Pages

Friday, November 24, 2017

चुनाव प्रचार : शान्त सहर, चलायमान गाउँ

किशोर दहाल
लहान (सिरहा)– सिरहा क्षेत्र नम्बर-३ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठ बुधबार बिहान सिरहा नगरपालिकाको भलुवाहीमा भेटिए। सडक छेउकै एउटा घरमा उभिएर केहीबेर भाषण गरेका उनको यो कुनै निर्धारित कार्यक्रम थिएन। खासमा उनी अर्कै गाउँको कार्यक्रममा जान थालेका थिए। जसका लागि उनी घरबाट ८ बजे नै निस्किएका थिए। सिरहा चोहर्वाका बासिन्दा श्रेष्ठको दैनिकी अहिले भेटघाटमै बितिरहेको छ।

उनीमात्रै होइन, अधिकांश नेताहरु बिहान ७ बजेतिर घरबाट निस्किन्छन् र रातिमात्रै फर्किन्छन्। प्रायः नेताहरु महेन्द्र राजमार्ग वा अन्य राजमार्गकै छेउछाउमा बसे तापनि दिनभर सुदूर-गाउँतिरै व्यस्त रहन्छन्।

चोहर्वाका बासिन्दा राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव अर्का त्यस्तै नेता हुन्, जो बिहान सबेरै घरबाट निस्किन्छन्। आवाज राम्ररी नसुनिएको मोबाइलमा पटकपटकको प्रयासपछि उनले भनेका थिए, ‘साधारणतया हामी बिहान ६ देखि ७ बजेको बीचमा निस्किन्छौं। राति कतिखेर फर्कने भन्ने निश्चित हुँदैन। कहिले त १२ नै बज्छ।’
सिरहा सदरमुकाम सिरहा निवासी कांग्रसकी कोषाध्यक्ष आफू समानुपातिक उम्मेदवार भए पनि सक्रिय रुपमा चुनाव प्रचारप्रसारमा खटिइरहेकी छिन्। सिरहा-३ (ख) बाट उनका पुत्र शुभाषचन्द्र यादव उम्मेदवार बनेका छन्। उनको सक्रियताका त्यसका लागि पनि बढेको हो। तर, उनी सदरमुकाम सिरहाभन्दा पनि गाउँ क्षेत्रमै बढी केन्द्रित छिन्। 
मुख्य सहर नै शान्त!
यसरी नेताहरु गाउँमै केन्द्रित भइरहँदा सानाठूला सहर भने चुनाव नै नआएजस्तो गरी शान्त देखिन्छन्। चुनाव आउन तीन हप्ता मात्रै बाँकी हुँदा राजमार्गका मुख्य सहरमै चुनावी चहलपहल देखिँदैन।

सिरहा जिल्लाको मुख्य सहर लहानमा मुस्किलले कतैकतै पार्टीका झन्डा टाँगिएका छन्। कतिपय ठाउँमा त स्थानीय निर्वाचनकै झन्डा देखिन्छ। यदाकदा देखिने झन्डा फरफराउनुभन्दा बाहेक यहाँ चुनावको कुनै रौनक छैन। मानिसहरुका जमघटमा पनि प्रसंगवश उम्मेदवारहरुको विषयमा गफ भइहाले पनि मुख्य गफको विषय आसन्न चुनाव बन्न थालेको छैन।

बेलाबेला राजमार्गमा गुडिरहने पार्टीको झन्डावाल गाडीमा उम्मेदवारका सहयोगीहरु हुँइकिनाले चुनावचाहिँ आएकै हो भनेर सम्झाउने भने गरेको छ। त्यसभन्दा बाहेक अन्य सभा सम्मेलन, भाषणबाजी, प्रचारप्रसार सुस्त छ।

चुनावी चहलपहल नै सुरु नभएपछि कसलाई मत हाल्ने भनेर सहरका सर्वसाधारणले पनि निर्क्यौल गरिसकेका छैनन्। ‘कसलाई मत दिने निश्चित भइसकेको छैन’, बुधबार बिहान लहान सडकखण्डको एउटा सामान्य चिया पसलमा भेटिएका सरोज मिश्रले सुनाए, ‘समय निकै बाँकी छ, कसैले मलाई भोट देऊ पनि भनेको छैन।’

गाउँको मतदाताहरुलाई जसले पहिले भेट्यो, उसैको पक्षमा त्यहाँ माहोल तयार हुने नेताहरुको बुझाइ छ। मतदाताले जसलाई पहिले देख्यो, उसैको प्रभाव रहने भएकाले पनि नेताहरु पहिले जनताको पुग्न चाहन्छन्। ‘सहरका जनताले त नेताबारे पहिल्यै देखे सुनेका हुन्छन्,’ सिरहा नगरपालिकामाको रेडक्रस भवन अघि भेटिएका उपेन्द्र साहले भने, ‘गाउँका मानिसले त यही चुनावका बेला नेतालाई देख्ने हुन्, अरु बेला मुख देखाउँदैनन्।’

साहको बुझाइलाई पुष्टि गर्दै उम्मेदवार यादव थप्छन्, ‘सहरका मान्छेले त पत्रिका पढेर, रेडियोबाट सुनेर, टिभी हेरेर पनि उम्मेदवारबारे थाहा पाइहाल्छन् नि। गाउँका जनताले उम्मेदवारलाई देखेकै हुँदैनन्। कसलाई मत हाल्ने भनेर निर्णय गर्न गाह्रो हुन्छ। उनीहरुलाई सम्झाउनु बुझाउनुपर्छ। प्रत्यक्ष संवाद, सम्पर्क र भेटघाट नभई गाउँका मानिसले मत दिँदैनन्।’

‘गाउँतिर अहिल्यै नगएपछि चिन्दा पनि चिन्दैनन्, भ्याइँदा पनि भ्याइन्न’, लहानकै ओमप्रकाश गुप्ता बताउँछन्। अहिले समय छँदै टाढा र दुर्गम ठाउँमा पुगिहाल्न पाए, पछि सुगममा बसेर महत्त्वपूर्ण भेटघाट र रणनीति बनाउन सहज हुने उनको बुझाइ छ।

नेताहरु अहिले सहरकेन्द्रित नहुनुमा आर्थिक कारण पनि रहेको छ। सहरका भेटघाट, चहलपहल महँगो हुने उनीहरुले नबुझ्ने कुरा होइन। समय बाँकी छँदै गाउँ छिर्न सकियो भने अन्तिममा सहर छिर्दा समय र खर्चको पनि व्यवस्थापनमा सहज हुन सक्छ। गाउँमा जस्तो आँगनमै उभिएर केही मान्छेको अगाडि भाषण दिएजस्तो, सबैको हात समाएर आशीर्वाद मागेजस्तो सहरमा हुन सक्दैन। सहरले गाउँमा जस्तो सहजै मिठोमसिनो खाऊँ भन्दैन, बरु उल्टै ‘रंगीन खाना’ खुवाऊ भन्छ। सहरका निम्ति चुनावी रणनीति नै बेग्लै हुन्छ।

मुख्य सहरमा चुनावको चहलपहल १० गतेपछि मात्रै सुरु हुने गुप्ता बताउँछन्। ‘अहिले धान काट्ने मौसम छ, गाउँका मानिसहरु पनि उतै व्यस्त छन्,'  भन्छन्, ‘काम सकिएपछि सहरमा मानिसको पनि चहलपहल बढ्छ, चुनावमा खटिनेहरु पनि थपिन्छन्।’

त्यतिबेला नाराहरु लगाउने कामहरु हुने, जताततै झन्डाहरु टाँग्ने काम हुने गुप्तासँगै रहेका मुकेशकुमार साहको बुझाइ छ। ‘त्यतिबेला जतासुकै कार्यकर्ताहरु देखिन्छन्, मत माग्छन्,’ उनी भन्छन्, ‘मानिसहरुमा पनि उम्मेदवारहरु बारे गफको विषय नै चुनाव हुन्छ, कुन नेतालाई किन भोट दिने भनेर छलफल चल्छ। उम्मेदवारको पक्ष विपक्षमा साधारण मानिसमा पनि व्यंग्ग्य, घोचपेच चल्छ।’

‘त्यतिबेला यहाँका होटलहरु सबै नेता र कार्यकर्ताले भरिन्छन्,’ साह सुनाउँछन्, ‘अहिलेदेखि यहाँ खटिन थाले भने त खर्चै पुर्‍याउन सक्दैनन् नि।’

अर्कोतिर दलहरु आफ्नो दलभित्र र गठबन्धनका दलहरुका कार्यकर्तालाई आफूप्रति इमानदार बनाउने प्रयत्नमा पनि छन्। गठबन्धनले दलका उम्मेदवारी घटाएको छ, यसले दलभित्रैका आकांक्षीहरुलाई असन्तुष्ट बनाएको छ। यसले पार्टीमा अन्तर्घात हुन सक्ने सम्भावनाले पनि उम्मेदवारहरुलाई पिरोलेको छ। त्यस्तै, गठबन्धनका कारण अन्य पार्टीका उम्मेदवारलाई मत हाल्नुपर्ने धेरैको बाध्यता भइरहेको छ। यस्तो अवस्थामा उम्मेदवारलाई तालमेलमा रहेको अन्य दलका कार्यकर्ताले आफूलाई मत देलान् वा नदेलान् भन्ने कुरामा ढुक्क हुन सकेका छैनन्। त्यसैले पनि पार्टीभित्रका असन्तुष्टिलाई मिलाउन र गठबन्धनभित्र इमानदारीको सुनिश्चितता गर्न उम्मेदवारहरुको ऊर्जा खर्च हुने गरेको छ।

सहर र सूचनाको सहज पहुँच भएका ठाउँका मानिसले गठबन्धनबारे मनस्थिति बनाइसकेता पनि दुर्गमका मानिस र कतिपय नेताहरुलाई यसबारे थाहा नहुने वा त्यसको पक्ष वा विपक्षमा उभिन सकस परिरहेको अवस्थामा जसले जति चाँडो भेटेर आफ्ना कुरा भन्न सक्यो, त्यतैतिर ल्याउन सकिने भएकाले पनि नेताहरु गाउँघरमा पुग्न चाहेका हुन्। ‘नेताहरु तालमेलमै व्यस्त छन्,’ साह भन्छन्, ‘माथि मिलाए पनि तल मिलिसकेको छैन, मिलेपछि चहलपहल बढ्छ।’

नेपाल लाइभमा प्रकाशितः २o७४ मङ्सिर १ शुक्रबार| प्रकाशित ११:३४:oo
http://www.nepallive.com/news-details/6170/2017-11-17

No comments:

Post a Comment