Pages

Sunday, May 3, 2015

सम्झनामा वैशाख १२

किशोर दहाल

 २०७० बैशाखदेखि २०७२ सालकाे सुरूवाती महिनासम्म मैले नुवाकाेटकाे एउटा सामुदायिक विद्यालयमा अध्यापन गरेँ । त्यहाँ रहँदा, म एउटा घरकाे बुइगल (तेस्राे तला) मा बस्थेँ । सुरूमा डेढ वर्ष ३ जना, पछिल्लाे तीन महिना २ जना र २०७२ साल बैशाखदेखि म एक्लै बस्न थालेकाे थिएँ । हामी सबै शिक्षकहरू नै बस्थ्याैं । तर, भुकम्प आउँदा म एक्लै थिएँ ।)

२०७२ वैशाख १२ गते शनिबार !

खाना खाइसकेर कपडा धुँदा बिहानको ११ जति बजिसकेको थियो । म बेडमाथि बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साेही पाठकाे परीक्षा (युनिट टेस्ट) लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र काठमाडाैंका केही बाेर्डिङका पुराना प्रश्नहरु हेर्दै थिएँ । प्रश्न हेर्दै आराम पनि गरिरहेको थिएँ भन्दा पनि हुन्छ । केहीबेर पछि नुहाउने योजनामा थिएँ ।

म ढुङ्गा र माटोले बनेको घरको तेश्रो तला (बुईंगल)मा बस्ने गर्थें । चैत्र महिनाको मध्यसम्म त्यस कोठामा हामी दुईजना बस्थ्यौं । अर्को सरले स्कूल छाडेर गएपछि म एक्लै बस्न थालेको थिएँ । तल्लो तलामा एनजिओका एकजना स्टाफ बस्नुहुन्थ्यो । त्यस दिनचाहिँ घरमा म एक्लै थिएँ । घरबेटीहरु नजिकैको अर्को घरमा बस्नुहुन्थ्यो ।

पहाडको घरहरु भुकम्पको दृष्टिकोणले निकै जोखिमपूर्ण हुनेगर्छ । म पहिलो पटक पहाड आउँदा नै घरको संरचना देखेर डराएको थिएँ । घरको संरचना र भुकम्प एकसाथ सम्झिंदा मेरो आङ सिरिङ्ग हुन्थ्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँरहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल उभ्याइएको मात्रै हुँदो रहेछ । कच्ची नै भए पनि हाम्रो तराइमा खाँबाे गाडेर घर बनाइन्छ । तुलनामत्मक रुपमा भूकम्पीय जोखिम पनि कम हुन्छ ।

प्रश्नपत्र हेर्दै गर्दा जस्ता बज्न थाल्यो । जस्ता लगाइएको घरमा सामान्य कम्पनमा पनि जस्ता बज्ने गर्छ । घाम तातिदैं र सेलाउँदै जाँदा नियमित बज्ने भएकाले अस्वभाविक लाग्दैनथ्यो ।  तर, यसपटक जस्ता अलि चर्कै गरि बज्न थाल्यो । सँगसँगै घर पनि हल्लिन थाल्याे । भुकम्प गइरहेको छ भनेर बुझ्न समय नै लागेन । नजिकै रहेको मोबाइल गोजीमा हालेँ ।

धरहरा चढ्ने रहर !

किशोर दहाल

          म २०६५ सालमा पहिलो पटक काठमाण्डौं आएको थिएँ । बिएड प्रथम बर्षको परिक्षा सकिएको केही दिनमा म काठमाण्डौं आएको थिएँ । त्यतीबेला मामाहरु काठमाण्डौं, ताहाचलमा बस्नुहुन्थ्यो ।
           काठमाण्डौं गएको दोश्रो दिन बिहान नै म भाइबहिनीसँग स्वयम्भु र बेलुका मामासँग रत्नपार्क वरिपरि घुमेँ । त्यसपछिका दिनमा भने म प्रायः एक्लै नै डुल्न थालेँ ।
          तेश्रो दिन म सुन्धारातिरै घुमिरहेको थिएँ । एक जना दाईलाई भेट्टाएँ । पहिले खासै बोलचाल भएको नभए पनि उनी एउटै कलेजका अघिल्लो ब्याचका बिद्यार्थी थिए । उनी पनि मजस्तै बिना गन्तब्य डुलिहिँडेका रहेछन् । गफ गर्ने साथी भेटियो । एक्लै हिड्नु परेन । त्यतैतिरको एउटा गल्लीमा दुबैजनाले मःम खायौँ । 
          तिनै दाजु र मैले धरहरा चढ्ने सल्लाह ग¥यौं । पहिलो पटक काठमाण्डौं आएकोले यहाँको बढि भन्दा बढि दृश्य हेर्ने हाम्रो रहरलाई धरहराको उचाईले सघाउ पु¥याउँथ्यो । धरहराको टुप्पोबाट म काडमाण्डौलाई राम्रोसँग नियाल्न चाहन्थें ।
          त्यो दाजु र म धरहराको फेदमा पुग्यौं । त्यहीं पुगेपछि थाहा भयो– धरहरा चढ्नको लागि ५० रुपैयाँको टिकट काट्नु पर्ने रहेछ । त्यतीबेला ५० रुपैयाँ निकै महँगो लाग्यो । मैले मात्रै होइन, त्यो दाजुले पनि पचास रुपैयाँ टिकटदरलाई महँगो नै भएको प्रतिक्रिया दिए । हामी धरहरा नचढी फर्कियौं ।
            म केही दिन पछि काठमाण्डौबाट फर्किएँ । बिएड सकिएपछि म फेरी काठमाण्डौ गएँ । धरहराको बाटो धेरै पटक हिडेँ । त्यही छेउको मःम पसलमा मःम पनि निकै पटक खाएँ । मःम खाँदाखाँदै महँगो दरको टिकटले पहिलो पटक धरहराको फेदमा पुगेर पनि नचढेको कुरा धेरै साथीभाईलाई सुनाएँ । तर, धरहरा भने चढिनँ ।
          ९० सालको भुकम्पमा धरहरा भाँचिएको खबर पढे पनि अब फेरी त्यसै गरि लडिहाल्ला भन्ने मैले कहिल्यै सोचिनँ । जतिपटक ओहोरदोहोर गर्दा पनि धरहरा उसै गरि शानका साथ ठडिरहेको हुन्थ्यो । मलाई पनि धरहरा सधैंभरि आफ्नै पहुँचमा छ जस्तै लाग्थ्यो । जहिले चढे पनि हुन्छ भन्ने लाग्थ्यो । चढिहाल्ले जाँघर कहिल्यै चलेन ।
           सुरुमा म काठमाण्डौ जाँदा मःम सस्तो थियो, धरहरा महँगो थियो । पछिल्लो समय धरहराभन्दा मःम महँगो भइसकेको थियो । अहिले टिकटको निम्ति समस्या छैन । समस्या एउटा मात्रै छ, अब धरहरा छैन ।
         अहिले लाग्छ, बरु त्यसदिन खाजा नखाएर भए पनि, धरहरा चढेको भए पनि हुने रहेछ ।
                                          twitter: kishu_gb123

घरै भत्केपछि !


किशोर दहाल

           २०७२ साल बैशाख १२ गते शनिबार । दिउँसो ११ बजेर ५६ मिनेट ।
           नेपालको इतिहासमा यो मिति अब यसरी दर्ज भएको छ कि कसैले चाहेर पनि भुल्न सक्ने छैन । महाभुकम्पको कुख्याती यसै मितिको नाममा जोडियो । त्यस महाभुकम्पले धेरैलाई घरबारबिहिन बनाईदिएको छ ।
           देशभरिको रिपोर्ट सञ्चार माध्यममा आइरहेको छ । बिशेषगरि राजधानी र सदरमुकामहरुको खबर प्रमुख बनिरहेको छ । हेलिकप्टरमा घुम्न पाएका केहि पत्रकारका क्यामेराले खिच्न भ्याएका दृश्यहरु टिभी च्यानलले प्रशारण गरिरहेकै छन् । फोटोहरु पत्रिका र अनलाइनहरुले प्रकाशित गरिरहेकै छन् ।
            भुकम्प आउँदाको क्षण र त्यसपछिको पाँच दिन म नुवाकोटको दुर्गम गाबिस महाकालीको सिलामे गाउँमा थिएँ । यहाँको लगभग सम्पूर्ण घर भत्किएका छन् । प्रायः घर लडेका छन् । लड्न नसकेका घरहरु नराम्रोसँग चर्किएका छन् । तीमध्ये कुनै पनि घर बस्नलायक छैनन् । भुकम्पबाट केही मानिसको मृत्यु भएको छ । केही घाइते भएका छन् । यद्यपि उद्धारको खाँचो भने छैन । केबल राहतको खाँचो छ । बिहिबार बिहान मैले सिलामे छोड्ने बेलासम्म त्यहाँ राहतको ‘र’ पनि पुगेको थिएन । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी मुकेश भट्टराईसँग सम्पर्क गर्दा एउटा परिवारलाई १० केजीका दरले चामल पु¥याईएको छ । करिब ९०० घरधुरी रहेका ठाउँमा ४० वटा पाल पु¥याईएको छ । पाल बाड्न नसकेपछि स्कुलमा थुपारिएको छ । बाँकी पाल आएपछि बाड्ने कार्यक्रम तय भएको रहेछ । हप्तादिन पछि ‘हात्तीको मुखमा जिरा पुगेको’ थियो, अब कहिले पुग्ला ?
             म स्थानिय जानकी मा.बि.को शिक्षक हुँ । घर धनुषामा पर्छ । र, म अहिले आफ्नै घर आइपुगेको छु । तर, मेरो दिमागमा घुमिरहेको त्यही सिलामेका दृश्यले मलाई यी शब्दहरु लेख्न बाध्य तुल्याईरहेको छ । म यत्रो दिन सञ्चार सम्पर्क र इन्टरनेटको पहुँचबाट टाढा रहेँ । सरकारी तहको प्रयासबारे सामान्य अपुष्ट खबर बाहेक धेरै कुरा थाहा छैन । त्यो गाउँमा राहत नपुगेर जनजीबन कष्टकर भएको देखेपछि मात्रै म यो शब्द लेखिरहेको छु ।
             पहाडका घरहरु सामान्य माटो र ढुङ्गाको सहायताले बनाईने गरिन्छ । तराईमा जन्मे–हुर्केको मलाई पहाडको त्यो गाउँमा पुग्दा त्यहाँको घर बनाउने शैलीले अचम्मित तुल्याउने गथ्र्यो । बिशेष जग र खम्बाबिना नै तीनतले घरहरु ठड्याउने गरिदोँ रहेछ । न त जग बलियो हुन्छ, न त पर्खाल नै । ढुङ्गालाई माटोको सहारामा अड्याएर केबल घर बनाईको हुँदो रहेछ । सामान्य अबस्थामा पनि त्यस्ता घरहरु निकै असुरक्षित हुन्छन्, झन् ठूलै भुकम्प गएपछि त्यस्ता घरहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन् । अधिकांश घरका छानाले भूईं टेक्न पुगे । जसले गर्दा मानिसहरु केही क्षणमै घरबारबिहिन हुन पुगे ।
            भुकम्पबाट म आफैं पनि संयोगले बाँचेको थिएँ । भुकम्पको धक्का कम हुन थाले पछि म गाउँतिर निस्किएँ । नजिकै पाँचवटा घर भएको एउटा गाउँका सबै घरहरु सुतेका थिए । एकजना च्यापिएका रहेछन् । स्थानियको सहयोगमा उनलाई उद्धार गरिएको थियो । पहाडको गाउँ भएकोले वरिपरिका गाउँको घरहरु लडेका देख्न सकिन्थ्यो । धेरै गाउँहरु सुतेका थिए । भुकम्पले क्षति पु¥याउँछ भन्ने थाहा थियो, तर यसरी गाउँ नै सुत्न सक्छ र सबैलाई शोकमा डुबाउँछ भन्ने थाहा थिएन । म केही घरहरु डुलेँ । सबै उस्तै थिए । बस्नलायक घर कुनै थिएनन् । भत्केका घर त भत्किनै हाले, चर्केका र फुटेका घरहरु झन् बढि जोखिमपूर्ण लाग्दथे । तिनीहरुले खतरा बढाईरहेका प्रतीत हुन्थे । हावा बेस्सरी चलेको थियो । पानी पनि पर्ने छाँटकाँट पनि देखिन्थ्यो । त्यो गाउँमा त्रिपाल सबैसँग हुने कुरै थिएन । बाक्लो गरिब तमाङ बस्ती भएकाले त्यस किसिमको जोहो सबैले गर्न सक्ने हैसियत पनि थिएन । अधिकांशसँग त बोरा टाङ्न बारीको पाटो पनि छैन । भोकै होस्, अनिदो नै होस्, धेरैले त्यो रात कटाए । रात कटाए भनौं, सुत्न त के सक्नु र ?
          अहिले प्रायः सबैले सानोठूलो पालमा रात कटाईरहेछन् । कसैले भत्केको घरको जस्ता उप्काएर सामान्य टहरा बनाएका छन् । प्रायः परिवार सामूहिक रुपमा बसिरहेका छन् । अबको बासस्थान कहाँ, कस्तो हुने धेरैले सोच्नै सकेका छैनन् ।
          अरु जुन सुकै आपत पर्दा, क्षति हुँदा मानिस बेलुका घर पुगेर चिन्ता गर्छ । दुई छाक मीठो मसिनो खाएर समस्याको समाधानको लागि उपायहरु सोच्ने गर्छ । तर, घरै भत्केपछि मानिसमा आत्मबल नै हराएर जाँदो रहेछ । केही सोच्ने उत्साह नै मर्दो रहेछ । खान मीठो नभए पनि सुत्न त घर छ नि भन्ने मानिसको एउटा आत्मबल घर भत्केसँगै भत्किदोँ रहेछ । प्रायः मानिसको झुपै्र सहि, साघुँरो नै सही सुस्ताउने घर त थियो । त्यसले अन्य समस्याबारे निधार खुम्च्याउन भर त दिन्थ्यो । तर, अब त्यही घरको पनि भर भएन । घर नै खतरनाक भइदियो । घरले नै किचिदेला भन्ने त्रास भयो ।
         पूनर्निमाणमा झन् बढि सकस छ । सबैका घर भत्किएका छन् । कसैलाई कसैले सहयोग गर्न सक्ने स्थिति पनि छैन । त्यो पहाडलाई राज्य निकै टाढा भइरहेको छ । स्थानियको होसहवास उडेको छ । के गर्ने, कसो गर्ने अन्योलता छाएको छ । बर्षा सुरु हुनै लागेको छ, प्रत्येक दिन पानी परिहेकै छ । भुकम्पले चर्किएको जमिनमा पहिरो जाने सम्भावना छ । कहाँको जमिनमा पहिरो जाने हो, ठेगान छैन । खाने अन्न पुरिएको छ । बर्षा सुरु हुनु अगाबै घर बनाउन नसके झन् दुर्दिन भोग्नुपर्नेछ । बौलाह रुपमा पर्ने पानीको आबेगलाई सामान्य त्रिपालको छाप्रोले कसरी थेग्ला र ?
         बिद्यार्थीहरु बिद्यालयसम्म आउन गाह्रो छ । बिद्यार्थीसँग किताब छैन, खाने अन्न छैन, पोषाक छैन । मूख्यतः घर नै छैन । कसरी पढ्लान् र ? भुकम्पले धेरै बिद्यार्थीको होस उडेको छ । प्रायसँग यो नाफाको जिन्दगीको आफ्नै कथा छ । दिमाग ‘फ्रेस’ नभएका बिद्यार्थीहरु के पढ्न सक्लान् र ?
        घरबारबिहिन निमुखाहरु प्रत्येक दिन गाउँको चोकमा आउँछन् । राहत आइपुग्छ कि भनेर अर्को अनभिज्ञलाई सोध्छन् । हेलिकोप्टरको आवाज आउने बित्तिकै ती त्यसैगरी जम्मा हुन्छन् । हेलिकोप्टर माथि–माथि उडेर खै कता जान्छ कुन्नि ! धेरैका अनुहारमा निराशाका बादल मडारिएर आँखाभरि आँसु छाउँछ । ती केही बोल्न सक्दैनन् । लुरुलुरु आफ्नै पालतिर फर्किन्छन् । ती भगवानलाई गाली गर्छन् ।  सरकार र उसको समन्वयकारी भूमिकाबारे उत्ती जानकार छैनन् ।
         गाउँमा जे जति सहयोगहरु आदानप्रदान भएको छ, सबै छिमेकीको सदासहायतामा भएका छन् । चुनाब जितेर गएका नेताको सामान्य आश्वासन पनि सुनिएको छैन । चुनाबताका निकै आश्वासन दिने नेता अर्जुननरसिंह केसी अहिले अमेरिकामा घुमिरहेका छन् रे भन्ने खबर गाउँमा पुगेको छ । आफ्ना प्रतिनिधि नेता सुरक्षित छन्, चित्त बुझाउने बाटो यही होला सायद ।
          खबरमा बिशेषगरी काठमाण्डौँ छाएको छ । कैयौँ तलाका भवनहरु भासिएका, ढल्किएका खबरहरु प्राथमिकतामा परिरहेको छ । तर, त्यो दुर्गम गाउँको खबर गुमनाम छ । देशभरिको कुल मृतकहरुको सङ्ख्यामा पनि त्यहाँको लास जोडिएकै छैन ।
twitter: kishu_gb123