ्न सकिन्छ ।
         मनिसहरुमा तीब्र जिज्ञासा थियो । संविधानसभा, सभासद्, नेताहरु तथा सम्पूर्ण राजनीतिप्रति नै मानिसमा सकारात्मक भावना विकास भइरहेको थियो । पुरानो दृष्टिकोण पनि परिवर्तन हुँदै थियो । संविधानसभाको मात्रै होइन, समग्र राजनीतिकै चमक बढेको जस्तो लाग्थ्यो । मानिसहरु एक्काशी आशावादी भएरहेका थिए । धेरैमा यो देश अब विकास हुन्छ भन्ने बिश्वास बढेको थियो ।
          केही बेर नयाँ बानेश्वर घुमेपछि म कोठातिर फर्किएँ । धरहरा, खिचापोखरी, हनुमानढोका हुँदै आगाडि बढिरहँदा ठाउँठाउँमा संविधानको स्वागतको तयारी देखिन्थ्यो । नेपालको नक्सा बनाउँदै त्यसमा प्रदेशको नक्सा खिच्ने, रङ भर्ने, लेख्नेजस्ता अनेक तयारी गरिँदै थियो । मानिसहरुमा खुसी छताछुल्ल पोखिएको थियो । युवायुवतीहरु सकेसम्म आफ्नो कला प्रस्तुत गरिरहेका थिए ।
साँझ पर्दै गर्दा राष्ट्रपतिबाट नेपालको संविधान २०७२ को जारी भएको घोषणा भयो । संविधान जारी भएसँगै सडकमा अतासबाजी सुरु भए । मैनबत्ति बालिए । राष्ट्रगान गाईए । लड्डु बाँडिए । सडकले सकेसम्म बढि खुसी बाँड्यो ।
        यो ऐतिहासिक क्षणमा देश भने स्पष्ट रुपमा दुईटा भावना विभाजित भयो । देशको एउटा भुगोलको मानिसले सेल्फीदेखि लड्डु सम्ममा खुसी मनाइरहँदा मधेसका सडकमा भने अँध्यारो छाइरह्यो । ‘ब्ल्याक आउट’ गरियो । कारण जे सुकै होस्, जायज होस् या नाजायज, मन परेर होस् वा मन नपराएर होस् । मधेसले अँध्यारो मुख लगायो । झण्डै डेढ महिनादेखि ऊ काठमाण्डौंलाई आफ्नो आवाज सुनाउन बल गरिहेछ । काठमाण्डौ बन्दुकको कुन्दाले उसको आवाजमाथि नियन्त्रण गरिरहेछ । मधेस केही बोल्न खोजिरहेछ । तर, आवाजमाथि दमन भइरहेछ । मधेसको मुहारमा यो ऐतिहासिक खुसी महसुस भएन । कतिपयले चाहेर पनि खुसी साट्न सकेनन् । आन्दोलनरत दलको चेतावनीको कारण पनि मधेस पूर्णत अध्याँरो भयो । मन नपर्नेले संविधान नस्वीकार्दा हुन्थ्यो, तर मन पर्नेहरुलाई खुसी साट्न दिनुपथ्र्यो । खुला छाडिदिएको भए संविधानको वास्तविक प्रभाव पनि देखिन्थ्यो ।
       त्यसो त, मधेसबाट प्रशस्तै मत जितेका कांग्रेस, एमाले वा माओवादीका स्थानीय नेताले पनि खासै पहल गरेनन् जस्तो लाग्छ । उनीहरुको बहुमत आएको ठाउँमा उनीहरुको आवाज बहुमत मानिसले सुन्न सक्थे नि । ति दलका भातृ संगठनले कुनै रचनात्मक काम गरेनन् । सम्बन्धित दलले आफ्ना भातृसंगठनलाई कुनै प्र्र्रभावकारी आदेश दिएको सुनिएन ।
       म सोचिरहेछु, बाँकी देशले जस्तै मधेसले पनि सँगसँगै दिपावली गरेर खुसी साट्न पाएको भए कत्ति राम्रो हुने थियो ।

No comments:

Post a Comment