किशोर दहाल
सीमान्तकृतलाई सपना र उच्च वर्गलाई सुविधा वितरण गर्ने चल्तीको राजनीतिप्रति आम मानिसको गुनासो निरन्तर छ । र, निरन्तर नै छ, समृद्धिको सपना पनि । नयाँ संविधान जारी भएपछि त्यो सपना झनै मुखरित भइरहेको छ । त्यसो त, अहिलेकै नेतृत्व र शैलीले त्यो सपना पूरा हुन सक्दैन भनेर ठोकुवा गर्नेहरू पनि छन् । तिनैमध्येका एक हुन्, केशव दाहाल ।
भर्खरै प्रकाशित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’मार्फत दाहालले नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । पुस्तकले अबको नेपाली राजनीतिको स्वरूप कस्तो रहने ? सैद्धान्तिक ढाँचा कस्तो हुने ? र, प्रत्यक्ष लोकतन्त्रलाई कसरी व्यवहारमा उतार्ने ? जस्ता सवालमा बहसको सिर्जना गर्ने प्रयास गरेको छ ।
नेपाली राजनीतिको अबको लक्ष्य समृद्धितिर बढ्नुपर्ने र त्यसका लागि सर्वप्रथम राजनीतिको अहिलेको ढाँचा फेरिनुपर्छ अन्यथा त्यसले चाहेजस्तो प्रतिफल दिन सक्दैन भन्ने पुस्तकको मूल आशय छ । त्यसका लागि उनले मूलधारका पार्टीका कार्यपद्धति र सैद्धान्तिक आवरणलाई पनि राम्रैसँग शल्यक्रिया गरेका छन् । चिरफारको सकारात्मक पक्ष के छ भने उनले त्यसमा आफ्ना आग्रह मिसाएका छैनन् ।
विचार र सिद्धान्तलाई सोही आधारमा केलाएका छन् । खँदिलो र सहज भाषामा आफ्ना तर्क राखेका छन् । उनको तार्किक शैली प्रशंसनीय छ । आफ्ना हरेक तर्कमा ऐतिहासिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरू, वर्तमान परिस्थितिसमेत विश्लेषण गरिएको छ । उनको तर्कलाई मन पराउन वा नपराउन सकिन्छ तर बेवास्ता गर्न भने सकिँदैन ।

