Pages

Showing posts with label म्यागेजिन. Show all posts
Showing posts with label म्यागेजिन. Show all posts

Saturday, December 31, 2016

योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतको शब्दमा एमालेका अपराधहरु

कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः

१. २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

२. तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।

३. प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ प्रश्रतिको शिक्षा मन्त्रित्व कालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

Thursday, December 29, 2016

यसकारण प्रजातान्त्रिक थिएनन् राजा वीरेन्द्र

३० वर्ष शासन गरेका राजा वीरेन्द्रको व्यक्तित्व जति शालीन र साधारण थियो, उनको राजकाज त्यति नै अप्रजातान्त्रिक

‘बाआमाका हामी तीन !’ यो स्ट्याटसका साथ २३ मंसिरमा नयाँ शक्ति नेपालकी नेतृ बन्दना सुवेदीले फेसबुकमा दुई दाजुभाइका बीचमा आफू बसेको तस्बिर पोस्ट गरिन् । दाजुभाइसँगको तस्बिरसँगै थप दुई तस्बिर पनि पोस्ट गरेकी छन् उनले आफ्नो फेसबुक वालमा । तीमध्ये एउटा, आमा कल्पना सुवेदीको हो भने अर्काे उनका बाबु दुर्गा सुवेदीको । बाबु दुर्गाको श्यामश्वेत रंगको पुरानो तस्बिरमुनि लेखिएको छ : सहिद दुर्गा सुवेदी, जन्म : जेठ २००२, शहादत : कात्तिक २०३६ । 

विसं ०३६ को शरद याममा जनकपुर अञ्चल प्रशासनले सिन्धुलीमा कम्युनिस्ट विरोधी अपरेसन सुरु गर्‍यो । त्यसक्रममा वामपन्थी नेताहरू ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी र दलबहादुर रञ्जन मगर गिरफ्तार गरिए । पक्राउ परेका सुवेदीको जिउँदै चार हातखुट्टा काटियो । दाउराको खलियोमा उनको बाँकी शरीर राखियो र मट्टीतेल छर्केर आगो लगाई हत्या गरियो । हाल नयाँ शक्ति नेपालको सचिवालय सदस्य तथा सिन्धुलीका पूर्वमाओवादी नेता गंगानारायण श्रेष्ठकी जीवनसंगिनी समेत रहेकी सुवेदी भन्छिन्, “माओवादी जनयुद्धप्रति राजा वीरेन्द्रले उदारता देखाएकै हुन् । तर, उनकै शासनकालमा बुबाको हत्या जसरी भयो, त्यो सम्झँदा वीरेन्द्रलाई कसरी प्रजातन्त्रवादी मान्ने भन्ने प्रश्न मनमा आइहाल्छ ।”

बन्दनाका बुबा दुर्गा सुवेदी मात्र होइन, राजा वीरेन्द्रको शासनकाल १७ माघ ०२८ देखि १९ जेठ ०५८ सम्ममा प्रजातन्त्रका लागि लडेका यज्ञबहादुर थापा, योगेन्द्रमान शेरचनजस्ता थुप्रै योद्धाहरू छानीछानी मारिए । सत्ता प्रायोजित राजनीतिक व्यक्ति हत्याको शृंखला नै चलाइयो उनको शासनकालमा तर पनि जनता पञ्चायत र दरबारविरुद्धको आन्दोलनबाट पछि हटेनन् (हेर्नूस्, हत्यै हत्या) । जनआन्दोलनका कारण जब गद्दीमाथि नै खतरा महसुस गरे, जनदबाब अनुभूत गरे, तब राजा वीरेन्द्रले कहिले जनमतसंग्रहको घोषणा गरे, कहिले पञ्चायतभित्रै वालिग मताधिकारका आधारमा प्रतिनिधि चुन्ने व्यवस्था ल्याए । ०४६ मा आन्दोलनकारीहरू एकत्रित भएर दरबारतिरै सोझिएपछि आत्तिएका राजा वीरेन्द्र बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भए । खासमा आफ्नो झन्डै ३० वर्षको शासनकालमा ‘प्रजातन्त्र’का नाममा राजा वीरेन्द्रले गरेको यत्ति नै हो । तर, यो बेग्लै कुरा हो कि, राजनीतिक सन्दर्भमा अनुदारवादी भए पनि वीरेन्द्र शालीन, भलाद्मी र साधारण जीवनशैली रुचाउने राजा थिए । 

तर, संसारलाई अहिंसाको पाठ सिकाएका मूर्तिपूजाका विरोधी गौतम बुद्ध साकार भगवान्का रूपमा पुजिएजस्तै, कतिपयका आँखामा राजा वीरेन्द्र पनि ‘प्रजातान्त्रिक राजा’ हुन् । आगामी १४ पुसमा उनको ७१औँ जन्मजयन्ती मनाइँदै छ । र, सम्भवत: त्यहाँ पनि उनलाई ‘प्रजातन्त्रवादी राजा’का रूपमा व्याख्या गरिनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, “नेपाली जनताको संघर्षका कारण मात्र बहुदलीय व्यवस्था पुन:वहाली गर्न बाध्य भएका थिए उनी । साँच्चिकै प्रजातन्त्रवादी भइदिएका भए बाबु राजा महेन्द्रका पालामा अपहृत प्रजातन्त्र ०२८ मा आफू राजा हुनासाथ जनतालाई फिर्ता गरिहाल्थे नि !”

Friday, December 23, 2016

१ पुस ०१७ मा राजा महेन्द्रले गरेको सम्बोधन

आगे प्यारा प्रजा गैह्र के यथोचित

जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महशुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरण पैदा गर्छन् र देशमा स्थिरता आई विकास दु्रतगतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप, नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधानअनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै भएको थियो ।

Wednesday, December 7, 2016

म कंगाल थिएँ तर..

चर्चित ‘ह्यारी पोर्टर’ शृंखलाकी लेखक जेके रोलिङ विश्वकै धनाढ्यमध्ये गनिन्छिन् । कुनै समयमा उनलाई खाना जुटाउन पनि मुस्किल पथ्र्यो । असफल विवाह, असफल करिअर र सारा असफलताको पीडाबाट उठेर उनले आफूलाई संसारमै धेरै पढिने लेखकमध्ये उभ्याइन् । रोलिङले सन् २००४ अप्रिलमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वड विश्वविद्यालयमा दिएको कमेन्समेन्ट लेक्चरको सम्पादित अनुवाद :
म कंगाल थिएँ तर..

सुरुआती मन्तव्य दिनु निकै ठूलो जिम्मेवारी हो । यसले मलाई आफ्नो ग्र्याजुएसनको दिनको सम्झना गराइरहेछ । त्यो दिन सुरुआती मन्तव्य दिने व्यक्ति ब्रिटिस दार्शनिक ब्यारोनस म्यारी वार्नोक हुनुहुन्थ्यो । उहाँको भाषण सम्झँदा मलाई यो मन्तव्य तयार गर्न उत्साह आएको छ । मलाई उहाँले भनेको एक वाक्य पनि पूरै सम्झना छैन । तथापि मैले प्रयास गरेकी छु । उहाँले के भन्नुभएको थियो ? अँ, ‘पाउनसक्ने लक्ष्य’ । आत्मविकासको पहिलो पाइलो यही हो । यस्तै भन्नुभएको थियो उहाँले ।वास्तवमा यहाँ के बोल्ने होला भनेर मैले मेरो मन र मस्तिष्क निकै खियाएँ । मैले आफैंसँग पटकपटक सोधें, ‘म ग्र्याजुएसन गर्दा के जान्दथें ? २१ वर्षको उमेरमा मैले त्यस्तो के महत्वपूर्ण पाठ सिकेकी थिएँ ?

Monday, December 5, 2016

चिरविद्रोही तस्बिरको कथा

           इतिहास यदि व्यक्तित्वमा ढल्दछ भने, त्यसको कुनै एक अनुहार हाम्रा पुस्तक र स्मरणमा टाँसिएर बसेको हुन्छ । चाहे महात्मा गान्धी, माक्र्स, लेनिन सबैको एउटा लोकप्रिय चेहरा हाम्रा सामु छन् । यी अनुहार जुन, हाम्रो स्मृतिमा गढेर बस्छन्, ती कुनै एउटा निश्चित समयका तस्बिर हुन्, तर एउटा समयपछि ती फोटोग्राफरको कपिराइटको बाहिर दुनियाँमा फैलिन्छन् ।

           यो तस्बिर, जुन यहाँ प्रकाशित छ, यसलाई हेर्नेबित्तिकै प्रायः सबैले चे ग्वेभाराको फोटो भनेर सजिलै चिन्न सक्छन् । विश्वभर कम्युनिस्ट क्रान्तिकारीका रुपमा प्रख्यात चे आफैंले भने यो फोटो कहिल्यै देखेका थिएनन् । र, यो फोटो खिचेबापत फोटोग्राफरले कहिल्यै एक पैसा पनि पाएनन् । तर, दुनियाँको हरेक कुनामा यो फोटो प्रसिद्ध छ । यदि कुनै फोटो आफैं सेmिब्रिटी हुन्छ भने यसभन्दा ठूलो सेलिब्रिटी दुनियाँमा अर्को भेटिनेछैन ।

            विद्रोह र क्रान्तिको प्रतीकको रुपमा यो फोटो अहिलेसम्म विश्वमा सबैभन्दा बढी प्रकाशित फोटो हो । टाइम म्यागेजिनले पछिल्लो शताब्दीका सबैभन्दा महान् सय जनाको सूचीमा चेलाई समावेश गर्नुभन्दा अघिल्लो अंकमा चेको यस फोटोलाई विश्वमा सबैभन्दा बडी प्रकाशित फोटो घोषणा गरेको थियो ।

म केही जान्दिनँ

विस्लावा सिंबोर्स्का पोल्याण्डको बहुचर्चित कवि हुन् । नोबेल पुरस्कार प्राप्त गरेपछि ७ डिसेम्बर १९९६ मा उनले पुरस्कार ग्रहण समारोहमा दिएको भाषणको केही अंश, समकालीन नेपाली साहित्यसँग पनि मेल खाने भएकोले यहाँ प्रस्तुत गरिएको छ ।
 
          भन्छन्– भाषण गर्दा बोल्न सबैभन्दा गाह्रो हुन्छ, पहिलो वाक्य । जे भए पनि मैले त्यो त बोली नै सकेँ । तर पनि मलाई लाग्छ, पछिका दोस्रा, तेस्रा, चौथा र अन्तिम वाक्यसम्म पनि सबै गाह्रा नै हुन्छन्, किनकि मलाई कवितामाथि बोल्नु छ । म यो बिषयमा एकदमै कम बोल्छु, बोल्दै बोल्दिन भने पनि हुन्छ । जब मलाई यस्तो मौका आउँछ, मलाई यस्तो लाग्छ– यो मेरो बर्कतको काम होइन । त्यसैले यो मेरो भाषण केही छोटो त भई नै हाल्ला । कमजोरीहरु स–साना भएर आए भने झेल्न सजिलो हुन्छ ।

            स्पष्ट छ, हाम्रा कविहरु आफूलाई लिएर, खासमा आफैंलाई नै लिएर असमन्जस र सन्देहको स्थितिमा रहन्छन् । उनीहरु आफू कवि भएकोमा संकोचपूर्वक यसरी स्विकार्छन् मानौं उनीहरु कवि भएकोमा भित्रभित्र हीनताबोधले ग्रस्त छन् ।

Saturday, August 8, 2015

हिरोशिमा र नागासाकीमा एटम बम बर्षदा

सोमबार, ६ अगस्त १९४५ ।

पश्चिम जापानको सुन्दर शहर हिरोशिमा । साढेँ तीनलाख जनतालाई आफ्नो छातीमा बोकेर यो शहर गरम तर स्वच्छ आकाशसहित बिहानैदेखि मुस्कुराईरहेको थियो ।

त्यहाँ छाइरहेको शान्तिलाई एक्कासी बिहान ७:०९ बजेको खतराको साइरनले भंग ग¥यो । आकाशमा मडराइरहेको अमेरिकी बमबर्षक विमान बी२९ ले कुनै पनि बेला बम बर्षा गर्न सक्ने सूचना जारी भयो । तर त्यो विमान आकाशमा चक्कर मारेर बम नखसालीकन उत्तीकै फक्र्यो । ७:३१ मा अब सब ठीकठाक छ भन्ने सूचना जारी भयो । गएको ६ महिनामा दिनदिनै र रातिसमेत यस्तो क्रम लगातार व्यहोरिहेका भयग्रस्त र अनिंदा हिरोशिमाबासीहरु फेरि एकचोटि ढुक्क भए । बिहानको नास्ता गरेर उनीहरु आआफ्नो काममा लागे । साना बच्चाहरु खेल्न थाले । सडकमा मान्छेहरुको आवत–जावत बढ्न थाल्यो । ट्राममा भीड बढ्न थाल्यो । 

तर घण्टाभरमै त्यो विमान फेरि हिरोशिमाको स्वच्छ प्रभातकालीन नीलो आकाशमा चक्कर मार्न थाल्यो । तर यसपटक विमान एउटा मात्र थिएन, तीन तीनवटा थियो । ठीक ८:१५ बजे ‘एलोना गे’ नामको त्यो विमानबाट एउटा पाराशूट फुत्त तल खस्यो । खेलिरहेका बच्चाहरुले आकाशका त्यो दृश्य देखे र कराए ‘हेर, हेर पाराशूट ! पाराशूट !’ तल खसिरहेको पाराशूटमा लाम्चो गोलो कुनै बस्तु झुण्डिरहेको प्रष्टै देखिन्थ्यो । तर जापानीहरुलाई के थाहा त्यो सानो वस्तुले लाखौं जापानीहरुको मृत्यु असह्य वेदनाको बीउलाई आफ्नो गर्भमा बोकेको छ भनेर ? मान्छेला्रई थाहै थिएन– त्यो दुनियाँको सबैभन्दा पहिलो एटम बम थियो भनेर ।  

विमानबाट पाराशूटमा खसालिएको ‘लिटिल ब्वाय’ नाम गरेको त्यो आणविक बम लक्ष्य गरिएको आइवोइ पुलमा खसेन, त्यसको झण्डै दुई सय गज पर शिमा अस्पतालको आँगनको ५८० मिटरमाथि बीच आकाशमै भयानक जोडसित पड्कियो । सारै ठूलो आवाजले गर्दा मान्छेहरु त्यसको स्वर नै सुन्न समर्थ भएनन् । हिराहिमाबासीहरुले एक्कासी दुई तीन सेकेण्डसम्म सैयौं सूर्य किरण बराबरको नीलो सेतो प्रकाश आँखा नै चकाचौंध हुने गरी झिलिक्क बलेको महसुस गरे । तुरुन्तै त्यो बिष्फोटबाट चारैतिर यति चर्को ताप फिँजिन थाल्यो, मानौं, आकाशको सूर्य पिण्ड नै पृथ्वीमा झरेको छ ।

एटम बम बिष्फोट भएको ठाउँको ठीक मुन्तिरको जमिनमा पाँच सय गज वरिपरि अहिलेसम्म नदेखिएको सारै अचम्मको दृश्यहरु देखियो । त्यहाँ सबैथोक तुरुन्तै डढेर भष्म भए । जिउँदा मान्छेहरु अत्याधिक तापले गर्दा बाफ र धुँवामा परिणत भए । किनभने त्यहाँको तापक्रम चढ्यो तीन हजारदेखि चारहजार डिग्री सेण्टीग्रेडसम्म । बिष्फोट बिन्दुको डेढ किलोमिटर वरपरको तापक्रम नै ५४० डिग्रीभन्दा माथि पुग्यो । दुई माइलभित्र परेका सबै घरहरु तुरुन्तै भत्किए र तिनीहरुमा आगलागी फैलियो । तुरुन्तै जमीनबाट बाक्लो बादलको धुँवाको मुस्लो माथि आकाशमा चालिस हजार फीटमाथिसम्म च्याउको आकारमा उम्लियो । विष्फोटको लगत्तै अपूर्व तापको लहर चारैतिर फिँजियो । आधा माइलभित्रका सबै मान्छेहरु रेडियो विकिरण र अत्याधिक तापले गर्दा तुरुन्तै मरे ।


जो तुरुन्तै मरे ती भाग्यमानी ठहरिए । सबैभन्दा दर्दनाक बिजोग त बिष्फोट केन्द्रबाट केही पर हुनेहरुको भयो, खासगरी दश वर्गकिलोमिटर परसम्म रहनेहरुको । त्यहाँ हजारौँ मान्छेको अनुहार विकिरणयुक्त ताप लहरले गर्दा कुरुप हुने गरी डढ्यो । केही मान्छेहरु, जसले बम बिष्फोटलाई नांगो आँखाले हेरे, उनीहरुका आँखाका गेडीहरु नै पग्लिएर झरे । असंख्य मानिसका जिउभरिका छाला डढेर आलुका बोक्रा झैं उप्किए र शरीरमा तन्द्रंग झुण्डिए । सबैजसो घरका शिशाहरु चकनाचुर भएर फुटे । धेरै मान्छेको शरीरमा फुटेका धारिला शिशाका टुक्राहरु गढेर घाउ हुने र नसाहरु फुटेर रगतको फोहोरा छुट्ने स्थिति भयो । चर्को तापले मान्छेका लुगाहरु तुरुन्तै खरानी हुने र मान्छेहरु नांगै हुन जाने स्थिति सर्वत्र देखाप¥यो । शरीरका रौं र यौनांग डढ्नाले व्यक्ति लोग्नेमान्छे हो कि स्वास्नीमान्छे भनेर छुट्याउन गाह्रो हुने स्थिति यत्रतत्र देखाप¥यो । 

७६ हजार घरहरु भएको हिरोहिमा शहरमा खाली ६ हजार घरमात्र सग्लो बँचे । अठ्चालिस हजार घरहरु त पूरै पाताल भए । सबैभन्दा कन्तबिजोग त घर भत्किने र त्यसभित्र मान्छे च्यापिने, अनि त्यहाँबाट आगलागी पनि हुने घटनाबाट भयो । यसरी जिउँदै डढेर हज्जारौं हिरोशिमाबासीहरु स्वाहा भए । सिंगै हिरोशिमा शहर यसप्रकार इँटाभट्टाभित्रको आगोको सुरुङ झैं देखियो ।

जो यो आगोबाट बचेर निक्ले, ती मिजु, मिजु (जापानी भाषामा पानी, पानी) भन्दै बाटामा लाशै लाशमाथि कुल्चदै नदीखोलातिर हामफाले । अतिशय ताप र घाउले गर्दा शरीरमा पानीको मात्रा कम भएका हिरोशिमाबासीहरु नदीको पानीमा राहतको निम्ति डुबे । तर नदीको पानी पहले जस्तो चीसो र स्वच्छ थिएन । चर्को तापलहरले गर्दा नदीको पानी पनि भक्भकी उमालेको सरह थियो । घरहरु भत्केको र मरेका माछा र लाशहरुको थुप्रो लागेकाले गर्दा पानी निकै प्रदुषित थियो ।

अस्पताल र स्वास्थ्य उपचार केन्द्रहरुमा दशौं हजार घाइते थुप्रिए । तर अस्पताल र स्वास्थ्य केन्द्रहरु आफै भत्केर र आगो लागेर बिजोग स्थितिमा थिए । शहरका जम्मा १५० डाक्टरहरुमध्ये ६५ जना त एटम बम बिष्फोट हुनासाथ नै मरे । बाँकी धेरैजसो घाइते थिए । नर्सहरुमध्ये ९० प्रतिशत या त मरे, या केही पनि गर्न असमर्थ हुने गरी घाइते थिए । तथापि जो बाँचेका थिए, तिनीहरुले बहादुरीपूर्वक घाइते बिरामीहरुको उपचार गरे । तर यसपल्ट उपचारको लागि आएका सबैजसो घाइतेहरुको समस्या उनीहरुको निम्ति बिल्कुलै नौला र अचम्मको थियो । उनीहरु एटम बमले पैदा गरेको नाभिकीय ताप र रेडियो विकिरणको समस्याले गर्दा ग्रस्त विरामी थिए । यस्तो रोग उनीहरुले न पहिले कहिल्यै देखेका थिए, न सुनेका ।

एटम बमको आगोको पोलाइ र घाउले गर्दा आहत हिरोशिमाबासीहरुलाई थप समस्या चर्को आँधी भुमरी र कालो बर्षाले पा¥यो । अरु बमहरुमा देखा नपर्ने अचम्म र डर लाग्दो ‘शक वेभ’ ताप–लहर अणु बमको बिष्फोटमा देखा प¥यो । बम बिष्फोट हुने बित्तिकै बिष्फोट बिन्दुबाट पहिला प्रथम अति चर्को तापको लहर बाहिर प्रवाहित भयो । पहिले यो लहर भुमरीझैं चक्कर लाउँदै अघि बढ्यो । तर पछि फेरि फर्केर केन्द्रतर्फ नै आउन थाल्यो । यो भयानक ताप लहर यसरी अघि बढ्ने र पछि हट्ने प्रक्रियाले गर्दा एक किसिमको चक्रवात जस्तो डरलाग्दो आँधी–बेहरी सिर्जना ग¥यो । यने आँधीले बिष्फोट केन्द्रका करीब एक माइलभित्रका सबैजसो बडे बडे घरहरुलाई ढाल्यो । आँधीले आगोलाई शहरको चारैतिर फैलायो । तुरुन्तै अचम्मको मुसलधारे बर्षा हुन थाल्यो । यो बर्षा कालो र चिप्लो थियो । पानीको थोपाहरु सारै नै चीसा थिए । यो बर्षा दुई घण्टासम्म भइरह्यो । यो रेडियो विकिरणले भरिभराउ अति चीसो बर्षाले हिरोशिमाबासीहरुको घाउलाई अरु बेसी चर्कायो, असंख्य घरबारविहिनहरुलाई ठिहि¥याएर समस्याग्रस्त पा¥यो ।

हिरोशिमा शहरमा अब ठूलठूला काला झिंगाहरु देखापरे । ती झिंगाहरुले छाला उप्केर भित्रको मासु समेत देखिएका हिरोशिमाबासीहरुको घाउ नै घाउले भरिएको शरीरमा फूल पार्ने प्रयत्न गरे ।

बम काण्डमा बचेका मिचिको वातानावे भन्छिन्– ‘घाइतेहरु यति कमजोर थिए कि उनीहरुसित आफ्नो शरीरमा लागेका काला झिंगाहरु धपाउने तागत समेत थिएन । केहीका शरीरमा त ब्लांकिटले छोपे झैं गरी काला झिंगा भन्किरहेका देखिन्थे ।’

एटम बम बिस्फोटको पहिलो दिन नै त्यहाँ लगभग एकलाख मान्छेको मृत्यु भयो । घाउ र विकिरणले गर्दा बर्षको अन्तसम्म मर्नेहरुको संख्या एक लाख चालिस हजार पुग्यो । एउटै बमले यति छिटो यति धेरै नागरिकहरु एकै चिहान भएको यो विश्वमै पहिलो घटना थियो । 

तर दोश्रो बिश्वयुद्धमा हिरोशिमा शहरलाई ध्वस्त पारेर मात्र अमेरिका सन्तुष्ट भएन । अमेरिका युद्धमा जापानलाई घुँडा टेकाउन अर्को शहरलाई पनि ध्वस्त पार्न तम्सियो ।

उसको दोस्रो निशाना थियो– हिरोशिमाकै नजिकैको कोकुरा शहर, जहाँ जापानको विशाल हतियार भण्डार थियो  । तर कोकुरामा ‘फ्याट म्यान’ नामक पहिलेभन्दा डबल बिष्फोटक क्षमता भएको अर्को एटम बम खसाल्न हिँडेको अमेरिकी बी२९ बमबर्षक विमानले घना बादल र कम तेलको कारणले त्यो बम त्यहाँ खसाल्न सकेन । त्यसपछि त्यस कामका लागि जिम्मेवार मेजर डब्ल्यू स्वीनेले निर्णय गरे– ‘अब दोस्रो होइन, तेस्रो निशाना– नागासाकीमा एटम बम खसाल्ने । ’

अगष्ट ९ ओ बिहान ११:०२ बजे पश्चिम जापानको नागासाकी शहरको ५०० मिटरमाथि बीच आकाशमा ‘फ्याट म्यान’ त्यत्तीकै भयानक तबरले पड्कियो । हिरोशिमामा जे जे भयो, ठीक त्यस्तै कुराहरु दुईलाख जनसङ्ख्या भएको नागासाकीमा पनि  कार्बनकपी झैं दोहोरिए । उस्तै निलो सेतो बिजुलीको आँखा नै अन्धो पार्ने झिल्का, उस्तै ताप लहर, उस्तै बिष्फोट, उत्तिकै रेडियो बिकिरण, उस्तै आगलागी र घरहरुको ध्वंश, उस्तै बाफ झैं उडेका मान्छेहरु, उस्तै आगोको पोलाईले छाला डढेका र उप्किएका डरलाग्दा भुतजस्ता मान्छेहरु ! त्यहाँ ७४ हजार नागरिकहरु एटम बमको प्रहारबाट तुरुन्तै लाशमा परिणत भए । शहरको एक तिहाई भाग क्षणभरमै ध्वस्त भयो । हिरोशिमामा रुखहरु ढलेका थिए, नागाशाकीमा तिनीहरु दुई चिरामा बदलिए । तर नागासाकीमा झन्डै दोब्बर शक्तिको बम बिष्फोट भएर पनि नोक्सानी चैँ हिरोशिमामा जति भएन । नागासाकी शहरको भौगलिक अवस्थितिको कारणले नै त्यहाँको ध्वंश पहिलेको भन्दा थोरै र सीमित भयो । एटम बम युरोकामी उपत्यकाको आकाशमा बिष्फोट भयो । सबैभन्दा बेसी नोक्सानी त्यही उपत्यकामा भयो, यद्यपि विकीरण दुई वटा उपत्यकामा फैलियो ।


नव युवा मासिकको पूर्णांक १४ मा प्रकाशित श्याम श्रेष्ठको ‘हिरोशिमा र नागासाकीमा बम बर्षंदाः लाखौं मान्छे जिउँदै डढे !’ भन्ने लेखको केही अंशहरु यहाँ प्रकाशित गरिएको हो । फोटोहरु गुगलबाट साभार गरिएका हुन् ।