Pages

Friday, November 24, 2017

मतदाता भन्छन्– 'नयाँमा अनुभव छैन, पुरानाले मधेसमा केही गरेनन्'

किशोर दहाल
लहान (सिरहा)– ‘मधेस संघर्षको निकास चुनावपछि तत्काल भइहाल्छ भन्ने होइन,' सिरहा नगरपालिकामा भेटिएका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादव भन्दै थिए, ‘जनताको चाहना जबसम्म पूरा हुँदैन, तबसम्म आन्दोलन भई नै रहन्छ।’

उनले भनेझैं मधेसमा अधिकारको लडाइँ चल्न थालेको लामो समय भइसकेको छ। यसमा धेरै मानिसले जीवन उत्सर्ग गरिसकेका छन्। यद्यपि, लडाइँ भने नसकिएको पछिल्ला संघर्षको नेतृत्व गरेका नेताहरुले बताउने गरेका छन्। मधेसका बुद्धिजीवीहरु पनि अधिकार र पहिचानको लडाइँ नयाँ मोडमा आइपुगेको तर अन्त्य भइहालेको भन्न नमिल्ने बताउँछन्।

मधेस भौगोलिक अवस्थामा जति सहज छ, विकासबाट वञ्चित ठाउँ पनि उत्तिकै छन्। महेन्द्र राजमार्ग वरिपरिको जनजीवन केही सहज देखिए पनि त्यहाँबाट २०-२५ किलोमिटर दक्षिणको हुलाकी राजमार्ग छेउछाउका सर्वसाधारणको दैनिकी कष्टकर देखिन्छ। यहाँ स्वास्थ्य सेवा, शिक्षा, यातायातको सहजै पहुँच छैन। हुलाकी राजमार्गमा धुलोबाहेक अन्य अवसर उड्न पाएका छैनन्। रोजगारी दुर्लभ छ। हरेक वर्षायाममा आउने बाढी र चैत-बैसाखमा लाग्ने आगलागीले त कैयौंको जनजीवन उजाड बनाइरहेको हुन्छ। उनीहरु भनिरहेका छन्, 'हामीले कहिल्यै पनि राज्यको अभिभावकत्व महसुस गर्न पाएनौं।'
यस पटकको चुनावमा बुद्धिजीवीले मधेसको पहिचान र अधिकारको लागि संविधान संशोधन लगायतका सैद्धान्तिक कुरा उठाए पनि साधारण मतदाताले यो बुझेका छैनन्। उनीहरु चाहन्छन्, चुनावपछि विजयी उम्मेदवारले विकास निर्माणका काम गरे पुग्यो।

स्थलगत रिपोर्टिङ सिलसिलामा सप्तरीको राजविराजमा भेटिए, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव। उनी भन्दै थिए, 'मान्छेलाई जेले पोलिरहेको हुन्छ, जेको बिराम लागेको हुन्छ, पहिले उपचार त्यसैको खोजिन्छ।'

यहाँका बासिन्दामा विकासको अपेक्षा अत्यधिक छ। त्यसैले उनीहरु विकासप्रेमीलाई मत दिने बताउँछन्।

नेपाल लाइभले सिरहाका केही नगरपालिका र गाउँपालिकाका मतदातासँग भेटेर धारणा लिएको छ।

बालेश्वरी यादव, गेरुवा (अटोरिक्सा चालक) : सबैभन्दा पहिले त विकास गर्ने नेता छान्ने हो। यहाँ खासै गतिला नेता छैनन्। नेपाली कांग्रेसबाट प्रदीप गिरि हुनुहुन्छ। उहाँको केही बढी विश्वास लाग्छ। पार्टी नहेरी भन्दा उहाँ व्यक्तिगत रुपमा राम्रो मान्छे हुनुहुन्छ। मधेसका निम्ति पनि उहाँले केही गर्नुहुन्छ। मधेसकै दल भनिएकाले त आफ्नो स्वार्थको लागि राजनीति गरेको हो। व्यक्तिगत स्वार्थ मात्रै छ उहाँहरुसँग, मधेसका निम्ति केही गरेका छैनन्।

जामुन सहनी, लहान–४ (व्यापारी) : जसले विकास गर्छ, त्यसैलाई छान्ने हो। पहिले विकास गर्ने नेतै छैनन् अहिले। सबै नयाँ उम्मेदवार उठेका छन्। उनीहरुसँग अनुभव छैन। प्रदीप गिरि अरुभन्दा केही ठिकै छन्। उनैलाई मत दिऊँ कि भन्ने सोचिरहेको छु।

काशेन्द्र यादव, सिरहा नगरपालिका–८ (पूर्व शिक्षक) : योग्यता र काम गर्ने क्षमता छ भने त्यसैलाई रोजिन्छ। जनतामा कति विश्वासिलो छ त्यो पनि हेरिन्छ। खासगरी प्रशासनिक, मुद्दामामिलाको काममा सघाउने नेतालाई चुनावमा मत दिने हो। हुन त कैयौंले पैसा लिएर पनि भोट दिन्छन्। चुनाव नजिक आएपछि दारु र शराव खुवाउनेलाई पनि मत दिन्छन्। सबै जनता शिक्षित छैनन्। त्यसैले पनि यस्तो भएको हो।

अशेश्वर पाशवान, सिरहा–४ (लेखापढी व्यवसायी) : हामीलाई खासगरी काम गर्ने र युवा पिँढीको उम्मेदवार चाहिएको छ। म त युवालाई नै मत दिन्छु।

विलटु यादव, कानुन व्यवसायी : जसले पहिले राम्ररी काम गरेको छ, त्यसैलाई भोट दिने हो। जसले विकास गर्छ र जनताको काम गरिदिन्छ, उसैले मेरो मत पाउँछ। कुनै नयाँ उम्मेदवार राम्रो छ, काम गरेको छ, क्षमताको छ भने उसलाई पनि मत दिनुपर्ने हुन्छ।

मोहम्मद अलिम, भगवानपुर : म त एमाले हुँ। एमालेलाई नै भोट हाल्ने हो। काम गर्छ गर्दैन म जान्दिनँ। तर म एमाले भएकाले एमालेलाई नै भोट हाल्छु।

विजय कुमार यादव : विकास गर्ने मान्छेलाई भोट दिनुपर्छ भन्ने लाग्छ। पुराना नेताहरुलाई भन्दा नयाँलाई जिताइयो भने उनीहरुले विकास गर्छन्।

किशोर पण्डित : भोट त काम गर्नेलाई नै दिनुपर्छ। तर पहिले जो आयो विकास नै नगर्ने आए, त्यसैले कसले काम गर्छ भनेर विश्वास गर्नै गाह्रो छ। त्यसैले युवाहरु आयो भने केही गर्छन् जस्तो लाग्छ। त्यसैले भोट त युवाहरुलाई नै दिनुपर्छ। पुराना नेताहरु पैसाको खेलमा डुबिसकेका छन्। नयाँ युवानेताले त जबसम्म पैसाको खेल थाहा पाउँछ, तबसम्म उसको कार्यावधि सकिइसकेको हुन्छ।

नेपाल लाइभमा प्रकाशितः २o७४ कार्तिक ३० बिहीबार| प्रकाशित ११:o४:oo
http://www.nepallive.com/news-details/6099/2017-11-16

No comments:

Post a Comment