किशोर दहाल
केही दिनदेखि जाजरकोट मरिरहेछ । सञ्चार माध्यममा लासको ग्राफ दैनिक रूपमा उकालो लागिरहेछ । सरकार उँघिरहेछ । उसको दिव्यदृष्टिले जाजरकोटमा केही गडबडी देखिरहेकै छैन । उसलाई यी लासहरूका समाचार सामान्य लागिरहेछ । नत्र भने स्वास्थ्यमन्त्री खगराज अधिकारीले भन्दैनथे होलान्, "मिडियाको बढाईचढाई हल्लाले त्रास फैलियो ।" त्रास त फैलिएकै छ, जाजरकोटमा र बाँकी देशमा पनि । जाजरकोटमा मौसमी रूघाखोकी र बाँकी देशमा सरकारी उदासिनको ।
सत्ता अन्धो हुन्छ, बहिरो हुन्छ । त्यसकारण उसले जाजरकोटबासीको लास देख्दैन, चीत्कार सुन्दैन । नत्रभने जाजरकोटको बेवास्ता गर्दै प्रधानमन्त्री सुशील कोइराला इण्डोनेशिया घुम्न निस्किदैनथे होला । त्यसो त कोइराला इण्डोनेशिया जानू अचम्मको कुराचाहीँ होइन। लोभ, क्रोध, माया, चिन्ता केही नभएका बैरागीलाई जाजरकोटको के चिन्ता?
यो देशमा प्रजातन्त्रको रट लगाएर नथाक्ने प्रधानमन्त्री सांसदहरूको बलियो समर्थनसाथ क्रियाशील छन् । गरिब जनताको वकालत गर्ने पार्टीका नेता स्वास्थ्यमन्त्री छन् । गरिबहरूकै गीत गाउने पार्टी प्रमुख प्रतिपक्ष छ । केही दिन अघि 'आई एम विथ डा. केसी' भन्ने डाक्टर साहेबहरूको जोस पनि मेटिएकै छैन । तर, पनि खै कहाँ के मिलिरहेको छैन कुन्नी ! जाजरकोटबासीको हृदयमा क्यारेमबोर्ड खेल्ने काम भईरहेको छ । जाजरकोटबासी त मर्लान् वा मरेरै सकिएलान् तर सरकार, प्रतिपक्ष र अन्य जिम्मेवार निकायहरू कहिलेसम्म जिउँदो रहलान् ? जाजरकोटको आँसुमा तिनीहरूको पौडी कतिञ्जेल जारी रहला ? प्रजातन्त्रको भाषण कुन दिनसम्म बिकिरहला ?
यसैबीच डा. गोबिन्द केसी जाजरकोट गएका छन् । केही दिन देखि यो अपेक्षा सामाजिक सञ्जालमा छाईरहेको थियो । उनको कमजोर स्वास्थ्यले केही ढिला भईदियो । डा. केसी एउटा आशा हुन् । जाजरकोटजस्ता घटनामा राज्यसंयन्त्रले काम गर्नुपर्छ । खास व्यक्तिले सहयोग गर्न त सक्छन् । तर, राज्य निदाउने सर्तमा होइन ।
सरकारले केही डाक्टरहरूको टोली जाजरकोट पठाएको त छ तर 'महिना दिन पछि आगो निभाउने' आदेश दिने अमूक शासकको शैलीमा । सरकारको कदम कुनै जिम्मेवारीबोधको साथ चालिएको थिएन । झारा टार्नु बाहेक त्यसको कुनै औचित्य छैन । जब सुशील कोइरालाको उपचार खर्च करोड नाघेको हिसाबकिताब छापामा छरपस्ट हुन थाले अनि नाटक मञ्चन सुरू भएको हो । नत्र त्यत्रा मान्छेले ज्यान गुमाउनु अघि तिनका दृष्टि कुन कमिसनमा लिप्त थियो ? कि बालुवाटारमा पत्रिका पुग्दैन ?
जे भए पनि अहिले जाजरकोटमा डाक्टरको सङ्ख्या सम्भवत कमी छैन । यो राम्रो हो तर निकै ढिला भयो भन्ने चिन्ता मात्रै हो । करिब दुई दर्जनले ज्यान गुमाईसकेपछि त्यहाँ डाक्टर पुग्न थाले । जब बिरामी हुँदा पनि डाक्टरको मुख नदेखिने रहेछ भन्ने सत्य जाजरकोटबासीलाई बोध हुन थाल्यो कैयौ स्थानियबासी धामीझाँक्रीतिर धाउन बाध्य भए । सरकारी संयन्त्र पङ्गु भएको प्रमाण पनि हो यो । नत्र भने महामारीबाट जोगिन कैयौं स्थानीयबासी अग्रिम रुपमा धामीको शरणमा पर्दैनथे होलान् । देवतालाई भाकल गर्दैनथे होलान् ।
सरकारको आम चरित्र त यही हो । तर, डाक्टरहरूको गैरजिम्मेवार शैली पनि चर्चामा आयो यो पटक । केही समयअघि गोबिन्द केसी मार्फत छताछुल्ल भएको स्वास्थ्य क्षेत्रको भद्रगोल र त्यसको उत्पादनको व्यापारिक छबि यति चाँडै पुष्टि होला भन्ने धेरै कमलाई बिश्वास थियो होला । डाक्टरको नाममा मानवता मरेका व्यापारीको उत्पादन भइरहेछ भन्ने बुझ्न लामो समय कुर्नै परेन । प्रभावित क्षेत्रमा डाक्टर पुग्न आनाकानी गर्ने, सुगमता खोजेर बस्ने, बिरामीको उपचारै गर्नु नपरे हुन्थ्यो झै गर्ने जस्तो जुन गैरजिम्मेवारी प्रकाशमा आयो, त्यसले चिन्ता बढाउनु स्वभाविक हो । यस्तो लाग्छ, फरक फरक नाममा हामीले केबल व्यापारी उत्पादन गरेका रहेछौं । डाक्टरको नाममा व्यापारी । शिक्षकको नाममा व्यापारी । नेता र मन्त्रिको नाममा व्यापारी । जब व्यापारको कुरा आउँछ । त्यहाँ नाफानोक्सानका कुरा आउँछ, जोखिमका कुरा आउँछ । अनि प्रत्येक बर्ष जाजरकोटहरू रोइरहन्छन् ।
जाजरकोट त केबल बिम्ब हो सरकारी उदासीनताको । यस्ता जिल्ला र क्षेत्र कैयौं छन्, यो देशमा । जसको नाममा सरकार व्यापार गरिरहन्छ, हर साल । बुझ्नुपर्ने कुरा के छ भने जाजरकोटहरू सधैंभरी सरकार र यसका संयन्त्रलाई मुन्टो निहुर्याउन अभिशप्त हुनेछैन । तिनका दाम्रा पेट र रोगले थलिएको शरीरले प्रश्न गर्न थाले भने यो सत्ता संयन्त्रको निद्रा कहाँ पुग्ला ?
No comments:
Post a Comment