३० वर्ष शासन गरेका राजा वीरेन्द्रको व्यक्तित्व जति शालीन र साधारण थियो, उनको राजकाज त्यति नै अप्रजातान्त्रिक
‘बाआमाका हामी तीन !’ यो स्ट्याटसका साथ २३ मंसिरमा नयाँ शक्ति नेपालकी नेतृ बन्दना सुवेदीले फेसबुकमा दुई दाजुभाइका बीचमा आफू बसेको तस्बिर पोस्ट गरिन् । दाजुभाइसँगको तस्बिरसँगै थप दुई तस्बिर पनि पोस्ट गरेकी छन् उनले आफ्नो फेसबुक वालमा । तीमध्ये एउटा, आमा कल्पना सुवेदीको हो भने अर्काे उनका बाबु दुर्गा सुवेदीको । बाबु दुर्गाको श्यामश्वेत रंगको पुरानो तस्बिरमुनि लेखिएको छ : सहिद दुर्गा सुवेदी, जन्म : जेठ २००२, शहादत : कात्तिक २०३६ ।
विसं ०३६ को शरद याममा जनकपुर अञ्चल प्रशासनले सिन्धुलीमा कम्युनिस्ट विरोधी अपरेसन सुरु गर्यो । त्यसक्रममा वामपन्थी नेताहरू ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी र दलबहादुर रञ्जन मगर गिरफ्तार गरिए । पक्राउ परेका सुवेदीको जिउँदै चार हातखुट्टा काटियो । दाउराको खलियोमा उनको बाँकी शरीर राखियो र मट्टीतेल छर्केर आगो लगाई हत्या गरियो । हाल नयाँ शक्ति नेपालको सचिवालय सदस्य तथा सिन्धुलीका पूर्वमाओवादी नेता गंगानारायण श्रेष्ठकी जीवनसंगिनी समेत रहेकी सुवेदी भन्छिन्, “माओवादी जनयुद्धप्रति राजा वीरेन्द्रले उदारता देखाएकै हुन् । तर, उनकै शासनकालमा बुबाको हत्या जसरी भयो, त्यो सम्झँदा वीरेन्द्रलाई कसरी प्रजातन्त्रवादी मान्ने भन्ने प्रश्न मनमा आइहाल्छ ।”
बन्दनाका बुबा दुर्गा सुवेदी मात्र होइन, राजा वीरेन्द्रको शासनकाल १७ माघ ०२८ देखि १९ जेठ ०५८ सम्ममा प्रजातन्त्रका लागि लडेका यज्ञबहादुर थापा, योगेन्द्रमान शेरचनजस्ता थुप्रै योद्धाहरू छानीछानी मारिए । सत्ता प्रायोजित राजनीतिक व्यक्ति हत्याको शृंखला नै चलाइयो उनको शासनकालमा तर पनि जनता पञ्चायत र दरबारविरुद्धको आन्दोलनबाट पछि हटेनन् (हेर्नूस्, हत्यै हत्या) । जनआन्दोलनका कारण जब गद्दीमाथि नै खतरा महसुस गरे, जनदबाब अनुभूत गरे, तब राजा वीरेन्द्रले कहिले जनमतसंग्रहको घोषणा गरे, कहिले पञ्चायतभित्रै वालिग मताधिकारका आधारमा प्रतिनिधि चुन्ने व्यवस्था ल्याए । ०४६ मा आन्दोलनकारीहरू एकत्रित भएर दरबारतिरै सोझिएपछि आत्तिएका राजा वीरेन्द्र बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भए । खासमा आफ्नो झन्डै ३० वर्षको शासनकालमा ‘प्रजातन्त्र’का नाममा राजा वीरेन्द्रले गरेको यत्ति नै हो । तर, यो बेग्लै कुरा हो कि, राजनीतिक सन्दर्भमा अनुदारवादी भए पनि वीरेन्द्र शालीन, भलाद्मी र साधारण जीवनशैली रुचाउने राजा थिए ।
तर, संसारलाई अहिंसाको पाठ सिकाएका मूर्तिपूजाका विरोधी गौतम बुद्ध साकार भगवान्का रूपमा पुजिएजस्तै, कतिपयका आँखामा राजा वीरेन्द्र पनि ‘प्रजातान्त्रिक राजा’ हुन् । आगामी १४ पुसमा उनको ७१औँ जन्मजयन्ती मनाइँदै छ । र, सम्भवत: त्यहाँ पनि उनलाई ‘प्रजातन्त्रवादी राजा’का रूपमा व्याख्या गरिनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, “नेपाली जनताको संघर्षका कारण मात्र बहुदलीय व्यवस्था पुन:वहाली गर्न बाध्य भएका थिए उनी । साँच्चिकै प्रजातन्त्रवादी भइदिएका भए बाबु राजा महेन्द्रका पालामा अपहृत प्रजातन्त्र ०२८ मा आफू राजा हुनासाथ जनतालाई फिर्ता गरिहाल्थे नि !”