Pages

Friday, August 17, 2018

सुरुदेखि अन्तिमसम्म १९५० को सन्धिले नै हाम्रो ध्यान र समय खायो : निलाम्बर आचार्य

असार २१, २०७५| प्रकाशित ०६:१८

काठमाडौं- नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौं तथा अन्तिम बैठक केही दिनअघि काठमाडौंमा बस्यो। यही असार २० बाट इपिजीको कार्यकाल पनि सकिएको छ। दुई वर्षे कार्यावधिमा इपिजीले साझा सहमतिको प्रतिवेदन तयार गरेको छ। तर, दुवै देशका प्रधानमन्त्रीलाई बुझाइने सो प्रतिवेदन त्यसअघि सार्वजनिक नगर्ने निर्णय इपिजी बैठकमा भएको छ।

इपिजीका एकजना सदस्य निलाम्बर आचार्यसँग नेपाल लाइभका लागि किशोर दहालले इपिजीको गठनका सन्दर्भ, यसको कार्यशैली, प्रतिवेदन कार्यान्वयनमा आउने प्रक्रिया र कार्यान्वयनमा आयो भने नेपाल–भारत सम्बन्धमा आउने आधारभूत परिवर्तन के-के हुनसक्छन् भन्ने विषयमा कुराकानी गरेका छन्।

इपिजीको गठन गर्नुपर्ने आवश्यकता र यसप्रतिको अपेक्षालाई कसरी बुझ्न सकिन्छ?

नेपाल-भारत सम्बन्धमा निकै उचारचढाव आएका छन्। कहिले राम्रो सम्बन्ध रह्यो। कहिले तिक्ततापूर्ण पनि भयो। हामीले त नाकाबन्दीसम्म व्यहोर्नुपर्‍यो। त्यो पनि एकपटक होइन, पटक-पटक। भूकम्प गएको केही समयमै पनि नाकाबन्दी व्यहोर्नुपर्‍यो।

सन् १९५० कै सन्धिमा पनि नेपालभित्र विवाद थियो। त्यसलाई बदल्नुपर्ने आवाज पनि उठ्ने गरेको थियो। सन्धिका विभिन्न असमान प्रावधान बदल्नुपर्ने आवाश्यकता रहिआएकै थिए। अर्कोतिर सन्धि-सम्झौताको व्याख्यामा पनि समानता रहेन। हामीले एकातिरबाट व्याख्या र अभ्यास गर्ने र भारतले अर्कोतिरबाट गर्ने पनि भइरहेको थियो। यसले पनि असझदारी र अप्ठ्याराहरु बढ्ने भइरहेको थियो।

सन् १९५० को सन्धियता नेपाल र भारतमा ठूल्ठूला परिवर्तनहरु भइसकेका छन्। नेपालको सम्बन्ध त्यतिबेला भारत, बेलायत, अमेरिका र फ्रान्ससँग मात्रै थियो। अहिले त विश्वसँग छ। भौगोलिक रुपले टाढा रहेका मुलुकसँग पनि आर्थिक, राजनीतिक र भावनात्मक निकटताका सम्बन्ध विकास भएका छन्। त्यतिबेला अन्तर्राष्ट्रिय कानुनी आधारहरु र नियमहरु एकदम कम थिए। अहिले त उतिबेलाको उपनिवेशनवाद अन्त्य भएको छ। उतिबेलाको शीतयुद्ध अन्त्य भएको छ। मैले भन्न खोजेको, अहिलेको स्थिति नै बेग्लै भएको छ। संसार साँघुरिएर आएको छ। अब भूगोलको निकटता मात्रै सबथोक नहुने भएको छ।

अहिलेको नेपाल र भारतको आवश्यकता, नियम कानुन, विश्व परिस्थितिले गर्दा पनि दुई देशबीचको सम्बन्धलाई २१औं शताब्दीअनुसार बनाउनुपर्नेछ। र, अगाडि बढ्न अवरोध गर्ने विभिन्न प्रावधानलाई बदल्नुपर्नेछ। यी कुरालाई दुवै देशले महसुस गरेर नै इपिजी गठन भएको हो। विगतलाई पनि हेरेर, हाम्रो अभ्यासलाई पनि हेरेर, भविष्यको शान्ति, समृद्धि र निकटतालाई हेरेर नेपाल-भारत सम्बन्धमा आवश्यक परिवर्तन र पुनरावलोकनका लागि सुझाव दिन इपिजीको गठन भएको हो।

राजपा गठन भएपछि धेरै नेताले त्राण पाए : शरतसिंह भण्डारी

'अब एकल नेतृत्व र सामूहिक निर्णय प्रणालीमा जान्छौं'

असार ११, २०७५| प्रकाशित ०६:२०


राष्ट्रिय जनता पार्टी (राजपा)को राजनीतिक समितिको बैठक केही दिनअघि सकिएको छ। बैठकमा पार्टीको महाधिवेशन, सरकारमा सहभागिता, पार्टी सञ्चालन प्रक्रियामा खुलेर बहस भएको सहभागी नेताहरुले बताएका छन्। तीन दिनसम्म बसेको बैठकमा खासमै कस्ता कुरा प्राथमिकताका साथ उठाइए, यसले पार्टीको आगामी दिनका कस्तो बाटो तयार गर्‍यो, सरकारमा सहभागिता र संविधान संशोधनको विषयमा कस्ता धारणा बने लगायतका विषयमा नेपाल लाइभले राजपाका एक जना अध्यक्ष शरतसिंह भण्डारीसँग कुराकानी गरेको छ। प्रस्तुत छ, भण्डारीसँग किशोर दहालले गरेको कुराकानीः

तीन दिनसम्म बसेको राजपाको राजनीतिक समितिको बैठकमा के-कस्ता विषयमा छलफल भयो?

यो राजनीतिक समितिको बैठकलाई हामीले निकै महत्त्वका साथ लिएका थियौं। यो बैठकमा केही विषयमा विशेष छलफल भएको छ। राजपा गठन भएयताको सम्पूर्ण राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ। आगामी कार्यनीति र रणनीति के-कस्तो लिने भन्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै,संसद् लगायतका ठाउँमा पार्टीले कस्तो भूमिका लिने भन्ने विषयमा पनि छलफल भएको छ।

यस क्रममा हामीले आगामी बैसाखमा महाधिवेशन गर्ने भनेका छौं। ६ वटा पार्टीबीच एकता गर्ने बेलामा हामीले एक वर्षमा महाधिवेशन गर्ने प्रतिबद्धता गरेका थियौं। तर, संघर्षमा तथा चुनावमा होमिएका कारण हामीले महाधिवेशन गर्न सकेनौं। अहिले अर्को वर्ष महाधिवेशन गर्ने भनेर तिथिमिति पनि तोकेका छौं। पार्टी दर्ता गर्ने तत्कालीन अवस्थामा हामीले जुन विधान बनाएका थियौं, अधिवेशनमै जाने भएपछि त्यो विधानको विषयमा पनि अहिले धेरै कुरा उठे। केही कुरालाई केन्द्रमा राखेर विधानको मस्यौदा बनेको थियो। त्यसलाई परिमार्जन गरेर त्यसकै आधारमा अघि बढ्ने भनेर विधान मस्यौदा परिमार्जन समिति पनि बनाएका छौं।

त्यस्तै, अहिले केन्द्रमा बसिराख्ने र नेता भइराख्ने प्रवृत्ति छ। यस्ता स्वनामधन्य नेताहरुलाई कार्यकर्ताहरुले रुचाएका छैनन्। त्यसैले पार्टीका नेताहरु तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने भनिएको छ। यस्तै विषयलाई केन्द्रमा राखेर हामी महाधिवेशनको तयारीमा लागेका छौं।

अर्को विषय संसदीय दलको नेता हो। संसदीय दल निर्माण नभएकाले काम कारबाहीमा केही अप्ठ्यारो आइपरेको छ। संसदले गर्नुपर्ने काममा पार्टीको भूमिका प्रभावकारी हुन सकेको छैन। हामीले संसदीय दलको विधानको लागि एउटा समिति बनाएका थियौं। त्यसले आफ्नो मस्यौदा अध्यक्ष मण्डलमा बुझाइसकेको छ। संसद् सांसदहरुको सम्पत्ति भएकाले सांसदहरुकै बैठक बसेर त्यो विधानलाई वैधानिकता दिएर संसदीय दल गठन गर्ने सहमति भएको छ। त्यसैले एक-दुई दिनमा बैठक बसेर संसदीय दललाई पूर्णता दिने कुरा भएको छ।

त्यस्तै, प्रदेश २ को सरकार संयुक्त भएकाले त्यसलाई कसरी प्रभावकारी र मजबुत बनाउने भन्ने विषयमा छलफल भएको छ। यस्ता विषयमा अध्यक्ष मण्डलले गृहकार्य गरेर २१ गतेको राजनीतिक समितिको बैठकमा टुंगो लाग्छ।

बलियो सरकार भएकाले नेपालले चीनसँग दीर्घकालीन योजनामा कुरा गर्न सक्छ : राजन भट्टराई


असार ४, २०७५| प्रकाशित ०९:५६

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीको चीन भ्रमण (०७२ चैत ७-१४) मा १० बुँदे सहमति तथा समझदारीपत्र आदानप्रदान र १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो। त्यसबेला कमजोर सरकार भए पनि भारतले भर्खरै लगाएको नाकाबन्दीका कारण सो भ्रमण र सम्झौतालाई महत्त्वपूर्ण रुपमा हेरिएको थियो।

यसपटक प्रधानमन्त्री ओली असार ५ गते ५ दिने चीन भ्रमणमा जाँदैछन्। अहिले राजनीतिक परिदृश्य धेरै बदलिएको छ। उनी अधिक बलियो सरकारको नेतृत्व गरिरहेका छन्, भारतसँगको सम्बन्ध 'नयाँ उचाइ'मा पुगेको छ र बहसमा विकास र समृद्धि छ।

फरक परिस्थिति, सपना र सम्भावनाका बीच प्रधानमन्त्रीले गर्न लागेको चीन भ्रमणलाई अहिले चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा रहेर परराष्ट्र मामिलाका जानकार राजन भट्टराईसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

अघिल्ला प्रधानमन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीकै अघिल्लो चीन भ्रमणभन्दा यसपटकको भ्रमण के–कति कारणले फरक छन्?

समयको हिसाबले नै फरक छ। नेपालमा आएको राजनीतिक परिवर्तनका हिसाबले पनि फरक छ। अघिल्लो पटक प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा फरक खालको परिस्थिति थियो। अहिले हामी अर्कै राजनीतिक परिस्थितिमा छौं। खासगरी संविधान निर्माणपछि त्यसको कार्यान्वयनका चरण अन्तर्गत हामीले तीन वटा निर्वाचन सम्पन्न गरिसकेका छौं। त्यो चुनावले नेपाल राजनीतिक स्थायित्वतर्फ अगाडि बढेको छ। विकास र समृद्धिका नयाँ एजेन्डाहरु अहिले प्राथमिकतामा परेको छ। यस्तै कारणले यो भ्रमण फरक छ भन्न सकिन्छ।

चीन भ्रमणमा प्रधानमन्त्रीले लिपुलेकबारे बोल्ने आँट गर्नुपर्छ : बुद्धिनारायण श्रेष्ठ

असार २, २०७५| प्रकाशित ०६:३०

प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाँदै छन्। उनको चीन भ्रमणका विषयमा विभिन्न क्षेत्रबाट सुझावहरू आइरहेका छन्। प्रधानमन्त्री स्वयंले पनि आफ्नोतर्फबाट तयारी गरिरहेका छन्।

भारतसँग सीमाको विवादलाई लिएर नेपालमा जति चर्चा हुनेगर्छ, चीनसँग यस्ता विवाद कमै सुन्न पाइन्छ। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका सन्दर्भमा नेपाल लाइभले चीनसँगको सीमा सन्दर्भमा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग कुराकानी गरेको छ। प्रस्तुत छ, श्रेष्ठसँग किशोर दहालले गरेको कुराकानी:

नेपाल र चीनबीचको सीमाको लम्बाइकै विषयमा विवाद छ भनिन्छ। यसमा कस्ता तर्क छन्? तपाईंको अध्ययनको निष्कर्ष के छ?

नेपाल र चीनबीच अहिलेसम्मको वास्तविक सीमाको लम्बाइ १४ सय ३९ दशमलब १३ किलोमिटर हो। दुई मुलुकबीच सन् १९६१/६२ मा सीमांकन भएर 'प्रोटोकल' मा दुवै पक्षबीच हस्ताक्षर पनि भयो। तर, त्यो प्रोटोकलमा ११ सय १३ किलोमिटर भनेर उल्लेख गरिएको छ। त्यसपछि सन् १९७९ र १९८८ मा सीमा प्रोटोकल नवीकरण भयो। १९८८ मा आइपुग्दा १४ सय किलोमिटर भनिएको थियो। तर, गत ११ वर्षदेखि नेपाल र चीनका प्राविधिकहरुले काम गरिरहेकोमा चाहिँ १४ सय ३९ दशमलब १३ भनिएको छ।

पछिल्लो समय ग्लोबल पोजिसनिङ सिस्टम अनुसार नापी गरिएको रजियोग्राफिकल इन्फरमेसन सिस्टम (जिआइएस) अनुसार तथ्यांकहरु राखिएका छन्। साथै, सीमाबाट दुवै देशतर्फका आधा किलोमिटर क्षेत्रका नक्सांकन पनि भएको छ। जिआइएस प्रविधिबाट विभिन्न तहमा डाटाहरु बनाइएका छन्। यस्ता नवीन प्रविधिबाट नेपाल र चीनबीचको सीमा लम्बाइ १४ सय ३९ दशमलब १३ कायम भएको छ।

नेपाली राजनीतिमा भारतले अब माइक्रोम्यानेज गर्ने ठाउँ छैन : अशोक मेहता, पूर्वजनरल, भारतीय सेना

जेठ २१, २०७५| प्रकाशित १९:४१

भारतीय सेनाका पूर्वजनरल अशोक मेहता केही दिनयता नेपालमा छन्। नेपाल भ्रमणमा आइरहने मेहताले यसपटक भने पाकिस्तानसँगको सम्बन्ध सुधारमा 'ट्र्याक टु' कूटनीतिक पहलका लागि काठमाडौं आएको बताए।

नेपाल मामिलाका जानकार मेहता नेपाल-भारत सम्बन्धका संवेदनशीलतालाई बुझेका कूटनीतिज्ञ पनि हुन्। उनीसँग नेपाल-भारत सम्बन्धका पछिल्ला विकास र पुराना राजनीतिक हिसाबकिताबको विषयमा नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

तपाईं नेपाल भ्रमणमा आइरहनुहुन्छ। यसपटक नेपाल भ्रमणको सन्दर्भ के हो?

अहिले भारत र पाकिस्तानको 'ट्र्याक टु' चलिरहेको छ। भारत र पाकिस्तानबीच सीमामा तनाव देखिएको छ, त्यसलाई कसरी घटाउने भन्नेबारे पहल गर्न काठमाडौं आएको हुँ। यहाँ दस वर्षको 'जनयुद्ध' अन्त्य भएको छ, शान्ति कायम भएको छ, नयाँ संविधान बनेको छ, नयाँ सरकार बनेको छ। शान्तितर्फको नेपालको रुपान्तरण संसारकै लागि 'मोडल' हो। भारत र पाकिस्तानबीच पनि यस्तै भए कति राम्रो हुन्थ्यो होला!

उपेन्द्रजीले गलत गर्नुभएको छ : राजेन्द्र महतो

यहाँ जस्तो व्यवहार भयो, प्रदेश २ मा त्यही व्यवहार नहोस्
जेठ १६, २०७५| प्रकाशित २१:२८

काठमाडौं- विगतमा फरक-फरक दलमा रहेर अहिलेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले लामो समयदेखि सहकार्य गर्न थालेको दशक बढी भयो। कैयौं अप्ठ्यारामा पनि ती दल पर भएनन्। अघिल्लो वर्ष वैशाखमा ६ वटा मधेस केन्द्रित दलहरु मिलेर राजपा बनेपछि फोरमसँगको सम्बन्धमा केही चिसो आयो। तर, प्रदेश र प्रतिनिधिसभाको चुनावमा उनीहरुले एउटै गठबन्धन बनाएर प्रदेश २ मा भाग लिए। चुनावी गठबन्धनले नजिकिएको भनिएको दुई दलको सम्बन्ध अहिले फेरि पर धकेलिएको विश्लेषण गर्न थालिएको छ। खासगरी फोरम सरकारसँग दुई बुँदे सहमति गर्दै सरकारमा जाने भएपछि राजपा अब के गर्ला भन्नेमा आमचासो बढेको छ। यो सम्झौताप्रति राजपाको बुझाइ के हो? विगतमा सडकमा सँगै उठाएका मागलाई त्यो दुई बुँदे सहमतिले कुनै सम्बोधन गर्ला? राजपाको अबको भूमिका के हुन्छ? यिनै विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि किशोर दहालले राजपा अध्यक्ष मण्डलका एकजना नेता राजेन्द्र महतोसँग बुधबार साँझ गरेको कुराकानीः

तपाईंहरुसँगै विगतमा आन्दोलन गरेको र चुनावी सहकार्य समेत गरेको एउटा दल सरकारसँग दुई बुँदे सहमति गरेर सरकारमा जाँदै छ। यसलाई कसरी नियालिरहनुभएको छ?

सरकारमा जाने वा नजाने भन्ने कुरामा प्रत्येक पार्टीको एजेन्डा र प्राथमिकता हुन्छन्। त्यसैले फोरम सरकारमा सहभागी हुँदै गरेको कुरामा हाम्रो भन्नु केही छैन।

प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट विगतको मधेस आन्दोलनमा उठेका माग, विशेषगरी संविधान संशोधनको कुरा स्वीकार गरेपछि हामीले त्यही आशमा सरकारलाई समर्थन गरेका हौं। त्यसकारण सरकारमै सहभागी भएर अघि बढ्न पनि सकिन्थ्यो। त्यो कुरा पार्टीको निर्णयमा भर पर्छ। जस्तो कि, उपेन्द्र यादवले केहीअघि नै सरकारमा सहभागी हुने भनेर तयारी गरिसक्नुभएको थियो। त्यसैअनुसार उहाँ जानुभयो। त्यसमा हामीलाई केही भन्नु छैन।

हामीलाई पनि सरकारमै आएर सरकारलाई सहयोग गर्नुपर्‍यो, संविधान संशोधन गरौंला भन्ने प्रस्ताव आएको थियो। प्रधानमन्त्रीले नै पटक-पटक प्रस्ताव गरिरहनुभएको थियो। तर, हामीले केही सवालहरु उठाएका थियौं र त्यो पूरा भए मात्रै सरकारमा सहभागी हुने बताएका थियौं।

निजी विद्यालयलाई निषेध गर्दिनँ, नियमन गर्छु : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

जेठ १४, २०७५| प्रकाशित १९:४२

काठमाडौं- मुलुकमा पछिल्लो समय विकास र समृद्धिको गफ निकै हुने गरेको छ। जुनसुकै मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री रेल र पानीजहाज आउने सपना बेच्नमा मग्न हुन थालेका छन्। तर, विकास र समृद्धिको जग बलियो बनाउने र सञ्चालन गर्ने मात्रै नभई मुलुकको हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको केन्द्रमा रहेको शिक्षा क्षेत्रबारे कमै मात्र सपना वितरित भएको पाइन्छ।

हरेक कार्यक्रममा छरिने ठूला सपनाका वाहक बन्नेगरी जनशक्ति उत्पादनका लागि शिक्षा मन्त्रालय के सोचिरहेको छ, नयाँ प्रणालीले विकेन्द्रित गरेको अधिकार क्षेत्रमा कसरी संयोजन मिलाइरहेको छ, नयाँ सन्दर्भमा कस्ता नयाँ नीतिहरु बनिरहेका छन्? यिनै विषयमा केन्द्रित रहेर नेपाल लाइभका लागि किशोर दहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग गरेको कुराकानी:

सरकार गठन भएको सय दिन पुग्यो। तपाईं मन्त्री हुनुभएको पनि ७० दिन पुग्न लाग्यो। यसबीचमा तपाईंले गरिरहेका काम केके हुन्?

मैले गरेका कामलाई प्राथमिकताको आधारमा भन्दा पहिलो उल्लेखनीय त विद्यार्थी भर्ना अभियान नै हो। जो नियमित प्रक्रिया भए पनि अहिले राष्ट्रिय अभियानको रुपमा अघि बढायौं। ३ लाख १३ हजार केटाकेटी विद्यालय बाहिर थिए। उनीहरुलाई लोकतन्त्र, गणतन्त्र र संघीयता केही पनि पुगेको थिएन भन्ने बुझ्नुपर्‍यो। उनीहरुलाई जसरी पनि विद्यालयमा ल्याउनुपर्योय भनेर हामीले यो अभियान सुरु गर्योु। त्यो अझै जारी छ। म केही दिनमै पहिलो चरणको (बैसाख १४) र त्यसपछिका घरदैलो कार्यक्रमको समीक्षा गर्छु। थप कार्यक्रम घोषणा गर्छु।

मन्त्रालयको पुनर्संरचनाको काम पनि गरिरहेको छु। यो काम जनताको तहबाट त्यति नबुझिएला। तर, मन्त्रालयमा कुन-कुन महाशाखा रहने भन्नेमा निकायगत संरचनाहरुमा मैले तीन वटा माग गरेको थिएँ। दुई वटा पास भएको छ। एउटा नयाँ ल्याउनू भनिएको छ। त्यस्तै, म शिक्षामन्त्री भएर आउँदा जिल्ला शिक्षा कार्यालय नरहने भएपछि अन्योल थियो। शिक्षा विकास तथा समन्वय एकाइ भनेर संघीय सरकारको एउटा सानो एकाइ रहने व्यवस्था गरिएको छ।

यसबीचमा मैले आफ्नो १० बुँदे मार्गचित्र सार्वजनिक गरेँ। शिक्षा क्षेत्रको विकासको दृष्टिकोण त्यसमा ल्याएका छौं। साथै, शिक्षामा सुशासन कसरी कायम गर्ने, विज्ञान र प्रविधिमैत्री कसरी बनाउने भन्ने कुरा त्यसमा समेटिएका छन्। अहिले म उच्च शिक्षाको सुधारको काममा लागिरहेको छु। अहिले विश्वविद्यालयको तलब खाने तर नपढाउने प्राध्यापकहरुको सूची बनाउन विश्वविद्यालय अनुदान आयोग (युसिजी) र विश्वविद्यालयलाई भनेको छु।

कतिपय विश्वविद्यालयको काठमाडौंमा सम्पर्क कार्यालय खोलिएका छन्। मैले बिहीबार मात्रै ती कार्यालय असारसम्म मात्रै रहन्छन् भनिदिएको छु। अब संघीयता, आर्थिक दृष्टिकोणले पनि सम्पर्क कार्यालय खोल्न मिल्दैन। कतिपय त विश्वविद्यालयमै नगई सम्पर्क कार्यालयमै बसेर समय बिताइरहेका छन्।

सार्वजनिक शिक्षाको सुधार मेरो अर्को महत्त्वपूर्ण विषय हो। त्यसका लागि हामीले केही कार्यक्रम सुरु गरिसकेका छौं। सुधारका लागि कार्ययोजना बनाउने एउटा कार्यदल बनेको छ। त्यसले रिपोर्ट पनि दिएको छ। तर, मैले त्यो पुगेन भनेर थप्नका लागि छलफल गरिरहेको छु। त्यो पनि केही समयभित्रैमा हामी घोषणा गर्छौं र कार्यान्वयन पनि सुरु गर्छौं।



असोज १७ भित्र शिक्षा ऐन अनिवार्य ल्याउनुपर्ने भएकाले त्यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ। संघीय शिक्षा नीति र एकीकृत उच्च शिक्षा नीति मन्त्रिपरिषद्‌मा लैजान तयारी गरिरहेका छौं।

त्यस्तै, शिक्षक सेवा आयोगलाई प्रभावकारी बनाउन पनि गृहकार्य भइरहेको छ। त्यस्तै, अहिले मैले दुई वटा आयोगका कामहरु एकसाथ अगाडि बढाइरहेको छु। पहिलो त, शिक्षा नीति बनाउने आयोग, जुन पहिलेको सरकारले ६५ सदस्यीय बनाएको थियो, मैले सानो र चुस्त बनाउन विभिन्न व्यक्तिलाई भेट्ने काम भइरहेको छ। त्यस्तै, अहिले नेपालमा कति शिक्षित जनशक्ति छ, हामीलाई कुन क्षेत्रमा कति चाहिएको हो भन्ने प्रक्षेपण गर्ने अर्को आयोगको काम पनि तीव्र गतिमा अगाडि बढिरहको छ।

बाल शिक्षाको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेर निर्णय गरेको छु। विभिन्न देशका मन्त्री आउने सुनिश्चित भएको छ। २२ गतेबाट यो सुरु हुन्छ। यो सम्मेलन बाल शिक्षाको विषयमा महत्त्वपूर्ण पक्ष हुने मैले आशा लिएको छु। अन्य केही कार्यदलहरु बनाएको छु। तिनका परिणाम बिस्तारै आउँछन्।

'सय दिनमै लोकप्रिय भइएन भन्ने कुनै चिन्ता छैन'

'अदालतमा पनि घुस्न जरुरी छ कि, यो देशको विकास भइदियोस्'

जेठ ११, २०७५| प्रकाशित २०:३९

काठमाडौं- सरकारले एक सय दिन पूरा गरेको छ। 'हनिमुन पिरियड' भनेर चिनिने यो समयमा प्रतिपक्षी दलहरुले पनि सरकारको खासै आलोचना गर्ने चलन हुँदैन। सरकारको एक सय दिनकै रफ्तारलाई हेरेर आगामी दिनमा कसरी अगाडि बढ्ला भन्ने अनुमान समेत लगाउने गरिन्छ। जनतामाझ ठूलठूला सपना बाँडेर सरकारमा आइपुगेको वर्तमान नेतृत्वले यो एक सय दिनमा कस्ता प्रगति गर्‍यो र के-केमा उल्झन देखियो भनेर हामीले सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटासँग कुराकानी गरेका छौं। राज्यमन्त्री बाँस्कोटासँग नेपाल लाइभका नवराज मैनाली र किशोर दहालले गरेको अन्तर्वार्ताः

वर्तमान सरकार गठन हुँदै गर्दा जनतामा उच्च अपेक्षा थियो। हरेक समस्या तत्काल समाधान हुन्छ वा हुने दिशातिर अग्रसर हुन्छ भन्ने अपेक्षा थियो। गठन भएको १०० दिन पुगिसक्दा सरकार त्यही दिशातिर गइरहेको छ?

सरकार अगाडि बढ्न कोसिस गरिरहेको छ। केही उदाहरण दिन सकिन्छ। यति छोटो अवधिमा प्रधानमन्त्री भारत भ्रमणमा जानुभयो। भारतीय प्रधानमन्त्री पनि नेपाल आउनुभयो। हिजो सम्बन्ध चिसो थियो, आज न्यायो भएको छ। नयाँ सम्बन्ध र नयाँ एकता भइरहेको छ। जहाँ परराष्ट्र मामला खलबलिन्छ कि भन्ने साह्रै ठूलो चिन्ता केही बौद्धिकहरुलाई थियो, त्यो समस्याको सम्पूर्ण रुपमा समाधान भएर सही दिशा पक्डिएको छ। यस अर्थमा वैदेशिक मामला सञ्चालनमा सरकारको सय दिन सफल भएको छ। विराटनगरमा रहेको भारतको फिल्ड अफिस हट्यो, युरोपियन युनियनको प्रतिवेदन अस्वीकार गर्‍यो।

अरुण तेस्रो शिल्यान्यास भएको छ। भारत सरकारकै लगानीमा निर्माण हुने गरी विरगञ्ज काठमाडौं रेल–वेको सम्झौता भएको छ। जलमार्गद्वारा समुद्रसम्मको पहुँच स्थापित भएको छ।

रेल आउला, पानी जहाज पनि आउला। तर ती सबै भविष्यमा 'हुनेछन्' मात्रै हो। यसबीचमा भएका ५ वटा कामचाहिँ के-के हुन्?

भारतीय फिल्ड अफिस हट्यो। जलमार्गबाट नेपाल जोडिने सम्झौता भएको छ। रेलमार्गबाट जोडिने सम्झौता भएको छ। सिन्डिकेट हटाउने काम भएको छ। अन्य क्षेत्रमा काम भएको छ। जस्तै, रोजगारीमा देशबाहिर गएका युवालाई ठग्नेहरुलाई कारबाही हुँदैछ। यी सबै कामै त हुन् नि!

मप्रति भएको व्यवहार अन्यायपूर्ण हो, प्रतिकार गर्छु : झलनाथ खनाल

अब केपी ओली र माधव नेपालको गुट एउटै
जेठ ८, २०७५| प्रकाशित ०६:०४

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा हुँदै गर्दा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कतै देखा परेनन्। 'यो दिन पार्टी एकता हुन्छ' भन्ने कुनै जानकारी नपाएका नेता खनाल पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणाका बेला उपचारका लागि चीनमा थिए। पार्टी एकताप्रति सुरुदेखि नै उत्साहित र सकारात्मक देखिएका नेता खनाल एमालेको दोस्रो बरियताका नेता हुन्। तर, नेकपाले पार्टीको शीर्ष नेताहरु रहनेगरीको सचिवालय गठन गर्दा खनाल तेस्रो बरियतामा पुगे। अर्थात्, दुई अध्यक्षपछिको बरियतामा वरिष्ठ नेताका रुपमा माधवकुमार नेपाललाई राखियो र त्यसपछि मात्र नेता खनाललाई राखियो। खनालले सुरुदेखि नै यो विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। सोमबार बसेको सचिवालयको पहिलो बैठकमै नेता खनालले आफ्नो असन्तुष्टि जाहेर गरे। साथै, पार्टीको कतिपय सांगठनिक संरचनामा भूमिका नपाएका अन्य नेताबाट पनि असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन्। उत्साहका साथ दुई कम्युनिस्ट पार्टीबीच भएको एकता लगत्तै देखिएका असन्तुष्टिले नयाँ पार्टीलाई 'पहिलो गाँसमै ढुंगा' त हुने होइन? भन्ने आशंका गर्न थालिएको छ। यिनै सेरोफेरोमा रहेर नेकपाका वरिष्ठ नेता खनालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्:

लामो समयको प्रयासमा एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको छ। यसप्रति तपाईंको समग्र बुझाइ के छ?

यो एकता नेपाली जनताको इच्छा र नेपालको आवश्यकता बमोजिम भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको आवश्यकता अनुसारको कुरा हो। दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले यो एकता प्रक्रियालाई अगाडि बढाउन प्रयत्न गरिरहनुभएको थियो। त्यसको परिणामस्वरुप पनि एकता भयो। यो ऐतिहासिक एकता पनि हो। दूरगामी र निर्णायक महत्त्वको एकता पनि हो। त्यसैले यो एकतालाई अभिनन्दन गर्नुपर्छ। यसलाई सुरक्षित गरेर अघि बढाउनुपर्छ।

स्थानीय सरकार: जनप्रतिनिधि र कर्मचारी रथका दुई पांग्रा– एउटा छ अर्को छैन (भिडियो)

जेठ ७, २०७५| प्रकाशित ०९:०८

काठमाडौं– स्थानीय सरकारले एक वर्ष पूरा गरिसकेको छ। गत वर्ष वैशाख ३१ मा पहिलो चरणमा निर्वाचन भएका स्थानीय सरकारहरुले यो एक वर्षमा उत्साहजनक काम गर्न सकेको भने देखिएन। संघीय संरचना अनुसार जनतासँग प्रत्यक्ष जोडिने सरकारका रुपमा रहेको स्थानीय तहले आफ्नो कामकारबाहीलाई कसरी अगाडि बढाए? के–कस्ता अप्ठ्यारा देखिए? आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ? स्थानीय सरकार सञ्चालनमा साधन-स्रोत कसरी जुटाउने? जस्ता प्रश्न उब्जिएका छन्। यिनै विषयमा केन्द्रित रहेर हामीले ‘समय संवाद’मा स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, स्थानीय तहसम्बन्धी विज्ञ कृष्णप्रसाद सापकोटा र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठसँग नेपाल लाइभका विजय पौडेल, दुर्गा दुलाल र किशोर दहालले संवाद गरेका छन्:

स्थानीय तह पुनःसंरचना आयोगको नेतृत्व गर्नु भयो। आयोग गठन हुँदाको सोच र प्रक्रिया कस्तो थियो?

बालानन्द पौडेलः तत्कालीन समयमा चुनौतीपूर्ण काम थियो। तर, हामीले तत्कालीन समयमा त्यही चुनौतीलाई स्वीकार गर्दै यसको जिम्मेवारी लिएका थियौं। नेपाल एकात्मक राज्यबाट संघात्मकमा जाँदै थियो। राज्य संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन हुने संविधानमा स्पष्ट उल्लेख थियो। संविधानले दिएका अधिकारहरुमा रहेर आयोगले काम गर्नुपर्ने थियो। यही संविधानले दिएको अधिकारलाई हामीले  अध्ययन गरेर आधार मान्दै स्थानीय तह पुनःसंरचनाको काम थालनी गरेका थियौं।

संविधानले दिएका अधिकारमा आधारित तर जनताको घरदैलोको सरकार बनाउने जिम्मेवारी हाम्रो काँधमा थियो। यो काम सम्पन्न गर्न स्थानीय तहमा सरकार हुनुपर्छ भन्ने पुनःसंरचनाको उद्देश्य थियो। हामीले काम गर्दा संविधानले तोकेको अनुसूची ८ र ९ हेरेर गरेका थियौं। अनुसूची ९ तीन तहको साझा अधिकारको सूची हो।

अनुसूची ८ र ९ का आधारमा रहेर नै हामीले छलफल गरेका थियौं।  छलफलका क्रममा दलका नेता, विज्ञ, मन्त्रिपरिषद् र सांसदहरुसँग राय लिएका थियौं। मौलिक हक र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको सिद्धान्तका आधारमा स्थानीय सरकारलाई आइपर्ने  दायित्वबारे पनि पुनःसंरचनामा ख्याल गरेका थियौं।

स्थानीय सरकारमा धेरै अधिकार छन्। कार्यकारी र न्यायिक अधिकारहरु तल्लो तहमा पहिलो पटक पुग्न लागेकाले त्यसलाई पनि आधार मानिएको थियो। क्षेत्र विभाजन गर्दा हामीले जनसंख्या र भुगोललाई मुख्य आधार मानेर यसको काम थालनी गरेका थियौं। ४ सय र ५ सय स्थानीय सरकार हुनुपर्ने हाम्रो प्रारम्भिक निष्कर्ष थियो। तर, हामीले राजनीतिक तहमा यसलाई बुझाउन सकेनौं, संख्यामा वृद्धि हुन गयो।

५४ जिल्लामा काम सकिँदा सरकारले मापदण्ड परिर्वतन गर्‍यो। फेरि त्यसलाई पुनरावलोकन गर्दै ७ सय ५३ स्थानीय सरकारको संरचना निर्माण भयो। भूगोल, जनसंख्या, प्राकृतिक स्रोत–साधन र सम्भाव्यता समेत हेरेर यो संख्या निर्धारण गरिएको हो।

'न एकता न अलग-अलगको अवस्थाले सरकार सञ्चालनमा संक्रमण' : ऊर्जामन्त्री वर्षमान पुन [भिडियो]

एकताको नजिकै पुग्दै गर्दा सानोतिनो विषय पनि संवेदनशील भइदिन्छ

बैशाख ३१, २०७५| प्रकाशित ०६:०५

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता लम्बिँदै गर्दा दुवै पार्टीबीच दूरी बढ्दै गएको हो कि भन्ने आशंका उब्जिन थालेको छ। पार्टी एकतामा अलमल देखिएसँगै गठबन्धन सरकारमा पनि खटपट सुरु भएका समाचारहरु आउन थालेका छन्। पछिल्लो चरण, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याश गर्दा त्यहाँ ऊर्जामन्त्री वर्षमान पुनलाई नै नबोलाइएको भन्ने घटनाले आशंकालाई थप मजबुत बनाएको छ।

यस्तै, सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा एमालेले सहयात्री दल माओवादी केन्द्रलाई बेवास्ता गरेको भन्ने गुनासा पनि आइरहेकै छन्। गठबन्धन सरकार सञ्चालनमा के-कस्ता अप्ठ्यारा देखिएका छन्? पार्टी एकतामा किन कठिनाइ र ढिलाइ? भनेर हामीले माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री वर्षमान पुनलाई सोधेका छौं। नेपाल लाइभका जनक पौड्याल र किशोर दहालले ऊर्जामन्त्री पुनसँग गरेको अन्तर्वार्ताः



सरकार गठन भएको तीन महिना भयो। यो बीचमा सरकारको कामलाई कसरी हेरिरहनुभएको छ? जनताको तीव्र अपेक्षालाई सम्बोधन गर्नेतिर नै गइरहेको छ?

प्रधानमन्त्री आउनुभएको तीन महिना पुग्यो। हामी आएको दुई महिना भयो। अहिले मोटामोटी रुपमा भन्दा सरकार ठीकै दिशातिर गइरहेको छ। अब सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनताको आशा र आकांक्षाहरु व्यक्त हुन्छन्। त्यसले यो सरकार काम गर्ने सरकार हो भन्ने विश्वास जगाउँछौं।

तर, नीति तथा कार्यक्रम र बजेट निर्माणमा माओवादी केन्द्रलाई बाहिर राखियो भन्ने गुनासो सुनिन थालेको छ। त्यस्तै हो?

अध्यक्षहरुको तहमा छलफल चलिरहेको छ। हामीले यसमा दुवै पार्टीका विज्ञसँग छलफल गरेर धारणा बनाउने काम भइरहेको छ। मन्त्रीहरुका तर्फबाट पनि यस विषयमा तयारी गरिरहेका छौं। संघीयतालाई सुदृढ गर्ने, राजनीतिक परिवर्तनलाई सुदृढ गर्ने, समाजवादतिर जाने गरेर नीति तथा कार्यक्रम र बजेट आउँछ। अबको बजेटले जनतामा आशा जगाउँछ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई कसरी बुझ्ने? (भिडियो)

● भ्रमण स्वभाविक ● अतिथिलाई सत्कार गरौं ● अभिनन्दन अनावश्यक
बैशाख २७, २०७५| प्रकाशित १९:०७

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने राजकीय भ्रमण शुक्रबार जनकपुरबाट सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम, मुक्तिनाथ र काठमाडौंमा नागरिक अभिनन्दनको कार्यक्रम पनि राखिएको छ। विगतमा नाकाबन्दी लगाउनेजस्तो अमानवीय कार्य गरेको भन्दै भारतीय प्रधामनमन्त्री मोदीको अभिनन्दनको विषयलाई लिएर विरोधका स्वरहरु उठिरहेका छन्। नेपाल लाइभको 'समय सम्वाद'मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको अर्थ र नेपाल-भारत सम्बन्धका विषयमा परराष्ट्र सम्बन्धी जानकार उद्धव प्याकुरेल, कूटनीतिक मामिलाका लेखक एवं पत्रकार गोपाल खनाल र राष्ट्रिय जनता पार्टीका महासचिव केशव झासँग विजय पौडेल, जनक पौड्याल र किशोर दहालले सम्वाद गरेका छन् :


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणको पृष्ठभूमि के हो? कुनै समय त्यही भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल आएका थिएनन्, अहिले ४ वर्षभित्रै एउटै प्रधामन्त्री तीन-तीन पटक आउँदैछन्। यसलाई कसरी बुझ्ने?

गोपाल खनाल– कूटनीतिमा यस्ता उच्च तहको भ्रमण हुनु स्वभाविक हो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभयो। उहाँले नेपाल भ्रमण गर्ने र भ्रमण मिति भने आपसी समझदारीमा कूटनीतिक च्यानलबाट तय गर्ने जवाफ आयो। पछि दुवै पक्षको सहमतिमा यो भ्रमण मिति तय भयो।

कुनै समयमा भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल भ्रमणमा आएनन्। अहिले एकजना प्रधानमन्त्री नै तीनपटक आउनु नराम्रो हो र? संविधान जारी भइसकेपछि नेपाल-भारतको सम्बन्धमा केही उतारचढाव आएको थियो। तर, त्यो अहिले सामान्य अवस्थामा फर्किरहेको छ। त्यतिमात्रै होइन, सम्बन्ध अझै अगाडि बढेर नयाँ ठाउँमा पुगेको छ। त्यसको एउटा मूर्तरुपमा पनि यो भ्रमणलाई बुझौं। त्यसरी हेरियो भने यो भ्रमण स्वभाविक लाग्छ।

त्यस्तै, नरेन्द्र मोदीले सुरुदेखि नै मुक्तिनाथ र जनकपुरको भ्रमण गर्न खोज्नुभएको थियो। तर पूरा हुन सकेको थिएन। त्यो भ्रमणलाई पूरा गर्न हाम्रा प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो। त्यसलाई उहाँले स्वीकार गर्नुभयो। जुन स्वभाविक पनि हो। त्यसैले यसमा धेरै कुरा खोज्नुपर्छ भन्ने मलाई लाग्दैन।

अब कसरी अघि बढ्नेछ कांग्रेस? के भन्छन् युवा नेता? : विश्वप्रकाश शर्मा, गगन थापा र कल्याण गुरुङका तर्क

बैशाख २०, २०७५| प्रकाशित २०:१७

काठमाडौं- चुनावी पराजयको समीक्षा र पार्टीको आगामी रणनीति तय गर्ने भन्दै बसेको नेपाली कांग्रेसको बैठक केही दिनअघि सकिएको छ। ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए। केही गरमागरम बहस, केही आलोचना र संवादका बीच केन्द्रीय कार्यसमिति अन्ततः सर्वसम्मत निर्णयमा पुग्यो। वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्णय सर्वसम्मत भए पनि आफ्ना असन्तुष्टि पत्रकारमाझ राखे। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको सेरोफेरोमा कुरा गर्न नेपाल लाइभको 'समय संवाद'मा हामीले निम्त्याएका छौं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा र कल्याण गुरुङ। संवादमा सहभागी छन् नेपाल लाइभका सम्पादक विजय पौडेल, समाचार सम्पादक जनक पौड्याल र वरिष्ठ सम्वाददाता किशोर दहाल:

नेपाल लाइभः मेरो प्रश्न विश्वप्रकाशजीलाई, निर्वाचनमा पराजयको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा के-के समीक्षा भयो?

विश्वप्रकाश शर्माः नेपाली कांग्रेसको यो केन्द्रीय कार्यसमिति बैठक लामो हुनु विल्कुल स्वभाविक थियो। बाहिर लामो बैठक भनेर प्रचारित भयो। तर, जुन विषयमा बैठक बसेको थियो, त्यो नै लामो कालखण्डको समीक्षाको विषय थियो। त्यस हिसाबले भन्दा यसका लागि थप पर्याप्त समय जरुरी थियो भन्ने मलाई लाग्छ। एउटा राजनीतिक दल जो ६८/७० वर्षको हुन्छ, उसले स्थापना कालमा देखेको जुन राजनीतिक संरचनाको सपना हो त्यो सपना पूरा भएको अवस्था मुलुकमा छ।

तर, आफ्नै नायकत्वमा निर्माण भएको संविधान र आफ्नै नायकत्वमा कार्यान्वयन गर्न सफलता प्राप्त गरेको दलले निर्वाचनको परिणामचाहिँ आफ्नो अनुकूल बनाउन किन सक्दैन? किन सकेन? कारण के हो? भन्ने सन्दर्भमा छलफल हुँदै गर्दा त्यसले लामो समय लिने कुरा स्वभाविक थियो। बैठकले नेपाली कांग्रेसलाई अगाडि जानका लागि केही सहज मार्ग बनाएको छ। बैठक नबस्दा बैठकसम्म बस्न सकेन भन्ने अभिव्यक्ति आउने र बैठकमा उठेका, छलफल भएका कुरालाई आरोप–प्रत्यारोप भन्ने कुरा राजनीतिमा सामान्य हो। यो बैठक समग्रमा नेपाली कांग्रेसको विगतको समीक्षा र आगतको यात्राको कोसेढुंगा बन्न सक्यो कि सकेन भन्दा, सक्यो। तर, यसले गतिलो साँघु वा पुल निर्माण गर्‍योभन्दा त्यो चाहिँ अपर्याप्त छ।

'काठमाडौंको प्रदूषण हटाउन एक वर्ष अभियान चलाउँछौं' : शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री

बैशाख २, २०७५| प्रकाशित १५:५४

अन्य मन्त्रालयको तुलनामा वन तथा वातावरण मन्त्रालयको खासै चर्चा हुँदैन। तर गृह मन्त्रालय सम्हालिसकेका माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत यसपटक अरुबेला खासै चर्चामा नरहने मन्त्रालयको नेतृत्व गर्न आइपुगेका छन्।

बस्नेत एमाले र माओवादीबीच पार्टी एकता प्रक्रियाका लागि वैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलका सदस्य पनि हुन्।

नयाँ मन्त्रीसँग वन र वातावरणका क्षेत्रमा केकस्ता योजना छन्? वातावरण प्रदूषणले आक्रान्त जनतालाई राहत दिने कस्ता भिजन छन्? पार्टी एकता प्रक्रियामा अवरोध आएको हल्ला सत्य हो? यिनै विषयमा नेपाल लाइभले मन्त्री बस्नेतसँग केही प्रश्न गरेको छ।

काठमाडौंको प्रदूषणलाई हटाउन तपाईंसँग कस्ता योजनाहरु छन्?
हाम्रो वातावरणको एजेन्डा जलवायु परिवर्तनतर्फ बढी केन्द्रित भयो। पछिल्ला दिनमा जलवायु परिवर्तनको क्षेत्रमा हाम्रा केही राष्ट्रिय दायित्वहरु छन्। राष्ट्रिय रुपमा पारिरहेका प्रभावका विषयमा पनि सजग रहँदै हामीले अन्तर्राष्ट्रिय जगत्‌मा जलवायु परिवर्तनसँग सम्बन्धित सन्धि-सम्झौतामा पक्ष राष्ट्रका रुपमा गरेका प्रतिबद्धतालाई समेत ध्यान दिँदै एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गर्ने पक्षमा हामी छौं। त्यस सँगसँगै हामीसँग वायु प्रदूषण, फोहोरमैला व्यवस्थापन लगायत केही राष्ट्रिय एजेन्डा पनि छन्। यसलाई हामीले ध्यानमा राखिरहेका छौं।

२०७५ मा प्रदूषणरहित वातावरण निर्माण गर्ने, स्वच्छ नेपाल निर्माण गर्ने एउटा वार्षिक कार्यक्रमसहित हामी अगाडि बढ्न खोजिरहेका छौं। हामी निर्माणको चरणमा छौं। त्यो योजना लागू भएपछि अर्को नयाँ वर्षसम्ममा अहिले हामीले वातावरण प्रदूषणका जे एजेन्डामाथि छलफल गरिरहेका छौं, त्यो पुरानो भइसकेको हुनेछ।

भारतले विगतका घटनाक्रमबाट पाठ सिकेको देखिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

चैत २६, २०७४| प्रकाशित २२:०८

काठमाडौं- 'भारतसँग नयाँ सम्झौताको चाङ नलगाउने बरु प्रगति विवरण खोज्ने' बाचा गरेर भारतको तीन दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भ्रमण पूरा गरी स्वेदश फर्किएका छन्। भ्रमणका क्रममा भारतसँग रेल, जलमार्ग र कृषिका क्षेत्रमा सम्झौताहरु भएका छन्। प्रधानमन्त्रीले विमानस्थलमा दिएको प्रतिक्रिया अनुसार यो भ्रमणले नेपाल–भारत बीच विश्वासमा अभिवृद्धि भएको छ।

नेपाल लाइभले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा भ्रमण दलमै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जिज्ञासा राखेको छ– नेपाल–भारतबीचका सहमति कार्यान्वयनमा प्रगति विवरण कस्तो देखियो? विगतको नाकाबन्दीबारे भारतले प्रायश्चित गरेको हो? प्रधानमन्त्रीले 'अब नेपाल-भारत सम्बन्धमा तस्बिर आफैं बोल्नेछ' भनी गरेको संकेत कहिलेदेखि व्यवहारमा देखिएला? चिनियाँ र भारतीय रेलको चेपुवामा नेपाल पर्छ कि पर्दैन?

नेपाल लाइभका लागि जनक पौड्याल र किशोर दहालले मन्त्री ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः

भारत भ्रमणमा जानुअघि संसद्‌मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो– सम्झौताहरुको चाङ लगाउनेभन्दा पनि पुरानाको प्रगति विवरण खोज्नेछु। प्रगति विवरण कस्तो रहेछ?

नेपाल-भारत सम्बन्धमा देखिएको एउटा समस्या के हो भने, हामीसँग धेरै प्रतिबद्धता, सहमति र सम्झौता भएका छन्। तर, कार्यान्वयनमा केही खाडल देखिएका छन्। प्रतिबद्धता र कार्यान्वयनका बीचमा रहेको खाडलले कतिपय समस्या, भ्रम र अन्योलहरु सिर्जना गरेको छ। यसले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउनबाट रोकिरहेको छ। त्यसैले यसपटक हाम्रो प्रधानमन्त्रीले दुई पक्षीय वार्तामा स्पष्ट रुपमा 'पेन्डिङ'मा रहेका मुद्दाबारे कुरा राख्नुभएको छ। चर्चामा रहेका पञ्चेश्वरदेखि पुलिस एकेडेमीसम्मका कुरामा समयबद्ध कार्यान्वयन खोजौं, कार्यान्वयन गर्न सकिँदैन भने त्यसलाई अन्त्य गरौं, केही फरक पर्दैन भनिएको छ। 'जति गर्ने हो, ती गरौं' भनेर नेपालका तर्फबाट प्रस्टसँग कुरा राखिएको छ।

कतिपय साना विषयसमेत वर्षौंदेखि अल्झिएका छन्। महाकाली सन्धि हुँदाखेरिका एकदमै स–साना पूर्वाधारका कामहरु समेत रोकिएका छन्। ती विषयहरु सुनेपछि भारतीय नेतृत्व निकै गम्भीर भएको छ। उहाँहरुका तर्फबाट केही विषय तुरुन्तै कार्यान्वयनमा जानेगरी निर्देशन दिइने, केही विषय दुई पक्षीय संयन्त्रहरु मार्फत समाधान खोजिने, केही विषय छलफल गरेर अगाडि बढ्ने गरी हामीले उठाएका प्रायः सबै सरोकारलाई उहाँहरुले गम्भीरतापूर्वक लिनुभएको छ। सकारात्मक जवाफ दिनुभएको छ। हामीलाई आशा छ, प्रतिबद्धता र कार्यान्वयनको बीचको खाडल अबका दिनमा पुरिँदै जानेछ।

प्रधानमन्त्री ओलीले भारतलाई भन्न सक्नुपर्छ- गर्छु भनेका काम गर्दैनौ भने हात झिक

चैत २२, २०७४| प्रकाशित १७:३९

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको २ महिना नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदैछन्। यो भ्रमणमा कुनै सन्धि-सम्झौतालाई प्राथमिकता राख्ने भन्दा पनि पुराना सम्झौताको प्रगति विवरण खोज्ने भनेर उनले संसद्‌मार्फत जानकारी दिएका छन्।

कुनै खासै सन्दर्भबिना भारत भ्रमणमा जानुको औचित्य के हुन सक्छ, त्यहाँ उनले कस्ता मुद्दालाई उठाउन सक्छन् र सम्झौता भएर पनि पूरा हुन नसकेका कामहरुमा कसरी नेपाली हित सुनिश्चित गर्न सक्छन्? यस्ता जिज्ञासा धेरैमा छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको सेरोफेरोमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उप-कार्यकारी निर्देशक तथा परराष्ट्रविद् डा इन्द्र अधिकारीसँग नेपाल लाइभका लागि जनक पौड्याल र किशोर दहालले कुराकानी गरेका छन्ः



हाम्रा प्रायः प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुनेगर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पहिलो भ्रमण भारत नै हुँदैछ। यसले केही संकेत गर्छ?

यसले दुईवटा कुरा संकेत गर्छ। हाम्रो देशको जुन अवस्थिति छ। त्यो सँगसँगै परिस्थिति पनि छ। यी दुवै कुरामा हामी भारतसँग सामीप्य र निर्भर छौं। हामीले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्दा, हाम्रो विगतको अनुभव र परिर्वतित सन्दर्भलाई विचार गरेर हिजोभन्दा फरक ढंगले जाऊँ भन्नुपर्ने अवस्था छ। धेरै विषयले हामीलाई यो कुराको महसुस गराएको छ। वास्तविकताको धरातललाई कसैले पनि फड्केर जाने अवस्था नभएकाले तत्काल त्यो सम्भव छैन। त्यसैले परराष्ट्र नीतिका हिसाबले हेर्दा भारत हाम्रो केन्द्रमा छ। भौगोलिक हिसाबले पनि भारतसँग हाम्रो सम्बन्ध बढी छ।

उच्च हिमालय सिमाना भएको, जनस्तरमा सम्बन्ध नभएको, राजनीतिक तहमा पनि राज्यसँग औपचारिक सम्बन्ध मात्र हुने गरेको चीनसँग हामीले त्यही हैसियतको सम्बन्ध बनाउन सकेका छैनौं। आवत-जावतलाई मात्रै हेर्ने हो भने पनि त्यो महसुस हुन्छ। भारतसँग तीनतिरबाट सिमाना जोडिएका छौं, सीमानामा प्रसस्त नाका छन् र ती सबैमा सहज पहुँच छ। विकासदेखि सामाजिक दृष्टिले समेत हामी भारतसँग बढी घुलमिल भएका छौं। खुला सिमानाले गर्दा आवतजावत, व्यापार व्यवसाय पनि सहज छ। त्यसैले भारतसँग सम्बन्ध सौहार्द, सुमधुर र मजबुत हुँदाखेरि जुनखालको फाइदा नेपाल र नेपालीले पाउँछन्, बिग्रँदा नहुन सक्छ।

विकास र सम्बृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै गर्दा भारतसँग सम्बन्ध राम्रो बनाएर, विश्वासको वातावरण बनाएर जाँदा नै त्यसको प्राप्ति सहज र सम्भव हुन्छ। त्यसैले आदर्शवादी भएर सोच्दाखेरि भविष्यमा यस्तो भइदियोस् भन्ने हुन्छ, तर धरातलीय यथार्थलाई हामीले आत्मासात् गरेरै अगाडि बढ्नपर्ने हुन्छ। मुलुकको कार्यकारीको हैसियतले सम्पूर्ण जिम्मेवारी पूरा गर्ने क्रममा प्रधानमन्त्रीले व्यावहारिक बाटो समात्नुपर्छ। त्यसैले पनि प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध मजबुत बनाउन, उसलाई विश्वासमा लिन पनि पहिला भारत जाने गर्छन्।

मन्त्री छनोटमा प्रधानमन्त्री गुटबाट प्रभावित हुनुभयो : योगेश भट्टराई

चैत १३, २०७४| प्रकाशित १८:२९


काठमाडौं– नयाँ सरकारमा मन्त्री बन्नेको जत्ति चर्चा छ, एमाले सचिव योगेश भट्टराईको पनि उत्तिकै चर्चा छ, मन्त्री नबनेकामा । एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन ताका ताप्लेजुङ पुगेर भाषण गरे, ‘तपाईंहरु योगेश भट्टराईलाई जिताएर पठाउनोस्, म मन्त्रीको बिल्ला भिडाएर पठाउँछु।’ ताप्लेजुङका जनताले भट्टराईलाई जिताएर पठाए तर प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाएर पठाउन सकेनन्। वर्तमान सरकार किस्ताबन्दीमा विस्तार हुँदै गर्दा नेता भट्टराईको नाम अबको पालोमा त मन्त्रीमा आउला कि भन्ने चर्चा भइरहे। अन्ततः उनी यो सरकारमा अँटाएनन्।

अडान भएका नेताको परिचय बनाएका ओलीले भट्टराईलाई मन्त्री बनाउने बाचा पूरा गरेनन्। एमालेको पदाधिकारी र स्थायी कमिटिमा भट्टराई मात्र एक्ला नेता हुन् जसले अहिलेसम्म ‘लाभको पद’ पाएका छैनन्।

पार्टीका निर्णय प्रक्रियामा नेतृत्वविरुद्ध फरक मत राखेकै कारण उनलाई मन्त्री नबनाएको चर्चा स्वयं पार्टीभित्रै हुने गरेको छ।

यस विषयमा नेता भट्टराई के भन्छन्? एमालेको आन्तरिक पार्टी सञ्चालनमा किन उनी बारम्बार प्रश्न उठाइरहन्छन्? यिनै विषयमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता योगेश भट्टराईसँग नेपाल लाइभका संवाददाता किशोर दहाल र हिमविक्रम केसीले गरेको कुराकानीः



नयाँ सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंलाई मन्त्री नबनाएको विषय चर्चामा छ, किन तपाईं मन्त्रीको लिस्टमा पर्नु भएन?

यो सामान्य कुरा हो। संविधान अनुसार प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने हो। उहाँको सिफारिसमा राष्ट्रपतिले सपथ खुवाउने हो। उहाँले आफूलाई काम गर्न सजिलो टिम बनाउने हो। आत्मविश्वास भएका साथीलाई टिममा समावेश गर्ने हो।

अब निर्वाचनका बेला मेरो जिल्लामा उहाँले बोलेको हुनाले मानिसले सामान्य अपेक्षा गरेका हुन्। केपी ओली जत्तिको नेताले बोलेपछि, उहाँ आफ्नो अडानमा कायम रहनुहोला भन्ने मानिसको बुझाइ हो।

काम गर्दै जाने क्रममा कहिलेकाहीँ परिस्थिति अनुकूल नहुन सक्छ। उहाँलाई अप्ठ्यारो भएको होला। त्यस कारण बनाउनु भएन। यो विषयलाई मैले यत्ति नै अर्थमा बुझेको छु।

पार्टीको पदाधिकारी र स्थायी कमिटिका सबै ‘लाभको पद’मा पुगिसकेका छन्, तपाईंले त्यस्तो जिम्मेवारी पाउनु भएको छैन। पार्टीभित्रै अन्यायमा परियो कि जस्तो लाग्दैन?

पार्टीभित्र न्याय, अन्याय हुन्छ। मैले देखेकै छु। मेरै आँखाअगाडि कति मान्छेलाई न्याय भएको छ, कतिलाई अन्याय भएको छ। राजनीतिक संस्था भनेको यस्तै हो।

कहिले कसैलाई पुरस्कृत गर्ने, कसैलाई दण्डित गर्ने। यो राजनीतिक चक्र हो। यो चक्रलाई बुझेरै म राजनीतीमा लागेको छु भने यसबाट म निरास हुनुपर्ने कारण छैन।

म पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको छु। मैले सिक्नुपर्ने धेरै छ। संसदीय भाषा र लवज नै मैलै सिक्नुपर्नेछ। संसद् मेरो नयाँ पाठशाला हो। दुई–चार बैठकमा भाग लिएँ। त्यो हेर्दैछु, बुझ्दैछु, सिक्दैछु।

स्वास्थ्यले साथ दिए अझै २० वर्ष सक्रिय राजनीति गर्छु। त्यसबेलासम्म निरन्तर पार्टीको पक्षमा, नेपाल राष्ट्र र जनताको पक्षमा, पार्टी निर्माणको पक्षमा लागिरहेको हुन्छु।
त्यस क्रममा राज्य सञ्चालनका मोर्चाहरुमा कुनै न कुनै बेला मेरो अवसर आउन सक्छ।

तपाईं पार्टीभित्र गुटबन्दीको सिकार बन्नु भयो भन्ने चर्चा पनि हुनेगर्छ, यस विषयमा तपाईंको टिप्पणी?

पार्टीको महाधिवेशन र त्यसपछि पनि कतिपय सन्दर्भमा विचारमा केही विविधता, बेमेलहरु छन्। त्यस अर्थमा हाम्रो पार्टीभित्र विचार समूह छ। महाधिवेशनमा हामी माधव नेपाल र केपी शर्मा ओली समूहमा प्यानल नै बनाएर लड्यौं। घोषित रुपमै हामी चुनाव लड्यौं। हिजो हामी घोषित ढंगले लड्यौं, आज चुनावपछिको परिणाममा त्यसको असर देखियो भनेर छटपटिनुपर्ने कारण छैन। गुटबन्दी हो भन्नुपर्ने कुनै कारण छैन। हिजो एकअर्कालाई पराजित गर्न लडेकैं हौं नि।

प्रधानमन्त्रीले त्यो मनसायले मलाई टिममा नराख्नु भएको हो भने मलाई कुनै अपात्ति छैन।

तर, कम्युनिष्ट पार्टी कुन प्रणालीबाट चल्ने भन्ने हो। संसदीय प्रणाली भनेको पहिलो हुनेले जित्ने प्रणाली हो। पहिलो हुनेले जित्छ, हार्ने मान्छेलाई जित्ने मान्छे सरह ठाउँ देऊ भन्न मिल्दैन।
पार्टीभित्रको प्रतिस्पर्धालाई त्यही ठान्ने कि नठान्ने? यही बहस पार्टी सञ्चालनमा पनि छ।

संसदीय प्रणालीमा प्रतिपक्षी दलको नेतालाई पनि राज्यको कुनै न कुनै निकायमा प्रतिनिधित्व गराइएको हुन्छ। संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलको नेता सदस्य हुन्छ। त्यसको अर्थ प्रतिपक्षी दल पनि कुनै न कुनै हिसाबले राज्यको अंग हो भन्ने स्थापित गरेको हो।

संसद्‌मा प्रतिपक्षी दल भएन भने संसद् चल्दैन। संसद्‌मा उसको उपस्थिति अनिवार्य छ। कतिपय संवैधानिक निकायमा उसको उपस्थिति अनिवार्य छ।

त्यस्तै, नियन्त्रणको सन्तुलनको सिद्धान्त अनुसार सामान्यतया संसद्को लेखा समिति प्रतिपक्षीलाई दिने चलन छ। किन त भन्दा, प्रतिपक्ष पनि अभिन्न अंग हो। उसलाई अस्वीकार गरेर जान सकिन्न भन्ने हो।

पार्टीभित्र समेत विचारमा विविधता छ, सोचाइमा विविधता छ। विविधता अनुसार कहिले को संस्थापन पक्ष बन्छ, कहिले को बन्छ।

जो संस्थापन पक्ष बन्छ त्यसले अर्को पक्षलाई पार्टी निर्माणमा, सञ्चालनमा समावेश गरेर लाने कि नलाने? उसलाई सहभागी गराउने कि नगराउने?

यी केही सैद्धान्ति प्रश्नको हल हामीले खोज्नुपर्छ। प्रश्नको हल नखोजेर टालटुले ढंगले कसैलाई मन्त्री बनाएर, कसैलाई राजनीतिक नियुक्ति दिएर पार्टीभित्रको फरक मत र मान्यतालाई सुम्सुयाउन सकिन्छ भनेर कसैले ठानेको छ भने, त्यो हुँदैन। पार्टी सञ्चालनको वृहत्तर कोर्समा यो प्रसंगलाई हेर्नुपर्छ।



स्पष्ट भन्नुपर्दा, मन्त्रिपरिषद् विस्तारमा गुटबन्दीको सिकार भएँ भन्ने लाग्छ?

प्रधानमन्त्रीलाई मेरो त्यो आरोप त छैन। तर, मन्त्री छनोटमा कहीँ न कहीँ त्यसबाट प्रभावित भएर काम गर्नुभएको छ।

मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री ओलीनिकट मानिने नेतासँग तपाईंको सामाजिक सञ्जालमा विवाद देखियो, तपाईंलाई त्यसको असर पर्‍यो भन्ने चर्चा पार्टीभित्र र बाहिर छ नि?

प्रधानमन्त्रीसमक्ष मलाई मन्त्री नबनाउन कतिपय साथीले भने होलान्। अरुको हकमा मन्त्री बनाऊ भनेर डेलिगेसन जान्छ, मेरो हकमा नबनाऊ भनेर डेलिगेसन गयो होला।

यद्यपि, प्रधानमन्त्री ओली लामो राजनीतिक इतिहास बोकेका मानिस हुनुहुन्छ। धेरै दुःख, कष्ट सहेर आउनु भएको छ। १४ वर्ष जेल बसेको तपस्वी हो उहाँ। तपस्वीले त्यत्ति नै कुराको भरमा मात्र मन्त्री नबनाउनु भएको होला भन्ने लाग्दैन। संविधानले २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने भएकाले म नअटाएको हुन सक्छु।

पछिल्लो समय, राष्ट्रपति निर्वाचन होस् वा अन्य कुनै पनि निर्णय प्रक्रियामा तपाईंले पार्टीभित्र फरक विचार राख्दै आउनु भएको छ, त्यसको जतिजा त होइन?

पार्टीभित्र सहमत, असहमत हुन सकिन्छ। राष्ट्रपतिको सन्दर्भमा विद्या भण्डारी जानु हुँदैन, जानुपर्छ भन्ने हाम्रो बहस होइन । निर्णय प्रक्रियाको विषयमा कुरा उठाएकै हो।

पार्टी एकताको कुरा चलिरहेको छ, जो निकै राम्रो छ। पार्टीभित्र हामीले माओवादीसँग सहकार्यमा जोड दिँदै आएका थियौं। त्यसैले हामीलाई एमालेभित्रका माओवादी भनेर आरोप लागाउने काम समेत भयो। आज हाम्रो सिंगो नेतृत्वको टिम माओवादीसँग एकताको चरणमा आइपुगेको छ।

यसबीचमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको छ, चुनावी परिणाम आएको छ, नयाँ सरकार बनिरहेको छ, विभिन्न राजकीय पदमा निर्वाचन भएको छ, अन्तर्राष्ट्रिय जगत्मा यति धेरै उतारचढाव आएका छन्। तर, यसबीचमा हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठक एक पटक समेत बस्न सकेन।

यसैबीचमा केन्द्रीय कमिटिको बैठक बस्नुपर्थ्यो। कम्तिमा एमाले र माओवादीबीचको पार्टी एकताको कागज त केन्द्रीय कमिटिबाट अनुमोदन हुन पर्‍यो नि।

केन्द्रीय कमिटि नै दुईवटा महाधिवेशनबीचको सबै भन्दा अधिकार सम्पन्न, सर्वोच्च तह हो। पार्टीभित्र यस्ता संस्थालाई स्थापित गर्ने कुरामा जति प्रजातानित्रक ढंगले जानुपर्थ्यो, त्यति भएको छैन। यी प्रश्न हामीले उठाइरहेका छौं। मन्त्री बनाए नि उठाइन्थ्यो, नबनाए नि उठाइन्छ।

यसले कुनै नेतासँग नजिक बनाउने, कुनैसँग टाढा बनाउने अवस्था सिर्जना भए पनि मलाई व्यक्तिगत रुपमा आपत्ति छैन।

भनेपछि पार्टीको नेतृत्वमा केपी शर्मा ओली आइसकेपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भयो भन्नु भएको हो?

आजको समकालीन पार्टीहरुमा एमाले नै सबैभन्दा व्यवस्थित पार्टी हो। सबैभन्दा प्रजातान्त्रिक पार्टी हो। यसको आन्तरिक जीवनमा समेत हामीले त्यत्तिकै प्रजातान्त्रिक अभ्यास गर्दै आएका छौं। तल्लो कमिटिसम्म नेतृत्व निर्वाचन गरेका छौं, प्रतिस्पर्धा गरेका छौं। विचारको बहस गरिरहेका छौं।

तर, जति व्यवस्थित गर्नुपर्थ्यो, आम पार्टी सदस्यको सहभागितालाई सुनिश्चित गर्नुपर्थ्यो, पार्टी केन्द्रीय कमिटिलाई निर्णयको मुख्य आधार बनाइनुपर्थ्यो, पार्टीभित्र फरक मत राख्नेलाई जसरी निर्णय प्रक्रियामा सामेल गर्दै लैजानुपर्थ्यो ती कुरामा समस्या छन्।

नेतृत्वभन्दा फरक मत राख्नेमाथि प्रतिशोध साँध्ने प्रचलन बढ्यो भनेर स्वयं पार्टी पदाधिकारीबाटै गुनासो आइरहेको छ, यसमा तपाईंको भनाइ?

राजनीतिमा प्रतिशोध, ईर्श्या , दमन सबै हुन्छ। त्यही कारण यो राजनीति हो। राजनीतिमा एकदम शुद्ध मात्र खोजेर हुँदैन। सवाल के हो भने, त्यो कति न्यायसंगत् छ।

जस्तै बन्दुक बोक्ने, हतियार बोक्ने अधिकार राज्यलाई हुन्छ। त्यसको राजनीतिक वैधानिकता हुन्छ। त्यस्तै, पार्टी सत्तासँग समेत केही राजनीतिक वैधानिक अधिकार हुन्छन्, त्यो स्वभाविक हो।

तर, त्यसको प्रयोग कसरी गर्ने भन्ने हो। राज्यसँग बन्दुक बोक्ने अधिकार छ भनेर त्यो बन्दुक जतासुकै निशाना लगाउँदै हिँडे त्यो न्योचित हुँदैन। त्यसलाई राज्यको अर्को संस्थाले रोक्छ र राज्य चेक एन्ड ब्यालेन्समा बस्छ।

पार्टीको सत्ता पक्षसँग समेत ती अधिकार हुन्छन्, त्यसलाई अन्याथा बुझ्नु हुँदैन। तर, ती कति न्यायोचित ढंगले चल्छन्, विवेकसम्मत ढंगले ती अधिकार प्रयोग भएको छ कि छैन, त्यो हेर्नुपर्छ।

पार्टीका निर्णय प्रक्रियामा नेता माधवकुमार नेपालले अडान लिन नसक्दा तपाईंहरुको विचार समूह किनारामा परेको भनिन्छ नि?

यसमा कसैप्रति कुनै आग्रह छैन। उहाँहरु समेत बुझेको, जानेको हिसावले चल्ने हो। उहाँहरु आफैं पार्टी चलाएर आएको व्यक्ति हो। पार्टी कसरी चल्छ, कसरी चलाइयो, अहिले त्यस अनुसार चलेको छ कि छैन, भन्ने कुरा उहाँहरुकै विषय हो।

तर, विश्वव्यापी सत्यता के हो भने, धर्तीमा मानव जाति रहँदासम्म कुनै पनि राजनीतिक संस्थामा विचार समूहहरु हुन्छन्। सवाल तिनीहरुसँग मिलेर जाने कि निलेर जाने भन्ने हो।

आजको दुनियाँमा कसैले फरक मत राख्ने समूहलाई निलेर सखाप पार्छु भन्ने सोच्छ भने त्यो असम्भव हो। मिल्छु भन्छ भने त्यो सहज बाटो हो।

अब पार्टीभित्र तपाईंहरुको विचार समूहको नेतृत्व कसले गर्ने?

सकेसम्म पार्टीभित्र एउटै मत बनाएर जान कोसिस गर्छौं। विचारमा त्यत्ति ठूलो भिन्नता छैन। नेतृत्व र संगठनका हिसाबमा केही फरक मत हुन सक्छ। हरेक विचारको नेता को हुन्छ भन्ने कुरा त्यो बेलाको परिस्थितिले निर्धारण गर्छ।

विकल्पमा तपाईंको नाम समेत चर्चामा छ?

मैले त्यसरी हेरेको छैन। परिस्थितिले कसै न कसैलाई त्यो ठाउँमा ल्याउँछ। निकै बलियो ढंगले ल्याउँछ।

राष्ट्रिय राजनीतिमा तपाईंको उपस्थिति र भूमिका कस्तो रहन्छ?

म पार्टीको केन्द्रीय सचिव छु। त्यस हिसाबले पार्टीकै काममा लाग्छु। पार्टी निर्णयको पक्षपोषण गर्छु।

संसद्‌मा सदस्य छु। सत्तापक्षको भूमिका संसद्‌मा खेल्छु। सरकारको असल कामलाई संसदीय मोर्चाबाट स्थापित गर्ने कुरामा मेरो भूमिका रहन्छ। तर, पार्टीभित्रको विकृति, विसंगति, गलत निर्णय र चिन्तनविरुद्ध सकारात्मक ढंगले लडिरहन्छु, जुधिरहन्छु।

निकट भविष्यमै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ। एमालेभित्रको आन्तरिक शक्ति संघर्षले एकता प्रक्रियामा कस्तो प्रभाव पार्छ?

माओावदी केन्द्रसँगको एकताले नेपालको कम्युनिस्ट आन्दोलनको दायरालाई अझ फराकिलो बनाउँछ। तर, विशाल पार्टी बनाउँदा सकारात्मकसँगै केही नकारात्मक कुरा समेत आउँछन्।

एमालेभित्र हामी आफ्नै कमजोरी देखिरहेका छौं। उता, माओवादीमा ४ हजारको केन्द्रीय कमिटि छ। संगठनात्मक आकार माओवादीले लिइसकेको छैन। उसमा उतारचढाव छन्। ६४ सालको माओवादी एउटा देखिन्छ, आज फरक देखिन्छ।

त्यहाँको नेतृत्वको सोच कस्तो होला? कार्यकर्ताको मनोदशा कस्तो होला? भोलि एकठाउँ बसेर काम गर्दै जाँदा एकअर्कालाई बुझ्ने बुझाउने कुरा निर्धारण हुँदै जान्छ।

बैसाख ९ मा पार्टी एकता : गिरिराजमणि पोखरेल (भिडियो अन्तर्वार्ता)

फागुन २९, २०७४| प्रकाशित १२:५६

चुनावअघि सुरु भएको एमाले र माओवादी एकता प्रक्रिया अन्तिम चरणामा पुगेको छ। उनीहरु अबका केही साताभित्रै पार्टी एकताको घोषणा गर्ने प्रयासमा छन्।

अर्कोतर्फ, वाम गठबन्धन बनाएर चुनाव जितेका उनीहरुले सात प्रदेशमध्ये ६ वटामा सुविधाजनक मतका साथ सरकार बनाएका छन्। संघमा पनि सरकारले तीन चौथाइ विश्वासको मत पाएको छ। अधिकांश स्थानीय सरकार पनि उनीहरुकै नेतृत्वमा छ। अब वाम सरकारले चाहेको जस्तो काम बिना अवरोध गर्न सक्ने देखिन्छ।

वाम एकता र शक्तिशाली वाम गठबन्धनको सरकारका कारण जनतामा उत्साह पनि देखिन्छ। विश्लेषकहरुको कुरा पत्याउने हो भने, यो समय भनेकोनेपालमा कम्युनिष्ट राजनीतिको औचित्य सावित गर्ने अवसर हो।

नेपाल लाइभका लागि किशोर दहाललेवाम एकताको सांगठनिक संरचना र नयाँ सरकारको प्राथमिकता लगायतको विषयमा वाम एकताको संगठनात्मक र विधान मस्यौदा समितिमा रहेका नेता तथा पूर्व मन्त्री गिरिराजमणि पोखरेलसँग कुराकानी गरेका छन्।

एमाले नामको पोखरीमा पौडी खेल्न जाँदै हुनुहुन्छ। कतिको जोखिम महसुस गरिरहनुभएको छ?

पौडी खेल्न जाने भन्ने शब्दावलीप्रति नै मेरो असहमति छ। नेपाली समाजमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरु गर्दै जाँदा सामन्तवादलाई परास्त गर्नै ७० वर्ष लाग्यो। हामी तेस्रो महाधिवेशनदेखि विभाजित भएका थियौं। विभाजित कम्युनिष्ट समूहलाई पूनर्गठन गर्ने र सही दिशादिने विभिन्न कोणबाट पहल भए। झापा संघर्ष, पुष्पलाल र चौथो महाधिवेशनले ती पहलहरु गरे। एक समयमा कुनै एउटा धार बलियो भयो, अर्को समयमा अर्कै बलियो भयो। ६० को दशकमा माओवादी बलियो थियो, तर ३० को दशकमा चौथो महाधिवेशन (चौम) बलियो थियो। हामी पुष्पलालले स्थापना गरेको पार्टीमार्फत नयाँ जनवाद हुँदै समाजवादमा जाने यात्रामा हिँडेका थियौं। चिनियाँ मोडलको नयाँ जनवादी क्रान्ति त भएन। तर समावेशी लोकतन्त्रको रुपमा पुँजीवादी क्रान्ति पूरा भयो। अब हामी नयाँ समाजवादी कार्यदिशातिर जाँदैछौं। नयाँ कार्यदिशाले नयाँ पार्टीको माग गर्दछ। स्वभाविक रुपमा नयाँ समाजवादी क्रान्तिका पक्षधरहरु एक ठाउँमा जम्मा हुनुपर्दछ। एउटा दह्रो केन्द्र बनाउनु पर्छ। हामी आ–आफ्नो अनुभवसहित हाम्रो पुस्ताले जे कुराका लागि संघर्ष गरेको थियो, त्यो सफल पनि रह्यो। दुवै पार्टीमा राम्रा र नराम्रा दुवै पक्ष छन्। दुवैले दुवैबाट सिक्नुपर्छ। पौडी खेल्ने भन्दा पनि सँगसँगै अघि बढ्ने हो।


'जीवराज कमरेडको निधनपछि चुनाव नलड्नु मेरो गल्ती रहेछ' [भिडियो वार्ता]


फागुन १, २०७४| प्रकाशित ००:२३

०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका दुई प्रमुख नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भयो। दुर्घटनाको क्षतिपछि सम्हालिएर अगाडि बढेको एमाले अहिले सबैभन्दा ठूलो दल भएको छ। भर्खरैको चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेको उसले समानुपातिकतर्फ ४१ सिट जितेको छ। समानुपातिकतर्फको सिटमा छानिएकी छिन्, माया ज्ञवाली (न्यौपाने)। उनी दासढुंगा घटनामा निधन भएकी आश्रितकी श्रीमती हुन्।

अर्का नेता भण्डारी पत्नी विद्या भण्डारी मुलुकको राष्ट्रपति भइसक्दा न्यौपाने भने भर्खरै सांसद बन्दै छिन्। धेरैले यसलाई पार्टीभित्रको विभेदको रुपमा व्याख्या गर्छन्। तर, न्यौपाने आफैं यसप्रति कस्तो धारणा राख्छिन् त? पछिल्ला राजनीतिक परिवर्तनप्रति उनको बुझाइ कस्तो छ? सांसदको जिम्मेवारीलाई कसरी लिएकी छिन्? यस्ता विविध विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानी:

भिडियो हेर्न क्लिक गर्नुहोस्– https://www.youtube.com/watch?v=d2apJmETIRQ

तपाईंको राजनीतिक बुझाइ र प्रतिक्रियाहरुप्रति आम मानिसलाई जानकारी छैन। पछिल्ला राजनीतिक परिवर्तनप्रति तपाईंको बुझाइ बताइदिनुस् न!

अहिलेको राजनीति भनेको जनआन्दोलन र संविधान निर्माणपछिको राजनीति हो। यदि राजा प्रजातान्त्रिक र संघीयतामा जान मिल्ने खालका पनि हुन्थे भने राजासहितको परिवर्तन हुन्थ्यो होला। तर, राजाले निरंकुशतातिर लैजान खोजेको हुनाले ०६३ को आन्दोलन सुरु भयो। गणतन्त्र ल्याउनैपर्ने बाध्यता भयो। समयअघि नै गणतन्त्र आउने परिस्थिति बन्यो। राजा वीरेन्द्रको हत्या नभएको भए गणतन्त्र आउने थिएन। संघीयतामा जाने मौका पनि पाउने थिएनौं। यसलाई दुर्भाग्यले ल्याएको सौभाग्य भन्छु।

त्यसैले पछिल्ला परिवर्तनप्रति म सकारात्मक नै छु। खासगरी राजाले आफैंले सिर्जना गरेको परिस्थिति हो। जहाँ दबाव हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ। त्यही प्रतिरोधको प्रतिफल हो।

'माओवादीमा प्रदेश १ को सिनियर मै हुँ, मेरो नेतृत्वमा सरकारमा सहभागी हुने हो'

माघ १७, २०७४| प्रकाशित ११:४९

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बू ताप्लेजुङ १ 'ख' बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी अब बन्ने प्रदेश सरकारमा माओवादीको नेतृत्व गरेर सहभागी हुने समीकरण मिलाइरहेका छन्। कुराकानीका क्रममा उनले माओवादीमा प्रदेश १ को सिनियर आफू नै भएको भन्दै सरकारमा आफ्नै नेतृत्वमा सहभागी हुने आकांक्षा समेत सुनाए।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री र सभामुख पाउने दुई दलबीच सहमति भइसकेकाले माओवादीले प्रदेश सरकारमा आकर्षक मन्त्रालय पाउने बुझाइ छ। लिम्बूसँग नेपाल लाइभले प्रादेशिक सरकार गठन र समसामयिक राजनीतिको विषयमा गरेको कुराकानीः

प्रदेशको सरकार गठनको प्रतीक्षा बढिरहेको छ। तपाईंहरुको तर्फबाट के-कस्ता गृहकार्य भइरहेको छ?
प्रदेश १ मा माघ २२ गतेको लागि संसदको बैठक तोकिएको छ। त्यस्तै, २४ गते राष्ट्रियसभाको निर्वाचन हुने राष्ट्रिय कार्यक्रम नै भइहाल्यो। त्यसपछि नै सरकार गठनको प्रक्रिया अगाडि बढ्ला।

एमालेकै नेतृत्वमा सरकार बनाउने सहमति भइ नै सकेको छ। तपाईंहरुको आन्तरिक गृहकार्य चाहिँ कस्तो छ?

दुई पार्टीबीच केही दिनअघि पद बाँडफाँटका विषयमा भएको सहमति नै अहिलेसम्मको गृहकार्य हो। बाँकी पदहरु बसेरै मिलाउनुपर्नेछ। हाम्रोतर्फका कुरा बुधबार बस्ने कार्यालयको बैठकले टुंग्याउन सक्छ।

'विवाद गर्नुपर्दैन, प्रदेश प्रमुख कुनै पार्टीको हुँदैन\'

माघ ५, २०७४| प्रकाशित ००:२९

मुलुक संघीयताको कार्यान्वयनमा द्रुत गतिले अघि बढिरहँदा नयाँ–नयाँ पदहरुको सिर्जना भइरहेका छन्। तिनैमध्येको एक हो, प्रदेश प्रमुख। संघीय सरकारको प्रतिनिधिका रुपमा प्रत्येक प्रदेशमा रहने प्रदेश प्रमुख सरकारले लामो सकसका बीच बुधबार नियुक्ति गर्‍यो। प्रदेश ४ मा कानुन व्यवसायीका पृष्ठभूमिका व्यक्ति बाबुराम कुँवर नियुक्त भए।

नेपालमै पहिलो पटक अभ्यासमा आएको पदमा पहिलो पटक नियुक्त हुँदा कुँवरले के सोचिरहेका छन् त? उनले आफ्नो कार्यकाललाई कस्तो होला र बनाउँला भन्ने कल्पना गरेका छन् त? यसै विषयमा नेपाल लाइभका लागि दुर्गा दुलाल र किशोर दहालले कुँवरसँग गरेको कुराकानी:

प्रदेश प्रमुखबारे आम मानिसमा अनभिज्ञता र रोमाञ्चकता छ। तपाईंलाई कस्तो महसुस भइरहेको छ?

नेपालको सन्दर्भमा यो पहिलो अभ्यास हो। त्यसैले पनि प्रदेश प्रमुख के हो, कसो होला, यसको पोजिसन कस्तो होला, यसले के काम गर्ला भनेर आम मानिसमा धारणा बन्नु स्वाभाविक कुरा हो। तर, वास्तवमा प्रदेश प्रमुख भनेको यो राजनीतिक प्रणालीमा महत्त्वपूर्ण पद हो। जुन पदले त्यो प्रदेशभित्र अभिभावकको भूमिका निर्वाह गर्छ।

'एकता हुन नदिन विभिन्न चलखेल हुन्छन् भन्ने हामीलाई थाहा छ' [भिडियो वार्ता]

पुस २१, २०७४| प्रकाशित १२:२४

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनका सूत्रधार समेत हुन्। युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा पनि उनले उल्लेख्य भूमिका खेलेका थिए। तर, वाम गठबन्धनका सूत्रधार श्रेष्ठ आफैं भने प्रतिनिधिसभाको चुनावमा गोरखामा माओवादीकै पूर्व सहकर्मी नेता बाबुराम भट्टराईसँग पराजित भए।

श्रेष्ठसँग वाम गठबन्धन, चुनावी परिणाम र पार्टी एकता लगायतका विषयमा किशोर दहालले गरेको संवादः

पछिल्लो चुनावमा वाम गठबन्धनप्रति देखिएको उत्साहको अर्थ के हो?

नेपाली जनताले चाहेको कुरा सामाजिक न्यायसहितको समृद्धि हो। नेपाल सुन्दर र सम्भावनायुक्त देश हुँदाहुँदै पनि अत्यन्तै अल्पविकसित देशको रुपमा चिनिनुपरिरहेको छ। ४० लाख श्रमजीवी युवा अदक्ष मजदुरका रुपमा बाहिरिनुपरिरहेको छ। हामीले लामो समयसम्म निरकुंशताको विरुद्धमा संघर्ष गर्नुपर्‍यो, स्वतन्त्रता नभएकाले त्यस्तो अवस्था आयो भन्यौं। हामीले ६ दशकभन्दा बढी समय लोकतन्त्रका लागि संघर्ष गर्नुपर्‍यो। लोकतन्त्र त प्राप्त गर्‍यौं। त्यसपछि हामीले भन्यौं, संविधान बनेको छैन। संक्रमणकाल पनि टुंगिएको छैन। त्यस कारणले समस्या पर्‍यो भन्ने गर्‍यौं। अन्ततः संक्रमणकाल पनि टुंगियो। त्यसपछि जनतामा अर्को चिन्ता पनि देखियो, यो चुनाव प्रणाली मार्फत स्थिर सरकार बन्दैन कि! पाँच वर्ष सरकार नबन्नेगरी राजनीतिक अस्थिरता नै कायम हुन्छ कि! विकास र समृद्धि नआउने र पार्टीहरुले पनि स्थायी सरकार नभएकाले सकेनौं भन्ने भन्ने अवस्था आउँछ कि भन्ने थियो। त्यसलाई पनि हल गर्नुपर्छ भनेर स्थायी सरकार बनाउने र विकास र समृद्धितिर मुलुकलाई लैजान जनताले वाम गठबन्धनलाई मत दिएका हुन्।

'एमालेसँग पनि सहकार्य हुन सक्छ' [भिडियो वार्ता]

पुस १९, २०७४| प्रकाशित १२:२९

यसअघि सुनसरीबाट चुनाव जित्दै आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसपटक आफ्नै गृहजिल्ला सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। मधेस आन्दोलनमार्फत राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका यादव हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभामा पार्टीले हासिल गरेको संख्याबाट सन्तुष्ट नै छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवसँग वाम गठबन्धनपछि पर्न सक्ने भूराजनीतिक प्रभाव, मधेस मुद्दा र राष्ट्रिय राजनीतिका विषयमा सरोजराज अधिकारी र किशोर दहालले गरेको संवादः

प्रदेश र प्रतिनिधिसभाको मतपरिणाम आइसकेको छ। यसलाई कसरी मूल्यांकन गर्नुभएको छ? यो तपाईंहरुका लागि अपेक्षित हो कि होइन?

यसलाई सामान्य रुपमै लिएका छौं। स्वाभाविक रुपमा अपेक्षा बढी नै हुन्छ। तर, हाम्रो साधन, स्रोत र संगठनात्मक शक्तिले भ्याएसम्म हामीले ठीकै मत पाएका हौं। हामीले तालमेलमा अझ मिलाउन सकेको भए र थप मिहिनेत पनि गर्न सकेको भए केही बढी सिट आउने थियो।