Pages

Friday, December 13, 2013

मयुर टायम्स पढेपछि...

किशोर दहाल

मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल विषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखेका छन्–मयुर टाइम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको विषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादव मयुर टाइम्स दैनिककी सम्पादक हुन्छिन् भने लिसरा पुन सोही पत्रिकाको पत्रकार ।

मुलुक जातीय र साम्रदायिक गोलचक्करमा उभिरहेको बेला मधेसमा पत्रकारिता कतिको चुनौतीपूर्ण छ भनेर वाग्लेले मयुर टाइम्स मार्फत देखाउन खोजेका छन् । पत्रकारिताको सिलसिलामा मानिसको निजी जीवन कुन कुनामा फालिन्छ, उसका रहर र आकांक्षाहरु कसरी निष्प्रभावी बन्छन् भनेर देखाउन उपन्यास सफल छ । 

उपन्यासकारले मधेसको असहज पत्रकारिता मात्रै नभई विगतको नेपालसँग त्यसको सम्बन्ध पनि देखाएका छन् । त्यसैले असहज बन्दै गरेको पराग र लिसराको पत्रकारिता र अपहरणमा परेकी परागको वृतान्तसँगै सुरु भएको कथा परागकै फ्ल्यासब्याक पछ्याउँदै अन्नत ‘तत्कालको लागि’ उनको मुक्तिसँगै टुङ्गिएको छ । एक हप्ताभित्रै पत्रिका बन्द गर्ने थम्की खाएर पराग त अपहरणमुक्त भएकी छ तर आम नेपाली पत्रकारहरु भने यस्ता धम्कीबाट मुक्त हुन सकेका छैनन् । समाचार लेखेकै निहुँमा धम्की, अपहरण र आक्रमणको शिकार बनिरहेका आम नेपाली पत्रकारहरुको एउटा साझा अनुभुतिको दस्तावेज हो– मयुर टाइम्स । समाचार लेखेकै निहुँमा आक्रमणमा परेका टिका बिष्ट र उमा सिंहजस्ता पत्रकारहरुको अघोषित अनुभव र सत्य पनि हो ।

Tuesday, December 3, 2013

स्रोतले बताएको समाचार

किशोर दहाल

सञ्चार जगतमा प्रतिस्पर्धा निकै बढ्दो छ । आम मानिस पनि पलपलको खबरबाट बेखबर हुन चाहदैनन् । त्यसैले अधिकांश मानिसको फुर्सदको  समय रेडियो सुनेर, टिभी हेरेर वा पत्रपत्रिका पढेर वितिरहेको हुन्छ । मानिस सकेसम्म हरेक निमेषका घटनालाई आफ्नो जानकारीमा राख्न चाहन्छ । चियाको चुस्कीसँगै पत्रिका हेर्दै बिहान बिताउनु र पावरवाला चस्मा लगाएर इन्टरनेटमा संसार डुल्लु भनेको मानिसमा बढ्दै गएको सुचना र समाचारप्रतिको मोहले गर्दा नै हो । मिडियाले पनि हरेक पलका समाचार आफ्नो स्रोता वा पाठकमाझ पु¥याउने प्रयास गरिरहेको देखिन्छ । जब ग्राहकहरु बढ्छन् तब उत्पादकहरु बीच कडा प्रतिस्पर्धा हुन थाल्छ र यस्तो अवस्थामा “ब्ल्याकमेलिङ” फस्टाउनु स्वभाविकै हो । पाठक वा स्रोताको समाचारप्रतिको यस्तै पागलपनको फाइदा उठाउँदै अधिकांश मिडियाले उनिहरुमाथि भ्रम छरिरहेका छन् । त्यसैले आफूले पढेका र सुनेका खबर कत्तिको विश्वासनिय छ, स्रोता अनि पाठकले केलाउन जरुरी छ ।

‘स्रोत’ले बनाइदिएको भरमा समाचार प्रकाशित र प्रशारित गर्ने प्रवृति पछिल्लो समय ह्वात्तै बढेको छ । वास्तविक यथार्थ के हो भनेर खोजी गर्न र विश्लेषण गर्न छाडेर समाचारदाता नै कुनै अमूक स्रोतको पछि लाग्ला धेरै पाठक वा स्रोताहरु भ्रममा परिरहेको अनुमान लगाउन सकिन्छ । जुन समाचारमा पाठक वा स्रोताले बलियो र भरपर्दो स्रोत खोजीरहेको हुन्छ, त्यसै समाचारको पछि भनिएको हुन्छ, “स्रोतले बताएको छ”, आम पाठक भने कतिपय समाचार पढिसक्दा वा सुनिसक्दा पनि समाचारप्रति विश्वस्त हुन सक्दैन । जसरी समाचार पढ्न र सुन्न पाउनु सबैको अधिकार हो,   त्यसैगरी प्रकाशित र प्रशारित समाचारप्रति विश्वस्त हुन पाउनु पनि उनीहरुको हक हो । तर नेपाली सञ्चार जगतले जनतालाई एउटा हक प्रदान गरेजस्तो गरेर अर्को हक खोसिएको छ ।

Saturday, October 9, 2010

नफेरिएको राजनीति

किशोर दहाल ।

नेपाली भुमिमा धेरै नहुनुपर्ने कुराहरु भए , धेरै हुनुपर्ने कुराहरु भएनन् । धेरै कुराको सुरुवात भयो , धेरै कुराको अन्त्य भएन । सात सालदेखि धेरै पटक क्रान्ति र प्रतिक्रान्ति भए । तर , जनताको सामान्य आवश्यकतालाई पनि त्यसले सम्बोधन गर्न सकेन । जनताको भबिष्यलाई अन्धकार पारेर हाम्रो नेतृत्ववर्गले भने सधै रङ्गिन रातहरु गुजारीरहे । सत्ता पक्ष बनिने र प्रतिपक्ष बनिने खेलहरु भए । १०३ पु¥याउने खेललाई पल्टाएर ३०१ पु¥याउने खेल भित्राइयो । तर , देशको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. बाट कति घट्यो र घटाइयो कहिल्यै हिसाबकिताब गरिएन । सधैभरी जनतालाई भुलभुलैयामा पार्ने काम भयो । पृथ्वीनारायण शाहदेखि बहादुर शाहसम्मले एकिकरण गरेका इतिहास रटाइयो तर त्यसैलाई खण्डिकरण गर्नेहरुका काला कर्तुतका बारेमा सामान्य छलफल पनि गरिएन । “यो हल्लैहल्लाको देश हो” भन्ने भुपीवाणीलाई आज हाम्रा नेताहरुले पुष्टि गरिदिएका छन् । भिडभाडका हल्लाहरु नै आज अकाट्य सत्य बन्न थालेका छन् यो देशमा । राजनीतिमा “मनि र मसल”को बोलबाला बढ्दै गयो । नेताका सोर्स र फोर्स पुलपुलेसा बनाउन नभई अपराधिलाई जेलमुक्त गराउन प्रयोग भए । लथालिङ्ग देशको भताभुङ्ग चाला भनेझैं दलहरु आफ्नै देशका युवालाई विभिन्न “वाद र आस्था”का नाममा सडकमा भाले भिडन्त गराएर सडकबाट रमिता हेरिरहेका छन् । गाउ‘ , समाज र देशभन्दा पार्टीबिशेष ठूलो हुने कुरामा स्कुलिङ गरिएको छ युवालाई ।

नेता भनिनेहरुलाई जनताले धरै पटक साथ दिए तर तिनै नेताहरुले जनतालाई विभिन्न वाहानामा झुक्याईरहे तर पनि जनताले तिनै नेताका कुरा पत्याइरहे । जनता नेताको नारामा भुलिरहे । बिरोध सभादेखि जनआन्दोलनसम्म जनताले नेतालाई साथ दिईरहे । जनताकै कारण नेताले भनेजस्तो व्यवस्था स्थापित भयो । तर ,ति सबैलाई नेताले नै औचित्यहिन बनाईदिए । धेरै कुरा आयो, गयो तर जनताले नेताकै कुरा पत्याइरहे ।

यो देशमा हरेक “शब्द”को अपव्याख्यादेखि हरेक “व्यवस्था”को दुरुपयोगसम्म सबै नेताकै कारण भयो । जनता त केबल तिनै नेता सुध्रने आशामा महिना, बर्ष र दशक काटिरहे । त्यसकारण शान्ति , सुरक्षा र विकासको दृष्टिमा यो देश कहिल्यै अगाडि बढेन । नेपाल यती धेरै पछाडि पर्नु र कमजोर हुनुको मुख्य कारण भनेको हाम्रो राजनीतिक नेतृत्व कमजोर र परनिर्भर हुनु नै हो । राजनैतिक नेतृत्व हदैसम्मको व्यक्तिवादी , स्वार्थी र दायित्वहिन नभइदिएको भए सायद हाम्रो मुलुक यतीखेर अमेरिका र चीनलाई समेत “चेक” दिने अवस्थामा पुगिसक्ने थियो होला । नेपालको गौरवपुर्ण इतिहासलाई वर्तमान र भबिष्यसम्म जोगाउन नसक्नु नेपाली राजनैतिक दलका नेतृत्व कै चरम लापरवाहीले गर्दा भएको हो । उनीहरुले नेपालमा शोषण र अन्यायको अन्त्य गर्न त सकेनन् नै , जाती, धर्म र सम्रदायबीचको समभावलाई पनि कायम राख्न सकेनन् । नेपालमा झोसिएका र खोसिएका हरेक राजनैतिक व्यवस्थाहरु केबल जनता भुलाउने राजनैतिक नाराहरु मात्रै भइरह्यो । राणाशासन फालेर ल्याइएको “प्रजातन्त्र”देखि ज्ञानेन्द्र शासन फालेर ल्याइएको “लोकतान्त्रिक गणतन्त्र”सम्म सबै देखावटी नाटक मात्रै भएको छ । नारा र आन्दोलनबाट आएका व्यवस्थाहरु नेता चर्ने चउर मात्रै भएको पुष्टी भएको छ । २०४६ सालको आन्दोलनपछि पनि हरेक शब्द र पदावलीहरुलाई केबल नेता  मोटाउने साधनमात्रै बनाइयो । सडकमा बहुदलिय व्यवस्था भनियो तर सदनमा निषेधको राजनीति अन्त्य भएन । पञ्चायत कालमा जनताले न्याय पाएनन् भनियो र प्रजातन्त्र ,लोकतन्त्र, गणतन्त्र भित्राइयो तर सडकमा मान्छे मार्न छाडिएन ।

राष्ट्रिय स्वाधिनता , स्वतन्त्रता , असमान सन्धिको खारेजी , न्यायपुर्ण समाज निर्माण , समानता र सुबिधाको लागि भन्दै जनयुद्ध शुरु गरियो तर वैदेशिक हस्तक्षप घटेन , सीमा स्तम्भ हराउन छोडेन  । ज्ञानेन्द्रले सडकमा फालेकाहरु सच्चियौ भनेर बोली फेरे तर पुनसर््थापना भएपछि पनि भ्रष्टाचार , नातावाद र  कृपावाद घटेन । राष्ट्रियतामा खलल पु¥याउनेहरुलाई नै शक्तिको आधारमा महान राजनेता बनाउने प्रचलन फेरिएन । निती र नियत सबै लथालिङ्ग भइसकेकाले अब नयॉं संबिधान बनाएर राष्ट्रलाई नयॉं शिराबाट अगाडि बढाउनु पर्छ भनेर चुनाब मार्फत संबिधानसभा गठन गरियो तर समयमा संबिधान बनाइएन ।

जतीपटक चुनाव गरेपनि , जतीपटक सरकार फेरेपनि भ्रष्ट्रचारी नेताका कुरुप अनुहार र बुद्धि फेरिएन । सधैभरी एकले अर्कालाई घृणित गाली गलौज गर्ने नेताहरुको बानी पनि फेरिएन । सधैभरी ढिलासुस्ती गर्ने , विदेशीको प्रभाव र इशारामा काम गर्ने छवी झन् फेरिने कुरै भएन । जनता रोग , भोक र असुरक्षाले प्रताडित भइरहेको समयमा नेताहरुले व्यक्त गर्ने प्रतिबद्धताको व्याकरण पनि फेरिएन । दलहरुबीचकै शक्ति संघर्ष र लडाईंको दृश्य फेरिएन । समग्रमा भन्दा जनताप्रती अक्षम राजनैतिक नेतृत्वले धोका र वेइमानी  फेरिएन । तर , हाम्रा राजनैतिक दलहरु भने एकले अर्कालाई नफेरिएको भनेर आरोप लगाई रहेका छन् । फलस्वरुप इतिहासमा हामीभन्दा गएगुज्रेका राष्ट्रहरु आज हामीलाई नै ऋण र अनुदान दिने हैसियतमा पुग्दा पनि हामी भने दयनिय अवस्थामा छौं । हिजो करोडौंमा गन्न सकिने राष्ट्रिय सम्पती भएका मुलुकमा आज अर्बौंमात्र होइन खर्बौंको मात्रामा आर्जन हुन थालेको छ । तर , हामी भने दुई तीन खर्बको बार्षिक बजेट ल्याउन ल्याउन पनि दुनियॉंभरको आशा र भरोसामा बस्नु परेको छ । शिक्षा र सामाजिक सभ्यता विकासमा नेपाल आजको विश्वको धेरै मुलुकभन्दा जेठो छ । छिमेकी दुई ठूला मुलुक चीन र भारतस‘ंग समेत हरेक दृष्टीमा समालिएर हिडिरहेको हाम्रो मुलुक आज तिनै राष्ट्रबाट आफ्नो अस्तित्व जोगाउनु पर्ने चिन्ताजनक अवश्थामा पुगेको छ । विश्वका धेरै राष्ट्रलाई सभ्यताको पाठ सिकाउने हिमाली राष्ट्र नेपाल आज आफैं असभ्य बसोबास गर्ने गरिब राष्ट्र भईसकेको छ । पछिल्लो समय भौतिक पुर्वाधार निर्माण , प्राकृतिक श्रोतको विकास र उपयोग , औधोगिक तथा कृषी उत्पादन , व्यापारिक प्रतिस्पर्धा , ग्रामिण शिक्षा र स्वास्थ्य आदि जस्ता जुनसुकै क्षेत्रमा होस् , हामी अन्य देशको तुलनामा निकै नै पछाडि छौं । यती दुःखत यथार्थ र इतिहास हुदाहुदै पनि हामीकहॉं अझै सुशासन छैन । जुनसुकै क्षेत्रमा पनि “बार्गेनिङ र ब्ल्याकमेलिङ”को धन्दा चलिरहेछ । दुधदेखि पेट्रोलसम्मको भाउ घटाउन वा बढाउन आज हाम्रो शासकवर्गलाई विदेशीको आदेश आउछ । मुलुक चिन्ताजनक अवस्थामा दाताहरुमा निर्भर रहेको छ । हरेक क्षेत्रमा हाम्रो मुलुक दिन प्रतिदिन कमजोर बन्दैछ ।

वर्तमान अवस्थामा नेपाल र नेपाली जनताको लागि कोही घाँडो साबित भएको छ भने त्यो केबल नेपालकै राजनैतिक दलहरु नै हुन् सारा संसार फेरियो तर नेपालका राजनैतिक दलका चरित्र र व्यवहार फेरिएन । दलहरुबाट पटक पटक धोका पाएको जनताले अनुभव गरिसकेका छन् । तर , धोकावाज नेताहरुप्रती कसैले आजसम्म कडा आक्रोश व्यक्त गरेको छैन । किनकी जनता अझै पनि दलहरु फेरिने र देशमा शान्ति , सुशासन कायम हुने आशामा छन् । जनताको चाहना अनुरुप फेरिनुपर्नेहरु बेलैमा फेरिउन शुभकामना ।

नागरिक दैनिक र बारा सन्देश साप्ताहिकमा प्रकाशित