Pages

Friday, November 24, 2017

यी हुन् चर्चित नेतालाई चुनौती दिनेहरु

किशोर दहाल
काठमाडौं– यस पटकदेखि दुई ठाउँबाट चुनाव लड्न नपाइने भएपछि चुनावी मैदानमा उत्रिएका शीर्ष नेताहरुलाई चुनौती थपिएको छ। कसैगरी एक ठाउँबाट हारियो भने पनि अर्को ठाउँप्रति आश राख्ने अवस्था अहिले छैन। त्यसैले पनि शीर्ष र चर्चित नेताहरु प्रतिस्पर्धा गर्ने ठाउँबारे मानिसमा चासो बढ्नु स्वाभाविक हो।

एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ भने नेपाली कांग्रेसले पनि कतिपय ठाउँमा नयाँ शक्ति, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका दलसँग तालमेल गरेको छ। यसै कारणले पनि हिमाली र पहाडी क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा देख्न सकिन्छ। मधेसमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ। त्यहाँ वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेसकेन्द्रित दुई दलको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको हो।

केही शीर्ष नेताहरु अन्य पार्टीका शीर्ष वा चर्चित नेतासँगै चुनावी प्रतिस्पर्धामा होमिएका कारण पनि यसपटक ती क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको छ। जस्तो कि, गोरखा–२ बाट नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, धनुषा ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो प्रतिस्पर्धा गर्दैछन्।

आगामी चुनावमा प्रायजसो मुख्य नेता प्रत्यक्ष तर्फबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन्। केही चर्चित नेताले भने टिकट पाएका छैनन्। नेपाल लाइभले उनीहरुको निर्वाचन क्षेत्र र मुख्य प्रतिस्पर्धीलाई केलाउने प्रयास गरेको छ। र, यहाँ पहिलो चरण अन्तर्गत मंसिर १० गते र दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनको संयुक्त सूची बनाइएको छ।
नेपाली कांग्रेस

१. शेरबहादुर देउवा

देउवा डडेल्धुरा–१ बाट प्रतिस्पर्धा गर्दैछन्। डडेल्धुरामा प्रतिनिधिसभाको एउटा मात्रै चुनाव क्षेत्र छ। उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन्। भट्ट देउवासँग दुई पटक पराजित भइसकेका छन्। २०६४ सालमा पहिलो संविधानसभाको चुनावमा देउवाले २० हजार ५ सय २९ मत ल्याएका थिए, भट्टले १९ हजार १ सय ६१ मत ल्याएका थिए। दोस्रो संविधानसभाको चुनावमा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्याउँदा भट्ट १२ हजार ३ सय ३२ मा खुम्चिएका थिए। वाम गठबन्धनको अर्को दल एमालेको यहाँ खासै प्रभाव छैन। गत संविधानसभाको चुनावमा एमालेका उम्मेदवार ताराप्रसाद जोशीले १ हजार १ सय ३० मत मात्र ल्याएका थिए।

२. रामचन्द्र पौडेल

पौडेल तनहुँ–१ बाट प्रतिस्पर्धा गर्दैछन्। यसअघिका दुवै निर्वाचनमा उनले तनहुँ–२ बाट प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला तनहुँमा ३ वटा निर्वाचन क्षेत्र थियो। अहिले २ वटा मात्रै क्षेत्र छन्। उनीसँग यसपटक पनि एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले प्रतिस्पर्धा गर्दैछन्। ०७० को दोस्रो संविधानसभा चुनावमा पनि पौडेलका मुख्य प्रतिस्पर्धी किसान नै थिए। त्यतिबेला पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा किसानले ११ हजार ७ सय ३९ मत पाएका थिए।

पौडेलका अर्का प्रतिस्पर्धी पार्टीकै बागी नेता गोविन्दराज जोशी पनि हुन सक्नेछन्। पौडेलले उम्मेदवारी दिएको तनहुँ–२ बाटै टिकट पाउन निकै जोड गरे पनि टिकट नपाएपछि जोशीले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। उनले कांग्रेसकै मत कटाउने भएकाले पौडेललाई समेत अप्ठेरोमा पार्न सक्छन्। तर, पौडेलले निर्वाचन आयोगमा जोशी भ्रष्टाचारी मुद्दाका आरोपी भएकाले उम्मेदवार हुन अयोग्य भन्दै उजुरी दिएका छन्।

३‍. प्रकाशमान सिंह

सिंह साबिकझैं यस पटक पनि काठमाडौं–१ बाट प्रतिस्पर्धामा उत्रिएका छन्। दुई वटै संविधानसभा चुनावमा उनले सोही क्षेत्रबाट सानदार जित निकालेका थिए। पहिलो संविधानसभा चुनावमा उनले एमाले नेता प्रदीप नेपाललाई हराएका थिए। दोस्रो संविधानसभा चुनावमा उनले माओवादी नेतृ रेणु दाहाललाई पराजित गरे। दोस्रो संविधानसभाको चुनावमा सिंहले १५ हजार १ सय ३९ मत ल्याउँदा दाहालले जम्मा ४ हजार ६३ मत ल्याएकी थिइन्।

यसपटक सिंहले माओवादीका उम्मेदवार अनिल शर्मासँग प्रतिस्पर्धा गर्दैछन्। विद्यार्थी राजनीतिमा सक्रिय शर्मा पहिलोपटक संसदीय चुनाव लड्दैछन्। दुई महिनाअघि उनी आफ्नै विद्यार्थी संगठनको आन्तरिक चुनावमा पराजित भएका थिए।

४. कृष्णप्रसाद सिटौला

सिटौलाले झापा–३ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। उनको स्थानमा वाम गठबन्धनले उम्मेदवारी दिएको छैन। तर, राप्रपाका राजेन्द्र लिङ्देन मुख्य र बलियो प्रतिस्पर्धी छन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित सिटौला ०७० सालको चुनावमा भने झापा–३ बाट लिङ्देनलाई नै पराजित गरेर संविधानसभा सदस्य भएका थिए। त्यतिबेला उनले १४ हजार ३ सय ५५ मत ल्याउँदा लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए। यसपटक एमाले र माओवादीको गठबन्धनले लिङ्देनलाई सघाउने भनेपछि सिटौला थप चुनौतीमा छन्।

५. शशांक कोइराला

कांग्रेस महामन्त्री कोइराला नवलपरासी (बर्दघाट पूर्व)–१ बाट चुनाव लड्दैछन्। जिल्ला टुक्रिनुअघि उनले दुवै संविधानसभामा निर्वाचनमा नवलपरासी–१ बाटै जितेका थिए। पछिल्लो चुनावमा उनले त्यहाँ एमाले उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका थिए। उनीसँग वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविश्वर पराजुली प्रतिस्पर्धा गर्दैछन्।

६. रामशरण महत

महत नुवाकोट–१ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी दुवै संविधानसभा चुनावमा नुवाकोट–२ बाट विजयी भएका थिए। उनले दुवै पटक माओवादीका उम्मेदवार हितबहादुर तामाङलाई पराजित गरेका थिए। यसपटक पनि उनीसँग तामाङले नै प्रतिस्पर्धा गर्दैछन्।

७. शेखर कोइराला

कोइराला ०६४ सालको संविधानसभा चुनावमा मोरङ–७ मा विजयकुमार गच्छदारसँग पराजित भएका थिए। गच्छदारले उक्त क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा भने कोइराला विजयी भए। तर, ०७० को दोस्रो संविधानसभा चुनावमा भने उनले गच्छदारलाई नै हराए।

हाल कोइराला मोरङ–६ बाट प्रतिस्पर्धा गर्दैछन्। उनलाई चुनौती दिँदैछन्, एमाले नेता लालबाबु पण्डितले। पण्डित सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भएका बेला गरेका कामले निकै चर्चित छन्।

८. गगन थापा

थापा यसपटक पनि काठमाडौं–४ बाटै उम्मेदवार भएका छन्। पहिलो संविधानसभामा समानुपातिक सभासद भएका उनी दोस्रो संविधानसभाको चुनावमा भने यही क्षेत्रबाट उम्मेदवार भएका थिए। त्यतिबेला उनी एमालेका निर्मल कुइँकेललाई १३ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भए। यसपटक थापासँग वाम गठबन्धनका संयुक्त उम्मेदवार राजन भट्टराई प्रतिस्पर्धामा छन्।

९. विजयकुमार गच्छदार

गच्छदार यस पटक पनि पुरानै क्षेत्र र प्रतिस्पर्धीका साथमा चुनाव भिड्दैछन्। उनी यसअघिको चुनावमा दुई ठाउँबाट उम्मेदवार भए पनि सुनसरी–३ बाट मात्रै विजयी भएका थिए। त्यतिबेला उनले एमाले उम्मेदवार भगवती चौधरीलाई झिनो मतान्तरले पछि पारेका थिए। फरक के भने उनी त्यतिबेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट विजयी भएका थिए। ०६४ माघ १८ गते पार्टी छाडेका गच्छदार २०७४ असोज ३० गते पुनः कांग्रेस फर्किएपछि कांग्रेसबाट उम्मेदवार बनेका छन्।

नेकपा एमाले

१. केपी ओली

ओली झापा–५ बाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन्। उनीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्दैछन्। यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ बाट विजयी ओलीले कांग्रेस उम्मेदवार सुरेशकुमार सुब्बालाई ८ हजारभन्दा बढी मतान्तरले पछि पारेका थिए।

२. माधवकुमार नेपाल

नेपाल यस पटक पनि काठमाडौं–२ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी सो क्षेत्रबाट पहिलो संविधानसभाको चुनावमा माओवादी उम्मेदवार झक्कु सुवेदीसँग पराजित भएका थिए भने दोस्रो संविधानसभा चुनावमा कांग्रेस उम्मेदवार प्रतिमा गौतमलाई ९ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका थिए। यसपटक नेपालसँग कांग्रेस उम्मेदवार दीपक कुइँकेल प्रतिस्पर्धामा छन्। दोस्रो संविधानसभाको चुनावमा दुई ठाउँबाट विजयी नेपालले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा कुइँकेल विजयी भएका थिए।

नेपालसँग प्रतिस्पर्धा गर्ने अर्का नेता हुन्, सूर्यराज आचार्य। उनी विवेकशील साझा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दैछन्।

३. झलनाथ खनाल

खनाल इलाम- १ बाट उम्मेदवार बनेका छन्। उनी सोही क्षेत्रबाट दुवै संविधानसभामा विजयी भएका थिए। पहिलो संविधानसभाको चुनावमा उनले नेपाली कांग्रेसका बेनुपराज प्रसाईंलाई हराएका थिए भने दोस्रोमा कांग्रेसकै हिमालय कर्माचार्यलाई हराएका थिए। दोस्रो संविधानसभामा उनी अर्को क्षेत्र सर्लाही–१ बाट माओवादी उम्मेदवारसँग पराजित भएका थिए। यसपटक खनालसँग कांग्रेसका भूपेन्द्र कट्टेललले प्रतिस्पर्धा गर्दैछन्।

४. वामदेव गौतम

गौतम बर्दिया–१ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी यो क्षेत्रबाट संविधानसभाको निर्वाचन २०६४ मा माओवादीकी उम्मेदवार सरला रेग्मीसँग ४ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। तर, दोस्रो संविधानसभाको चुनावमा उनले माओवादीकै उम्मेदवारलाई झन्डै ७ हजार मतान्तरले पराजित गरे। उनी प्युठान–१ बाट पनि विजयी भएका थिए। उनीसँग यसपटक नेपाली कांग्रेसका सञ्जय गौतमले मुख्य प्रतिस्पर्धा गर्दैछन्। सञ्जय ०७० सालको चुनावमा बर्दिया–२ बाट विजयी भएका थिए।

५. ईश्वर पोखरल

पोखरेल पहिलो र दोस्रो दुवै संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ५ बाट नरहरि आचार्यसँग पराजित भएका थिए। यसपटक पोखरेलसँग कांग्रेसका प्रकाशशरण महतले प्रतिस्पर्धा गर्दैछन्। महत पनि कांग्रेसमा प्रभावशाली नेता भएकाले पोखरेललाई जित हात पार्नु सहज भने छैन।

६. सुवास नेम्वाङ

नेम्वाङ इलाम–२ बाट निरन्तर जित्दै आएका एमाले नेता हुन्। बहुदलपछि भएका सबै निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका छन्। यसपटक पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। यसपटक नेम्वाङलाई कांग्रेसका केशव थापाले चुनौती दिँदैछन्। थापा ०७० सालको चुनावमा इलाम–३ बाट एमाले उम्मेदवार टेकबहादुर राईलाई पराजित गर्दै संविधानसभा सदस्य भएका थिए। पहिले ३ वटा निर्वाचन क्षेत्र रहेको इलाममा अहिले २ निर्वाचन क्षेत्र कायम भएको छ।

७. भीम रावल

रावल ०७० सालको दोस्रो संविधानसभा चुनावमा अछाम–१ बाट विजयी भएका थिए। उनी पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। यस पटक उनीसँग प्रतिस्पर्धा गर्दैछन् कांग्रेसका भरतकुमार स्वाँरले। स्वाँर नेपाली कांग्रेस अछामका जिल्ला सभापति हुन्।

८. प्रदीप ज्ञवाली

ज्ञवाली ०७० सालको चुनावमा गुल्मी–२ बाट पराजित भएका थिए। यसपटक उनी गुल्मी–१ बाट प्रतिस्पर्धा गर्दैछन्। ज्ञवालीसँग तिनै उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्, जसले उनलाई हराएका थिए। उनका प्रतिस्पर्धी हुन् नेपाली कांग्रेसका चन्द्र भण्डारी। ०७० सालमा भण्डारीले २१ हजार १ सय ८७ मत ल्याउँदा ज्ञवालीले १८ हजार ६ सय १४ मत पाएका थिए।

माओवादी केन्द्र

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्ड पहिलो संविधानसभाको चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित भएका थिए। दोस्रोमा उनी काठमाडौं–१० बाट पराजित र सिरहा–५ बाट विजयी भएका थिए।

अहिले उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चितवन–३ बाट प्रतिस्पर्धामा छन्। उनीसँग राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्। पाण्डेले ०७० सालको चुनावमा नवलपरासी–१ र चितवन–५ बाट प्रतिस्पर्धा गरेका थिए। उनी चितवन ५ बाट एमालेका उम्मदेवारलाई उछिन्दै विजयी भएका थिए।

२. नारायणकाजी श्रेष्ठ

पहिलो संविधानसभाको चुनावपछि माओवादीसँग पार्टी एकता गरेका श्रेष्ठ दोस्रो संविधानसभाको चुनावमा मकवानपुर–२ बाट पराजित भएका थिए। तर, यसपटक उनी गृहजिल्ला गोरखाबाट प्रतिस्पर्धा गर्दैछन्। उनी उम्मेदवार रहेको गोरखा–२ अर्का चर्चित नेता नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पनि प्रतिस्पर्धा गर्दैछन्। उनी पहिलो संविधानसभाको चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए। पहिलोमा उनले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चन्द्रप्रकाद न्यौपानेले ६ हजार १ सय ४३ मत पाएका थिए। त्यतिबेला उनी सर्वाधिक मतान्तरमा विजयी नेता बनेका थिए। संविधानसभाको दोस्रो चुनावमा भने उनले २२ हजार ८ सय २४ मत पाएका थिए।

विपक्षी कांग्रेस उम्मेदवार किरणबाबु श्रेष्ठले ८ हजार ७ सय ७१ मत पाएका थिए। दोस्रो संविधानसभाको चुनावमा उनी रुपन्देही–४ मा भने तेस्रा भएका थिए। भट्टराईले ती सबै चुनाव माओवादीको उम्मेदवारका रुपमा लडेका थिए। तर, अहिले उनी नयाँ शक्तिको उम्मेदवारका रुपमा माओवादीसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।

३. कृष्णबहादुर महरा

महरा दाङ-२ बाट उम्मेदवार बनेका छन्। पहिलो संविधानसभा निर्वाचनमा उनी दाङ-३ बाट निर्वाचित भएका थिए। ०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी रोल्पाबाट विजयी भए। महरासँग कांग्रेसका राजु खनालले प्रतिस्पर्धा गर्दैछन्। खनालले २०७० को चुनावमा दाङ-३ मा माओवादी उम्मेदवार निर्मल आचार्यलाई पराजित गरेका थिए।

४. गिरिराजमणि पोखरेल

पोखरेल संविधानसभाका दुवै चुनावमा महोत्तरी–१ बाट विजयी भएका नेता हुन्। पहिलो संविधानसभामा एमाले र दोस्रोमा कांग्रेस उम्मेदवार उनका मुख्य प्रतिस्पर्धी थिए। यसपटक उनीसँग कांग्रेसका सीताराम भण्डारीले प्रतिस्पर्धा गर्दैछन्। भण्डारी ०७० सालको चुनावमा महोत्तरी–६ बाट निर्वाचित उम्मेदवार हुन्। उनी ०६४ सालको चुनावमा भने शरतसिंह भण्डारीसँग सोही क्षेत्रमा पराजित भएका थिए।

५. जनार्दन शर्मा

शर्मा पश्चिम रुकुमबाट प्रतिस्पर्धामा छन्। रुकुम एउटै जिल्ला हुनुअघि उनी रुकुम २ बाट विजयी भएका थिए। उनीसँग नेपाली कांग्रेसका उम्मेदवार गोपालजीजंग शाह प्रतिस्पर्धामा छन्। शाहले शर्मासँग ०७० सालमा पनि प्रतिस्पर्धा गरेका थिए। तर, उनी झन्डै १० हजार मतान्तरले पराजित भएका थिए।

६. वर्षमान पुन ‘अनन्त’

अनन्त रोल्पाबाट प्रतिस्पर्धामा छन्। ०७० सालको चुनावमा उनी मोरङ ९ बाट उम्मेदवार भएका थिए। उनी त्यहाँ तेस्रा भएका थिए। यसपटक उनीसँग अमरसिंह पुन: प्रतिस्पर्धा गर्दैछन्। उनी वर्तमान सिँचाइ राज्यमन्त्री तथा कांग्रेस जिल्ला सभापति हुन्। ०७० सालमा गठन भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सभासद भएका थिए।

७. पम्फा भुसाल

पहिलो संविधानसभाको चुनावमा भुसाल ललितपुर- ३ बाट विजयी भएकी थिइन्। उनले ०६४ सालको चुनावमा सोही क्षेत्रबाट जित हासिल गरेकी थिइन्। दोस्रो संविधानसभाको चुनावमा भने उनले भाग लिइनन्। उनीसँग कांग्रेस उम्मेदवार मदनबहादुर अमात्य प्रतिस्पर्धामा छन्। अमात्य ०७० सालमा सोही क्षेत्रबाट विजयी नेता हुन्। उनले त्यतिबेला माओवादीकै उम्मेदवार दिनेश हुमागाईलाई १० हजार मतान्तरले पराजित गरेका थिए।

संघीय समाजवादी फोरम

१. उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका संयोजक यादव सप्तरी–२ बाट प्रतिस्पर्धा गर्दैछन्। पहिलो संविधानसभाको चुनावमा सुनसरी–५ र मोरङ–५ बाट विजयी यादव दोस्रो संविधानसभाको चुनावमा पुनः ती दुवै क्षेत्रबाट उम्मेदवार भएका थिए। तर, उनी सुनसरी ५ बाट मात्रै विजयी हुन सकेका थिए।

सप्तरीमा उनीसँग वाम गठबन्धनका उमेश यादव र लोकतान्त्रिक गठबन्धनका सकलदेव यादव प्रतिस्पर्धामा छन्। उमेश यादव ०७० सालको चुनावमा सप्तरी-३ बाट विजयी भएका थिए।

२. अशोक राई

एमालेबाट छुट्टिएपछि संघीय समाजवादी पार्टी खोलेका अशोक राई अहिले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा छन्। उनी सुनसरी–१ बाट प्रतिस्पर्धा गर्दैछन्। उनी उम्मेदवार भएको क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवारी परेको छैन। तर, वाम गठबन्धनबाट भने एमालेका जयकुमार राईले प्रतिस्पर्धा गर्दैछन्।

राष्ट्रिय जनता पार्टी

१. महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुर महोत्तरी-३ बाट प्रतिस्पर्धामा उत्रिएका छन्। ०७० सालमा सम्पन्न संविधानसभाको चुनाव उनी तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट सर्लाही-६ बाट चुनाव लडेका थिए।

त्यतिबेला उनी तेस्रा भएका थिए। उनले ७ हजार ३२ मत पाएका थिए। पहिलो भएका कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहले १७ हजार ४ सय मत पाएका थिए। यसपटक उनले नयाँ क्षेत्र रोजेका छन्। उनीसँग वाम गठबन्धनका तर्फबाट एमालेका विजयीकुमार चौधरी र कांग्रेसका बजरंग नेपाली प्रतिस्पर्धामा छन्।

२. राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका महतो धनुषा-३ बाट प्रतिस्पर्धा गर्दैछन्। ०७० को संविधानसभाको चुनावमा उनी सर्लाही–४ बाट महेन्द्रराय यादवसँग पराजित भएका थिए। यसपटक पनि उनले नयाँ क्षेत्र रोजेका छन्। उनीसँग मुख्य प्रतिस्पर्धामा कांग्रेसका विमलेन्द्र निधि हुने ठानिएको छ। त्यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रामसिंह यादव पनि प्रतिस्पर्धामा छन्। निधि भने सोही निर्वाचन क्षेत्रबाट०६४ र ०७० सालमा विजयी भएका थिए।

३. महेन्द्र राय यादव

यादव ०७० सालको संविधानसभा दोस्रो चुनावमा सर्लाही-४ बाट विजयी नेता हुन्। तर, उनी यसपटक सर्लाही-२ बाट चुनाव लड्दैछन्। त्यतिबेला उनी तराई मधेस सद्भावना पार्टीबाट चुनाव लडेका थिए। अहिले उनी राजपाका अध्यक्ष मण्डलका नेता हुन्। उनलाई कांग्रेसका जंगीलाल राय र वाम गठबन्धनका तर्फबाट माओवादीका दिनेशराय यादवले टक्कर दिनेछन्।

जंगीलाल यादव ०७० सालको चुनावमा सर्लाही–५ बाट विजयी भएका थिए। उनले त्यतिबेला तराई मधेस लोकतान्त्रिक पार्टीबाट जितेका थिए। तर, उनी केही दिन अघिमात्रै कांग्रेस प्रवेश गरेका हुन्।

नेपाल लाइभमा प्रकाशित २o७४ कार्तिक १८ शनिबार| प्रकाशित १३:३६:oo
http://www.nepallive.com/news-details/5056/2017-11-04

No comments:

Post a Comment