किशोर दहाल | २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019 ०९:१३:०० मा प्रकाशित
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताका धेरै तर्क र कारण छन्। तर, पनि दुई पार्टीका आ-आफ्ना अप्ठ्याराले तत्कालीन समयमा एकताको आधार तयार गर्न र त्यसलाई सम्भव तुल्याउन भूमिका खेल्यो।
एमाले र त्यसको नेतृत्वकर्ता केपी शर्मा ओली बलियो सरकारको नेतृत्व गर्न चाहन्थे। माओवादीसँग गठबन्धन नगर्ने हो भने संसद्मा निर्माण हुने शक्तिले त्यो चाहनालाई बल दिन सक्दैनथ्यो। चुनाव प्रणाली र त्यसबाट संसद्मा निर्माण हुने शक्ति संरचनाको थोरैमात्र विश्लेषणले सो कुराको पुष्टि गर्छ। पार्टी एकतापछि असामयिक सरकार विघटनको सम्भावनालाई निस्तेज गर्न सक्थ्यो। अहिले त्यही भइरहेको छ। कम्तीमा अर्को चुनावसम्म प्रधानमन्त्री ओली स्वयंले सरकारबाट बाहिरिन सहमति नजनाएसम्म सरकार परिवर्तन हुँदैन।
अर्कोतिर, माओवादी र आफ्नो खुम्चिदो शक्ति तथा औचित्यबाट पुष्पकमल दाहाल 'प्रचण्ड' अत्तालिएका थिए। दुई दशकअघिको सपना र एक दशकअघिको शक्तिले उनलाई पक्कै नोस्टाल्जिक बनाउँथ्यो होला। त्यसकारण उनलाई 'सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने' निकासको खाँचो थियो। एमालेसँगको एकता हरेक दृष्टिले स्वभाविक र प्राकृतिक हुन्थ्यो। एमालेसँगको गठबन्धन सुरु हुनुअघिको स्थानीय तह निर्वाचनमा कांग्रेससँगको गठबन्धन आमरुपमा अनुमोदन नभएको प्रचण्डले नबुझ्ने कुरै थिएन।
यही सन्दर्भमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन र कालान्तरमा एकता भयो। त्यस बखतमा भएका आन्तरिक सहमति, प्रतिवद्धता, भविष्यप्रतिको व्याख्या, सिद्धान्त, कार्यनीति लगायतका विषयहरुमध्ये केही सार्वजनिक भइसकेका छन्, केही हुन बाँकी छन्। तर, नेताहरुले प्रष्ट नभनेका धेरै विषय पनि समयक्रमसँगै खुलस्त बन्दै गएका छन्।
एकताका बेला अन्य विषय जति चर्चामा थिए, त्यति नै ओली र प्रचण्डको भूमिकाका विषयमा पनि थियो। केही गोप्य र भद्र सहमतिको आँकलन एकताकै बेला भएका थिए। कालान्तरमा त्यो खुल्यो पनि। तर, त्यसको कार्यान्वयन मात्रै होइन, आफ्नो आगामी रणनीतिक सफलताका निम्ति पनि प्रचण्ड यतिबेला प्रतीक्षारत छन्।