Pages

Wednesday, May 24, 2017

एक प्रचण्डका दुई राजीनामा सम्बोधन, कति अन्तर कति समान?

किशोर दहाल

प्रधानमन्त्रीको रुपमा प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ गते कुल ४६४ मत (खसेको मत ५७७) का साथ निर्वाचित भएका थिए। र, २०६६ वैशाख २१ गते राजीनामा दिएका थिए। दोस्रो पटक भने २०७३ साउन १९ गते कुल ३६३ मत (खसेको मत ५७३) का साथ निर्वाचित भएका थिए। र, उनले दोस्रो कार्यकालको अन्त्य गर्दै २०७४ जेठ १० गते राजीनामा दिएका छन्। पहिलो पटक सरकार बनाउँदा उनले मुख्य रुपमा एमालेको साथ लिएका थिए भने दोस्रो पटक कांग्रेससँग। अन्य सहयोगी भने लगभग उस्तै।

उनको राजीनामा दुवै पटक चर्चित रह्यो। पहिलो पटक उनले आकस्मिक रुपमा राजीनामा दिएर सबैलाई छक्क पारेका थिए भने दोस्रो पटक सहमति पालना नगर्ने र सत्ता छाड्न गाह्रो मान्ने परम्परालाई तोड्दै। पहिलो राजीनामामा शब्दमै उल्लेख नगरे पनि उनको राजीनामासँग द्वैध सत्ताको नैतिकता जोडिएको थियो। प्रधान सेनापति रुकमाङ्गत कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध 'राष्ट्रपतिले केही शंकास्पद शक्तिहरुको उक्साहट र दबाबमा कदम चालेपछि' प्रधानमन्त्री नैतिक संकटमा धकेलिए। र, उनले राजीनामा दिए।

तर, दोस्रो राजीनामामा भने उनले नैतिकतालाई उल्लेख नै गरे र भने, 'मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु।'

यसका साथै प्रचण्डको राजीनामामा अन्य केही समानता र असमानता पाइन्छ। विशेष गरी उनमा सैद्धान्तिक र प्राप्तिको राजनीतिबाट व्यवहारिक राजनीतितिरको अवतरण महसुस गर्न सकिन्छ। पहिलो राजीनामामा उनले आफू अघिअघि हिँड्न खोजेको, अन्य दललाई पनि आफ्नै गतिमा हिँडाउन खोजेको तर उनीहरु नमानेको झलक दिएका थिए। तर, अहिले आफू सबैको साथसाथै हिँडेर सबैको स्वीकार्य नेतृत्वको भूमिका खेल्न खोजेको र केही हदसम्म सफल पनि भएको बताउन खोजे। यसलाई नकार्नुपर्ने कारण छैन।

Tuesday, May 23, 2017

एमाले अर्थात् उडन्ते गफको स्रोत

किशोर दहाल

चुनावको केही दिन अघि फेसबुक र ट्वीटरमा एउटा स्क्रीनसट निकै हिट भइरहेको थियो । ‘फेसबुकका मालिक मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरेको’ भन्ने समाचार लिंकको स्क्रीनसट देखेर हाँसेको थिएँ । समाचारको शीर्षक नै एमाले सचिव योगेश भट्टराइको भनाइमा आधारित रहेको थियो । चुनाव प्रचार प्रसारमा आफ्नो पार्टीलाई केकति कारणले राम्रो देखाउने भन्दा पनि अर्को पार्टीलाई खुइल्याउने धन्दा चलिरहेको समयमा कोही विपक्षी ‘हनुमान’ले प्रविधीको दुरुपयोग गरेको हुनसक्ने ठहर गरेँ ।

तर, स्क्रीनसट भाइरल भएको भोलिपल्टै नयाँ पत्रिका दैनिकको अनलाइन संस्करण हेर्दै जाँदा एउटा समाचार शीर्षकमा आँखा प¥यो । समाचार शीर्षक थियो–


भट्टराईलाई जोडेर भाइरल भइरहेको स्क्रीनसट सत्य नै रहेछ ।

पहिलो संविधानसभाको विघटन भएपछि जताततै निराशा छाइरहेको अवस्थामा बीबीसी नेपाली सेवाका लागि एउटा स्रोता प्रतिक्रिया पठाएको थिएँ । जसमा मैले योगेश भट्टराइलाई पनि जोडेको थिएँ । रेकर्ड गरिएको सबै आवाज त प्रशारित भएन । तर, प्रशारित भएको अंश यति थियो–

बिना उपलब्धी संविधानसभाको अन्त्य भएपछि दलका नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । अब के होला भन्ने अन्योलको माझमा पनि बौद्धिक वर्गद्वारा रुचाइएका गगन थापा, योगेश भट्टराइ र वर्षमान पुन ‘अनन्त’ जस्ता युवा नेताहरु भने मौन छन् । युवा नेताहरुको भूमिका सधैंभरि बृद्ध नेताले देखाइदिएको बाटोमा हिँड्नु मात्रै हो र ?

Tuesday, May 16, 2017

कान्तिपुर, बल्ब खरिद प्रकरण र शंकाको सुविधा

किशोर दहाल

सरकारले करिब दुई सय मेगावाट विद्युत जोगाउने महत्वाकांक्षी लक्ष्यका साथ एलईडी बल्ब खरिद गर्ने प्रक्रिया सुरु गरेपछि त्यसमा अनियमितताको आशंका गर्दैै मिडिया तातिरहेको छ । खासगरी, कान्तिपुर दैनिकले बैशाख २५ गते ‘ठूलो आर्थिक चलखेल’ भन्दै समाचार छापेपछि त्यसले तरङ्ग ल्यायो । समाचारको मुख्य आशय छ– भारतमा रु. ३८ पर्ने एलईडी बल्ब विद्युत प्राधिकरणले रु. ६५ मा किन्न खोजेको छ र यसले आर्थिक अनियमितताको नियत राखिएको छ । लगत्तै अन्य केही मिडियाले पनि यस प्रकरणमा सक्रियता देखाए । २९ गते पुनः कान्तिपुरले नै फलो अप समाचार  प्रकाशित ग¥यो । प्रकरणका थप पाटाहरु खोलियो । र, मिडिया वारको स्थिति देखा परिरहेको छ । यहाँ यिनै कुराहरुलाई विश्लेषण गरिएको छ । विश्लेषणका लागि यस प्रकरणलाई छोएर लेखिएका फरक फरक मिडियाका समाचार र विश्लेषणलाई एकिकृत गर्दै र मेरो आफ्नो विश्लेषण पनि थपेको छुः

कान्तिपुर प्रतिको आशंका

- कान्तिपुर दैनिकले विगतदेखि नै ‘स्रोत’को हवाला दिँदै लोडसेडिङमुक्त अभियानप्रति असन्तुष्टि झल्कने समाचार सम्प्रेषण गर्दै आइरहेको थियो । लोडसेडिङमुक्त अभियानबारे चासो राखिरहेका जोसुकैले उसको यो समाचार शृङ्खलाप्रति आश्चर्य जनाउने गरेका हुन् । उसले गत तिहारपछि नै कुलेखानीको पानी बढी प्रयोग गरिएको र हिउँदमा झन् लोडसेडिङ बढ्ने समाचार प्रकाशित गरिरहेको थियो । धेरैले लोडसेडिङको बेला खपत हुने इन्भर्टर लगायतको सामानको विज्ञापनको लागि यस्तो नियोजित समाचार प्रकाशित गरेको हुनसक्ने आशंका गरेका थिए ।

- कान्तिपुरले विगतमा पनि लोडसेडिङबारे समाचार सम्प्रेषण गर्दा प्राधिकरणका उच्च अधिकारीको हवाला दिने गरेको छ । स्रोत शब्दलाई नाजायज मान्न त नसकिएला तर जतिबेला पनि लोडसेडिङ मुक्त अभियानको विरोधी जस्तो सुनिने त्यस्ता स्रोतको प्रयोगमा नै शंका लाग्नु स्वभाविक हो । र, बल्ब खरिद प्रकरणमा अहिले पनि स्रोतको प्रयोग गरिएको छ । कतै कान्तिपुरले समाचारलाई आफ्नो ढाँचा दिन त्यसखाले स्रोतको प्रयोग गरेको छ होइन ?

- कान्तिपुरकै विगत । पछिल्लो विगत, चन्द्रागिरीबारेको उसको केही फलोअप । जसलाई हिसाबकिताब मिलेर फलोअप गर्न छाडिएको आशंका गरिन्छ । त्यसअघि पनि स्रोतले चिप्ल्याएका केसहरु धेरै छन् ।

- सामाजिक सञ्जालमा बल्ब खरिद प्रकरणबारे प्रशस्त मत बाँडिएका छन् । फरक फरक मिडिया हाउसका फरकफरक विश्लेषणलाई केलाइरहेको छ । समाचारहरु सेयर भइरहेका छन् । तर, कान्तिपुरको पाठक प्रतिक्रियामा एकोहोरो र उसको समाचारमा समर्थन पुग्ने प्रतिक्रियालाई स्थान दिइएको छ । अझै रमाइलो त के छ भने, जसरी कान्तिपुरले कुलमानलाई दोषी नदिई जनार्दन शर्मालाई दोषी देखाउने रणनीति भएको अनुमान लगाउन सकिने समाचार प्रकाशित ग¥यो, पाठकपत्र पनि सोही अनुसारका छन् । यो उसको नियतमा नै रहेको खराबी हुन सक्छ वा त्यस किसिमको पाठक प्रतिक्रिया नै फेक हुनसक्छ । त्यसकारण, कान्तिपुरले आफ्नो लाइन अनुसारको पाठक प्रतिक्रिया प्रकाशित गरिरहेको त छैन ? भन्ने आशंका पनि उठेको छ । यो सत्य रहेछ भने, उसको समाचार पनि नियोजित हो भन्ने पुष्टि हुन्छ ।

Saturday, May 13, 2017

के के सम्झिने भोट हाल्दा ?

किशोर दहाल

चुनावमा तालमेल कुनै तर्कले राम्रो कुरा होइन । बीस वर्षपछि भइरहेको स्थानिय तह (संवैधानिक प्रावधान फरक भएता पनि त्यसलाई जनताको नजिकको सरकारको रुपमा पहिले र अहिलेको व्यवस्थालाई उस्तै ठान्न सकिएला)मा दलहरुले स्थानिय स्तरमा गरेका कामको स्थानिय जनताले मूल्याङ्कन गर्ने राम्रो अवसर हो यो । जनतालाई परेका सुखदुखमा साथ दिने, हौसल्ला बढाउने, मर्दापर्दा सहयोग गर्ने, विकास निर्माणको लागि दौडधुप गर्न सक्ने वा गरिरहेको सहज खालको मान्छेलाई चुन्ने यस प्रक्रियामा जनतालाई रणनीतिक सिन्डिकेट लगाइनु हुँदैन्थ्यो । तर, दलहरुले आफ्ना स्थानीय नेता, विगतका कार्यशैलीलाई स्वतन्त्र परीक्षण गर्न हच्किए । त्यसैले बढीभन्दा बढी तालमेल गरेर जाने प्रयत्न भयो । तालमेलको प्रयास असफल भएका ठाउँमा मात्रै एक्लै लड्ने आँट गरियो । बीस वर्षपछि हुने चुनावमा समेत एक्लै चुनाव लड्ने आँट र जनाधारको विश्वास नभएको नेताले चुनाव जितेर कुन क्षमता प्रदर्शन गर्ला त्यो विस्तारै थाहा होला ।

तर, दलहरुले चुनावी तालमेल गरेर जसरी निर्लज्जता देखाए, त्यसैगरी काठमाडौंका केही जान्नेसुन्ने पत्रकारले अर्को निर्लज्जता प्रदर्शन गरे । तालमेल भएका मध्ये बढी चर्चामा रह्यो चितवन महानगरपालीकाको मेयर पद । त्यहाँ माओवादी र कांग्रेसबीच भएको तालमेलले काठमाडौंमा धेरैको निद हराम भएको बुझ्न सकिन्छ । उनीहरुले चितवनमा मेयरको रुपमा माओवादीलाई भोट हाल्दै गर्दा ‘बाँदरमुढे घटना’ नबिर्सन सामाजिक सञ्जालबाट खुला आह्वान गरे । बाँदरमुढे घटना माओवादी जनयुद्ध क्रमको निकै क्रुर घटनामध्यको एक हो ।