Pages

Showing posts with label Setopati. Show all posts
Showing posts with label Setopati. Show all posts

Tuesday, August 1, 2017

तनाव प्रवाह गराउने कथा

किशोर दहाल
राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’मा २० वटा कथाहरु छन्। अधिकांश कथाहरु राजनीति केन्द्रित छन्। तर, प्रेम, पत्रकारिताजस्ता फरकफरक क्षेत्रका विषयहरु पनि संग्रहमा अटाएका छन्। एउटै कथामा फरकफरक क्षेत्रका विषयलाई सफलतापूर्वक ‘ककटेल’ बनाएर लेख्नसक्ने र पाठकमा रुची कायम गराउनसक्ने आफ्नो विशिष्ट शैलीको परिचय दिएका छन्, पराजुलीले आफ्ना कथाहरुमा।
उनका कथामा फरकफरक पेशामा आबद्ध निम्न वर्गका मानिसदेखि उच्च वर्गका मानिससम्म पात्रका रुपमा उभिएका छन्। ती पात्रहरुले आफ्ना दैनिकी, अनुभव, विचार वा जिजिविषाका माध्यमबाट स्वयं आबद्ध क्षेत्रका कैयौं संगति/विसंगतिलाई उदाङ्गो पारेका छन्। कथा पढिरहँदा त्यसका पात्रहरुले हाम्रा जीवनका थरिथरिका भोगाइका फराकिलो सत्यको उजागर गरिरहेका प्रतीत हुन्छ। उनका कथाहरुले मनोरञ्जन कम, तनाव ज्यादा दिन्छन्। कारण, उनी जुन विषयमाथि कथा लेख्छन्, त्यसमा रहेका बेथितिको पर्दा उर्घाछन्। प्रेम जोडिएका कथा हुन् वा पत्रकारिता जोडिएका। उनी फुस्रा सौन्दर्य राग र पेशागत मर्यादा जोगाउनु पर्ने भ्रमबाट बाहिर निस्केका छन् । त्यस्तो कष्ट पनि गरेका छैनन्। देखेको र भोगेको विषयलाई निर्धक्कसित कथाको ढाँचा प्रदान गर्ने आँट गरेका छन्। हामीले भोगिरहेको समाज, राज्य व्यवस्था र अनेक किसिमका अप्ठ्यारा समयका तथ्यलाई आख्यानिकरण गरेर पाठकका दिमागमा ‘स्वीट पेन’ प्रवाह गर्नसक्नु पराजुलीको बिशेष खुबी र आँट हो।

Monday, July 24, 2017

बालबालिकालाई पनि सुनौं

किशोर दहाल

हाम्रो समाज बालबालिकाको बारेमा गम्भीरतापूर्वक सोच्ने तहसम्म पुगिसकेको छैन। उनीहरुको पनि मत बुझ्ने संस्कार त झनै छ्रैन। आवश्यक पनि ठानिँदैन। ‘केटाकेटी कुरा’, ‘ठूला मान्छे बोलिरहेको ठाउँमा केटाकेटी बोल्नुहुँदैन’ भन्नेजस्ता उखान, टुक्का वा संस्कार बलियो छ। यसले बालबालिकाको सरोकारमा परिवार र समाज उदासिन छ, नजरअन्दाज व्याप्त छ भन्ने स्पष्ट पार्छ। धेरैले गम्भीरतापूर्वक नलिएको बालबालिकाको सोचाइ, भोगाइ र अप्ठ्याराहरुका विषयलाई समेटिएको बालकथा प्रकाशित भएको छ– हाम्रो कुरा पनि सुन्नुस्।

आन्विका गिरीले लेखेको यस कथा संग्रहमा सातवटा बालकथाहरु छन्। कथाहरु बालबालिकाको दैनिक सरोकारका विषयमा लेखिएका छन्। उनीरुको पनि आफ्नै भोगाइ हुन्छन्। आफ्नै किसिमको बुझाइ हुन्छ। वस्तु र व्यवहारप्रति आफ्नै क्षमता अनुसारको धारणा हुन्छ। यस्तै कुरालाई विशेषतः अभिभावकहरुले ख्याल राख्नुपर्छ र उनीहरुलाई पनि छलफलहरुमा मुख्य सदस्यका रुपमा स्वीकार गर्नुपर्छ भन्ने आशय संग्रहका हरेक कथाहरुमा पाइन्छ।

ठूला मान्छेले ख्याल नै नगरेको घटना, व्यवहार, विषयमा बालबालिकाले कसरी धारणा बनाउने रहेछन् भन्ने बुझ्न पुस्तकले सघाउँछ। पुस्तक पढ्दा गर्दा साना नानीबाबुहरु हाम्रै अघिल्तिर नाचिरहेका, खेलिरहेका, उफ्रिरहेका प्रतीत हुन्छ। उनीहरुका अनन्त जिज्ञासा, चकचक, उपद्रव सबै महसुस हुन्छ।