मिल्काइदेऊ नाथे डर
मिल्काइदेऊ नाथे ढोंग-२
......................................................एक नाथे सरला, दुई नाथे वन्दना
प्रिये सरली!
यो सम्बोधन मेरो होइन, नारायण अमृत दाइको हो। यो पनि त्यही जमघटमा सुनेको हो। साँझको पहिलो भेटको केही घण्टे बसाइँमा सरली भनुँ, सरले भनुँ वा सरलाजी भनुँ? धत्, सम्बोधन नै औपचारिकतामा चेपिन थाल्यो। खैर छोडौँ, प्रिये नै ठोकिदिएँ, तिमी नै भनेँ र नाथे औपचारिकता मिल्काइदिएँ, लजा!
आधाभन्दा बढी सहभागी हिँडिसकेपछि घर जान मैले पटकपटक घडी हेरिरहँदा तिमीले नै भन्यौः मरेपछि खरानी– के चिन्ता लिने, बसम्, खाम्, रमाइलो गरम्।
हुन त रमाइलोको त्यसदिनको मुख्य चरण सकेर सुस्ताउँदा मात्रै मेरा नजर घडीतिर नजर हुन्। रातको साढे दश भइसकेको थियो। मलाई पनि अझ रमाइलो गर्ने मन थियो तर छ वर्ष ननाघेको छोराले आँखा मिच्न थालिसकेको थियो। मस्तीको एक डोज पुगेर ज्यान सोफातिर पसारिएको थियो। मन चंख नै भए’नि ज्यान असिनपसिन भइसकेको थियो। धेरै सहभागी बाटो लाइसकेका थिए। तिमी भने आभास दाइसँग भनिरहेकै थियौ– मरेपछि खरानी!
हो त मरेपछि खरानी नै हो। तर ‘मरेपछि खरानी’ भन्ने जान्दाजान्दै पनि रमाइलो गर्न खोज्ने हाम्रा महिला दिदीबहिनीहरू हामी जस्तै स्वतन्त्र होलान् त! तिम्रै ‘खरानी’ शब्दले बारम्बार कोट्याइरह्यो। हामी मुड्स रेस्टुराँमा केटाहरूसँग उफ्रीउफ्री नाचिरहँदा कति दिदीबहिनीहरू घरमा जुठा भाँडा धस्काउँदै हुँदा हुन्, बच्चाका थाङ्ना स्याहार्दै हुँदा हुन्, वा लोग्नेको बिस्तारामा समर्पणको नाटक गर्दै हुँदा हुन् वा दिनभरिको हिसाबकिताबमा व्यस्त हुँदा हुन्! कति दिदीबहिनी भोलि कुन चाहिँ साहुको घर ढलानमा जाने वा कुन कामको ठेक्कावाललाई पकड्ने भनेर योजना बनाउँदै हुँदा हुन्। अरब, इजरायल वा युरोप पुगेका कति दिदीबहिनी नेपालतिर लोग्ने र छोराछोरीसँग कुरा गर्न म्यासेन्जर र भाइबरमा हरियो बत्तीको पर्खाइमा पनि हुँदा हुन्। असारको महिना, गाउँघरतिरका कति आमा–दिदीबहिनीहरू दिनभरि ढाड कुप्रने गरी रोपाइँमा निहुरेर फेरि साँझ चुलोमा आगो आफै ठोस्दै हुँदा हुन्!

