Pages

Showing posts with label Annapurna Today. Show all posts
Showing posts with label Annapurna Today. Show all posts

Tuesday, August 1, 2017

इतिहासको विनिर्माण

किशोर दहाल

दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा पहिचानको मुद्दा जोडतोडका साथ उठ्यो । विशेषगरी पृथ्वीनारायण शाहको 'एकीकरण' अभियानसँगै रणनीतिक रूपमा दबाइएका थुप्रै समुदायले आफ्ना विशिष्ट पहिचानको खोजी गर्न थाले । आन्दोलनहरू भए । कतिपयले यसलाई अराजकतासँग जोडे र पृथ्वीनारायणले एकीकरण गरेको मुलुकलाई पुनः टुक्राउन खोजेको अर्थमा व्याख्या गरे । धेरै कमले मात्रै शाह राजाहरूले राष्ट्रियताको प्रबद्र्धनका नाममा ‘होमोजेनियस’ नेपाली जातिको उत्पादन गर्न खोज्दा विविध समुदायले सहेको लामो दलनविरुद्ध विद्रोह भनेर बुझे । एकै किसिमको नेपाली जाति उत्पादन गर्न खोज्दा यहाँका धेरै समुदायको आत्मसम्मान, स्वाभिमान, सिर्जनशीलता, रचनात्मकतामा कसरी अवरोध पुग्यो, उनीहरूलाई कसरी शिर झुकाएर जिउन बाध्य पारियो भन्नेमा धेरै कमले चासो दिए । तिनै कममध्येका एक जना लेखक हुन्, युग पाठक । जसले आफ्नो पछिल्लो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा सम्पूर्ण जनता र राष्ट्रको शिर उठाउन जरुरी भइसकेको आवश्यकता प्रस्तुत गरेका छन् ।

लिम्बू शब्द माङ्गेनाको दार्शनिक अर्थ हो– मान्छेको शिर झुक्नु हुँदैन । इतिहासदेखि शिर झुकाएर, आफ्नै देशमा अपमान सहेर बाँच्न बाध्य नागरिकको शिर नउठाइकन, उनीहरूमा आत्मविश्वास र स्वाभिमानको प्राण नभरिकन मुलुकले अगाडि बढ्ने नैतिक बल पाउँदैन भन्ने मूल आशय पुस्तकको छ । माङ्गेना शब्दले शिर उठेको व्यक्तिमाथि गरेको कल्पनालाई लेखकले यहाँका अनेक समुदाय र सिंगो राष्ट्रसँग जोडेका छन् ।

पुस्तकमा केही अनुसन्धानमूलक आलेख र केही खुला निबन्ध छन् ।जसमा नेपालको अवधारणा र पुनःपरिकल्पना, विकास, बौद्धिकता, मिडिया, भाषा र रेमिटेन्सलगायत १२ विषय समेटिएका छन् । केही खुला निबन्ध यसअघि नै राष्ट्रिय पत्रिका र जर्नलमा प्रकाशित भइसकेका छन् । प्रकाशित सम्पूर्ण आलेखमा लेखकले आफ्नो ज्ञानको फराकिलो दायरा र लेखनको विशिष्ट क्षमतालाई प्रस्तुत गरेका छन् । पूजापाठले रंगिएको नेपाली इतिहासको पत्र–पत्र छुट्याएर देखाइदिएका छन् । इतिहासको भाष्य राजाको स्तुतीगानमा होइन, जनताको पसिना र सपनाले सिञ्चित हुनुपर्ने उनको तर्क छ । मुख्यतः नेपालीकरण, नेपाली भाषा, राष्ट्रियताको जुन भाष्य प्रचलनमा छ, त्यसलाई उधिन्ने प्रयास गरेका छन् । त्यस्तो भाष्यलाई स्वभाविक सत्य बनाउन, आदत र सम्मति स्थापित गर्न गरिएको प्रयत्नहरूको लामो व्याख्या गरिएको छ ।

Monday, July 31, 2017

तिब्‍बती शरणार्थीका सकस


किशोर दहाल

नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र छन् भन्ने कुरा धेरै कमलाई थाहा छ । तिब्बती शरणार्थी एउटा यस्तो मुद्दा हो, जसबारे स्वयं भुक्तभोगीहरू पनि बोल्न डराउँछन्, लेखकहरू लेख्न हच्किन्छन् । राष्ट्रियस्तरमा सचेततापूर्वक बहसमा नआएको यस मुद्दाको केही आयामलाई समेटेर श्रीभक्त खनालले पुस्तक लेखेका छन्, ‘अप्ठ्यारो बाटोः तिब्बती शरणार्थीको संघर्ष–कथा’ । पुस्तकमा तिब्बती शरणार्थीको राजनीतिक मुद्दालाई सकेसम्म कम छुने प्रयासमा उनीहरूको नेपाल बसाइको कठिन संघर्षहरूलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।

कूटनीतिक अनुभवको दस्तावेज

किशोर दहाल
रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका उकाली–ओरालीहरूमा धेरै थरी भूमिका निर्वाह गरेका पाण्डेले आफ्नो जीवन भोगाइको अनुभव लिपिबद्ध गरेका छन्, आफ्नो आत्मकथामा ।
पाण्डेको भोगाइ उनको जीवन उनैका लागि जस्तो भएता पनि आमपाठकका लागि भने निकै रोचक छ । उनले १६÷१७ वर्षको उमेरमा सक्रिय पत्रकार÷सम्पादकका रूपमा विश्व शक्ति सन्तुलनमा ठूलो प्रभाव राख्ने संसारका केही चर्चित नेता र राष्ट्रप्रमुखलाई प्रश्न सोध्ने आँट र अवसर पाएका थिए, जसलाई ती नेताले पनि ‘मार्क’ गरेका थिए । यस्तै, २० वर्षको उमेरदेखि नै राजा महेन्द्र र नजरबन्दमा रहेका बीपी कोइरालाबीच समझदारी गराउन कुशल सम्पर्कसूत्रका रूपमा काम गरेका थिए । उनको प्रयास सफल भने भएन ।
उनको परिपक्वता, रणनीति र कूटनीतिको विकास, परीक्षण र प्रयोग त्यही समयदेखि नै हुँदै आएको थियो भन्न सकिन्छ । जसले उनलाई पछि त्यही क्षेत्रमा परिचित गरायो । विभिन्न देशसँग सम्बन्ध स्थापित गर्न, सम्पर्क बढाउन र सहयोग आदानप्रदान गर्न, द्विदेशीय ‘कन्फ्युजन’ हटाउन उनले युवा उमेरदेखि नै सक्रिय भूमिका निभाएका थिए । जिम्मेवारीमा आइलागेका जस्तोसुकै काम पनि सहज र दृढताका साथ सम्पन्न गर्न लागिपर्ने उनको स्वभावले गर्दा नै हुनुपर्छ, फरक–फरक राजनीतिक व्यवस्था, राजा र प्रधानमन्त्रीहरूबीचमा पनि उनको सक्रियता कायम रह्यो । पुस्तकमा उनको त्यही सक्रिय जीवनलाई महशुस गर्न सकिन्छ ।

राजनीतिक पुनर्गठनको प्रस्ताव

किशोर दहाल
सीमान्तकृतलाई सपना र उच्च वर्गलाई सुविधा वितरण गर्ने चल्तीको राजनीतिप्रति आम मानिसको गुनासो निरन्तर छ । र, निरन्तर नै छ, समृद्धिको सपना पनि । नयाँ संविधान जारी भएपछि त्यो सपना झनै मुखरित भइरहेको छ । त्यसो त, अहिलेकै नेतृत्व र शैलीले त्यो सपना पूरा हुन सक्दैन भनेर ठोकुवा गर्नेहरू पनि छन् । तिनैमध्येका एक हुन्, केशव दाहाल ।
भर्खरै प्रकाशित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’मार्फत दाहालले नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । पुस्तकले अबको नेपाली राजनीतिको स्वरूप कस्तो रहने ? सैद्धान्तिक ढाँचा कस्तो हुने ? र, प्रत्यक्ष लोकतन्त्रलाई कसरी व्यवहारमा उतार्ने ? जस्ता सवालमा बहसको सिर्जना गर्ने प्रयास गरेको छ ।
नेपाली राजनीतिको अबको लक्ष्य समृद्धितिर बढ्नुपर्ने र त्यसका लागि सर्वप्रथम राजनीतिको अहिलेको ढाँचा फेरिनुपर्छ अन्यथा त्यसले चाहेजस्तो प्रतिफल दिन सक्दैन भन्ने पुस्तकको मूल आशय छ । त्यसका लागि उनले मूलधारका पार्टीका कार्यपद्धति र सैद्धान्तिक आवरणलाई पनि राम्रैसँग शल्यक्रिया गरेका छन् । चिरफारको सकारात्मक पक्ष के छ भने उनले त्यसमा आफ्ना आग्रह मिसाएका छैनन् ।
विचार र सिद्धान्तलाई सोही आधारमा केलाएका छन् । खँदिलो र सहज भाषामा आफ्ना तर्क राखेका छन् । उनको तार्किक शैली प्रशंसनीय छ । आफ्ना हरेक तर्कमा ऐतिहासिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरू, वर्तमान परिस्थितिसमेत विश्लेषण गरिएको छ । उनको तर्कलाई मन पराउन वा नपराउन सकिन्छ तर बेवास्ता गर्न भने सकिँदैन ।

अनलाइनको क्लिककारिता

किशोर दहाल
मिडियाको डिजिटलाइज हुँदै गर्दा अनलाइन पत्रकारिताले पनि मूलधारको स्वरूप ग्रहण गर्न थालेको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै अनलाइन पत्रिकाका ग्राहक वृद्धि भइरहेका छन् । कतिपयले त अब प्रिन्ट मिडियाको सान्दर्भिकता सकिने र अनलाइन पत्रकारिता निर्विकल्प हुने पनि बताउने गरेका छन् । समय र विषयवस्तुको नियन्त्रण नरहने भएकाले अनलाइन पत्रकारिताको आफ्नै अवसर र चुनौती छन् । बढ्दो प्रतिस्पर्धीका कारण यसको मुख्य ध्यान नै समाचारको पहिलो प्रस्तुतकर्ता बन्नमा केन्द्रित रहन्छ, यसले नै अनलाइन पत्रकारिताको सम्पूर्ण जटिलता सिर्जना गर्छ । अर्थात्, ‘हतारको काम लतार’ भनेजस्तो छिटो समाचार प्रकाशित गर्ने बाध्यताले बाँकी धेरै गडबडीलाई निम्त्याउँछ ।
कतिपय अवस्थामा त प्रकाशित समाचार अपूर्ण र अप्रमाणित तथ्यको शिकार हुने गर्छन् । सकेसम्म छिटो समाचार सामग्री प्रकाशित गर्नुपर्ने बाध्यता छँदैछ । सँगसँगै, पाठकको ध्यान आकृष्ट गराउनुपर्ने अर्को चुनौती पनि छ । जब पाठकले समाचारको शीर्षकमा क्लिक गर्छ, तब मात्र प्रकाशित समाचारको सान्दर्भिकता पूरा हुन्छ । त्यसैले पनि, प्रकाशित सामग्री पाठकको रुचिअनुसारको बनाउनु वा समाचार शीर्षकमा क्लिक गराउनु नितान्त आवश्यक छ । यही क्लिककारिताको बाध्यताले कैयौं अनलाइनको नाम र बदनाम दुवै भइरहेको छ ।