किशोर दहाल
शनिबार, मंसिर २७, २०७७, १३:३४
अध्ययन, लेखन, बहस, अन्तरक्रिया गर्न रुचाउने सीमित नेतामध्ये पर्छन्, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई। त्यसका लागि उनले पुरानादेखि नयाँ माध्यमसम्मलाई अपनाएका छन्। जसकारण उनी पुराना र नयाँ पुस्ता सबैतिर पुगिरहेका छन्। उनैको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ भर्खरै बजारमा आएको छ। जसमा उनले विभिन्न समयमा लेखेका लेखहरुलाई समावेश गरेका छन्।
भट्टराई जीवनको ऊर्जाशील समय देशको संरचनागत सुधारका लागि माओवादी आन्दोलनमा होमिए। परिणामस्वरुप केही उपलब्धि पनि हासिल भए। तर त्यसका प्रशस्तै अपूर्णता रहेको भन्दै पूर्णताको लागि फरकफरक खालको अभियानमा सक्रिय छन्। सामाजिक सञ्जालमा पनि सक्रिय रहेका उनी सानासाना विषयमा पनि अपडेट र प्रतिक्रियात्मक देखिन्छन्। आफूलाई लागेका विषयमा प्रतिक्रिया दिइहाल्ने उनको विशेषता छ। त्यहाँ उनले तात्तातो घटनाक्रमदेखि गम्भीर सैद्धान्तिक बहसको माग गर्ने विषयसम्मलाई जोडिरहेका हुन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको शासन शैलीप्रति भने उनी निकै नै आक्रामक देखिन्छन्।
भट्टराईसँग उनको पछिल्लो पुस्तक, केही समययता छिटपुट रुपमा चलिरहेको राजावादीहरुको प्रदर्शन, प्रधानमन्त्री ओलीको शासनशैली लगायतका विषयमा नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीको सम्पादित अंशः


















