राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’मा २० वटा कथाहरु छन्। अधिकांश कथाहरु राजनीति केन्द्रित छन्। तर, प्रेम, पत्रकारिताजस्ता फरकफरक क्षेत्रका विषयहरु पनि संग्रहमा अटाएका छन्। एउटै कथामा फरकफरक क्षेत्रका विषयलाई सफलतापूर्वक ‘ककटेल’ बनाएर लेख्नसक्ने र पाठकमा रुची कायम गराउनसक्ने आफ्नो विशिष्ट शैलीको परिचय दिएका छन्, पराजुलीले आफ्ना कथाहरुमा।
उनका कथामा फरकफरक पेशामा आबद्ध निम्न वर्गका मानिसदेखि उच्च वर्गका मानिससम्म पात्रका रुपमा उभिएका छन्। ती पात्रहरुले आफ्ना दैनिकी, अनुभव, विचार वा जिजिविषाका माध्यमबाट स्वयं आबद्ध क्षेत्रका कैयौं संगति/विसंगतिलाई उदाङ्गो पारेका छन्। कथा पढिरहँदा त्यसका पात्रहरुले हाम्रा जीवनका थरिथरिका भोगाइका फराकिलो सत्यको उजागर गरिरहेका प्रतीत हुन्छ। उनका कथाहरुले मनोरञ्जन कम, तनाव ज्यादा दिन्छन्। कारण, उनी जुन विषयमाथि कथा लेख्छन्, त्यसमा रहेका बेथितिको पर्दा उर्घाछन्। प्रेम जोडिएका कथा हुन् वा पत्रकारिता जोडिएका। उनी फुस्रा सौन्दर्य राग र पेशागत मर्यादा जोगाउनु पर्ने भ्रमबाट बाहिर निस्केका छन् । त्यस्तो कष्ट पनि गरेका छैनन्। देखेको र भोगेको विषयलाई निर्धक्कसित कथाको ढाँचा प्रदान गर्ने आँट गरेका छन्। हामीले भोगिरहेको समाज, राज्य व्यवस्था र अनेक किसिमका अप्ठ्यारा समयका तथ्यलाई आख्यानिकरण गरेर पाठकका दिमागमा ‘स्वीट पेन’ प्रवाह गर्नसक्नु पराजुलीको बिशेष खुबी र आँट हो।
