Pages

Tuesday, July 25, 2023

स्वतन्त्र उम्मेदवारको विगत : जित्छन्, तर पार्टी प्रवेश गर्छन्, नत्र ओझेल पर्छन्

किशोर दहाल

मंगलबार, असोज ११, २०७९  २०:३७

काठमाडौं– ३० वर्षे लामो पञ्चायती शासन ढलेपछि २०४८ वैशाखमा भएको पहिलो निर्वाचनमा ३ जना स्वतन्त्र उम्मेदवारले जित निकालेका थिए, राजदेव गोइत (सिरहा- ४), गोविन्द चौधरी (रौतहट- ३) र ओमकारप्रसाद गौचन (बागलुङ- ३)। तर ती लामो समय स्वतन्त्र नै रहिरहन सकेनन्।

तत्कालीन २०५ सदस्यीय प्रतिनिधि सभाको बहुमत प्राप्त र सरकार सञ्चालक दल नेपाली कांग्रेस थियो। स्वतन्त्र जितेका तीनै जना सांसदहरु २०४८ असारमै कांग्रेससँग जोडिए। ३ वर्षपछि २०५१ मा भएको निर्वाचनमा गोइत सिरहा- ४ मै कांग्रेसबाट उम्मेदवार बन्दै जित निकाले। अन्य २ भने प्रतिस्पर्धामा देखिएनन्। ओझेल परे।

२०५१ सालमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेका शरदसिंह भण्डारी र पाल्तेन गुरुङ जस्ता नेताहरु कांग्रेससँग जोडिएर अघि बढे। भण्डारी पछि मधेस केन्द्रित दलतिर लागे। ज्योतेन्द्रमोहन चौधरी राप्रपा प्रवेश गरे। कोही पनि पार्टीविहीन भएर बसेनन्।

२०५६ सालको आम निर्वाचनमा जित्न त ७ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए। तर उनीहरु संयुक्त जनमोर्चा, राष्ट्रिय जनमोर्चा वा नेमकिपा जस्ता दलका उम्मेदवार थिए। ३ प्रतिशत मत कटाउन नसकेका कारण ती पार्टीका सांसदको हैसियत स्वतन्त्र हुन पुगेका थियो। त्यसैले उनीहरु स्वतन्त्र उम्मेदवार भएको विषय प्राविधिक मात्रै थियो।

पहिलो संविधान सभाको निर्वाचनमा २ जना स्वतन्त्र उम्मेदवारहरु विजयी भएका थिए, सदरुल मिया हक (सप्तरी- ५) र बबन सिंह (रौतहट- १)। हकले लामो राजनीतिक जीवन बाँच्न पाएनन्। २०७० जेठमै उनको हत्या भयो। सिंह भने तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम हुँदै तत्कालीन नेकपाको विभाजित वातावरणमा केपी ओली समूहमा प्रवेश गरेका थिए।

राष्ट्रिय सभा अध्यक्षको पत्राचार: ‘असम्बन्धित पक्ष’को ‘बेतुक’को सक्रियता!

किशोर दहाल

सोमबार, असोज १०, २०७९  १७:२८

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सचिवालयमार्फत् असोज ६ गते निर्वाचन आयोगलाई पत्र पठाएर सोधे- प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यावधि कहिलेसम्म हो? प्रतिनिधि सभाका पदाधिकारी अर्थात् सभामुख र उपसभामुखको कार्यवधिबारे यसरी चासो राखेर राष्ट्रिय सभाका अध्यक्षले पत्राचार गर्दै सक्रियता देखाएको घटना नेपालको संसदीय इतिहासमा सम्भवतः पहिलो हो।

सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भनेर आम रुपमै बहस भइरहेको छ। पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेकै छ। यसै सन्दर्भमा सर्वोच्च अदालतमा रिट समेत परेको छ। जुन विचाराधीन छ। तर, सर्वोच्च अदालतबाट कुनै निर्णय नआउँदै अध्यक्ष तिमिल्सिना अघि बढेका हुन्। जबकि, सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भन्ने विषयले अध्यक्ष तिमिल्सिनाको दैनिक कार्यमा कुनै किसिमको फरक पर्दैन।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले राष्ट्रिय सभाका अध्यक्षको यस किसिमको पत्राचार र सक्रियतालाई खेदजनक र कानुन विपरीत भएको प्रतिक्रिया दिएको छ। संविधान र कानुनले निर्दिष्ट गरेको क्षेत्राधिकारभन्दा बाहिर जाने अधिकार कसैलाई नभएको सचिवालयको भनाइ छ। ‘क्षेत्राधिकारभन्दा बाहिर गएर अर्थहीन र गैरकानुनी क्रियाकलाप जारी राख्ने, पत्र लेख्ने काम गरिएको छ। यो त अति खराब काम हो। यसले उनको पद, मर्यादा, गरिमा, आचार सबैमा प्रश्न खडा गरेको छ,’ सचिवालयका एक जना सदस्यले भने।

टिप्पणी : संविधानलाई 'रेड कार्पेट' बनाउने राष्ट्रपति भण्डारीको प्रयत्न!

किशोर दहाल

बुधबार, असोज ५, २०७९  ०४:११

संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणको लागि पठाएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरिदिएकी छिन्। १५औँ दिनसम्म 'होल्ड' गरेको विधेयक मंगलबार राति १२ बजेअघि प्रमाणीकरण गरिएको भए कानुनी रुप पाउँथ्यो। तर, सुरुवातदेखि नै विपक्षमा रहेकी उनले विधेयकलाई निष्क्रिय तुल्याउन भूमिका खेलेकी हुन्।

राष्ट्रपति कार्यालयले यस विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन। त्यसैले दोस्रो पटक प्रमाणीकरणका लागि आएको विधेयकको सम्बन्धमा राष्ट्रपतिको आधिकारिक धारणा के हो? भन्ने पनि प्रष्ट छैन। अहिलेका लागि, अहिलेसम्म जानकारीमा आएका विषयका आधारमा भन्न सकिन्छ, नागरिकता विधेयकमा आफ्नो सुझावको पालना नभएको चित्त दुखाइ नै विधेयक प्रमाणीकरण नहुनुको कारण हो।

दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक पहिलो पटक १५ दिनसम्म 'होल्ड' गर्न र सुझावसहित फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई थियो। भण्डारीले केही अघि त्यसै गरेकी थिइन्। त्यतिबेला उनको कदमको चर्चा भएता पनि संवैधानिक कोणबाट प्रश्न उठेको थिएन। दोस्रोपटक भने उनले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संविधानले किटानी व्यवस्था गरेको छ। राष्ट्रपतिले त्यसलाई बेवास्ता गरेकी छिन्। राष्ट्रपतिका तर्क र बुझाइ आफ्नो ठाउँमा होला। तर, प्रतिनिधि सभा सक्रिय रहुञ्जेल चुप लागेर बस्ने र निष्क्रिय भएपछि त्यसैलाई बहाना बनाउन खोजिएको हो भने यो शैली राजनीतिक बठ्याइँँ मात्रै हो।

प्रतिनिधि सभाको पाँच वर्ष: यी हुन् चर्चामा रहेका तीन दर्जन प्रसंग

किशोर दहाल

आइतबार, असोज २, २०७९  ०६:४६

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि शनिबार राति १२ बजेदेखि अधिवेशन मात्रै होइन, प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल पनि पूरा भयो।

‘विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरु पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा पुर्‍याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न हुँदै छ,’ शनिबार आफ्नो बिदाइ सम्बोधनमा सभामुख अग्निप्रसाद सापकोटाले भनेका थिए।

२०७४ मंसिर १० र २१ गते भएको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल वास्तवमै उतारचढावपूर्ण रह्यो। विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक गरेको प्रतिनिधि सभा विघटन र त्यसबाट तत्कालीन समयमा सिर्जित अन्यौल सधैंभर राजनीतिक चर्चाको विषय बन्ने निश्चितप्रायः छ।

त्यस्तै, आफ्ना १४ जना सांसदमाथिको कारबाहीको विषयलाई लिएर एमालेले लगातार दुई अधिवेशनभर अवरोध गर्‍यो। नेपालको संसदीय इतिहासमा संसद् अवरोधको यो एउटा रेकर्ड थियो। यसकै कारण करिब ९ महिना संसद् प्रभावित भइरह्यो।

यस प्रतिनिधि सभाले दुई सभामुख र दुई उपसभामुख पायो। कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख बने भने शिवमाया तुम्बाहाङ्फे र पुष्पा भुसाल उपसभामुख बने।

प्रतिनिधि सभाको यो कार्यकालभर दुई व्यक्ति तीन जना प्रधानमन्त्रीका रुपमा नियुक्त भए। २०७४ को निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री लगातार दुई पटक प्रधानमन्त्री नियुक्त भए। २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त भएका उनले २०७८ वैशाखमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्रीबाट पदमुक्त हुनुपर्‍यो। फेरि, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनी नै पुनः प्रधानमन्त्री नियुक्त भए। तर विश्वासको मत लिएनन्।

संसद्को कार्यकाल लम्ब्याउने विधेयक: संवैधानिक र नैतिकताको कसीमा कमजोर

किशोर दहाल

आइतबार, भदौ १९, २०७९  २१:१०

काठमाडौं– चुनावको मिति घोषणा गर्दाखेर नै संसद् विघटनको पनि घोषणा गर्नुपर्ने संविधानविद्हरुको भनाइ थियो। संविधानविद् डा विपिन अधिकारीले नेपाल लाइभसँगको अन्तर्वार्तामा भनेका थिए- ‘एक हातले निर्वाचनको मिति घोषणा र अर्को हातले प्रतिनिधिसभा विघटन गर्नु सही हुन्छ।’ तर, संसद् विघटन त गरिएन नै, कार्यकाल लम्ब्याउने नयाँ खेल सुरु भएको छ।

शुक्रबार संसद् सचिवालयमा दर्ता गरिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ अनुसार सरकारले अहिले चालु रहेको संसद्को कार्यकाल पहिलो बैठक बसेको मितिलाई आधार मानेर ५ वर्ष कायम हुने प्रस्ताव गरेको छ। त्यस्तै, प्रतिनिधि सभाको नयाँ निर्वाचन भइ त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिने पनि विधेयकमा भनिएको छ।

संविधानविद् अधिकारीले विधेयकमा प्रतिनिधि सभाको अवधि यो मितिदेखि सुरु हुन्छ भनेर तोकिनु आपत्तिजनक नभएको बताए। त्यसो नहुँदा आ-आफ्नो व्याख्या भइरहेको थियो। तर, संसद्ले कानुन बनाएपछि एउटा मिति कायम गराउने उनले बताए। तर विधेयकमा एउटा विषय ठिक भए पनि अन्य विषयमा गल्ती भएको अधिकारीको भनाइ छ।

‘विधेयकमा संसद्को कार्यावधि नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेपछि समाप्त हुन्छ भनेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कि त निर्वाचन यो मितिमा हुन्छ भनेर ऐनले भन्न सक्नुपर्थ्यो। प्रष्ट गर्नुपर्थ्यो। अनि मात्रै सो प्रावधान उचित हुन्थ्यो। नत्र भने पाँच वर्षमा गरिसक्नुपर्ने निर्वाचनलाई १० वर्षसम्ममा गर्न सकिएन र ११औँ वर्षमा निर्वाचन भयो भने पनि चालु संसद् त्यतिबेला मात्रै बिदा हुने भयो। यो उद्देश्य त सरकारले पनि राखेको होइन। त्यसैले 'ड्राफ्टिङ मिस्टेक' भएको छ।’

सरकार बनाउन उस्ताद, कानुन बनाउन उदासीन

किशोर दहाल

शुक्रबार, भदौ ३, २०७९  १६:४३

काठमाडौं– गत साउन २९ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्दै थिए। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या अपुग भएको भन्दै प्रश्न उठाए। नभन्दै, ३ मिनेट जनाउ घण्टी बजाएर गणना गर्दा सांसदको संख्या ६७ मात्रै पुग्यो। सभामुखले पहिलो बैठकलाई १५ मिनेटका लागि स्थगित गरे। दोस्रो बैठकमा सोही विधेयकको सोही प्रक्रिया अघि बढाउन खोजे। फेरि पनि सुवालले सोही प्रश्न उठाए। फेरि पनि ३ मिनेट जनाउ घण्टी बजाइयो। तर सांसद संख्या फेरि पनि ६७ मात्रै पुग्यो।

प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेर बैठकमा प्रस्ताव अघि बढाउन अवरोध भएको यो पहिलो घटना होइन। साउन महिनामा मात्रै ८ पटक गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाइएको थियो। जसमध्ये ४ पटक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गर्नुपरेको थियो।

प्रतिनिधि सभाको निर्वाचनका लागि मिति घोषणा भइसकेको अवस्थामा चालु प्रतिनिधि सभा आफ्नो कार्यकालको अन्तिमतिर पुगेको छ। कैयौँ विज्ञको तर्क मान्ने हो भने त, निर्वाचनको मिति घोषणा गर्दाताका नै प्रतिनिधि सभा पनि विघटन गर्नुपर्ने थियो। तर गरिएन। त्यसैले यो सभाले अन्तिम दिनहरु बिताइरहेको छ भन्दा अत्युक्ति हुँदैन। अर्कोतिर, सांसदहरुको निष्क्रियता भने बढ्दै गएको छ। यसप्रति सभामुख अग्निप्रसाद सापकोटा पनि दिक्क छन्। साउन ३० गते संघीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सबैलाई जिम्मेवार र गम्भीर बन्न आग्रह गरे।

राष्ट्रपति भण्डारीका यी ८ कदम : ओलीलाई द्रुत सेवा, देउवालाई सकेसम्म अवरोध

किशोर दहाल

सोमबार, साउन ३०, २०७९  ०८:०६

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई फिर्ता पठाइदिएकी छिन्। संविधानले दिएको १५ दिनको समयसीमा उपभोग गरेर राष्ट्रपतिले आइतबार साँझ प्रतिनिधि सभामा विधेयक फिर्ता गरिदिएकी हुन्।

विधेयक फिर्ता गर्नुको कारणबारे राष्ट्रपतिले विभिन्न ९ बुँदे आधार पनि दिएकी छिन्। नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक भएकोदेखि केपी ओलीद्वारा जारी गरिएको नागरिकता अध्यादेशका सम्बन्धमा समेत चर्चा गरेकी छिन्।

नागरिकतासम्बन्धी नयाँ विधेयक असार २४ गते संसद् सचिवालयमा दर्ता गरिएको थियो। सो विधेयक प्रतिनिधि सभाबाट साउन ६ र राष्ट्रिय सभाबाट साउन १२ मा पारित भएको थियो। सभामुखले साउन १५ मा प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए।

पछिल्लो संसद् गठन भएपछि २०७५ साउन २२ मा संसद् सचिवालयमा दर्ता गरिएको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलपछि पारित भई विधेयक प्रतिवेदन २०७७ असार ९ गते प्रतिनिधि सभाको पूर्ण बैठकमा पेस भएको थियो। तर, त्यसलाई पारित नगरी अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी भोलिपल्टै अध्यादेश जारी गरेका थिए। शेरबहादुर देउवा सरकारले पनि असार २१ गते पुरानो विधेयक फिर्ता लियो। र, नयाँ विधेयकलाई अघि बढायो।

‘ठूली एकादशी’का कारण चुनावै सरेको थियो, ‘उत्पत्तिका एकादशी’ मा के होला?

किशोर दहाल

बिहीबार, साउन १९, २०७९  १७:३५

काठमाडौं– २०५१ असार १७ गते राजा वीरेन्द्रले तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। त्यसका लागि राजालाई धन्यवाद चढाउन असार २६ गते प्रतिनिधि सभामा सरकारको तर्फबाट प्रस्तुत धन्यवाद प्रस्ताव पारित हुन सकेन। परिणामतः सरकारको नीति तथा कार्यक्रम विफल भयो। त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यही दिन राजासमक्ष राजीनामा दिए। उनको राजीनामा त्यही दिन स्वीकृत भयो।

राजीनामा सँगसँगै प्रधानमन्त्री कोइरालाले नयाँ जनादेश लिने उद्देश्यले २०५१ कात्तिक २७ गते आइतबार निर्वाचन हुने गरी प्रतिनिधि सभा विघटन पनि गरेका थिए। विघटन गर्नुको कारणबारे उनले दरबारमा पठाएको सिफारिसमा भनिएको थियो- 'संसद्‌मा बहुमत प्राप्त नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा विधिवत् मेरो नेतृत्वमा गठन भएको सरकारको नीति र कार्यक्रमलाई अवान्छित राजनीतिक समीकरणद्वारा विफल पार्ने अवस्था सिर्जना भएपछि अर्को स्थिर सरकार गठन हुनसक्ने सम्भावना देख्दिनँ, त्यसैले मुलुकमा राजनीतिक अन्योल र दिशाहीनतालाई कायम राख्नु अथवा जनताको अभिमत विरुद्धको राजनीतिक समीकरणको भरमा सरकार चल्नु र चलाउनु भन्दा बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने उद्देश्यले जनतासमक्ष गइ नयाँ जनादेश लिनु बाहेक अर्को विकल्प छैन।'

राजीनामा तत्कालै स्वीकृत भएको भए पनि प्रतिनिधि सभा विघटनचाहिँ राजाबाट तत्कालै स्वीकृत भएन। राजाले परामर्श सुरु गरे। असार २६ गते राजदरबारको सूचनामा भनिएको थियो, ‘प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले नयाँ जनादेश उद्देश्यले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५३ को उपधारा (४) बमोजिम प्रतिनिधि सभा विघटन गरिबक्सन र प्रतिनिधि सभाका लागि निर्वाचन हुने मिति तोकिबक्सन मौसुफमा चढाउनु भएको सिफारिसको सम्बन्धमा मौसुफबाट विभिन्न संवैधानिक पदाधिकारी तथा राजनीतिक नेताहरुसँग परामर्श लिइबक्सने प्रक्रिया चालू छ।’

चुनावको मिति घोषणासँगै प्रतिनिधि सभा विघटन गरिनुपर्ने ४ तर्क

किशोर दहाल

बिहीबार, साउन १९, २०७९  १५:२४

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा जुटेको सहमतिअनुसार बिहीबार मन्त्रिपरिषद्‌ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्‌को निर्णयसँगै चुनावको विषयलाई लिएर भइरहेको अन्यौल हटेको छ। अघिल्लो निर्वाचन २०७४ मंसिर १० र मंसिर २१ मा सम्पन्न भएको थियो। सो निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुले फागुन २० गते सपथ लिएका थिए।

निर्वाचनको मिति निश्चित भए पनि अहिलेको प्रतिनिधि सभा कहिलेसम्म क्रियाशील रहन्छ भनेर सार्वजनिक माध्यमहरुमा मतान्तर तीव्र हुने देखिन्छ। संविधानविद्हरुले निर्वाचनको मिति घोषणासँगै प्रतिनिधि सभा विघटन गरिनुपर्ने बताए पनि दलहरुले त्यसो नगर्ने संकेत दिएका छन्। सत्ता गठबन्धनको बुधबारको बैठकमा दलहरुले मनोनयनको अघिल्लो दिनसम्म प्रतिनिधि सभा जिवित राख्ने समझदारी गरेका छन्। यो तर्कमा प्रमुख प्रतिपक्षीदेखि गठबन्धनबाहिरका अन्य दलहरुको पनि सहमति देखिन्छ।

अनावश्यक रुपमा प्रतिनिधि सभाको आयु लम्ब्याउने प्रयत्नलाई संविधानविद्हरुले संसदीय व्यवस्थाको अन्तर्राष्ट्रिय प्रचलन, निर्वाचनलाई 'फेयर' बनाउनुपर्ने अवधारणा, संविधानको व्यवस्था जस्ता विभिन्न कोणबाट खण्डन गर्ने गरेका छन्।

टिप्पणी । शर्माको पुनर्नियुक्ति : देउवा-प्रचण्डको बलमिच्याइँ

किशोर दहाल

आइतबार, साउन १५, २०७९  १८:४६

काठमाडौं- 'छानबिन समिति बनाउने कुरा आज मात्रै आएर भयो। यो छानबिन समिति बनाउने मेरो कुरा थिएन, मैले व्यक्तिगत रुपमा गर्न सक्ने कुरा थिएन। आज सरकार र सभामुखज्यूको पहलमा समिति बनेको छ। यसलाई म स्वागत गर्छु, धन्यवाद दिन्छु। र यो छानबिनका लागि मैले मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु। छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर म फेरि आफ्ना विषयवस्तु, अभियान र आफ्नो कामलाई अगाडि बढाउने, देश र जनताको पक्षमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।'

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेर दिनप्रतिदिन विरोध खेपिरहनुपरेपछि अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले गत असार २२ गते प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरे। सोही बैठकबाट गठन भएको ११ सदस्यीय छानबिन समितिलाई शर्माले सघाउने प्रतिबद्धता व्यक्त गरे नै, छानबिनबाट निर्दोष साबित भएर आउने संकेत पनि गरे। त्यसैले पनि उनले 'छानबिनले ल्याएको तथ्य सत्यका अगाडि म उपस्थित भएर म फेरि आफ्ना विषयवस्तु, अभियान र आफ्नो कामलाई अगाडि बढाउने' बताएका थिए।

परिस्थिति शर्माले भनेअनुसार नै अगाडि बढेको छ। उनी २६औं दिनमा पुनः अर्थमन्त्रालय फर्किएका छन्। आइतबार नै उनलाई पुनर्नियुक्ति गरिएको छ। राजीनामाअघि नै उनले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। शर्माले आइतबारै शपथ ग्रहण गरेर पदभार सम्हालेका छन्। राजीनामापछि यति छोटो समयमै पुनर्नियुक्ति पाउने शर्मा सम्भवतः पहिलो मन्त्री हुन्।

यसबीचमा उनीविरुद्ध छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले शर्मामाथिको आरोप पुष्टि गर्न सकेन। 'समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन', समितिको निष्कर्ष छ।

‘शून्य समय’ को शून्य सरी सुनुवाइ

किशोर दहाल

सोमबार, साउन ९, २०७९  २०:००

काठमाडौं- प्रतिनिधि सभाको गत असार १२ को बैठकको शून्य समयमा बोल्ने तीन सांसदले उस्तै गुनासो गरे। एमाले सांसद आशाकुमारी विक, कांग्रेस सांसद जीपछिरिङ लामा र एमालेकै सांसद झपट रावलको एक स्वर थियो-सांसदहरुले शून्य समयमा बोलेको विषयको कार्यान्वयन भएन। त्यसक्रममा उनीहरुले नसुनिने भए शून्य समयलाई सुनिने बनाउन र सांसदहरुले उठाएका विषयलाई कार्यान्वयन गर्न माग पनि गरे।

शून्य समयमा बोलेर शून्य समयकै औचित्यमाथि प्रश्न उठाउने सांसद थिइन्-विक। उनको आशय सो समयको औचित्य पुष्टि नहुने हो भने किन राखिराख्नुपर्‍याे र ? भन्ने किसिमको थियो। उनको भनाइ थियो, ‘शून्य समयमा सांसदहरुले रहरले बोलेका हुन् र? सरकारले जवाफ दिन र कार्यान्वयन गर्न नपर्ने? कि त, शून्य समयमा बोल्ने विषय हटाउनुपर्‍याे। होइन भने, सरकारले उत्तरदायी हुनुपर्‍याे।‘

प्रतिनिधि सभा नियमावली २०७५ नियम १५ को उपनियम (१) मा ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ’ भनिएको छ। र, उपनियम (२) मा ‘उपनियम (१) बमोजिम शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत् सदनलाई उपलब्ध गराउनुपर्नेछ’ भनिएको छ। तर आफूहरुले उठाएको विषयको कार्यान्वनयको पाटो निराशाजनक रहेको सांसदहरुको अनुभव छ।

आफूहरु दुर्गम भूगोलबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने भएकाले त्यहाँका समस्याहरु, विकास निर्माणका विषय, मानवीय विषय, शिक्षा-स्वास्थ्यका विषयहरु राख्ने गरेको भए पनि धेरै जसो कार्यान्वयन नहुने गरेको विक बताउँछिन्। ‘सांसदले शून्य समयमा बोलेपछि सरकारले जवाफ दिनुपर्छ। कार्यान्वयन हुनुपर्छ’, नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘तर, कतिपय विषय कार्यान्वयन नै हुँदैनन्। हामीले त रहरले बोलेजस्तो मात्रै भइरहेको छ।‘

किचलो र विभाजनको अनन्त शृंखलामा मधेस केन्द्रित दल

किशोर दहाल

शुक्रबार, साउन ६, २०७९  १४:०७

काठमाडौं- अघिल्लो हप्ता जनता समाजवादी पार्टीका दुई पक्षले छुट्टाछुट्टै बैठक आयोजना गरे। संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौंमा आयोजना गरेको केन्द्रीय समितिको विस्तारित बैठक र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले वीरगंजमा आयोजना गरेको केन्द्रीय समितिको बैठकले पार्टीलाई विभाजनको सम्मुख पुर्‍याएको छ।

बैठकमा भट्टराईले पार्टी पुनर्गठनको प्रस्तावसहितको प्रतिवेदन पेश गरेका थिए। यादवले भट्टराईको बैठकलाई अनधिकृत भन्दै केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिका नौ जना सदस्यहरुलाई पदमुक्त गरिदिएका छन्। आफूमाथिको कारबाहीबाट असन्तुष्ट भट्टराईले विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठनका लागि नेता तथा कार्यकर्ताका लागि आह्वान गरेका छन्। 'पार्टी पुनर्गठन' भन्ने शब्दावली प्रयोग गरिएको भए पनि त्यो नयाँ पार्टी गठन भएको बुझ्न कठिन छैन।

भट्टराई पक्ष र यादव पक्षको विभाजन भएमा जसपाको त्यो दोस्रो विभाजन हुनेछ। यसअघि २०७८ भदौमा महन्थ ठाकुर पक्षले जसपा विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए। मधेस केन्द्रित राजनीतिबाट अगाडि बढेका विभिन्न दलहरुको एकता प्रक्रियाले २०७४ सालदेखि तीव्रता पाएको थियो। २०७७ वैशाखमा जसपा गठन त्यसको सर्वोच्च अवस्था थियो। तर, पछिल्ला घटनाक्रमले उनीहरु फेरि विभाजनको अनन्तः श्रृंखलातर्फ मोडिएको देखिन्छ। 

मधेस केन्द्रित दलभित्रको किचलो र विभाजन यो पहिलो घटना त होइन नै, अन्तिम हुने पनि कुनै आधार छैन। किनकि, मधेस केन्द्रित राजनीतिको सात दशकको इतिहासमा यस्ता अनेकौँ सन्दर्भ पाइन्छ।

कलहको दलदलमा दलहरू

किशोर दहाल

शुक्रबार, साउन ६, २०७९  ०७:०९

काठमाडौं-  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले क्रमशः असार २८-२९ र असार २९-३० मा आफू पक्षको बैठकको नेतृत्व गरे। भट्टराईले काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक र यादवले वीरगंजमा केन्द्रीय समितिको बैठक आयोजना गरेका थिए। आ-आफ्ना पक्षका नेताहरु जम्मा गरिएको यी बैठकको औचित्यलाई उनीहरुले विभिन्न शब्दमार्फत् पुष्टि गर्ने प्रयत्न गरे। तर, नेता तथा कार्यकर्ताहरुले यी बैठक नै पार्टी विभाजनको अनौपचारिक सुरुवात भएको बताइरहेका छन्।

काठमाडौं बैठकमा भट्टराईले यादवतिर लक्षित गर्दै मूल नेतृत्वमा विभिन्न समस्या देखिएको भन्दै प्रतिवेदन पेस गरेका थिए। वैचारिक समस्या, संगठनात्मक समस्या, नेतृत्वको पद्धति र मोडालिटीको प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरी मुद्दाप्रतिको बेवास्ता र भूराजनीतिक सोचमा भिन्नता जस्ता शीर्षक दिएर भट्टराईले यादवको आलोचना गरेका छन्। भट्टराईको भनाइ छ, 'हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ।'

वीरगंज बैठकमा यादवले पनि भट्टराईको आलोचना गरे। उनले काठमाडौं बैठकलाई अनधिकृत भने नै, बाबुरामले जसपा फुटाउन 'शक्ति केन्द्र' धाएको आरोप समेत लगाए। सोही बैठकबाट यादवले भट्टराई सहित नौ जनालाई पदमुक्त गरिदिए। पदमुक्त हुनेहरुमा संघीय परिषद् अध्यक्ष भट्टराई, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, दुर्गा सोब, प्रशान्त सिंह, रमेश प्रसाद यादव, भक्तबहादुर शाह र केन्द्रीय सदस्य दानबहादुर चौधरी छन्। भट्टराईको पद खोसेर अशोक राईलाई दिइएको छ।

Monday, July 24, 2023

योगप्रसाद उपाध्यायदेखि गंगा चौधरीसम्म : बलात्कारका विषयमा नेताकै अभिव्यक्ति असंवेदनशील

किशोर दहाल

आइतबार, असार २६, २०७९  १५:२४

काठमाडौं- २०४६ सालमा बहुदल आउने बित्तिकै बलात्कारका धेरै घटना सार्वजनिक भए। बालिकादेखि वृद्धासम्म पीडित भए। ठमेल, डिल्लीबजारको पिपलबोट तथा कालीमाटीमा भएका बालिका बलात्कारको घटनाले धेरैलाई चिन्तित पनि बनायो। सोही सन्दर्भमा एमाले निकट अखिल नेपाल महिला संघले विभिन्न ठाउँमा 'भण्डाफोर अभियान' चलायो, विरोध प्रदर्शन गर्‍यो। त्यतिबेला अनेमसंघको अध्यक्ष थिइन्, अहिलेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य।

'हामी गृहमन्त्री योगप्रसाद उपाध्यायकहाँ डेलिगेसन गयौँ। त्यसको नेतृत्व मैले नै गरेको थिएँ। हामी झन्डै ७० जना थियौँ। हामीले तथ्य तथ्यांक पेश गर्दै आफ्नो कुरा गम्भीरतापूर्वक राख्यौँ। अपराधीहरुलाई कारबाही नभएकोमा प्रश्न उठायौँ। बहुदलमा पनि महिलाहरु असुरक्षित भएको बतायौँ', शाक्यले तीन दशकभन्दा अघिको सन्दर्भ स्मरण गर्दै भनिन्, 'हाम्रो कुरा राखिसकेपछि गृहमन्त्रीले भन्नुभयो- के गर्नु अष्टजी, समाज यस्तै छ। एकैपटक हुँदैन। तपाईंहरुको पनि त्यस्तै छ नि, महिलाहरु पनि अनेकौँ लुगा लगाउँछन्। अब खुर्सानीको धुलो बोक्नुस्। नंग्रा पाल्नुस्। अनि बलात्कार गर्न आउनेहरुको आँखामा खुर्सानीको धुलो आँखामा लगाइदिनुस्, नंग्राले चिथोर्दिनुस्। सुरक्षित हुन सकिहालिन्छ नि।'

त्यतिबेलै शाक्यलाई लाग्यो, व्यवस्था फेरिए पनि महिलालाई हेर्ने सोच नफेरिएका व्यक्तिहरु पदमा पुगेपछि बहुदल आएर पनि के फरक पर्‍यो र? उनी नेतृत्वको डेलिगेसनले गृहमन्त्री उपाध्यायसँग चर्को स्वरमा प्रतिवाद गर्‍यो- 'तपाईको छोरीमाथि यस्तै घटना घटेको भए पनि यही भन्नुहुन्थ्यो?'

महिला हिंसालाई लिएर राज्यकै जिम्मेवार पदाधिकारीबाट विभिन्न सन्दर्भमा असंवेदनशील अभिव्यक्ति दिनेमा उपाध्यायपछि पनि लामै सूची बन्छन्। कुनै बढी चर्चामा रहन्छन्, कुनै तत्कालै सेलाउँछ। चर्चामै रहेको अर्को अभिव्यक्ति हो, तत्कालीन गृहमन्त्री वामदेव गौतमको। देशभर सार्वजनिक भएको बालिका बलात्कार र महिला हिंसाको घटनाका सन्दर्भमा छलफलका लागि संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको २०७१ चैत ११ गतेको बैठकमा बोलाइएका थिए, गृहमन्त्री गौतम। समिति सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै उनले भनेका थिए- 'राजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्छ।'

के ज्ञानेन्द्रको 'वैशाख ११' को सम्बोधनको ड्राफ्ट ओलीले लेखेका हुन्?

किशोर दहाल

शुक्रबार, असार २४, २०७९  १७:०१

काठमाडौं- २०५९ जेठ ८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। पार्टीभित्र आफूलाई अप्ठ्यारो परेपछि 'प्रजातन्त्रलाई दरबारमा बुझाएका' प्रधानमन्त्री देउवा त्यसैवर्ष असोज १८ मा राजा ज्ञानेन्द्रद्वारा पदमुक्त भएका थिए। मुख्य दलहरुले त्यसलाई प्रतिगमन भनेका थिए। त्यसपछि राजाले शासन सत्तामा आफ्नो हस्तक्षेप बढाउँदै गएका थिए। र माघ १९ पछि सम्पूर्ण शासनभार आफूले सम्हालेका थिए।

मुख्य दल नेपाली कांग्रेसले २०५९ देखि नै आफूलाई आन्दोलनमा केन्द्रित गरेको थियो। देउवाको पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक र एमालेले भने २०६१ जेठमा सत्तामा साझेदार गरेका थिए। आफूलाई पदमुक्त गरेका राजाले आफैंलाई प्रधानमन्त्री नियुक्त गर्नु देउवाका लागि खुसीको कुरा थियो। एमालेले भने 'प्रतिगमन आधा सच्चिएको' बहाना बनाएको थियो। तर, ८ महिनामै यो सरकारमाथि ज्ञानेन्द्रले 'कु' गरेका थिए। र टेलिफोन काट्नेदेखि मिडिया हाउसमा सेना पठाउने जस्ता कदम चालेर निरंकुश शासन चलाएका थिए।

संसद्‌वादी सबै दललाई राजाले सडकमा हुत्याएपछि उनीहरुसँग एउटै विकल्प बाँकी रह्यो, आफूहरु मिल्नु र राजाका विरुद्ध संघर्ष गर्नु। त्यसका लागि जनयुद्धरत माओवादी पनि साथ लिइयो भने संघर्ष थप सशक्त हुनसक्थ्यो। त्यही विश्लेषणका साथ २०६२ मंसिरमा १२ बुँदे सहमति भयो। र त्यसैको जगमा २०६२ चैत २४ देखि जनआन्दोलन सुरु भयो।

माओवादी जनयुद्ध र जनआन्दोलनको प्रवाह ज्ञानेन्द्रले थेग्न सक्ने स्थिति थिएन। त्यसैले २०६३ वैशाख ११ मा उनी झुके। जनता विजयी भए। त्यस दिन राति ११ बजे उनले एउटा घोषणा मार्फत विघटित प्रतिनिधि सभा पुनःस्थापना भएको घोषणा गरेका थिए।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी र विष्णु पौडेलमाथि पनि भएको थियो संसदीय छानबिन

किशोर दहाल

बुधबार, असार २२, २०७९  २२:४५

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन हुने भएको छ। बजेट निर्माणका बेलामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका शर्मामाथि संसदीय समिति बनाएर छानबिन गर्न नेकपा एमालेले माग गर्दै आएको थियो। बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सदस्यहरु प्रस्तावित गरेका थिए। जुन अनुमोदन भएको छ।

समितिमा एमाले ४, कांग्रेस २, माओवादी केन्द्र २, एकीकृत समाजवादी १, जसपा १ र लोसपा १ जना सदस्य छन्। जसमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम मेहता र सुरेन्द्र यादव छन्।

'आर्थिक वर्ष २०७९/५० को आर्थिक विधेयक २०७९ मा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चार माध्यमहरुमा प्रकाशन भएको र सो विषयलाई लिएर माननीय सदस्यहरुबाट सदस्यहरुबाट समेत कुरा उठाइएको सम्बन्धमा सत्यतथ्य छानबिन गरी सुझाव सहितको प्रतिवेदन तयार गरी सभा समक्ष पेश गर्ने', समितिको कार्यक्षेत्र छ।

समिति आफैंले आफ्नो सभापति चयन गर्न र कार्यविधि व्यवस्थित गर्न सक्नेछ। आवश्यक देखेमा अन्य व्यक्तिको सहयोग लिन सक्नेछ। कार्य प्रारम्भ गरेको मितिले समितिको कार्य अवधि १० दिनसम्मका लागि हुने सभामुख सापकोटाले बताए।

नागरिकता विधेयकका चार वर्ष : नागरिकताविहीनको प्रतीक्षा अझै लम्बियो, समय र बौद्धिक–आर्थिक लगानी पनि व्यर्थ

किशोर दहाल

बुधबार, असार २२, २०७९  १५:४९

काठमाडौं– गत असार ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधि सभामा विचाराधीन नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको थियो। बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए– ‘प्रधानमन्त्रीले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ। अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक तर उनका सन्तानहरु नागरिकताविहीन भइरहेको अवस्था छ। यसलाई अन्त्य गर्नका निम्ति अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ।’

यस किसिमको औपचारिक निर्णय हुनुअघि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकता विधेयक केही दिनभित्रै अगाडि बढाउने प्रतिबद्धता गर्ने गरेका थिए।

त्यसैले केही दिनभित्रै विधेयक अघि बढ्ने र पारित हुने अपेक्षा धेरैको थियो। त्यसकै लागि उच्चस्तरका भेट पनि भइरहेका थिए। तर, यस्ता भेटघाटले सार्थकता पाएन। बरु सत्ताको नेतृत्व गरिरहेका प्रमुख दुई पार्टीका शीर्ष नेताको सार्वजनिक प्रतिबद्धतासमेत स्वयंबाट लत्याइएको छ।

सत्ता गठबन्धनले औपचारिक निर्णय गरेको दुई हप्ता पनि नबित्दै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संसद्मा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो। यससँगै चार वर्षयतादेखि चर्चामा रहेको नागरिकता विधेयक नयाँ चरणमा प्रवेश गरेको छ। यद्यपि, तत्कालै अर्को विधेयक ल्याउने तयारी रहेको कानुनमन्त्री गोविन्द बन्दीको भनाइ छ। ‘तत्कालै नयाँ विधेयक दर्ता गर्छौं’, उनले भने।

२६ वर्षअघिको घटना : विदेशी बैंकको खातामाथि प्रश्न उठेपछि जब अर्थमन्त्री रामशरण महतले राजीनामा दिए

किशोर दहाल

मंगलबार, असार २१, २०७९  १४:३०

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अन्तिम चरणमा गत जेठ १४ गते राति अर्थमन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिको प्रवेश गराएको र उनीहरुलाई आफ्नो तर्फबाट राजस्वका दर परिवर्तन गर्न दिएको खबर सार्वजनिक भएपछि तीव्र आलोचना खेपिरहेका छन्। मन्त्रालयको प्रक्रियागत प्रणालीलाई उल्लंघन गरेर उनले ‘आर्थिक अपराध’ गरेको भन्दै उनीमाथि छानबिन गरिनुपर्ने र पदमुक्त गराइनुपर्ने आवाज उठिरहेको छ।

प्रमुख प्रतिपक्षी एमालेले शर्माले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने, शर्मामाथि संसदीय छानबिन हुनुपर्ने, अर्थ मन्त्रालयको त्यस दिनको सीसीटीभी फुटेज सदनमा देखाइनुपर्ने लगायत विषय उठाइरहेको छ।

झन्डै तीन हप्तायताका सदनका बैठकमा एमालेले यही विषयलाई दोहोर्‍याइरहेको छ। तर, मन्त्री शर्माले सदनमै र अन्य सार्वजनिक वृत्तबाट अनधिकृत व्यक्तिको संलग्नतालाई अस्वीकार गरिरहेका छन्। आफूमाथि यति ठूलो आरोप लागेपछि उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउने नैतिकता पनि देखाउन सकेका छैनन्।

यसैबीच, उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराउन दिएको निवेदनको जवाफ फर्काउँदै अर्थमन्त्रालयले ‘बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने’ जवाफ फर्काएको छ।

असार १९ को यो जवाफसँगै अनधिकृत व्यक्तिको संलग्नताको आशंका थप बलियो भएको छ। यसअघि मन्त्री शर्मालाई 'शंकाको सुविधा' दिएकाहरुले समेत उनी गलत नै भएको आशंका गर्न थालेका छन्।

टिप्पणी : कोही किन मन्त्री होस्!

मन्त्रिपरिषद् हेरफेरमा विस्तारित विकृति

किशोर दहाल

सोमबार, असार २०, २०७९  १५:३७

काठमाडौं- आन्तरिक विवाद चुलिएर विभाजन कुरिरहेको जनता समाजवादी पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका हुन्। यसअघि ती मन्त्रालयमा क्रमशः रेणु यादव, महिन्द्र राय यादव र रामसहायप्रसाद यादव मन्त्री थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन्।

एक हप्ताअघि नै अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर मन्त्रिपरिषद्‌मा पठाइएका आफ्ना सदस्यहरू फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई खबर नगरिएको भनिएको बैठकले निर्णय लिएपछि सो पार्टीभित्रको शक्ति सन्तुलनमा पनि व्यापक परिवर्तन आइसकेको छ। कुनै बेला शक्तिशाली देखिएका भट्टराई अहिले कमजोर भएका छन्। परिस्थिति आफू अनुकूल भएपछि यादवले आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सूची बुझाएका थिए।

पार्टीभित्रको विवादमा यसअघि भट्टराईलाई साथ दिएकाहरूलाई समेत मन्त्री बनाएर यादवले पार्टीभित्र आफूलाई थप शक्तिशाली साबित गर्ने आधार तयार गरेका छन्। जसपा विभाजन नै भएछ भने पनि यादवले कमभन्दा कम क्षतिको पूर्वतयारी गरिरहेका थिए। मन्त्रिपरिषद्‌मा गरिएको पछिल्लो हेरफेरको औचित्य पनि त्यति नै हो।

ओली हुन् वा देउवा : संसदीय समितिमा उपस्थित नै हुँदैनन् प्रधानमन्त्रीहरू

किशोर दहाल

सोमबार, असार ६, २०७९  ०८:११

काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार (२०७९ असार ५) को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आमन्त्रण गरिएको थियो। बैठकअघि सार्वजनिक सूचनामा छलफलका तीन वटा कार्यसूची थिए- नेपालको परराष्‍ट्र नीति कार्यान्वयनका सम्बन्धमा, प्रधानमन्त्रीको निकट भविष्यमा हुन गइरहेको संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा र विविध।

कार्यसूचीमा प्रष्ट नभनिएको भए पनि अमेरिकासँग हुने भएको एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) का विषयमा छलफल केन्द्रित हुने निश्चित थियो। समिति बैठकमा सभापतिदेखि सांसदसम्मले व्यक्त गरेको धारणाले पनि त्यही संकेत गर्थ्यो। समितिले असार ३ मा पनि उल्लेखित दुई विषयलाई केन्द्रमा राखेर परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग छलफल गरेको थियो। र, समितिले एसपीपीमा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको थियो।

आइतबारको बैठकमा भने प्रधानमन्त्री देउवा उपस्थित भएनन्। समिति सभापति पवित्रा निरौला खरेलले समितिसमक्ष गराएको जानकारी अनुसार प्रधानमन्त्रीको उपस्थितिका लागि उनले निरन्तर 'फलो' गरिरहेकी थिइन्। उनकै लागि भनेर बैठक पनि बिहान १० बजेका लागि तय गरिएको थियो। तर, अन्तिम समयमा अर्थात् आइतबार बिहान ८ बजे प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएको थियो। यसबाट समितिको अपमान भएको खरेलको भनाइ छ।

ओलीको त्यो 'आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरु', बडूको यो 'स्तरहीन र खेदजनक टिप्पणी'

किशोर दहाल

शुक्रबार, जेठ १३, २०७९  २१:३४

काठमाडौं- प्रतिनिधि सभाको २०७६ वैशाख २४ गतेको दोस्रो बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिएका थिए। त्यसका लागि उनले १ घण्टा २२ मिनेट खर्चिएका थिए। उनको जवाफपछि सांसदहरुले स्पष्टीकरण सोध्ने समय पनि सकिएको थियो। स्पष्टीकरण सोध्ने सांसद्हरुलाई जवाफ फर्काउन पुनः रोस्ट्रम पुगेका उनले आफ्नो सम्बोधन अस्वाभाविक ढंगबाट सुरु गरे।

ओलीको सम्बोधनको सुरुवात थियो- 'प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु।'

ओली थप बोल्ने शब्द खोज्दै थिए। कांग्रेस सांसद् मीनबहादुर विश्वकर्मा उभिए। उनले केही भन्न खोज्दै थिए। तर माइक खुला थिएन। सभामुख कृष्णबहादुर महराले सुरुमा उनलाई 'प्रधानमन्त्रीले बोल्दै हुनुहुन्छ' भने, त्यसपछि 'माननीय सदस्यले उठाएको कुराको ध्यानाकर्षण भयो, बसिदिनुस्' भने। त्यसपछि प्रधानमन्त्री ओली नै बोल्न थाले- 'माननीय सदस्यज्यूहरुलाई म धेरै बहसमा जान चाहन्नँ। हामीले प्रश्न सोध्दाखेरि पनि, प्रश्नको एउटा सीमा र मर्यादा हुन्छ।'

दुई युवाको काँधमा काठमाडौं महानगर तर 'डेलिभरी'को चुनौती

किशोर दहाल

बिहीबार, जेठ १२, २०७९  २२:५१

काठमाडौं- काठमाडौं महानगरपालिका नेतृत्व दुई युवाको हातमा पुगेको छ। यही वैशाख ३० गते सम्पन्न निर्वाचनमा दुई युवाहरु बालेन शाह र सुनिता डंगोलले प्रतिस्पर्धीलाई निकै फराकिलो मतान्तरसहित पराजित गरेका हुन्। प्रारम्भिक मतगणनाकै क्रममा उनीहरुको जित स्पष्ट भइसकेको थियो। अन्तिम मतपरिणामले त्यसलाई औपचारिकता दिएको मात्रै हो। 

अन्तिम मत परिणाममा मेयर उम्मेदवार बालेनले ६१ हजार ७६७ मत पाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ र एमाले उम्मेदवार केशव स्थापितले  ३८ हजार ११७  मत पाए। उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगाेलले ६८ हजार ६१२ मत पाइन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

राजनीतिक पदमा जित निकालेको भए पनि दुवै विजेताको राजनीतिक परिचय खासै छैन। बालेन त स्वतन्त्र उम्मेदवार नै थिए। सुनिताले पनि स्वतन्त्र हैसियतमै मेयरमा उम्मेदवारी दिने अन्तिम तयारी गरिरहेकी थिइन्। उनले घोषणापत्र नै सार्वजनिक गरिसकेको थिइन्। तर, ठूलो दल एमालेले आफ्नो तर्फबाट उपमेयरको उम्मेदवार बनाउने भएपछि उनी सहमत भएकी थिइन्। त्यसैले उनीहरुसँग दलीय बोझभन्दा पनि मतदाताप्रतिको दायित्वबोध होलान् भन्ने अपेक्षा गर्न सकिन्छ।

Friday, June 10, 2022

नीति तथा कार्यक्रम जेठ ७ मा : अप्ठ्यारोमा राष्ट्रपति र एमाले

नेपाल लाइभ

बिहीबार, वैशाख २९, २०७९, १९:३१

काठमाडौं-  राष्ट्रपतिले संघीय संसद्को वर्षे अधिवेशन यही जेठ ३ गतेका लागि आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को जेठ २५ को सिफारिस अनुसार राष्ट्रपतिले जेठ ३ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। यो अधिवेशन मूलतः नीति तथा कार्यक्रम र बजेट प्रस्तुतमा केन्द्रित हुनेछ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को बैठकमा राष्ट्रपतिले पेश गर्ने व्यवस्था छ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्‌मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनको भनाइ छ। 

एमालेले विगतका दुई वटा संसद् अधिवेशनभर गरेको विरोधका कारण नीति तथा कार्यक्रम पेश गर्ने दिन संसद् भवनको दृश्य कस्तो होला भन्ने अन्याेल छ। किनकि, नेकपा एमालेले गत भदौ-कात्तिक र मंसिर-चैतमा प्रतिनिधि सभामा सक्रिय अवरोध गरेको थियो। राष्ट्रिय सभामा भने विरोधमात्रै जनाएको थियो। आगामी अधिवेशनको सन्दर्भमा एमालेको रणनीतिबारे नयाँ धारणा सार्वजनिक भएको छैन।

Tuesday, May 10, 2022

ओली अभिव्यक्ति : 'भौतिकवादी' स्कुलिङको 'अलच्छिन' अवतार

किशोर दहाल

सोमबार, वैशाख २६, २०७९, २०:३२

काठमाडौं- 'नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन। तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।'

यो अभिव्यक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हो। उनले आइतबार बुटवलामा आयोजित एमालेको चुनावी सभामा सत्ता गठबन्धनलाई आलोचना गर्नका लागि 'अलच्छिन' जस्ता शब्द प्रयोग गरेका हुन्। तर सरकारको आलोचना गर्न उनले यस किसिमको शब्द प्रयोग गरेको यो पहिलो पटक होइन। केही समययता उनले गरेका हरेकजसो सम्बोधनमा सरकारलाई उनले सिधै अलच्छिन वा सोही भाव जनाउने अन्य शब्द प्रयोग गर्ने गरेका छन्।

कतिसम्म भने, सरकार अलच्छिन भएकाले गाडी दुर्घटना भएको भन्न समेत भ्याएका छन्। एमालेको तत्कालीन मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा २०७३ फागुन २९ गते भैरहवा पुगेका उनले भनेका थिए- 'यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन।'

उनले सरकार र सत्ता गठबन्धनका दलहरुलाई 'अलच्छिन' करार गर्न हाप्सिलो र गिद्धसँग दाँज्ने गरेका छन्।

'दुर्घटनामा देश' : प्रचण्डको हताश मनस्थितिको अभिव्यक्ति

किशोर दहाल

शुक्रबार, वैशाख २३, २०७९, १८:२०

काठमाडौं- बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। चुनावको बेलामा गठबन्धनका उम्मेदवारलाई मत माग्न पुगेको भए पनि धम्कीको भाषा प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।

'तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' कांग्रेसका नेता तथा कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति थियो।

प्रचण्डले भरतपुरमा हँसिया हथौडा (मूलत: मेयर उम्मेदवार रेनु दाहाल) को जितलाई सर्वस्व ठानेको देखिन्छ। पछिल्लो समय कमै मात्र उत्तेजनात्मक भाषण गर्ने गरेका, बरु विगतका गल्तीहरुप्रति पश्चाताप गर्दै हिँडेका उनले मत माग्ने कार्यक्रममै अव्यावहारिक शैली अपनाएका छन्।

'प्रचण्डको अभिव्यक्ति नै यति तल्लो स्तरको छ कि नेपालको लोकतन्त्र, लोकतन्त्रको संस्थागत चरित्र र अहिलेको निर्वाचन आचारसंहितालाई पनि यसले गम्भीर ढंगले उल्लंघन गरेको छ,' राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्।

चुनावको मुखमा देउवाको फेरि उपद्रव

नेपाल लाइभ

आइतबार, वैशाख १८, २०७९, २१:४७

काठमाडौं-मन्त्रिपरिषद्को आइतबारको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजी) मा बढुवा गरेको छ। सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई पन्छाएर मन्त्रिपरिषद्ले उनलाई आईजी बनाउने निर्णय गरेको हो।

आईजी कसलाई बनाइएला भन्ने विषयमा पहिल्यैदेखि चर्चा हुँदै आएको थियो। सत्ता गठबन्धनमा अन्य प्रभावशाली नेताहरु, सत्ताको नेतृत्व गरेको दल कांग्रेसभित्रका प्रभावशाली नेताहरु नै आईजी बनाउँदा वरियता मिच्न नहुने पक्षमा हुँदाहुँदै पनि प्रधानमन्त्री देउवा वरियता मिचेर सिंहको पक्षमा उभिएका थिए। परिणामतः दोस्रो 'आईजी काण्ड' हुनसक्ने आँकलन हुँदै आएको थियो।

यो निर्णयको विरोध पनि सुरु भएको छ। मन्त्रिपरिषद्को निर्णय बाहिरिएको केही बेरमै कांग्रेस नेता शेखर कोइरालाले ट्विटरमार्फत् प्रतिक्रिया व्यक्त गरेका थिए। 'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ', उनको भनाइ छ।

के गभर्नर हटाउने निर्णय सर्वोच्चले उल्टाइदिएपछि महेश आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्?

किशोर दहाल

बुधबार, वैशाख ७, २०७९, ११:१३

काठमाडौं- मन्त्रिपरिषद्को २०७८ चैत २४ गते बसेको बैठकले छानबिन समिति गठन गरेपछि निलम्बन भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनर्बहाली भएका छन्। सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेशसँगै उनको पुनर्बहाली भएको हो।

मंगलबारको आदेशमा भनिएको छ- 'नेपाल सरकारको मिति २०७८।१२।२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८।१२।२५ को निवेदकको नाममा जारी गरिएको पत्राचार तत्काल कार्यान्वयन नगर्नू नगराउनू र निवेदनकलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।'

अर्थमन्त्री जनार्दन शर्मासँग असझदारी भएपछि उनीमाथि छानबिन गर्न समिति गठन गर्दै निलम्बनको बाटो अपनाइएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा गठन गरिएको छानबिन समितिले काम सुरु गरिसकेको अवस्थामा सर्वोच्चको अन्तरिम आदेश आएको हो।

मन्त्री शर्माको जोडबल र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निलम्बन गरिएका गभर्नर अधिकारी पुनर्बहाली भएपछि सरकारमाथि नैतिक प्रश्न उठेको छ। खासगरी अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग सामाजिक सञ्जालमा उठेको पाइन्छ। त्यसको माग गर्नेहरुले दुई दशक अगाडिको एउटा यस्तै सन्दर्भलाई चर्चामा ल्याएका छन्। त्यो हो तत्कालीन मन्त्री महेश आचार्य र गभर्नर तिलक रावलबीचको विवाद।

के भएको थियो त त्यतिबेला?

जनतामा जानुपर्ने बेलामा बालुवाटारमा किचलो गर्दै सत्ता गठबन्धन

किशोर दहाल

मंगलबार, वैशाख ६, २०७९, १५:०६

काठमाडौं– वैशाख ४ गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा गगन थापाले सहभागी नेता तथा कार्यकर्तालाई भने- 'मैले यहाँ वडा नम्बर १ को उम्मेदवार साथीहरु देखिरहेको छु। चुनावमा जम्मा २०/२२ दिन बाँकी रहेको बेलामा कांग्रेसले गरेको कार्यालय उद्घाटनमा आएर आफ्नो समय खेर नफाल्न म आग्रह गर्छु।'

चुनाव नजिएको बेलामा प्रत्येक दिनको कति महत्त्वपूर्ण छ र नेता तथा कार्यकर्ताले त्यसको कसरी सदुपयोग गर्नुपर्छ भन्ने सन्देश थापाको अभिव्यक्तिले दिन्छ। त्यसैले उनले भनेका थिए, 'यो बेलामा दुई चारवटा भए पनि त्यहाँको मतदाता भेट्ने हो, उहाँहरुसँग कुराकानी गर्ने हो।'

तर थापा समेतले नेतृत्व गर्ने दल नेपाली कांग्रेसको समग्र समय भने उनले अपेक्षा गरे जसरी बितिरहेको छैन। नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्ता गठबन्धनका दलहरु दैनिक जसो बालुवाटारमा जम्मा भएर किचलो गरिरहेका छन्। बैठकको मुख्य विषय छ, गठबन्धनका दलहरुको तर्फबाट साझा रुपमा प्रतिस्पर्धी बनाइने महानगरपालिका/उपमहानगरपालिकाको मेयरको उम्मेदवार कुन दलको हुने?

ओली : भाषणमा क्विन्टलको आत्मविश्वास, यथार्थमा छटाकको खोजी

किशोर दहाल

आइतबार, वैशाख ४, २०७९, २०:३२

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीका केही अभिव्यक्ति हेरौँ:

-एमालेलाई पाँच दल, सात दल चाहिँदैन। एउटै दल एमाले काफी छ। ... सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन। ... संसार ढाक्नेगरी उज्यालो सूर्य आफैंसँग छ। (चैत ५ / इलाम)

-पाँच वटा होइन, जति दर्ता भएका पार्टीहरु छन्, सबै एकमुस्ट आउँछन् भने पनि केही फरक पर्दैन। नेकपा एमाले एक्लै चुनाव लड्न सक्छ र जित्न सक्छ। (चैत १२ / काठमाडौं)

-यदि एउटा तराजुमा एक-एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एक-एक किलोका ढक जस्तो हो। त्यो पाँच वटाको गठबन्धनले के गर्छ? एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। (चैत १६/ भक्तपुर) 

ओलीका यी अभिव्यक्तिहरुले दिने एउटै सन्देश हो- स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि एमाले बलियो शक्ति हो। एमाले बलियो त छँदैछ, अन्य सबै पार्टीको शक्ति र एमालेको शक्ति तुलना गर्दै एमालेकै पल्ला भारी हुने उनको आत्मविश्वास देखिन्छ।

२०७८ मा राजनीति : अस्थिरता र दलीय द्वन्द्वको वर्ष

किशोर दहाल

बुधबार, चैत ३०, २०७८, १५:३९

काठमाडौं– २०७८ साल राजनीतिक हलचलको वर्ष रह्यो। २०७८ को सुरुवाती दिनतिरै नेकपा एमाले चरम विवादबाट गुज्रिरहेको थियो। जनता समाजवादी पार्टी (जसपा)मा पनि आन्तरिक विवाद तीव्र थियो। त्यसको उचित व्यवस्थापन हुन नसक्दा ती दुवै दल विभाजित भए।

सत्ता परिवर्तनको वर्ष पनि रह्यो, २०७८ साल। २०७४ सालमा सम्पन्न चुनावमा स्थायी सरकारको नारा अनुमोदन भएको भए पनि दलभित्रको संघर्षले उग्र रुप लिँदा २०७८ मै सत्ता परिवर्तन हुन पुग्यो। केन्द्रीय सत्ता परिवर्तनको असर प्रदेशहरुमा पनि पर्‍यो। प्रमुख दल नेकपा एमाले  केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षी बन्न पुग्यो।

अघिल्लो वर्षदेखि सुरु गरिएको संसद्लाई पंगु बनाउने प्रयत्नले यस वर्ष पनि निरन्तरता पायो। दोस्रोपटक प्रतिनिधि सभा विघटन होस् वा लगातार दुई वटा अधिवेशन अवरुद्ध गरिएको घटना होस्; त्यसले संसद् सार्वभौम हो भन्ने मान्यतालाई अस्वीकार गरेको देखिन्थ्यो। 

अर्कोतिर, यो वर्ष दलहरुको महाधिवेशनको वर्ष पनि रह्यो। यही वर्ष नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपादेखि मालेसम्मले महाधिवेशन गरे। तर, नेतृत्व परिवर्तन भने राप्रपामा मात्रै सम्भव भयो।

यी र यस्तै सन्दर्भलाई बुँदागत रुपमा उल्लेख गर्दै नेपाल लाइभले २०७८ सालका मुख्य घटनालाई उल्लेख गरेको छः

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

२०७७ पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने अपेक्षा धेरैको थियो। तर, उनले राजीनामा दिएनन्। अन्य दलले पनि उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएनन्। तिक्तताका बीच पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन जारी नै राखेको थियो। ओली पनि अविश्वासको प्रस्ताव ल्याइए असफल बनाउने रणनीति अख्तियार गरिरहेका थिए।

राजनीतिक  'डेडलक'  चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले नै विश्वासको मत लिने निधो गरे। सोही प्रयोजनका लागि वैशाख २७ गते विशेष अधिवेशन बोलाइयो। ओलीले विश्वासको मत लिने प्रस्ताव २६ गते संसद् सचिवालयमा दर्ता गराएका थिए। ओली नै विश्वासको मत लिन अघि बढिसकेपछि माओवादीले पनि वैशाख २२ गते स्थायी कमिटी बैठक बसेर समर्थन फिर्ता गर्ने निर्णय गर्‍यो। जसअनुसार, २३ गते संसद् सचिवालयलाई जानकारी पनि गरायो।

२०७७ फागुन २३ गतेको एमाले-माओवादी केन्द्र ब्युँत्याइदिने फैसलापछि एमालेभित्र उत्पन्न असमझदारी कायमै थियो। त्यसैले माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको एक समूह असन्तुष्ट नै थियो। विश्वासको मत लिने विषयमा ओलीले असन्तुष्ट पक्षका नेताहरुसँग कुनै संवाद गरेनन्। बरु कांग्रेस सभापति शेरबहादुर देउवाकै निवासमा पुगेर छलफल गरे। त्यतिबेला ओलीलाई विश्वासको मत पुर्‍याउन नदिन माधव नेपाल पक्षले विभिन्न 'मोडल'माथि छलफल गरिरहेको थियो। त्यसै मध्येको एक थियो- सामूहिक राजीनामा। सो पक्षले ओलीलाई गलाउन (पार्टीलाई २०७५ जेठ २ को सांगठनिक संरचनामा फर्काउन) दबाब पनि दिइरहेको थियो।

वैशाख २६ गते साँझ बसेको सो पक्षको बैठकले ओलीलाई २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दियो। ओली सहमत नभए सामूहिक राजीनामा दिने कतिपय नेताहरुको प्रतिक्रिया थियो। तर, सो पक्षमा सहमति जुट्न नसक्दा विश्वासको प्रस्तावमाथि हुने मतदानमा सहभागी नै नहुने उपाय खोजियो। जसअनुसार, सो पक्षका २८ जना सांसद्हरु झलनाथ खनाल, माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, भवानी खापुङ, पवित्रा निरौला खरेल, गणेश पहाडी, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, दीपक प्रकाश भट्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, सरला यादव, नीरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, जयकुमार राई, विरोध खतिवडा अनुपस्थित भएका थिए।

२७ गतेको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावको साथमा वक्तव्य दिए। ओलीको प्रस्तावमाथि सामान्य छलफल भयो। एमालेभित्रै विभाजन रहेको बेलामा प्रधानमन्त्री ओलीको प्रस्तावले बहुमत पाउन सकेन। २३२ जनाको मत खसेकोमा उनको प्रस्तावको पक्षमा ९३ मत मात्रै पर्‍यो। विपक्षमा १२४ मत पर्‍यो। ‘मत दिन्न’ भन्ने विकल्पमा १५ मत पर्‍यो। प्रधानमन्त्री ओली स्वतः पदमुक्त भए।

ओली पुनः प्रधानमन्त्री

२०७८ वैशाख २७ गते भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन्। तर, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच चलिरहेको सहयोग सम्बन्धका कारण राष्ट्रपतिले पुनः संविधानको धारा ७६ (३) को प्रावधानअनुसार (प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त) को प्रक्रिया अघि बढाउँछिन् कि भन्ने आशंका थियो। त्यसैले पनि २७ गतेको बैठक सकिएको केही बेरमै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै भने- ‘...नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौं।’








तर, राष्ट्रपतिले सोही दिन राति धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिन्। उनले वैशाख ३० गते बेलुका ९ बजेसम्मको समयसीमा पनि तोकिन्। तर त्यस अवधिमा कसैको पनि दाबी पेस भएन। परिणामतः राष्ट्रपति भण्डारीले वैशाख ३० गते संविधानको धारा ७६ (३) अनुसार ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गरिन्।


ओलीले सोही दिन प्रधानमन्त्रीका रुपमा शपथ लिए। ओलीको यो शपथ भने विवादमा परेको थियो। उनले राष्ट्रपतिले उच्चारण गरेका केही वाक्य उच्चारण नगरेको र राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भन्दै सिकाउन खोजेपछि यसलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ नै बनाइयो।


ओलीले आफ्नो मन्त्रिपरिषद्‌मा ओलीले मौजुदा सदस्य (मन्त्री)हरुलाई नै निरन्तरता दिए। तर केही दिनमै उनले एउटा दुर्घटना बेहोर्नुपर्‍यो। नेकपाको विभाजनपछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मन्त्रीहरुलाई ओलीले पहिल्यै गैरसांसद् मन्त्री बनाइसकेका थिए। अन्य केही गैरसांसद् पनि दोस्रोपटक त्यसैगरी मन्त्री बने। वैशाख ३० मा उनीहरुलाई पुनः गैरसांसद् मन्त्री बनाइएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। जसमाथि जेठ ६ गते अन्तरिम आदेश सुनाउँदै सर्वोच्च अदालतले सो नियुक्तिलाई गैरसंवैधानिक ठहर गरिदियो। परिणामतःउनीहरु पदमुक्त भए। पदमुक्त हुनेहरुमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, रामबहादुर थापा बादल, मणि थापा र दावा लामा थिए।


1140x725


प्रतिनिधि सभा पुनः विघटन र ओलीको बहिर्गमन

पहिलो पटकको प्रतिनिधि सभा विघटनमा असफल भए पनि प्रधानमन्त्री ओली पुनः प्रतिनिधि सभा विघटनको पक्षमा थिए। यो प्रतिनिधि सभाले काम गर्न नसक्ने भएकाले चुनावमा जानुपर्ने भनेर उनले आफ्ना भाषणहरुमा भनिरहेका थिए। त्यो त्यतिबेला सम्भव हुन्थ्यो, जतिबेला सरकार गठनका लागि अरु कसैको बहुमत नपुग्ने सुनिश्चित हुन सकोस्। त्यसैले उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विश्वासमा लिएका थिए।


परिस्थिति आफूले सोचेको ठाउँमै आइपुगेको महसुस गरेर हुनसक्छ, ओलीले नयाँ सरकारको लागि मार्गप्रशस्त गरेको सूचना राष्ट्रपतिलाई दिए। राष्ट्रपति कार्यालयले जेठ ६ गते सूचना निकालेर प्रधानमन्त्री ओलीले सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गरेकाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रकृया आरम्भ गरेको बतायो। प्रधानमन्त्रीमा दाबी गर्नका लागि २१ घण्टाको समय दिइयो।


तर, ओलीले नसोचेको भयो। जेठ ७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी पार्टीहरुका (एमालेको माधव नेपाल पक्षसहित) १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे। यता देउवाले बहुमत जुटाएको सुइको पाएका ओलीले पनि हतारहतार राष्ट्रपतिलाई दाबी पेस गरे। आफूले बहुमत नपाउने सुनिश्चित गर्दै नयाँ प्रक्रिया अगाडि बढाउन भनेका उनले पुनः दाबी गरे। उनले पार्टीगत हस्ताक्षर बुझाएका थिए। एमालेको आफैंले र जसपाको एक पक्ष (ठाकुर-महतो)को हस्ताक्षर बुझाएका थिए।


तर, राष्ट्रपति कार्यालयले सोही दिन राति ११:३९ मा विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीमा गरिएका दुवै दाबी अस्वीकार गरिएको जानकारी गरायो। ओलीले सोही दिन राति मन्त्रिपरिषद् बैठक राखेर प्रतिनिधि सभा विघटनको सिफारिस गरिदिए। जसलाई राष्ट्रपतिले पनि मध्यरातमै अनुमोदन गरिदिइन्। राष्ट्रपति कार्यालयले ७ गते राति (८ गते बिहान १:४९)  मा विज्ञप्ति जारी गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको जानकारी गरायो।


यसका विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। देउवालाई समर्थन गर्ने १४९ मध्येका १४६ जनाले सर्वोच्चमा लाइन लागेर रिट दायर गरेका थिए। सर्वोच्चले असार २८ गते फैसला सुनायो। फैसलामा प्रतिनिधिसभा विघटनलाई बदर गरिदियो र शेरबहादुर देउवालाई असार २९ गते बेलुका ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गरिसक्न परमादेश भयो। त्यसपछि सत्तामा रहने ओलीको कुनै बाटो बाँकी रहेन। अदालतले आदेश सुनाएको भोलिपल्ट ओलीको अनिवार्य बहिर्गमन भयो।


1140x725


देउवा नयाँ प्रधानमन्त्री

असार २८ गतेको बहुचर्चित फैसलामा भनिएको थियो- ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) मा प्रतिनिधि सभाका कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा भन्ने वाक्यांश रहेको र सो प्रयोजनका लागि प्रतिनिधि सभाका १४९ जना सदस्यहरु (बहुमत सदस्यहरु) ले समर्थन जनाएको कुरालाई विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेको भनी मान्नुपर्ने पर्याप्त र मनासिव आधार देखिएको हुँदा सोही बमोजिम आजका मितिले २ (दुई) दिनभित्र अर्थात २०७८ साल असार २९ गते मंगलबार अपराह्न ५ बजेभित्र उपरोक्तअनुसार संविधानसम्मत रुपमा  मिति २०७८/२/७ गते सम्माननीय राष्ट्रपति समक्ष दाबी पेस गरेका प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रकृया पूरा गर्नु गराउनु भनी प्रत्यर्थी मध्येका राष्ट्रपतिको कार्यालय तथा संघीय संसदको पुनर्स्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी हुने ठहर्छ।’


सर्वोच्चबाटै परमादेश पाइसकेपछि देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने कोही थिएनन्। राष्ट्रपतिले नचाहे पनि उनलाई प्रधानमन्त्री नियुक्त गर्नै पर्थ्यो। यद्यपि, राष्ट्रपतिको असन्तुष्टि भने देउवालाई प्रधानमन्त्री नियुक्ति सम्बन्धमा जानकारी दिन जारी गरिएको विज्ञप्तिमा देखियो। विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ को फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरियो। विज्ञप्तिको भाषा सच्याइएपछि मात्रै देउवाले सपथ लिएका थिए।


देउवाले साउन ३ गते विश्वासको मत लिए। त्यसदिन भएको मतदानमा उनले १६५ मत पाए। उनलाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादी पार्टीका ३२, एमाले (माधव नेपाल पक्ष) का २२, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद् (छक्कबहादुर लामा) १ जनाले मत दिएका थिए। प्रस्तावको विपक्षमा ८३ मत परेको थियो भने एक जना तटस्थ (राजेन्द्र लिंदेन/राप्रपा) बसेका थिए।


यसअघि माधव नेपालको पक्षमा रहेका कैयौँ सांसद्हरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। तर मत भने दिएनन्। उनीहरु प्रतिनिधि सभाको बैठक चल्दै गर्दा बाहिरिएका थिए। यसरी बाहिरिनेहरुमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक प्रकाश भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनार, झपट रावल, राजबहादुर बुढा र नारायण खतिवडा थिए। तर उनीहरु बाहिरिए पनि यसअघि ओली पक्षमा रहेका केही सांसद्हरुले देउवालाई मत दिए। ओली पक्षका भनिएका ८ जना सांसद्हरु पार्वती बिशुंखे, विना बुढाथोकी, समिना हुसेन, कृष्ण श्रेष्ठ (किसन), प्रेमबहादुर आले, धनबहादुर बुढा, हिराचन्द्र केसी र गोपाल बमले देउवालाई मत दिए।


त्यस्तै माधव नेपाल पक्ष भनेर चिनिएका उनीसहित १४ जना सांसद्हरु जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीले देउवालाई मत दिए।


1140x725


जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा जसपाले एक ढिक्का भएर विरोध गरेको थियो। विभिन्न कार्यक्रम गरेर त्यसका विरुद्ध उभिएको पनि थियो। तर, सो विघटनलाई सर्वोच्चले संवैधानिक करार गरिदिएपछि ओलीले जसपाको एक पक्ष (महन्थ ठाकुर- राजेन्द्र महतो पक्ष) लाई आफ्नो विश्वासमा लिए। जसले जसपाभित्र विवाद सुरु भयो। किनकि, सोही पार्टीको अर्को पक्ष (उपेन्द्र यादव-बाबुराम भट्टराई) भने तत्काल ओलीलाई हटाउन चाहन्थे। यो पक्ष कांग्रेस, माओवादी, एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षसँग निकट थियो।


आन्तरिक रुपमा फरक–फरक मत र पक्षधरता भए पनि त्यसको बाह्य प्रस्फुटन भएको थिएन। तर, जब लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेसहित ४ जनालाई मन्त्री बनाइयो, विवाद प्रस्फुटन भयो। मन्त्री बन्नेहरुलाई यादव पक्षले कारबाही प्रक्रिया अगाडि बढायो, ठाकुर पक्षले बधाई दियो।


विवादको अर्को स्वरुप प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा पनि देखियो। एकीकृत धारणा बनाउन नसक्दा मतदानका सन्दर्भमा ह्विप नलगाउने निर्णय गरियो। विश्वासको प्रस्तावमाथि यादव पक्षले विपक्षमा मत दिए। ठाकुर पक्षले तटस्थ बस्ने निर्णय गरे। संसद्‌मा सम्बोधन गरेका दुवै नेताले सोही किसिमको अभिव्यक्ति दिएका थिए। विश्वासको मत नपाएका कारण ओली पदमुक्त भए। यादवले तत्कालै शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर वक्तव्य जारी गरे। ठाकुरले त्यसको खण्डन गर्दै अर्को वक्तव्य जारी गरे। ‘कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत’ भएको ठाकुरले बताए।


त्यसपछि ठाकुर पक्षले आफ्नो पक्षको भेला गर्न थाल्यो। त्यस्तै भेलाबाट संसदीय दलको विधान पारित गरियो, राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरियो। जसलाई यादव पक्षले खण्डन गर्‍यो। यादवले त्यसलाई मान्यता नदिन संसद् सचिवालयलाई पनि पत्र लेखे। पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले नयाँ तरिका अपनाए। उनले जेठ ३ गते यादव पक्षका २० जनालाई कार्यकारिणी समितिबाट हटाई आफू पक्षका २० जनालाई नियुक्त गरिदिए।


ठाकुर र यादवले जेठ ४ गते संयुक्त वक्तव्य जारी गरे। गुटबन्दी नगरी पार्टीलाई एकताबद्ध राख्नुपर्नेमा जोड दिइयो। दुवैको अर्को वक्तव्यमार्फत् जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइयो। तर, केहीबेरमै ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको भन्दै संसद् सचिवालयलाई जानकारीपत्र पठाए। ६ गते नै ठाकुर पक्षले आफू पक्षका कार्यकारिणी समितिको बैठक राख्यो।


यसै बीच जेठ ७ गते ओलीले प्रधानमन्त्रीमा दाबी गरे। उनले दाबी गर्दा ओलीलाई पार्टीको तर्फबाट ठाकुर र महतोले समर्थन गरेका थिए। प्रधानमन्त्रीमै दाबी गरेका शेरबहादुर देउवालाई यादव पक्षका १२ सांसद्ले हस्ताक्षरसहित समर्थन गरेका थिए।


त्यसपछि भने जसपामा स्पष्टीकरण श्रृंखला सुरु भयो। परिणामतः जेठ १७ मा यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिदियो। प्रतिवाद स्वरुप ठाकुर पक्षले पनि जेठ १८ मा यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिदियो।


निष्कासनपछि विवाद निर्वाचन आयोगमा पुग्यो। दुवै पक्षले आफूले गरेको कारबाहीको जानकारी गराउँदै दलको दर्ता किताब अद्यावधिक गर्न अनुरोध गरे। तर, आयोगले जेठ ३१ मा दुवै पक्षको दाबीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी यथावत् रहने भन्यो।


विवाद जारी रहेकै बेलामा ठाकुर पक्ष ओली सरकारमा सहभागी भयो। जेठ २१ र जेठ २७ मा गरी सो पक्षबाट ११ जना मन्त्री बने। यादव पक्षले सरकारमा सहभागी हुनेहरुलाई जेठ २९ मा स्पष्टीकरण सोध्यो र असार ३ गते पार्टीबाट निष्कासन गरिदियो। साथै निर्वाचन आयोगमा आधिकारिता दाबी गर्ने निर्णय पनि गर्‍यो र ४ गते आयोगमा आधिकारिताको लागि पत्र दर्ता गरायो।


यसैबीच महन्थ ठाकुरले २०७७ पुस ७ को बैठकबाट ‘कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीका पहिलो वरियताका अध्यक्ष श्री महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय’ गरिएको भन्ने विवादास्पद कागज पत्र आयोगमा बुझायो। त्यसको प्रमाणिताको विषयमा प्रश्न उठेको थियो। यादव पक्षले त्यसलाई कीर्ते कागजपत्र भएको बतायो।


आधिकारिकताको दाबी आएपछि आयोगले दुवै पक्षलाई मिलेर अघि बढ्न सकिने सम्भावना खोजेको थियो। तर, दुवै पक्षले मिलेर जान सकिँदैन, कानुन अनुसार गर्न भनेपछि आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेर सुनुवाइ गर्‍यो। उसले साउन ७ गतेको सुनुवाइपछि सनाखतका लागि साउन ११ बजे नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित आउन भन्यो।


सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए। १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए।


1140x725


एमालेदेखि जसपासम्म विभाजन

२०७८ साउन ३२ गते मध्यरातमा संसद्को चालु अधिवेशन अन्त्य भयो। भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गर्‍यो। जसमा राजनीतिक दल विभाजनका लागि निकै खुकुलो प्रावधान राखियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पुगे हुने व्यवस्था मूलतः एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई लक्षित थियो। उनीहरुलाई सजिलो होस् भनेर निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यले २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यको दल त्याग नहुने व्यवस्था गरियो। उनीहरुले त्यसै दिन पार्टी विभाजनको प्रक्रिया पनि सुरु गरिहाले।


भदौ २ गते राष्ट्रपतिले अध्यादेश जारी गरिन्। त्यसको केही बेरमै निर्वाचन आयोग पुगेर नेपाल पक्षले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निवेदन दियो। त्यस्तै, जसपाको महन्थ ठाकुरले पनि जसपा लोकतान्त्रिक नाम राख्दै दल दर्ताका लागि निवेदन दियो। तर आयोगले मिल्दोजुल्दो नाम भएकाले नयाँ नाम ल्याउन दुवैलाई आग्रह गर्‍यो। जसअनुसार भदौ ४ मा माधव नेपाल पक्षले नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नाम प्रस्ताव गरे। त्यसैदिन आयोगले भदौ ९ गते सनाखतका लागि बोलायो।


माधव नेपाल पक्षका नेताहरु ७ गते चन्द्रागिरि उक्लिए। दुई दिनसम्म छलफलमा जुटेका उनीहरुले राजनीतिक प्रतिवेदन, विधान तथा नियमावली टुंग्याए। उनीहरु सनाखतका लागि सिधै चन्द्रागिरिबाट निर्वाचन आयोगको कार्यालय आएका थिए।


९ गते एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपाल सहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले सनाखत गरे। त्यतिबेला उपचारका लागि भारतमा रहेका झलनाथ खनालले आयोगलाई दिल्लीस्थित नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन पत्र पठाएका थिए। जसअनुसार उनले दिल्लीबाटै सनाखत गरेका थिए। भदौ २ गतेको निवेदनमा नाम नभए पनि प्रतिनिधिसभा सदस्यद्वय सोमप्रसाद पाण्डे र माया ज्ञवाली, राष्ट्रिय सभा सदस्यद्वय शारदा देवी भट्ट र राजन राईले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न पाउनुपर्ने निवेदन दिएका थिए। उनीहरु आयोगको कार्यालय पनि पुगेका थिए। तर सनाखतका लागि आयोगले अस्वीकार गर्‍यो। सोही दिन आयोगले दल दर्ता गर्ने निर्णय गर्दै पार्टी दर्ताको प्रमाणपत्र दियो।


त्यस्तै, लोसपाको पक्षमा १४ जना संघीय सांसद् (एक राष्ट्रिय सभा सदस्य सहित)ले सनाखत गरे। कार्यकारिणी सदस्यतर्फ १७ जनाले लोसपाको पक्षमा सनाखत गरे। सो पार्टीलाई पनि आयोगले त्यसै दिन दर्ता गर्ने निर्णय गर्‍यो र दल दर्ताको प्रमाणपत्र दियो।


यसै वर्ष लोसपा पनि विभाजन भएर बृषेशचन्द्र लालको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी, सन्तबहादुर नेपाली र कृष्णराज पौडेल लगायतका समूहले नेकपा मसाल (राजमो) विभाजन गर्‍यो। विवेकशील साझा पार्टीले पनि मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरेपछि पार्टी विभाजनको अवस्थामा पुगेको छ।


प्रदेशमा हलचल

केन्द्रीय सत्तामा उत्पन्न संघर्षको प्रभाव प्रदेशहरुमा पनि पर्‍यो। परिणामतः सातमध्ये पाँच वटा प्रदेश सरकारहरु परिवर्तन भइसकेका छन्। 


एमाले विभाजन भएकै भोलिपल्ट अर्थात् भदौ १० गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई सत्ता सुम्पिए।  तर उनको कार्यकाल लामो चल्न सकेन। उनलाई कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले विस्थापन गरिदिए। मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत यथावत् छन्। तर उनका सत्ता सहयात्री भने परिवर्तन भइरहे। जसपाकै महन्थ ठाकुर पक्ष बाहिरिएपछि प्रदेश सरकारमा अहिले एकीकृत समाजवादी, कांग्रेस तथा माओवादी भित्रिएका छन्।


बागमती प्रदेशमा पनि यसै वर्ष दुई जना नयाँ मुख्यमन्त्री बने। सुरुवाती मुख्यमन्त्री डोरमणि पोखरेलले भदौ २ गते अष्टलक्ष्मी शाक्यलाई सत्ता सुम्पिए। तर, एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले उनलाई विस्थापन गरिदिए। पाण्डे कात्तिक ११ मा मुख्यमन्त्री बनेका थिए। गण्डकी प्रदेशमा पनि सत्ता संकटमा परेपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएर पुनः प्रधनमन्त्री नियुक्त भए। तर उनले विश्वासको मत पाउन सकेनन्। उनलाई कांग्रेसका कृष्णचन्द्र पोखरेलले जेठ २९ मा प्रतिस्थापन गरिदिए।


लुम्बिनी प्रदेशमा पनि किचलो उत्पन्न भयो। अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री शंकर पोखरेलले वैशाख १९ मा राजीनामा मात्रै दिएनन्, त्यसै दिन विवादास्पद तरिकाले नियुक्त भएर पुनः सत्ता सम्हाले। तर साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसीले विस्थापन गरिदिए। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा त्यतिबेला एमालेमै रहेका माधव नेपाल पक्षका सांसद्हरुले फ्लोर क्रस गरी जोगाइदिएका थिए। त्यतिबेला कांग्रेससँग भएको सहमती अनुसार उनले सत्ता छाडे। जसअनुसार कात्तिक १६ मा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भए।


सुदूरपश्चिम प्रदेशमा एमालेले आन्तरिक किचलोकै बीच सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिए। माधव नेपाल पक्षका सांसद्को सहयोगमा उनको पद यथावत् रह्यो। सो सरकारमा अहिले एकीकृत समाजवादी र कांग्रेस पनि सहभागी भएका छन्।


प्रदेशका सरकार मात्रै होइन, प्रदेश प्रमुखहरु पनि फेरिए। संघमा देउवा नेतृत्वको सरकार बनेपछि सात वटै प्रदेशका प्रमुखहरु फेरिएका छन्। जसअनुसार प्रदेश १ मा अहिले परशुराम खापुङ, मधेस प्रदेशमा हरिशंकर मिश्र, बागमती प्रदेशमा यादवचन्द्र शर्मा, गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशमा अमिक शेरचन, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन्।


1140x725


राष्ट्रिय सभाका निर्वाचनहरु

राष्ट्रिय सभाका लागि मात्रै २०७८ सालमा तीन पटक निर्वाचन भयो। माओवादी परित्याग गरी एमाले प्रवेश गरेपछि कारबाहीमा परेका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काको स्थानमा जेठमा दुई पटक निर्वाचन भएको थियो। साथै, रिक्त एक तिहाइको पदपूर्तिको लागि माघमा तेस्रो पटक निर्वाचन भएको हो।


बादलको स्थानमा बागमती प्रदेशमा जेठ ६ गते भएको निर्वाचनमा एमालेबाट उनी नै उम्मेदवार भएका थिए। त्यस्तै, तत्कालीन विपक्षी गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार भनेका थिए। उनी एमालेको एक पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल निकट हुन्। त्यस्तै, नेमकिपाका तर्फबाट कृष्ण तामाङ उम्मेदवार भए। देवकोटा विजयी भए। जेठ १७ मै लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा एमालेबाट चन्द्रबहादुर खड्का स्वयं उम्मेदवार भए। उनलाई गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय उम्मेदवार भए। पाण्डेय विजयी भए।


यसै वर्ष फागुन २० पछि रिक्त हुँदै गएको २० मध्ये १९ पदका लागि माघ १२ गते निर्वाचन भयो। जसमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका थिए। त्यस्तै, मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो। जसमा गठबन्धनका उम्मेदवारहरुले १८ स्थानमा र एमाले उम्मेदवारले एक स्थानमा जित हासिल गरे।


राष्ट्रपतिबाट मनोनित गरिनुपर्ने एक जनामा पनि चैत २५ गते मनोनयन भएको छ। रामनारायण बिडारीको स्थानमा नारायणप्रसाद दाहाललाई मनोनित गरिएको हो।


अहिले राष्ट्रिय सभामा एमालेका १७, नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपाका १, राजमोका १, स्वतन्त्र १ जना छन्। त्यसबाहेक ३ जना राष्ट्रपतिबाट मनोनित छन्। 


1140x725


महाधिवेशन वर्ष

२०७८ साललाई महाधिवेशनकै वर्ष मान्न सकिन्छ। किनकि, यस थुप्रै प्रमुख पार्टीहरुले महाधिवेशन गरे। नेकपा माले, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा राप्रपाले समेत महाधिवेशन गर्न भ्याए।


यस वर्ष एमालेले दुइटा महाधिवेशन गर्‍यो। असोजमा विधान महाधिवेशन र मंसिरमा राष्ट्रिय महाधिवेशन। असोज १५ देखि १७ सम्म चलेको प्रथम विधान महाधिवेशनमा एमालेले ६ हजार ३४७ प्रतिनिधिको उपस्थिति रहेको बताइएको थियो। महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। १० समूह गठन गरेर गरिएको छलफलको निष्कर्षपछि प्रस्तावहरु केही संशोधनसहित पास भएका थिए। यस महाधिवेशनबाट पारित भएको सांगठनिक संरचनाको स्वरुपलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशनको क्रममा संशोधन गरिएको थियो।


मंसिर १० गतेदेखि एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्‍यो। चितवनको नारायणी किनारमा उद्घाटन सत्र र सौराहमा बाँकी कार्यक्रम आयोजना गरिएको थियो। महाधिवेशनबाट केपी ओलीलाई नै पुनः अध्यक्ष निर्वाचित गरिएको थियो। उनीसँग भीम रावलले प्रतिस्पर्धा गरेका थिए।


नेपाली कांग्रेसले पनि यसै वर्ष मंसिरमा महाधिवेशन गर्‍यो। मंसिर २४ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित भयो। उसले नीति महाधिवेशन बेग्लै गर्ने गरी मंसिर २४ देखि २६ सम्मका लागि तोकिएको चौधौं महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै केन्द्रित गरेको थियो। यस महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा नै पुनः निर्वाचित भएका थिए। पहिलो चरणको निर्वाचनमा देउवा, शेखर कोइराला, प्रकाशमान सिह, विमलेन्द्र निधि तथा कल्याण गुरुङ प्रतिस्पर्धी भएका थिए। तर, पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो। र देउवा सभापतिमा निर्वाचित भए।


नेकपा माओवादी केन्द्रले पनि पुस ११ गतेदेखि महाधिवेशन आयोजना गर्‍यो। सुरुमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि पुस १० गते बसेको उसको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरित गर्ने निर्णय गरेको थियो। त्यसपछि रातारात राष्ट्रिय सम्मेलन राष्ट्रिय महाधिवेशनमा परिणत भएको थियो। यो महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले '२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नामको राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। त्यसमाथि २५ वटा समूह बनाएर छलफल गरिएको थियो। प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीले पुरक प्रतिवेदन र लेखनाथ न्यौपानेले फरक मत राखेका थिए। महाधिवेशनले केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्ने भए पनि प्रचण्डले नाम पढेर प्रस्ताव गरेका थिए। उनले प्रस्तुत गरेको अपूर्ण कमिटीलाई अनुमोदन गर्दै महाधिवेशन सकिएको थियो। सोही कमिटीको पुस १९ को बैठकबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका थिए। पार्टीमा अन्य पदाधिकारी भने अझै चयन भएका छैनन्।


नेकपा मालेको आठौं महाधिवेशन कात्तिक २७ देखि २९ सम्म चलेको थियो। माले महासचिव सीपी मैनालीले चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र पनि सोही ठाउमा भएको थियो। महाधिवेशनले विभिन्न दस्तावेजहरु पारित गर्नुका साथै मैनालीलाई नै महासचिवमा निरन्तरता दियो। माले महाधिवेशनले अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेण्डा पारित गर्‍यो। केन्द्र, जिल्ला र पालिका कार्यकारी रहेको आधारभूत संघीयता बनाउने र धर्मनिरपेक्षता हटाउने अजेन्डा पनि पारित गर्‍यो।


राप्रपाको महाधिवेशन पनि मंसिर १५ गतेदेखि सुरु भयो। १८ गते भएको निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार बनेका थिए। जसमा लिङ्देन विजयी भए। कमल थापाले निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रको चलखेल भएको बताए। त्यसको छानबिन गर्नुपर्ने उनको माग थियो। तर लिङ्देनले बेवास्ता गरिदिए। राप्रपाबाट थापाको बहिर्गमनको एउटा कारण यही भयो।


1140x725


संसद् अवरोधमा एमालेको रेकर्ड!

एमालेको नाममा एउटा रेकर्ड थियो- २०५७ सालमा एउटा अधिवेशनभर अवरोध। २०५७ फागुन २६ गतेदेखि सुरु भएको १९औँ अधिवेशन चैत २३ गतेसम्म चल्यो। त्यसबीचमा २४ दिन बैठक बोलाइएको थियो। २४ दिनमा २५ वटा बैठक बसेका थिए। २१ वर्षपछि एमालेले आफ्नो त्यो रेकर्ड पनि तोड्यो। उसले लगातार दुई वटा अधिवेशन अवरोध गरिदियो। त्यो पनि सक्रिय विरोध र नाराबाजीका साथ।


संसद् अवरोध गर्ने कारणचाहिँ माधव नेपालसहित १४ सांसद्लाई कारबाही गरिएको प्रसंगबाट सुरु हुन्छ। नेपाल पक्षले पार्टी विभाजन गर्ने निश्चित भइसकेपछि र सरकारले पनि सजिलो प्रावधान सहितको अध्यादेश सिफारिस गरेपछि एमालेले भदौ १ गते संसद् सचिवालयमा जानकारी पत्र दर्ता गरायो। माधव नेपाल सहित १४ सांसद्लाई पार्टीबाट निष्काशन गरिएको भन्दै उनीहरुलाई सांसद् पदबाट मुक्त गर्नका लागि सूचना टाँस गर्नका लागि सो पत्र दर्ता गराइएको थियो। पत्रमा ती सांसद्हरुलाई साउन २५ गते नै पदमुक्त गरिएको उल्लेख थियो। तर सभामुखले तत्कालै सूचना टाँस गरिदिएनन्। भदौ २ गते जारी भएको अध्यादेश अनुसार माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्न भ्यायो। भदौ ९ गते त सो पक्षले दल दर्ताको प्रमाणपत्र नै पायो। 


आफ्नो पार्टी विभाजनको विरुद्धमा एमालेले सर्वोच्च अदालतमा मुद्दा पनि दायर गर्‍यो। अर्कोतिर, सभामुखलाई एमाले विभाजनको मतियार भन्दै संसद् अवरोध गर्न थाल्यो। उसको यही आक्रोशको सिकार भएका थिए दुई वटा अधिवेशन। भदौ २३ गते देखि सुरु भएको संघीय संसद्को अधिवेशन कात्तिक १२ मा अन्त्य भएको अधिवेशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका १३/१३ बैठक बसेका थिए। त्यस्तै मंसिर २८ बाट सुरु भएको अर्को अधिवेशनमा प्रतिनिधि सभाको बैठक ११ पटक बसेको थियो। राष्ट्रिय सभाको बैठक भने जम्मा दुई वटा बस्यो। 


भदौ २३ गते देखि चलेको प्रतिनिधि सभाको नवौं र राष्ट्रिय सभाको दशौँ अधिवेशन कात्तिक १२ गते सम्म कायम भएको थियो। त्यो अवधि ५२ दिनको थियो। तर सरकारले कात्तिक ११ गते नै निर्णय गरेको हुनाले ५१ दिनसम्म एमालेको अवरोध रहेको मान्न सकिन्छ। मंसिर २८ देखि चैत १ गतेसम्मको अवधि ९२ दिनको रह्यो। यसरी अघिल्लो अधिवेशनका ५१ र यस अधिवेशनका ९२ गरी एमालेले १४३ दिनसम्म संसद् अवरोध गरेको थियो।


दुवै अधिवेशनमा एमालेका सांसद्हरुले सक्रियतापूर्वक अवरोध गरेका थिए। प्रतिनिधि सभाका सबै बैठकमा रोस्ट्रम घेरेका थिए, राष्ट्रिय सभामा भने यथास्थानमा उठेर सांसदहरुले विरोध जनाएका थिए। तर, उनीहरुको अवरोधले कुनै परिणाम ल्याएन। न सभामुखलाई पदमुक्त गराउन सके, न त राजनीतिक निकासको अन्य कुनै बाटो पत्ता लाग्यो। बरु अवरोधकै बीच सरकारले कतिपय बिजनेस अगाडि बढायो।


कमल थापाको राप्रपा परित्याग

राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएदेखि असन्तुष्ट रहेका कमल थापाले माघ २५ गते एक विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको जानकारी गराए। ‘अत्यन्त भारि तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अगल हुने निर्णय गरेको छु। पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको छु’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।


महाधिवेशनको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षप गरेर आफूलाई पराजित गरिदिएको भन्दै थापाले सो घटनाको पार्टीले छानबिन गर्नुपर्ने बताउँदै आएका थिए। तर पार्टीले भने त्यसलाई वास्ता गरिरहेको थिएन। साथै, उनले नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनको पार्टी सञ्चालन शैलीप्रति पनि प्रश्न उठाउँदै आएका थिए।


माघ २४ गते थापाले आफू पक्षीय नेताहरुको काठमाडौंको सुकेधारामा भेला गरेर स्थानीयतहको निर्वाचनको मिति घोषणा हुनुअघि नै आफूले उठाएका मागहरु पूरा गर्न अल्टिमेटम दिएका थिए। माग पूरा नभए नयाँ यात्राको थालनी गर्ने उनको भनाइ थियो।


माघ २४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिदियो। भोलिपल्टै थापाले पार्टीबाट अलग भएको सार्वजनिक गरे।


तर थापाले लामो समय पार्टीविहीन भएर बस्नुपरेन। थापाले एकीकरणका नाममा पहिल्यै आफू नेतृत्वको राप्रपा नेपाललाई पनि राप्रपा बनाएका थिए। त्यतिबेला राप्रपा नेपालमै रहेर त्यसको अध्यक्षता गरिरहेका लाक्पा तामाङले उनैलाई अध्यक्षता सुम्पिए। ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यकता पर्ने छ मेरो सोचाइ अहिले प्रमाणित भएको छ’, लामा द्वारा फागुन १ मा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज कमल थापाज्यूलाई उहाँको विरासतको रुपमा रहेको राप्रपा नेपालको नेतृत्व सुम्पन पाउँदा म अत्यन्त हर्षित छु।’


थापाले पनि सोही दिन राप्रपा नेपालको अध्यक्षको रुपमा विज्ञप्ति जारी गर्दै भने, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपालाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’


1140x725


प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव

फागुन १ गते सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे। माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको सो प्रस्ताव बिहान ११:१० मा संघीय संसद् सचिवालयमा दर्ता गरिएको थियो। प्रस्तावमा हस्ताक्षर नगरे तापनि राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले आफू पनि महाभियोगको पक्षमा रहेको भन्दै विज्ञप्ति जारी गरेकी थिइन्।


प्रस्तावमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्ने २१ वटा आधार र कारणहरु उल्लेख गरिएको थियो। संसद् सचिवालयका महासचिव भरतराज गौतमले फागुन १ गते दिउँसो नै राष्ट्रपतिको कार्यालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाईजानकारी पत्र पठाएका थिए। पत्र प्राप्त भएपछि राणा दिउँसै सर्वोच्चबाट बाहिरिएका थिए।


सत्तारुढ दलका नेताहरुले दिनभर महाभियोग प्रस्ताव दर्ता गर्ने कदमको बचाउ गरिरहे। प्रधानन्यायाधीश राणालाई पटकपटक अनौपचारिक रुपमा निकास दिन आग्रह गरेको तर उनी तयार नभएपछि अगाडि बढ्नुपरेको उनीहरुको अभिव्यक्ति थियो।


केपी ओली निवास बालकोटमा त्यसैदिन साँझ बसेको नेकपा एमालेको सचिवालय बैठकले महाभियोग प्रस्तावलाई गम्भीर षडयन्त्र भन्दै संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय लियो। अर्कोतिर एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै राणाविरुद्धको महाभियोग प्रस्तावलाई एमाले विरुद्ध भएको भन्न भ्याए। फागुन १४ गते एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने- 'यो (राणाविरुद्धको महाभियोग) किन ल्याएको भन्दा एमाले विरुद्ध ल्याएको हो, एमालेका विरुद्ध।'


फागुन २२ गतेको प्रतिनिधि सभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्‍यो। जसमा एमालेले पनि सहभागिता जनाएको थियो। समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल; कांग्रेसबाट मिन बहादुर विक र रामबहादुर विष्ट; माओवादीबाट यसोदा सुवेदी र रेखाशर्मा; नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का; जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ सदस्य रहे।


महाभियोग प्रस्ताव फागुन २९ गतेको प्रतिनिधि सभा बैठकमा पेस भयो। प्रस्तावक मध्येका एक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव पेस गर्दै भनेका थिए- 'त्यो प्रस्ताव यो सदनबाट स्वीकृत होस्। र महाभियोगमार्फत कार्यक्षमताको अभाव देखिएको, न्यायिक आचरणको अभाव देखिएको र सर्वोच्च अदालतको नेतृत्व गर्न नसक्ने प्रधानन्यायाधीशलाई पदमुक्त गरियोस् भन्ने आशा अपेक्षाका साथ यो प्रस्ताव प्रस्तुत गरेका छौँ।'


सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावमाथि सभाको आगामी बैठकमा छलफल हुने जानकारी गराएका थिए। र चैत १ गतेका लागि बैठक स्थगित गरेका थिए। तर, चैत १ गतेको बैठक बस्नुअघि नै सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरिदियो। महाभियोग प्रस्ताव त्यत्तिकै रोकियो।


1140x725


एमसीसी!

२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको एमसीसीका सन्दर्भमा त्यसयता विवाद रहँदै आएको थियो। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधिसभामा टेबल गरेर पारित गर्न खोजे पनि नसकेको सो सम्झौता २०७८ फागुन ८ गते प्रतिनिधि सभामा टेबल भयो। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्झौतालाई टेबल गरेका थिए।


सत्ता गठबन्धनका दलहरुभित्रै सहमति नरहेको सो सम्झौता टेबल गर्नको लागि फागुन ८ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सहमति जुटाएको थियो। त्यसै दिनको कार्यव्यवस्था परामर्श समितिको बैठकमामा ओवादी केन्द्रका तीन सांसद्ले लिखित असहमतिपत्र बुझाएको भए पनि सभामुख अग्निप्रसाद सापकोटाले सम्झौतालाई टेबल गर्न समय दिएका थिए।


मन्त्री कार्कीले एमसीसी टेबल गरिरहँदा नयाँ बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन भएको थियो। प्रहरीले निरन्तर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। सदनभित्रै पनि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेमकिपा, राजमोका सांसद्हरुले आफ्नै सिटमा उठेर विरोध जनाएका थिए। एमालेका सांसद्हरुले सधैंझैँ वेल घेराउ गरेर नाराबाजी गरिरहेका थिए। एमालेका सांसद भीम रावलले भने सिटमै उभिएर विरोध जनाएका थिए।


त्यसपछिका केही दिन प्रमुख राजनीतिक दलहरुबीच निकै संवादहरु भए। सत्ता गठबन्धनका दलहरुबीच संवाद हुनु स्वभाविक नै हो। तर, गठबन्धनमा आबद्ध दलहरुमा एमसीसीलाई अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस मात्रै थियो। त्यसका लागि उसले एमालेसँग तारन्तर छलफल गर्‍यो। एमाले र माओवादीबीच पनि संवाद भयो।


कांग्रेस र एमालेबीच एमसीसी पारित गर्ने सहमति जुटेमा सत्ता गठबन्धन भत्किने मात्रै होइन, सभामुख लगायतका पद माओवादीले गुमाउनुपर्थ्यो। एकीकृत समाजवादीले पनि सत्ताबाट बाहिरिनुपर्दा पार्टी निर्माणमा असर पर्थ्यो। आफ्नै प्रतिस्पर्धी एमालेसँग सत्ता गठबन्धन गर्दा कांग्रेसलाई कठिनाइ थियो। नजिकिँदै गरेको चुनावमा प्रमुख प्रतिस्पर्धा गर्नुपर्ने दलसँग सत्ता सहयात्रा गर्नुपर्दा अन्य दलसँगकै गठबन्धन उचित थियो। तर, एमसीसी पास गर्नैपर्ने दबाबमा रहेको ऊ जस्तोसुकै विकल्पमा अघि बढ्न तयार देखिन्थ्यो।


अन्ततः सत्ता गठबन्धनका दलहरुबीच एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सहमति बन्यो। सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि १५ गतेको बैठकले सम्झौतालाई बहुमतले अनुमोदन गर्‍यो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई नेपालको संविधानको धारा २७९ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २३० बमोजिम एमसीसी सम्झौता र प्रतिनिधिसभाबाट जारी गरिने उक्त सम्झौतामाथिको प्रस्तावित 'व्याख्यात्मक घोषणा' लाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। सोही अनुसारको प्रस्ताव प्रतिनिधि सभाको ध्वनि मतले पारित गरेको हो। प्रतिनिधि सभाबाट पारित गर्नका लागि मन्त्रिपरिषद्ले १२ बुँदे 'व्याख्यात्मक घोषणा' पारित गरेको थियो।


अर्थमन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजी जारी थियो। सभामुखले प्रस्तावको पक्षमा हुन्छ र हुन्न भनेर निर्णयार्थ प्रस्तुत गर्दा पनि नेमकिपाका सांसद् प्रेम सुवाल, राजमोकी सांसद् दुर्गा पौडेल तथा एमालेका सांसद भीम रावलले सिटबाट उठेर विपक्षमा मत दर्ज गराएका थिए। तर, हुन्छ भन्नेमा बहुमत रहेकाले सो प्रस्ताव पारित भएको थियो।


फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएदेखि सडक संघर्ष पनि चर्किएको थियो। विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए। जसको कारण नयाँ बानेश्वर क्षेत्र दैनिक जसो रणमैदान बनेको थियो।

नेपाल लाइभमा प्रकाशित । https://nepallive.com/story/277876 

आफ्नो कमजोरी छोप्न गभर्नरमाथि 'हतियार' प्रहार

नेपाल लाइभ

शुक्रबार, चैत २५, २०७८, २३:००

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो। शुक्रबार उनलाई निलम्बन पत्र पठाइएको छ। यो छानबिन गर्ने भन्ने विषय पदमुक्त गर्नुअघिको औपचारिक प्रक्रिया मात्रै हो।

गभर्नर पदमुक्त हुने केही अवस्थाहरु राष्ट्र बैंक ऐन २०५८ को दफा २२ मा छन्। राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तिय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, बैंकको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा जस्ता विषयहरु ऐनमा छन्।

विस्तृत विवरण त सार्वजनिक भएको छैन। तर, अधिकारीमाथि महत्त्वपूर्ण सूचना चुहाएकोदेखि पूर्वप्रधानमन्त्री केपी ओलीको निर्देशन मानेर सरकारलाई असफल बनाउन काम गरेको सम्मका आरोप रहेको बताइएको छ। यसका विविध पक्ष कालान्तरमा खुल्दै जालान्।

अध्यादेश चक्र: संसदीय प्रक्रियालाई सक्रिय बनाउन बेवास्ता, डेढ वर्षमा एउटै अध्यादेश चार पटकसम्म जारी

किशोर दहाल

बुधबार, चैत २३, २०७८, २२:००

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ पाँच वटा अध्यादेश जारी गरिन्। ती कुनै नयाँ शीर्षकका अध्यादेश भने होइनन्, पछिल्लो डेढ वर्षको अन्तरालमा उनले ती पाँचवटा अध्यादेशलाई चार/चार पटक जारी गरिसकेकी छन्। मुलुक कसरी अध्यादेश चक्रबाट अघि बढिरहेको छ भन्ने थाहा पाउन यिनै अध्यादेश राम्रा सन्दर्भ हुन्।

सदन चालु नरहेको अवस्थामा मुलुकको कुनै आवश्यकता वा समस्यालाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने भयो भने अध्यादेश ल्याउने गरिन्छ। संविधानले नै त्यो अधिकार दिएको छ। तर, पछिल्ला दुई वर्ष ल्याइएका कैयौं अध्यादेश त्यस्तो आवश्यकताको कारण वा 'स्वच्छ भावना'ले जारी गरेको पाइँदैन। त्यसको उदाहरण हो, राजनीतिक दलसम्बन्धी अध्यादेश।

२०७७ वैशाख ८ गते जारी भएको राजनीतिक दल सम्बन्धी केपी ओली नेतृत्वको तत्कालीन सरकारले निश्चित दल विभाजनको आशय राखेर ल्याएको थियो। विरोध भएपछि तत्कालै फिर्ता पनि लियो। त्यतिबेला प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसले संस्थागत रुपमै आलोचना गर्‍यो। सरकार चलाइरहेको नेकपाकै पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले पनि विरोध गरेका थिए।

तर, २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। त्यतिञ्जेल नेकपा विभाजित भइसकेको थियो। नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)मा विभाजन अवश्यम्भावी भइसकेको थियो। सरकारले २०७७ वैशाखमा जारी भएको अध्यादेशमा भन्दा पनि खुकुलो प्रावधान राखेर २०७८ भदौमाअध्यादेश जारी गरिदियो। परिणामतः एमाले र जसपा विभाजित भएर नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भए।

निर्वाचन आयोगप्रति किन खनिँदैछ एमाले?

किशोर दहाल

सोमबार, चैत ७, २०७८, २१:४७

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका निर्णयलाई लिएर केही समययता लगातार आशंका व्यक्त गरिरहेका छन्। सार्वजनिक सम्बोधन र पार्टीका बैठकमा उनले तीन सन्दर्भलाई लिएर आशंका व्यक्त गरिरहेका छन्। पहिलो, निर्वाचन चिह्न हरियो बनाउने निर्णय। दोस्रो, उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिइएको दुई दिनको समय। तेस्रो, उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै (जनप्रतिनिधि भएमा) स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था।

निर्वाचन आयोगले फागुन २३ गते विज्ञप्ति निकालेर निर्वाचन चिह्नको रङ हरियो हुने निर्णय सार्वजनिक गरेको थियो। त्यसपछिका आफ्नो सम्बोधनमा ओलीले लगातार असन्तुष्टि जनाइरहेका छन्। निर्वाचन चिह्नको रङ हरियो गर्ने निर्णय कांग्रेसलाई सहयोग पुर्‍याउने उद्देश्यबाट प्रेरित छ भन्ने उनको भनाइ पाइन्छ। सोमबारकै एमाले पोलिटब्युरो बैठकमा उनले यो विषयमा आयोग र गठबन्धनका दलहरुबीच साँठगाँठ भएको ठोकुवा गरेका छन्।

उम्मेदवारको मनोनयनका लागि दिइएको दुई दिनको समय (वैशाख ११ र १२) प्रति पनि ओलीको आपत्ति छ। आइतबार इलाममा सम्बोधन गर्दै उनले भनेका थिए- 'दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा खटपट गरेर एक दिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ। भोलिपल्ट पनि राखिदियो। पहिले पहिले तपाईंहरुले थाहा पाउनुभएको छ, सुन्नुभएको छ, देख्नुभएको छ दुई दिन मनोनयनका लागि दिएको? मनोनयन एकै दिन हुन्छ, जहाँ पनि। विश्वभरि मनोनयन एकै दिन हुन्छ। नेपालमा दुई दिन मनोनयन। पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो?'

एमालेको नयाँ रेकर्ड : लगातार दुईटा संसद् अधिवेशन अवरोध, नाराबाजीमा बित्यो १४३ दिन

किशोर दहाल

मंगलबार, चैत १, २०७८, २२:१२

काठमाडौं– संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। मंसिर २८ गते सुरु भएको यो अधिवेशन प्रतिनिधि सभाका लागि दशौँ र राष्ट्रिय सभाका लागि एघारौँ थिए।

९२ दिन चलेको यो अधिवेशनमा प्रतिनिधि सभाको बैठक ११ पटक बसेको थियो। कूल ७ घण्टा ५० मिनेट बैठक बसेको थियो। प्रतिनिधि सभाका बैठकहरु मंसिर २८गते, पुस ६ गते, पुस ७ गते, फागुन ४ गते, फागुन ६ गते, फागुन ८ गते, फागुन १५ गते (पहिलो), फागुन १५ गते (दोस्रो), फागुन १८ गते, फागुन २२ गते र फागुन २९ गते बसेका थिए। राष्ट्रिय सभाका बैठक भने जम्मा २ वटा बस्यो। गत मंसिर २८ र पुस ५ गते मात्रै बैठक बसेको हो।

मूलतः यो अधिवेशन अन्त्यसँगै नेकपा एमालेले संसद् अवरोधको नयाँ रेकर्ड पनि राखेको छ। २०५७ सालमा एउटा अधिवेशनभर पूरा अवरोध गरेको उसले २१ वर्षपछि लगातार दुई वटा अधिवेशनभर अवरोधको नयाँ रेकर्ड राखेको हो। गत भदौ २३ गतेदेखि चलेको प्रतिनिधि सभाको नवौं र राष्ट्रिय सभाको दशौँ अधिवेशन कात्तिक १२ गतेसम्म कायम भएको थियो। त्यो अवधि ५२ दिनको थियो। तर सरकारले कात्तिक ११ गते नै निर्णय गरेको हुनाले ५१ दिनसम्म एमालेको अवरोध रहेको मान्न सकिन्छ।

आजै रातिबाट अन्त्य हुँदै गरेको अधिवेशन ९२ दिनसम्म चल्यो। अघिल्लो अधिवेशनका ५१ र यस अधिवेशनका ९२ गरी एमालेले १४३ दिनसम्म संसद् अवरोध गरेको हो। एमालेका कतिपय सांसदहरु निरन्तर संसद् अवरोध गर्ने कामप्रति सहमत नभए पनि पार्टी नेतृत्वको अगाडि मौन बस्ने गरेका छन्, बरु सदनमा नाराबाजी गर्न विवश हुने गरेका छन्। त्यसैले आगामी अधिवेशन पनि यसैगरी बित्ने सम्भावना ज्यादा छ।

मतपत्रमा हरियो रङको चुनाव चिह्न : तुकबिनाको तर्कबाट सिर्जित तरंग

किशोर दहाल

बिहीबार, फागुन २६, २०७८, २०:१९

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि घोषित मिति आइपुग्न अब ६४ दिन बाँकी छ। निर्वाचन आयोगदेखि निर्वाचनमा भाग लिने दलहरु आ-आफ्नो तयारीमा जुटेका छन्। तर, ती विषयले भन्दा मतपत्रमा रहने चुनाव चिह्नको रङको विषयले यतिबेला अतिरिक्त चर्चा पाइरहेको छ।

चर्चाको सुरुवात पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्तिबाट भएको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रमा राखिने चुनाव चिह्नहरु हरियो रङको हुने निर्णय गरेपछि ओलीले त्यसप्रति ठूलै आशंका प्रकट गर्दै अभिव्यक्ति दिएका थिए।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) को कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए- 'चुनाव चिह्नको रङ हरियो कुन हिसाबले राख्ने? धार्मिक हिसाबले राख्ने हो? अथवा, कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने? कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो?'

संसद् अवरोध गरिरहेको एमालेले किन दियो महाभियोग समितिमा नाम?

किशोर दहाल

आइतबार, फागुन २२, २०७८, १९:०५

काठमाडौं- गत भदौदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आइतबार पनि त्यसलाई निरन्तरता दियो। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छानबिनका लागि गठन गरिएको 'महाभियोग सिफारिस समिति'मा भने नाम दियो। ११ सदस्यीय समितिमा एमालेका चार सांसद् छन्।

एमालेले नाम दिएर महाभियोग सिफारिस समितिलाई पूर्णता दिन भूमिका खेलेपछि सत्ता पक्षले भने त्यसलाई एमाले पनि प्रक्रियामा सामेल भएको अर्थमा बुझेको छ। कानुनमन्त्री दिलेन्द्र बडू भन्छन्, 'एमाले संसदीय प्रक्रियामा आएको मानौँ न। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। आएको मान्नुपर्छ भन्छु म।

एमालेले लामो समयदेखि संसद् अवरोधलाई जारी राखेको थियो नै, राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको पनि आलोचना गर्दै आएको छ। तर, समितिमा नाम दिएर उसले यो प्रक्रियामा सभामुखलाई सघाएको छ। सभामुखले प्रस्तावित गरेको ११ सदस्यीय सो समितिलाई प्रतिनिधि सभाको आइतबारको बैठकले अनुमोदन पनि गरिसकेको छ। समिति गठन भएसँगै निलम्बित अवस्थामा रहेका राणामाथिको छानबिन प्रक्रिया अघि बढ्ने छ। 

आखिर महाभियोगमाथि छानबिन गर्न गठित समितिमा एमालेले किन आफ्ना प्रतिनिधि पठायो त? केही एमाले नेताहरुले दिएको प्रतिक्रियाको आधारमा यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ :

गठबन्धनका शीर्ष नेतालाई व्याख्यात्मक घोषणा सुन्न बाध्य बनाउने त्यो रणनीतिक ‘मूभ’

​​​​​​​दुर्गा दुलाल/किशोर दहाल/डिबी खड्का

मंगलबार, फागुन १७, २०७८, १५:२६

काठमाडौं- एमसीसीलाई लिएर सत्ता गठबन्धनमा ध्रुवीकरण बढिरहेको थियो। दुई साताअघि भएको गठबन्धनको एउटा बैठकमा महामन्त्री नेपाली कांग्रेसका गगन थापाले प्रस्‍ताव राखेका थिए- 'संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणामार्फत् एमसीसी पास गर्न सकिन्छ।' संकल्प प्रस्ताव थापाको आफ्नै आइडिया थियो, व्याख्यात्मक घोषणा कानुनविद्को सुझाव।

कांग्रेस सभापति शेरबहादुर देउवालाई एमसीसी जस्ताको तस्तै अनुमोदन गराउनु थियो। एमसीसी अनुमोदन गर्ने कुरामा कांग्रेस एकमत भएकाले देउवा अरुलाई त्यसैमा ल्याइपुर्‍याउन चाहन्थे। त्यसैले संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणा जस्ता कुरामा उनको खासै रुचि थिएन। वास्ता पनि गरेनन्।

सत्ता गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिक्रिया थियो- 'परिस्थिति धेरै अघि बढिसक्यो।' अर्का नेता नारायणकाजी श्रेष्ठले त झन् ठाडै खारेज गरिदिए।

गठबन्‍धनका नेताहरुले रुचि नदेखाएपछि थापाले सञ्चारमाध्यममा यो विषय बोल्न थाले। गठबन्धन एमसीसीका कारण मक्किदै जान थाल्यो। गठबन्धन टुट्दा बालुवाटारबाट बालकोट पुर्‍याइएका एमाले अध्यक्ष केपी शर्मा ओली फर्किने त्रास थियो। सभामुखको कार्यक्षमता र एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतामाथि प्रश्न उठाइरहेको एमाले शक्तिमा फर्किँदा आउने नतिजा उनीहरुका लागि सोच्दै कहालीलाग्दो थियो। गत शनिबार पनि प्रचण्ड भन्दै थिए- एमसीसीकै कारण गठबन्धन टुटेर प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति देखापरेको छ।

एमसीसी अनुमोदन : आइतबार दिनभर के-के भयो?

किशोर दहाल

आइतबार, फागुन १५, २०७८, २१:५३

काठमाडौं– नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) अन्ततः प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।

प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकले सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई नेपालको संविधानको धारा २७९ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २३० बमोजिम एमसीसी सम्झौता र प्रतिनिधि सभाबाट जारी गरिने उक्त सम्झौतामाथिको प्रस्तावित 'व्याख्यात्मक घोषणा' लाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। 

सोही अनुसारको प्रस्ताव प्रतिनिधि सभाको ध्वनि मतले पारित गरेको हो। प्रतिनिधि सभाबाट पारित गर्नका लागि मन्त्रिपरिषद्ले १२ बुँदे 'व्याख्यात्मक घोषणा' पारित गरेको थियो।

अर्थमन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी जारी थियो। सभामुखले प्रस्तावको पक्षमा हुन्छ र हुन्न भनेर निर्णयार्थ प्रस्तुत गर्दा पनि नेमकिपाका सांसद् प्रेम सुवाल, राजमोकी सांसद् दुर्गा पौडेल तथा एमालेका सांसद् भीम रावलले सिटबाट उठेर विपक्षमा मत दर्ज गराएका थिए। तर, हुन्छ भन्नेमा बहुमत रहेकाले सो प्रस्ताव पारित भएको थियो।