Pages

Tuesday, May 23, 2017

एमाले अर्थात् उडन्ते गफको स्रोत

किशोर दहाल

चुनावको केही दिन अघि फेसबुक र ट्वीटरमा एउटा स्क्रीनसट निकै हिट भइरहेको थियो । ‘फेसबुकका मालिक मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरेको’ भन्ने समाचार लिंकको स्क्रीनसट देखेर हाँसेको थिएँ । समाचारको शीर्षक नै एमाले सचिव योगेश भट्टराइको भनाइमा आधारित रहेको थियो । चुनाव प्रचार प्रसारमा आफ्नो पार्टीलाई केकति कारणले राम्रो देखाउने भन्दा पनि अर्को पार्टीलाई खुइल्याउने धन्दा चलिरहेको समयमा कोही विपक्षी ‘हनुमान’ले प्रविधीको दुरुपयोग गरेको हुनसक्ने ठहर गरेँ ।

तर, स्क्रीनसट भाइरल भएको भोलिपल्टै नयाँ पत्रिका दैनिकको अनलाइन संस्करण हेर्दै जाँदा एउटा समाचार शीर्षकमा आँखा प¥यो । समाचार शीर्षक थियो–


भट्टराईलाई जोडेर भाइरल भइरहेको स्क्रीनसट सत्य नै रहेछ ।

पहिलो संविधानसभाको विघटन भएपछि जताततै निराशा छाइरहेको अवस्थामा बीबीसी नेपाली सेवाका लागि एउटा स्रोता प्रतिक्रिया पठाएको थिएँ । जसमा मैले योगेश भट्टराइलाई पनि जोडेको थिएँ । रेकर्ड गरिएको सबै आवाज त प्रशारित भएन । तर, प्रशारित भएको अंश यति थियो–

बिना उपलब्धी संविधानसभाको अन्त्य भएपछि दलका नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । अब के होला भन्ने अन्योलको माझमा पनि बौद्धिक वर्गद्वारा रुचाइएका गगन थापा, योगेश भट्टराइ र वर्षमान पुन ‘अनन्त’ जस्ता युवा नेताहरु भने मौन छन् । युवा नेताहरुको भूमिका सधैंभरि बृद्ध नेताले देखाइदिएको बाटोमा हिँड्नु मात्रै हो र ?

एमालेसँग सम्बन्धित आर्टिकल भएकाले भट्टराईतिर मात्रै केन्द्रित होऔं । त्यतिबेला मिडियाले प्रस्तुत गरिदिएको छबिबाट अब म आफैं उनको भाषण सुन्न सक्छु । ट्वीट पढ्न सक्छु । बौद्धिक वर्गले अहिले रुचाउँछन् कि रुचाउँदैनन् थाहा छैन । तर, भट्टराई प्रति त्यति धेरै आशा राखेकोमा मलाई अहिले अचम्म लागिरहेको छ । उनी आलोचनात्मक चेतविहिन युवा नेताको अर्को संस्करण मात्रै लाग्छ । थाहा छैन, सच्चा एमाले हुँदै गएपछि नेतामा आलोचनात्मक चेत हराउँछ कि आलोचनात्मक चेत हराएपछि मान्छे एमाले बन्छ । वा ‘भाइस भर्सा’ पो हुन्छ कि !

एमाले भनेको उडन्ते गफको स्रोत भएको आफ्नो पूर्व मान्यतामा जुकरवर्ग भर्सन थपिदिएकोमा भट्टराइलाई धन्यावाद दिंदै अब मूल विषयतिर फर्कौ ।

खड्गप्रसाद ओली प्रधानमन्त्री बन्नुअघिसम्म एमालेलाई केही उडन्ते बदनामीले चिनिन्थ्यो । जस्तै, स्टाटेलाइटबाट बिजुली बेच्ने सपना, महाकाली सन्धी पारित गरिए नेपालले वार्षिक १ खरब २० अरब आम्दानी हुने हिसाबकिताब, आधा सच्चिएको प्रतिगमन, बयलगाडा चढेर अमेरिकाजस्ता धेरै उडन्ते गफहरुमा एमालेत्व जोडिएको छ ।

खड्गप्रसाद ओली प्रधानमन्त्री भइसकेपछि त एमालेको पहिचान नै उडन्ते गफ गर्ने बाङ्गा गफ गर्ने, हसाँउने, ताली खाने, रमाइलो गराउनेमा केन्द्रित भयो । भइरहेका छन् । मुक्ति र परिवर्तनका ठोस आधारहरुका कुरा गर्न छाडे । विकास भन्यो, तथ्य र अध्ययनबिना ठूल्ठूला गफ ठोक्नु नै एमालेको पहिचान बनिरहेको छ । अल्पसङ्ख्यक र सीमान्तकृतहरुको खिल्ली उडाएर रमाइलो गर्नु एमालेको दैनिकी बनिरहेको छ । कहिलेकाहिँ त लाग्छ–  एमालेको आन्तरिक मिटिङहरुमा कतै अन्ताक्षरी र चुट्कीला प्रतियोगिता पो चल्छ कि !

एमालेको अर्को रमाइलो बानी छ, जस लिने । खड्गप्रसाद सरकारमा रहँदा व्यापक राजनीतिक नियुक्ति, भोजभतेरमा भुलेर लाखौं रुपैयाँ उडाउँदै रेल र तेलको सपना बाँड्दै समय व्यतित गरेको विगत पुरानो होइन । तर, सरकारका हरेक महत्त्वपूर्ण काममा एमाले नेताहरु जस लिन भने अघि सरिहाल्छन् ।

– लोडसेडिङ हटाउन विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको भिजन र उर्जामन्त्री जनार्दन शर्माको साथ रहेको राजनीति प्रति सामान्य चासो राख्ने सबैले बुझेकै कुरा हो । तर, ओलीलाई त्यसमा आफ्नो हिस्सा दावी गर्ने गर्छन् । उनले १४ फागुन २०७३ मा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भनेको थिए– लोडसेडिङ आफ्नै सरकारले बनाएको कार्ययोजना अनुसार भएको हो । त्यस्तै, ८ बैशाखमा काठमाडौंको पिपुल्स क्याम्पसमा आयोजित कार्यक्रममा लोडसेडिङको जस नक्कली फादरलाई दिइएकोमा असन्तुष्टि जनाएका थिए । र दोहो¥याएका थिए– लोडसेडिङ अन्त्यको योजना एमालेको हो ।

तर, के यो सत्य हो । समाचारहरु र अभिव्यक्तिहरुको फ्याक्ट चेक गर्ने वेवसाइट साउथ एशिया चेकले यसबारे पनि फ्याक्ट चेक गरेको थियो । त्यसको निष्कर्ष यस्तो थियो– कात्तिकपछि लोडसेडिङ घटाउन चालिएका कदमहरुमा केपी ओलीको सरकारले बनाएको कार्यदिशामा उल्लेखित धेरै कुराहरु लागु नै भएको छैन ।

– ओली कति उडन्ते कुरा गर्छन् भन्ने कुराको अर्को उदाहरण पनि हेरौं । प्रधानमन्त्रीको रुपमा आफू विरुद्धको अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा ओलीले आफ्नो सरकारले भुकम्प पीडितका लागि ३० हजार सामुदायिक आवास र ९० वटा सामुदायिक भवन बनाएको भने । तर, त्यस्ता कुनै पनि भवन बनेकै थिएनन् । के–के न गरेको छु भन्ने भ्रममा आफू त रहे, अरुलाई पनि भ्रम बाँडे ।

– सरकारले वान बेल्ट वान रोड अवधारणामा सही ग¥यो । एमाले सचिव भट्टराइले हतारहतार ट्वीट गरे– एमाले सरकारको बेलामा शुरु भएको OBORमा नेपालको सहभागिताले आज औपचारिकता पाएको छ । राम्रो काम ।
एमालेले के कति ग¥यो सबै स्पष्ट नै छ ।

अर्को समाचार पनि यहाँ थपिहालौं । योचाहिँ बिजमाण्डुबाट सीधै केही अंश लिइएको हो । समाचारमा उल्लेख छ– 
नेकपा एमालेका नेता योगेस भट्टराईले आफ्नो फेसबुक वालमा एउटा भिडियो पोस्ट गरे- सर्टिफिकेट धितोमा युवाले धमाधम ऋण लिएर व्यवसाय गरेको।

केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा ल्याएको कार्यक्रम अनुसार युवाले धमाधम ऋण पाएर व्यवसाय गरिरहेको भिडियोमा देखाउन खोजिएको छ। चुनावको मुखमा मतदातालाई 'आकर्षित' गर्न पोस्ट गरिएको भिडियो भने आँफैमा भ्रमित पार्ने खालको छ।

अर्थात आजसम्म सर्टिफिकेट धितोमा कसैले पनि ऋण पाएका छैनन्। जबकी भिडियोमा हजारौंले ऋण पाएको सन्देश दिन खोजिएको छ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बजेटमा आएको कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यविधि बनाउने कुरा भए पनि त्यो नबन्दा कसैले पनि ऋण नपाएको बताए।

– एमाले भइसकेपछि एकमात्रै सत्य त्यही एमाले हुँदोरहेछ । उडन्ते गफको प्रवाहमा मात्रै होइन, त्यस्ता गफमा विश्वास पनि लाग्दो रहेछ । जस्तै, बौद्धिक र समझदार नेता भनेर चिनिने प्रदीप ज्ञवालीले बतासे इन्डियन साइटलाई समेत कोट गर्दै भ्रम बाँडे । “आत्मसमर्पण गरेका (भारतीय) माओवादीले भने, नेपालका प्रधानमन्त्री प्रचण्डबाट ट्रेनिङ लिएका थियौं” भन्ने समाचारलाई कोट गर्दै ट्वीट गरे– “यसो भन्छन् त माओवादी” । ज्ञवाली जत्तिको नेताले यसको सत्यताबारे मूल्याङ्कन गर्न नसकेको किन होला ?

कैयौं समाचार दिनभरी प्रकाशित र प्रशारित हुन्छन् । एमाले नेताका उडन्ते बोली रोचक हुनेभएकाले बढीजसो हेडलाइन नै बन्ने गरेका छन् । तर, थारै मात्र क्रस चेक गर्ने हो भने ती तथ्यभन्दा पर रहेको सहजै बुझ्न सकिन्छ । तर, त्यस्तो संस्कृति नै पो कहाँ छ र ?

लेखाइमा र भाषणमा एमाले नेताहरुको उडन्ते गफको प्रवाह जारी छ । सत्तामा रहँदा होस् वा बाहिरिँदा जनतालाई भ्रम छर्ने गफहरु प्रवाह गर्नु नै एमालेको पहिचान भएको छ । चुनावअघिको जनपरिचालन अभियानमा एक करोड जनता उतार्ने , फोटो खिच्न स्याटेलाइटको सहारा लिनुपर्ने  , चन्द्रमामा जानुपर्ने   जस्ता अनेक हास्यप्रधान भाषणको स्रोत एमाले बाहेक अरु हुनै सक्दैन । भाषण सुन्नेहरुको ताली बढ्न थालेको मौका छोपी नेताहरु एकअर्कालाई देवत्वकरण गर्न समेत पछि नपर्ने बेला आयो । जस्तो, एउटा कार्यक्रममा बामदेवले भने– केपी ओली इतिहासकै राष्ट्रवादी नेता

गुगलमा ‘एमाले’ सर्च गर्ने हो भने यस्ता रमाइला गफ धेरै भेटिन्छन् ।

एमाले नेताले  नैतिकता र कम्युनिष्ट आदर्श बिर्सेर उडन्ते गफ नै एकमात्र सिद्धान्त भएको पुष्टि गर्न थाले । जस्तै एउटा कार्यक्रममा एमाले अध्यक्ष ओलीले भनिदिए– अलच्छिन सरकार ! गाडी नपल्टिएको दिनै छैन
। अन्धभक्त कार्यकर्तालाई यो स्खलित वाणिमाथि प्रश्न गर्ने आवश्यकता बोध हुँदैन । किनकि, ओलीले बोलेको गल्ती हुँदैन भन्ने मान्यता गढेको छ । त्यसो त रमाइलो मान्न छाडेर कसले पो दिमाग दुखाओस् ।

कम्युनिष्ट पार्टी भनेको छ, रणनीति र कार्यनीति केही छैन । कहाँ पुग्ने, कसरी पुग्ने, किन पुग्ने कुरामा केही मतलब छैन । यत्रो वर्ष सरकारमा रहेर के गरियो त ? केही न केही ! भोट माग्दा २२ वर्षअघिको बृद्धभक्ता सम्झियो । चुनाव जित्यौं भने बढाइदिन्छौं भन्यो, दिमाग भुट्यो ।

सिद्धान्तहरु सबै चुट्किला भए, चुट्किलाहरु सिद्धान्त भए । कार्यकर्ताहरु हनुमान भए । तब पो एमाले ।

अन्तिममा, एउटा समाचार, जुन आजैको कान्तिपुरमा प्रकाशित छ–

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार लुटेरा र भ्रष्ट भएको आरोप लगाए । उनले सरकारले ढुकुटी दुरुपयोग गरी गैरबजेट रकमलाई रकमान्तर गरी भरतपुरको चुनावमा ९८ अर्ब लगानी गरेको आरोपसमेत लगाए । 

चालु आर्थिक वर्षको कुल बजेट १० खर्ब ४८ अर्ब, ९२ करोड १३ लाख ५४ हजार हो । यसरी ओलीको आरोपलाई पत्याउने हो भने त्यहाँ कुल बजेटको झण्डै साढे ९ प्रतिशत खर्च गरिएको देखिन्छ । यो कति विश्वसनिय होला, आफै मूल्याङ्कन गर्नुहोस् ।

(लेख्नेबेलामा सम्झनामा आएका केही कुरा मात्रै यहाँ समावेश छन् । एमालेको उडन्ते गफको वर्णन गर्न ‘हजार जिब्रा भएका शेष नाग’ पनि सक्दैन । म कसरी पो सकौंला र ? फेरि सम्झनामा आएछन् भने थपौंला । अँ, देशमा एमालेचाहिँ चाहिन्छ है, कहिलेकाहिँ त यसो रमाइलो पनि त चाहियो नि !)

No comments:

Post a Comment