किशोर दहाल
बिहीबार, भदौ ११, २०७७, १०:५३
काठमाडौं-सरकारले गर्ने कतिपय नियुक्तिहरुको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट आलोचना हुने गरेको छ। विवादित नियुक्तिहरु भएका बेला नेकपाका नेता कार्यकर्ताले विभिन्न तरिकाले असन्तुष्टि जनाउने गरेका छन्। तर, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले जतिसुकै विवादित भए पनि निकटलाई अवसर दिने गरेको पाइन्छ।
पछिल्लो पटक वाणिज्य बैंक सञ्चालक समितिमा उपेन्द्र कोइरालालाई नियुक्त गरिएपछि व्यापक विरोध भइरहेको छ। उनलाई अर्थमन्त्री डा युवराज खतिवडाले गत सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत् नियुक्त गरेका थिए। एउटै व्यक्ति पटकपटक नियुक्त भएको मात्रै होइन, नियुक्ति पाएका ठाउँमा विवादित भएको तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी भएको र उनले नै दबाब दिएर नियुक्ति दिलाएको खबर सार्वजनिक भएका छन्।
आफूलाई जोडेर सार्वजनिक भएका समाचारप्रति पोखरेलले भने खण्डन गरेका छन्। विगतको निरंकुश शाही शासनका दुष्ट मतियारहरूले नयाँ ढंगले आफ्नो विरुद्धमा स्वर उरालेको उनको भनाइ छ। ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन’, पोखरेलले बुधबार फेसबुकमा एक अनुरोध लेख्दै भनेका छन्।
तर नेकपाभित्र नियुक्तिको विषय पटकपटक विवादित पर्नुमा भने सरकारको कार्यशैली पनि जिम्मेवार देखिन्छ। यो अन्ततः सरकारको जवाफदेहीता र पार्टीको छविसँग जोडिन्छ। गत साउन २० गते बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड (झलनाथ खनाल र सुबास नेम्वाङसहित) को बैठकमा प्रचण्ड र खनालले सुशील भट्टलाई लगानी बोर्डको सिएओ नियुक्तप्रति आपत्ति जनाएका थिए।
सरकारका नियुक्तिहरुमा समस्या रहेको बुझेरै हुनुपर्छ। केही दिनअघि प्रतिवेदन बुझाएको नेकपा कार्यदलले सरकारको कामको सन्दर्भमा दिएको सुझावमा भनिएको छ- मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने।
२०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएपछि स्वभाविक रुपमा कैयौं नियुक्ति भइसकेका छन्। तीमध्ये कैयौं विवादमा पनि परेका छन्। केही प्रतिनिधि नियुक्तिहरुलाई नेपाल लाइभले केलाउने प्रयास गरेको छः