दुर्गा दुलाल/किशोर दहाल/डिबी खड्का
मंगलबार, फागुन १७, २०७८, १५:२६
काठमाडौं- एमसीसीलाई लिएर सत्ता गठबन्धनमा ध्रुवीकरण बढिरहेको थियो। दुई साताअघि भएको गठबन्धनको एउटा बैठकमा महामन्त्री नेपाली कांग्रेसका गगन थापाले प्रस्ताव राखेका थिए- 'संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणामार्फत् एमसीसी पास गर्न सकिन्छ।' संकल्प प्रस्ताव थापाको आफ्नै आइडिया थियो, व्याख्यात्मक घोषणा कानुनविद्को सुझाव।
कांग्रेस सभापति शेरबहादुर देउवालाई एमसीसी जस्ताको तस्तै अनुमोदन गराउनु थियो। एमसीसी अनुमोदन गर्ने कुरामा कांग्रेस एकमत भएकाले देउवा अरुलाई त्यसैमा ल्याइपुर्याउन चाहन्थे। त्यसैले संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणा जस्ता कुरामा उनको खासै रुचि थिएन। वास्ता पनि गरेनन्।
सत्ता गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिक्रिया थियो- 'परिस्थिति धेरै अघि बढिसक्यो।' अर्का नेता नारायणकाजी श्रेष्ठले त झन् ठाडै खारेज गरिदिए।
गठबन्धनका नेताहरुले रुचि नदेखाएपछि थापाले सञ्चारमाध्यममा यो विषय बोल्न थाले। गठबन्धन एमसीसीका कारण मक्किदै जान थाल्यो। गठबन्धन टुट्दा बालुवाटारबाट बालकोट पुर्याइएका एमाले अध्यक्ष केपी शर्मा ओली फर्किने त्रास थियो। सभामुखको कार्यक्षमता र एकीकृत समाजवादीका १४ सांसदको वैधानिकतामाथि प्रश्न उठाइरहेको एमाले शक्तिमा फर्किँदा आउने नतिजा उनीहरुका लागि सोच्दै कहालीलाग्दो थियो। गत शनिबार पनि प्रचण्ड भन्दै थिए- एमसीसीकै कारण गठबन्धन टुटेर प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति देखापरेको छ।
