किशोर दहाल
सरकारले करिब दुई सय मेगावाट विद्युत जोगाउने महत्वाकांक्षी लक्ष्यका साथ
एलईडी बल्ब खरिद गर्ने प्रक्रिया सुरु गरेपछि त्यसमा अनियमितताको आशंका गर्दैै मिडिया तातिरहेको छ । खासगरी, कान्तिपुर दैनिकले बैशाख २५ गते
‘ठूलो आर्थिक चलखेल’ भन्दै समाचार छापेपछि त्यसले तरङ्ग ल्यायो । समाचारको मुख्य आशय छ– भारतमा रु. ३८ पर्ने एलईडी बल्ब विद्युत प्राधिकरणले रु. ६५ मा किन्न खोजेको छ र यसले आर्थिक अनियमितताको नियत राखिएको छ । लगत्तै अन्य केही मिडियाले पनि यस प्रकरणमा सक्रियता देखाए । २९ गते पुनः कान्तिपुरले नै
फलो अप समाचार प्रकाशित ग¥यो । प्रकरणका थप पाटाहरु खोलियो । र, मिडिया वारको स्थिति देखा परिरहेको छ । यहाँ यिनै कुराहरुलाई विश्लेषण गरिएको छ । विश्लेषणका लागि यस प्रकरणलाई छोएर लेखिएका फरक फरक मिडियाका समाचार र विश्लेषणलाई एकिकृत गर्दै र मेरो आफ्नो विश्लेषण पनि थपेको छुः
कान्तिपुर प्रतिको आशंका
- कान्तिपुर दैनिकले विगतदेखि नै ‘स्रोत’को हवाला दिँदै लोडसेडिङमुक्त अभियानप्रति असन्तुष्टि झल्कने समाचार सम्प्रेषण गर्दै आइरहेको थियो । लोडसेडिङमुक्त अभियानबारे चासो राखिरहेका जोसुकैले उसको यो समाचार शृङ्खलाप्रति आश्चर्य जनाउने गरेका हुन् । उसले गत तिहारपछि नै कुलेखानीको पानी बढी प्रयोग गरिएको र हिउँदमा झन् लोडसेडिङ बढ्ने समाचार प्रकाशित गरिरहेको थियो । धेरैले लोडसेडिङको बेला खपत हुने इन्भर्टर लगायतको सामानको विज्ञापनको लागि यस्तो नियोजित समाचार प्रकाशित गरेको हुनसक्ने आशंका गरेका थिए ।
- कान्तिपुरले विगतमा पनि लोडसेडिङबारे समाचार सम्प्रेषण गर्दा प्राधिकरणका उच्च अधिकारीको हवाला दिने गरेको छ । स्रोत शब्दलाई नाजायज मान्न त नसकिएला तर जतिबेला पनि लोडसेडिङ मुक्त अभियानको विरोधी जस्तो सुनिने त्यस्ता स्रोतको प्रयोगमा नै शंका लाग्नु स्वभाविक हो । र, बल्ब खरिद प्रकरणमा अहिले पनि स्रोतको प्रयोग गरिएको छ । कतै कान्तिपुरले समाचारलाई आफ्नो ढाँचा दिन त्यसखाले स्रोतको प्रयोग गरेको छ होइन ?
- कान्तिपुरकै विगत । पछिल्लो विगत, चन्द्रागिरीबारेको उसको केही फलोअप । जसलाई हिसाबकिताब मिलेर फलोअप गर्न छाडिएको आशंका गरिन्छ । त्यसअघि पनि स्रोतले चिप्ल्याएका केसहरु धेरै छन् ।
- सामाजिक सञ्जालमा बल्ब खरिद प्रकरणबारे प्रशस्त मत बाँडिएका छन् । फरक फरक मिडिया हाउसका फरकफरक विश्लेषणलाई केलाइरहेको छ । समाचारहरु सेयर भइरहेका छन् । तर, कान्तिपुरको पाठक प्रतिक्रियामा एकोहोरो र उसको समाचारमा समर्थन पुग्ने प्रतिक्रियालाई स्थान दिइएको छ । अझै रमाइलो त के छ भने, जसरी कान्तिपुरले कुलमानलाई दोषी नदिई जनार्दन शर्मालाई दोषी देखाउने रणनीति भएको अनुमान लगाउन सकिने समाचार प्रकाशित ग¥यो, पाठकपत्र पनि सोही अनुसारका छन् । यो उसको नियतमा नै रहेको खराबी हुन सक्छ वा त्यस किसिमको पाठक प्रतिक्रिया नै फेक हुनसक्छ । त्यसकारण, कान्तिपुरले आफ्नो लाइन अनुसारको पाठक प्रतिक्रिया प्रकाशित गरिरहेको त छैन ? भन्ने आशंका पनि उठेको छ । यो सत्य रहेछ भने, उसको समाचार पनि नियोजित हो भन्ने पुष्टि हुन्छ ।