किशोर दहाल
आइतबार, फागुन ८, २०७८, २१:०९
काठमाडौं– २०७६ असार ३० गते नै प्रतिनिधि सभामा दर्ता भएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) ३२ महिनापछि बल्ल सदनमा टेबल भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल भएपछि ५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौता एक पाइला अघि बढेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको थियो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारकै प्रतिनिधि सभा बैठकमा सम्झौता टेबल हुने बताएका थिए। लगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्ने 'सहमति' बनेको हो। कार्यव्यवस्थामा माओवादी केन्द्रका तीन सांसद्हरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले भने लिखित असहमति पत्र राखेका थिए।
'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले एमसीसी सम्झौता सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।
